नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरुले प्रश्न गर्न नमिल्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै पौडेलले सत्तापक्षले प्रश्न नभई जवाफ दिनुपर्ने बताएका हुन्।
‘कांग्रेसको काम प्रश्न गर्ने हो, हामीले प्रश्न गर्यौं। सत्ताको काम उत्तर दिने हो उनीहरुको प्रश्न गर्ने होइन,’ उनले भने।
प्रतिपक्षीले सोधेको प्रश्नको उत्तर दिन नसकेपछि अहिले सत्तापक्ष नै प्रश्न गर्न थालेको पौडैलले बताए।
‘उनीहरुले जुन ढंगबाट अनियमितता गरेका छन्, त्यसबारे प्रश्न उठाउँदा उत्तर दिन सकेनन् र बलजफ्ती गर्न खोजिरहेका छन्,’ पौडेलले भने।
पौडेलले सत्ताक्षले आफूलाई अदालतभन्दा माथि ठानेको पनि बताए।
‘अदालतले गरेको निर्णयमा धम्की दिन थालिएको छ। मेराबिरुद्ध अदालतले निर्णय गर्न पाउँछ? म अदालत भन्दा धेरै माथि हुँ। मलाई अदालतले प्रश्न गर्ने, को हो त्यो न्यायाधीश, कुन हो त्यो अदालत भन्ने ढंगबाट धम्की आइरहेको छ,’ उनले भने।
पौडेलले यस्तो प्रवृत्ति लोकतन्त्रका लागि खतरा हुने पनि बताए।
‘यो स्वभाविक हुन सक्दैन, लोकतन्त्रमाथिको जोखिम हो। कुनै व्यक्तिको लहडको कारणले नेपालको लोकतन्त्र समाप्त हुनेबाटो तिर जान दिनु हुँदैन,’ उनले भने।