ललितपुरको बाँडे गाउँमा किसुनजी आश्रम छ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुजी) यहाँ बस्दा आश्रम गुलजार थियो।
नेपाली कांग्रेसका नेता, कार्यकर्ता र भट्टराईका शुभचिन्तक यहाँ गइरहन्थे। तर केही वर्षदेखि यो आश्रम सुनसानजस्तै छ।
२०६७, फागुन २० मा किसुनजीको निधन भएको थियो। यो आश्रम अहिले पनि किसुनजीकी सहयोगी अमिता कपालीले रेखदेख गर्दै आइरहेकी छन्।
शुक्रबार हामी आश्रम पुग्दा मर्मतको काम चलिरहेको थियो। कामदार चर्केका पिढी प्लास्टर गर्दै थिए, केही भने रङरोगन गर्दै थिए। यो कामकाज पनि सरकारी खर्चमा भइरहेको छ।
आश्रममा शुक्रबार भने केही चहलपहल देखिएको थियो। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसद रामहरि खतिवडा लगायत यहाँ पुगेका थिए।
बाँडे गाउँस्थित आश्रममा गइरहने नेताहरूमा पर्छन् खड्का र खतिवडा। केही राजनीतिक निर्णय लिनुअघि वा केही उपलब्धि भएपछि खड्का किसुनजीको आश्रम पुग्छन्, पूर्णकदको शालिकमा बत्ती, धुप र फूलमाला चढाउँछन्।
गत पुस १० मा भत्किएको गठबन्धन राष्ट्रपति निर्वाचनका बेला पुन: एक गर्ने भूमिकामा उपसभापति खड्का सक्रिय थिए। बिहीबार राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उपसभापति खड्काले यसलाई एक उपलब्धि र राजनीतिक कोर्स करेक्सनका रूपमा व्याख्या गरेका छन्।
अब उपराष्ट्रपति निर्वाचन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिने र त्यसपछि कांग्रेस पनि सरकारमा जाने खड्का बताउँछन्। तर खड्काले आफू मन्त्री नहुने दाबी गरिरहेका छन्।
कुनै राजनीतिक निर्णय लिनुपर्दा वा राजनीतिक सफलता हासिल भएको लागे उपसभापति खड्का पहिले यही आश्रम पुग्ने गर्छन्। हामीले खड्कालाई शक्ति कि साधनाका लागि किसुनजी आश्रम आइरहनुहुन्छ भनेर सोध्यौं।
उनले भने, ‘किसुनजीसँग २०३४ सालदेखि मेरो साक्षात्कार भयो। कुनै सुख वा दु:ख पर्दा म आश्रम आउँथे। कुनै अभियान सञ्चालन गर्नुअघि आशीर्वाद लिन पनि म यहाँ आउने गर्दथेँ। दु:ख लागेका बेला पीडा बिर्सने मूल आधार किसुनजी हुनुहुन्थ्यो।’
किसुनजी वितेपछि पनि सुख, दु:खमा आफू आश्रम आउने खड्का बताउँछन्। ‘उहाँको निधनपछि पनि म कुनै सफलता प्राप्त भएमा वा कुनै दु:ख पर्दा किसुनजीको पूर्णकदको शालिकमा आफूलाई समर्पित गर्दै सुखदु:ख साट्छु,’ खड्काले भने।
पार्टीका सभापति, उपसभापति, महामन्त्रीलगायत सबैको प्रयत्नबाट ‘एक मिसन’ पूरा भएको सन्दर्भमा आफू आश्रम आएको उनले सुनाए। गत पुस १० मा को पहिलो कार्यकाल प्रधानमन्त्री बन्ने शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिल्दा गठबन्धन भत्किएको थियो।
खड्काले नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकै साँझदेखि आफूले चुनावका बेलाको पाँचदलीय गठबन्धन ब्युँताउने संकल्पसाथ काम गरेको र २५ फागुनमा राष्ट्रपतिमा रामचन्द्र पौडेलले जितेपछि त्यो मिसन पूरा भएको अर्थ लगाए।
उनले अब ५ वर्ष यो गठबन्धन नभत्किने दाबी पनि गरे।
‘पुस १० गते भएका कमीकमजोरीलाई हामीले महसुस गर्यौं। एकअर्कामा नयाँ विश्वासको जग स्थापना गर्यौं। त्यही विश्वासको जगमा कांग्रेस-माओवादी-जसपा-एकीकृत समाजवादी-लोसपा-जनमत-नागरिक उन्मुक्ति-राष्ट्रिय जनमोर्चालगायत पार्टी छलफल गर्दै गयौं र राष्ट्रपति चुनावमा आइपुग्दा स्वतन्त्र सांसदबाहेक ११ दल एक ठाउँमा उभिएका छौं,’ खड्काले भने, ‘अब यो गठबन्धन निरन्तर रहन्छ।’
उपराष्ट्रपति निर्वाचन र प्रधानमन्त्रीलाई विश्वासको मत दिन अहिलेको गठबन्धन अघि बढ्ने र विश्वास मत लिएको एक/दुई दिनभित्रै मन्त्रिपरिषद विस्तार भइसक्ने उनी बताउँछन्।
‘प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा मन्त्रिपरिषद विस्तार हुन्छ। यो सरकार निरन्तर रूपमा अगाडि बढ्छ, कांग्रेस सरकारमा जान्छ, को-को मन्त्री पठाउने भन्ने चरणमा हामी पुगेकै छैन, छलफल हुनै बाँकी छ,’ उनले भने, ‘हामीले उठाएका एजेन्डाहरू विकास र समृद्धि, शान्ति प्रक्रिया टुंगोमा पुर्याउने लगायतमा सरकारले प्रभावकारी काम गर्छ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग सहकार्य हुन सक्नेबारे बिहीबार दिएका अभिव्यक्तिमा जवाफ दिँदै खड्काले पाँच वर्षभित्र यो कुरा सपनामा पनि पूरा नहुने बताए।
‘संविधान रक्षालगायत एजेन्डामा सहमत भएका कांग्रेस र माओवादीलगायत दलहरू टसमस नभई अब पाँच वर्ष अगाडि बढ्छौं,’ उनले भने, ‘कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्दा र सहमति होला भन्ने कुरा कसैले सोच्नुभएको छ भने त्यो सपनामा मात्रै सम्भव छ, विपनामा सम्भव छैन।’
फरक प्रसंगमा खड्काले द्वन्द्वकालीन मुद्दा कानून बनाएर आयोगहरूमार्फत नै समाधान गरिने बताए। ‘द्वन्द्वकालीन मुद्दाबारे आयोगले हेर्छ। ऐन संशोधन गर्नुपर्ने भए परिमार्जन हुन्छ,’ उनले भने।
यो पनि:
फेरि मन्त्री नबन्ने प्रण गरेका पूर्णबहादुर खड्का
पूर्णबहादुर खड्काले खुलाए पुस १० को गठबन्धन २ महिनामै भत्कनुका कारण