प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले सत्तापक्ष नेकपा (एमाले)का सांसद योगेश भट्टराईलाई संसदबाटै जबाफ फर्काएकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद डाँगीले सरकार पक्षले नै डबल स्ट्याण्डर्ड देखाएको बताउँदै भट्टराईलाई जबाफ फर्काएकी हुन्।
सांसद भट्टराईले बिहीबारको प्रतिनिधि सभा बैठकमा रास्वपाको डबल स्ट्याण्डर्ड देखिएको बताएका थिए।
सहकारी ठगीसम्बन्धमा अदालतबाट भएका आदेशका सम्बन्धमा रास्वपाको द्वेध चरित्र देखाएको उनले बताएका थिए।
'प्रहरीलाई त सरकारले दबाब दियो होला। अरू व्यक्तिहरूलाई दियो होला। सर्वोच्च अदालत सरकारको दबाब र प्रभावमा पर्छ? उच्च अदालत पर्छ? धरौटीमा छाड्दा न्याय नमरेको हुने, न्यायाधीश जिन्दावाद हुने। थुनामा पठाउँदा न्यायाधीश मुर्दावाद र न्याय मरेको हुने? यसरी डबल स्ट्याण्डर्ड देखायो,' उनले भने।
पढ्नुस्ः उपसभामुख र रास्वपामाथि योगेश भट्टराईको आरोपैआरोप, प्रश्नैप्रश्न
जबाफमा सांसद डाँगीले आफ्नो कमजोरी स्वीकार नगर्ने तर अरूलाई आरोपित गर्ने सत्तापक्षमा नै डबल स्ट्याण्डर्ड देखिएको बताएकी हुन्।
'संवैधानिक परिषदको बैठक महिनौंसम्म नबसी अति महत्त्वपूर्ण पदहरू रिक्त गरिएको छ। विभिन्न किसिमका गम्भीर मुद्दामा राजनीतिक, प्रशासनिक साँठगाठलाई निरन्तरता दिइरहेको छ। दुई तिहाइको सकारले जनताको समस्या समाधान गर्न ३० प्रतिशत पनि अग्रसरता देखाएको छैन। मन्त्रीसँगै जोडिएर गम्भीर आरोप लाग्दासमेत यसपटक सरकार चुप बसिरहेको छ,' उनले भनिन्।
उनले सत्तापक्षले रास्वपालाई नैतिकता सिकाउन जरूरी नभएको पनि बताइन्।
'भ्रष्टाचारका मुद्दाहरू र विभिन्न कालखण्डमा भएका काण्डैकाण्डबाट निस्कनै नसकेको पार्टीहरूले हामीलाई थरिथरि आरोप लगाएर नैतिकतामाथि प्रश्न उठाइरहेका छन्। तपाईंहरूले हामीलाई नैतिकताको प्रश्न उठाउनु भनेको परीक्षामा कहिल्यै पास नगरेका विद्यार्थीले अरूलाई परीक्षामा पास हुन सिकाएजस्तो भयो। बन्द गरिदिनुस् नैतिकताको प्रश्न उठाउन,' उनले भनिन्।
सरकार जनताका समस्या समाधान गर्न सुस्त भए पनि उपसभामुखलाई हटाउन भने अचम्मको फुर्ती देखाएको उनले बताइन्।
'यसपटक सरकारले न्याय होइन, पक्षपातको नयाँ मापदण्ड स्थापित गरिदिएको छ। यसलाई राजनीतिक परिपक्वता भन्नुहुन्छ भने शब्दकोषमा राजनीतिक परिपक्वताको तपाईंहरूको परिभाषा छुट्टै लेख्नस्,' उनले भनिन्।