संघीयता कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण ऐन तथा कानुनको निर्माणमा भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीहरूले चिन्ता व्यक्त गर्दै तत्काल प्रक्रिया अगाडि बढाउन र सङ्घीयतालाई बलियो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन्।
नागरिकलाई घर आँगनमै सहज रूपमा सेवासुविधा उपलब्ध गराउने उद्देश्यले ल्याइएको संघीय प्रणाली पनि प्रक्रियामा फस्दै गएको, महत्वपूर्ण कानून निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै मुख्यमन्त्रीहरूले गत असारमा पोखरामा सम्पन्न राष्ट्रिय समन्वय परिषद्को बैठकले गरेका निर्णय पनि तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औं बैठकमा सहभागी हुँदै मुख्यमन्त्रीहरूले प्रदेश सरकरालाई सबल नबनाई र हालकै अवस्थामा चल्ने अवस्था सिर्जना भए थप जटिलता पैदा हुने धारणा राखेका थिए।
प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउन नसक्दा प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै मुख्यमन्त्रीले तत्काल सो ऐन कार्यान्वयनमा ल्याई प्रदेश सरकारलाई प्रहरी परिचालनको अधिकार दिन समेत माग गरे। संघीय संसदको अघिल्लो कार्यकालमा नै पारित भएको सो ऐन कार्यान्वयन हुन सकेको छैन।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तत्काल प्रहरी समायोजन ऐनले गरेको व्यवस्था अनुसार प्रहरी समायोजन गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए।
उनले संघीय निजामती ऐन, संघीय शिक्षा ऐन लगायतका महत्वपूर्ण ऐन ल्याउन र प्रदेश सरकारलाई सबल बनाउन आग्रह गरे।
नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न अवलम्बन गरिएको प्रणालीलाई सहज र सबल बनाउन पनि महत्वपूर्ण कानुन छिटो निर्माण हुनुपर्नेमा ढिलाइ भएकाप्रति उनले गुनासो गरे।
मुख्यमन्त्री जम्मकट्टेलले निजामती विधेयकमा राखिएका केही प्रावधानप्रति आपत्ति प्रकट गर्दै प्रदेश सरकारमार्फत् नै स्थानीय तहमा प्रमुख कार्यकारी अधिकृत लगायतका कर्मचारीको प्रबन्ध गर्न पाउनुपर्ने धारणा राखे।
उनले कर्णाली प्रदेशबाहेक अरू सबै प्रदेशले प्रहरी परिचालन ऐन पारित गरी तम्तयारी अवस्थामा रहेको जानकारी दिए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सुरक्षा र प्रशासनबिना प्रदेश सरकार सबल हुन नसक्ने भएकाले तत्काल प्रहरी समायोजना ऐन अनुसार प्रहरी परिचालन गर्ने अधिकार प्रदान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
मुख्यमन्त्री चौधरीले संघबाट प्रदेशमा पठाइएका योजनाको स्रोत व्यवस्थापन हुन नसक्दा लामो समयदेखि आयोजना अलपत्र परेको गुनासो गरे।
यस्तै, उनले लुम्बिनी विकास कोष र राष्ट्रिय निकुञ्जहरूसँग पनि प्रदेश सरकारले समन्वय र सहकार्य गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
पाँच दश लाख रकमका योजना समेत संघीय सरकारको कार्यक्षेत्रमा राखेर संघीयतालाई विद्रुप पारिएका आपत्ति प्रकट गर्दै आगामी आर्थिक वर्षदेखि यस्ता विषयलाई तत्काल सम्बोधन गर्न मुख्यमन्त्री चौधरीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गत असारको सुरूआतको प्राकृतिक विपदका कारण आफ्नो प्रदेशमा ठूलो जनधनको क्षति भए पनि हालसम्म प्रभावितले राहत नपाएकामा गुनासो गरे।
उनले कोशी प्रदेशको धरान लगायतका स्थानमा डेंगीको चरम समस्या देखिएकाले तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी उपचारको प्रबन्ध गर्न माग गरे।
उनले डेंगीका बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको भन्दै कोरोनाकालमा निर्माण भएको आकस्मिक अस्पताललाई तत्काल प्रदेश सरकारले सञ्चालन गर्ने वातावरण मिलाइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
मुख्यमन्त्री थापाले पूर्वमा देखिएको पहिचान पक्षधरको आन्दोलनमा उठेको माग समेत सम्बोधन हुनुपर्ने माग गरे।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मन्त्री भए पनि संघीय सरकारले साविककै बजेट ल्याइएको भन्दै आफ्नो प्रदेशमा भने यर्थाथवादी बजेट ल्याएको बताए।
आफ्नो प्रदेशको बजेट शतप्रतिशत कार्यान्वयन गराउने योजनाका साथ लागिपरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले प्रभावकारी रूपमा कर्मचारीको प्रबन्ध गरिदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे।
उनले कास्की बैठकले गरेको निर्णय तत्काल कार्यान्वयन गरी सङ्घीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिए।
उनले प्रहरी समायोजन एने कार्यान्वयन गर्न तथा सङ्घीयतासँग जोडिएका महत्वपूर्ण ऐन निर्माणलाई तत्काल गति दिनुपर्ने बताए।
उनले महाकाली करिडोर, गेटा मेडिकल कलेजलगायत महत्वपूर्ण आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकरण गरी गति दिनुपर्ने उल्लेख गरे।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशको समग्र विकासका लागि विशेष आर्थिक प्याकेजको प्रबन्ध गर्न माग गरे।
उनले पनि प्रहरी समायोजन ऐनलाई व्यवहारिक रूप दिई प्रदेशलाई बलियो बनाउनुपर्ने धारणा राखे।
यस्तै, कर्णाली प्रदेशका हालसम्म पनि सहज रूपमा बिजुली उपलब्ध हुन नसकेको उल्लेख गर्दै निर्माणाधीन एक सय ३२ केभी क्षमताको प्रसारण लाइन शिघ्र निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन ऐन तत्काल कार्यान्वयन गर्नुपर्ने बताए।
उनले कर्मचारी परिचालनमा देखिएको समस्या समाधान गर्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम गर्नुपर्नेमा ध्यानाकर्षण गराए। बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री भने अनुपस्थित थिए।