सहकारीमा देखिएका समग्र समस्याबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको छ।
बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएको मागलाई सम्बोधन गर्न समिति गठन गर्ने दिशातिर अघि बढिएको ब्रिफिङ गरेका छन्।
‘सहकारीमा देखिएका समस्याबारे समग्रतामा अध्ययन गर्ने गरी छानबिन समिति गठन गर्ने दिशातिर अघि बढिएको प्रधानमन्त्री प्रचण्डको कुरा छ,’ एक मन्त्रीले भने, ‘यसबारे कांग्रेससँग छलफल भएको र छिट्टै निष्कर्षमा पुगिने प्रधानमन्त्रीज्यूको भनाइ छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका श्रम मन्त्री डीपी अर्यालले भने सदनमा पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र त्यसपछि उठेका विषयहरूलाई सम्बोधन गर्दै जानेबारे कुराकानी भएको बताए।
‘यस कुरामा नेपाली कांग्रेस सहमत हुनेछ भन्ने हामीले विश्वास लिएका छौं, आज सदनको गतिरोध अन्त्य हुन्छ भन्ने पनि हामीलाई लाग्छ,’ उनले भने।
प्रधानमन्त्री दाहालले बिहीबार बिहान बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति लामिछानेसँग पनि छलफल गरेका थिए।
त्यसपछि प्रधानमन्त्री दाहालले सदनमा गृहमन्त्रीलाई बोल्न दिन र त्यसपछि समिति गठन गर्ने सन्देश कांग्रेसलाई पठाएका थिए। कांग्रेसले पनि यसबारे संसदीय दलमा अनौपचारिक रूपमा छलफल गरेको छ।
सिंहदरबारस्थित संसदीय दल कार्यालयमा महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय सभामा कांग्रेस दल नेता कृष्णप्रसाद सिटौलालगायत छलफलमा जुटेका छन्।
सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले अघिल्लो अधिवेशनदेखि नै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।
यो पनि: प्रधानमन्त्रीले कांग्रेसलाई भने- गृहमन्त्रीलाई बोल्न दिनुस्, संसदीय छानबिन समिति बनाउँछौं