नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्था उकास्ने काम विद्यालयहरूले पनि लिनुपर्ने बताएका छन्।
काठमाडौंको ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहमा शुक्रबार बोल्दै कोइरालाले सार्वजनिक विद्यालय प्रबर्द्धन गर्ने हिसाबले अघि बढ्नुपर्ने बताए।
‘लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो। शिक्षित समाज भयो भने सभ्य देश बन्छ। घरमा एउटा महिला शिक्षित भए भने परिवार नै शिक्षित हुन्छ,’ उनले भने, ‘हामी कतै न कतै चुकिरहेका छौं। नियम, ऐन, कानून बनाउने मानिसहरू, सरकारमा बस्ने साथीहरू, पत्रकार मित्रहरू पनि चुकेको म देख्छु।’
उनले सार्वजनिक विद्यालयलाई प्रवर्द्धन गर्ने हिसाबले अघि बढ्ने हो भने सफल भइने पनि बताए।
‘अहिले राजनीतिक मात्रै सामाजिक अवस्था पनि देशको स्खलनतिर गइरहेको छ, त्यसलाई उकास्ने जिम्मा स्कुलहरूले पनि लिनुपर्छ, राजनीतिज्ञहरू, कर्मचारीहरूले पनि लिनुपर्छ। सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ, सकारात्मक सोचका साथ अघि बढ्ने हो भने देशलाई अघि बढाउने कल्पनामा अघि बढ्नसक्छौं,’ उनले भने।
उनले सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेमा सरकार जानुपर्ने बताए। शिक्षाले नै विश्वलाई चिनाउन सक्ने भएकालै शिक्षामा पहिलो जोड दिनुपर्ने उनको भनाइ छ।
(न्युज एजेन्सी नेपाल)