संसदको गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच कुराकानी भएको छ।
उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान कुराकानी भएको हो।
‘सदनको गतिरोध अन्त्य गर्ने विषयमै कुराकानी भएको हो। उहाँहरू नियमित छलफलमै हुनुहुन्छ,’ गृहमन्त्रीको सचिवालयका एक सदस्यले भने।
प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको थियो। तर बैठक सुरू हुन सकेको छैन।
संसद बैठकअघि उनीहरूले छलफल गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापन गर्न बसेको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो।
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै नीति तथा कार्यक्रम पेस भएलगत्तै बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरोध गरेको थियो।
जसका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाले राष्ट्रपतिलाई धन्यवाद दिन पाएन। यो कार्यसूची बिहीबारको बैठकमा पनि छ। राष्ट्रिय सभा बैठक बिहीबार दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ।
प्रधानमन्त्री दाहालले संकटग्रस्त सहकारीबारे समिति गठन गर्न आफू सकारात्मक रहेको बताउँदै आएका छन्। उनले कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई जेठ १ गते बालुवाटारमा भेटेर नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक अवरोध नगरिदिन र कांग्रेसले उठाएका मागमा आफू सकारात्मक रहेको बताएका थिए।
कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक अवरोध गरेन। तर संसदीय छानबिन समिति गठनको माग राख्दै लगत्तै बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक उसले अवरूद्ध गर्यो।
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सत्ता पक्ष तयार देखिएको छैन। मुख्यगरी सत्तारूढ नेकपा (एमाले) संसदीय छानबिन गर्ने पक्षमा देखिएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संसदीय छानबिन समिति गठन गर्नुपर्ने आवश्यकता नरहेको बताउने गरेको छ।