नेपाली कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्काले सोमबार साँझ सामाजिक सञ्जालमा लेखे- पुस १० गते भत्काइएकाे गठबन्धनलाई पुन:स्थापित गर्ने त्यही दिन राति गरेकाे संकल्पलाई लगभग पूरा गरिएकाेछ। अब मेराे दाबी कुनै कुरामा छैन।मेराे नाम अरूसँग जाेडेर सरकारमा जाने दाबी गरेकाे भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसकाे विषय बनाएर मलाई अन्याय नगरी दिनुहाेस्। सबैमा अनुराेध।
पुस १० गते चुनावअघिको तत्कालीन गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि खड्का पुरानो गठबन्धन ब्युँताउन दिन-रात सक्रिय भएर लागेका थिए। पुरानो गठबन्धन ब्युँतिएसँगै अब कांग्रेस सरकारमा जाने तयारीमा छ। कांग्रेसका केही नेताहरू मन्त्री हुने दौडमा रहेका बेला खड्काले भने आफू फेरि मन्त्री नहुने पुरानो प्रतिवद्धता दोहोर्याएका हुन्।
सार्वजनिक रूपमै आफ्नो सरकारमा दाबी नरहेको बताएपछि हामीले खड्कासँग यसबारे थप बुझ्न खोज्यौं। उनले आफू अब मन्त्री नहुने बताए। खड्का पछिल्लो १८ वर्षयता मन्त्री छैनन्।
त्यसअघि भने उनले पटक-पटक गरी ७ पटक गृहसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
खड्का २०५५ वैशाख देखि २०५५ भदौसम्म युवा, खेलकुद तथा संस्कृति र जनसंख्या तथा वातावरण मन्त्री भएका थिए। २०५५ पुस १० देखि २०५६ जेठ १६ सम्म उनी वाणिज्य, युवा तथा खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए।
२०५६ जेठ १७ देखि २०५६ असार १५ गतेसम्म सूचना तथा सञ्चार र उद्योग मन्त्री भएका खड्का २०५६ असार १६ देखि २०५६ चैत ७ गतेसम्म उनी गृहमन्त्री भएका थिए।
२०५८ कात्तिक २ देखि २०५९ असोज २५ गतेसम्म उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए। खड्का २०६१ असार २१ देखि २०६१ माघ १९ गतेसम्म पनि गृहमन्त्री थिए। यति धेरै मन्त्री भएका खड्काले अब मन्त्री नहुने घोषणा भने २०७२ सालमा गरेका हुन्- अर्घाखाँचीमा।
‘सहमहामन्त्रीबाट राजीनामा दिएर देश घुम्दाखेरि अर्घाखाँचीमा पार्टीले गरेको कार्यक्रममा अब मन्त्री बन्दिनँ भनेर घोषणा गरेको हुँ, १३ औं महाधिवेशनअघि,’ खड्काले सेतोपाटीसँग भने, ‘म जीवनमा धेरै पटक मन्त्री भएँ, आजदेखि मन्त्री बन्दिनँ, अरूलाई मन्त्री बनाउने अभियानमा लाग्छु भनेको थिएँ।’
उनले यो कुराबाट आफू अहिलेसम्म पनि विचलित नभएको बताए। ‘मन्त्रीभन्दा माथि भगवान, मेरो भाग्य तथा जनताको आशिर्वाद! मैले यति भनेर अर्घाखाँचीमा भाषण टुंग्याएको थिएँ,’ उनले भने, ‘म अहिले पनि यही कुरामा छु।’
अब मन्त्री नहुने भए प्रधानमन्त्री हुने तयारी हो भन्ने प्रश्नमा उपसभापति खड्काले, ‘यो घोषणाको व्याख्या खोजेर हुँदैन’ मात्रै भने।
आफ्नो गृहजिल्ला सुर्खेतका कांग्रेस नेता, कार्यकर्तालाई खड्काले आफ्नो दृष्टि अब कांग्रेस सभापति हुँदै प्रधानमन्त्री बन्नेमा रहेको बताउने गरेका छन्। खड्का कांग्रेसको १५ औं महाधिवेशनमा सभापति उठ्ने तयारीमा रहेको उनी निकटहरू दाबी गर्छन्। चार वर्षपछि कांग्रेसको महाधिवेशन हुँदैछ। १४ औं महाधिवेशनमा खड्का उपसभापतिमा निर्वाचित भएका थिए।
खड्का अहिले कांग्रेस सभापति शेरबहादुर देउवासँग निकै नजिक छन्। कांग्रेस प्रजातान्त्रिक हुँदै देउवासँग निकट भएका अरू नेताहरूको देउवासँग दूरी बढेका बेला खड्काले पछिल्लो समय देउवासँग झन् नजिक भएर काम गरिरहेका छन्।देउवाले पनि खड्कालाई निकै भरोसा गर्छन्।
खड्का अड्कलेर बोल्छन्। प्राय: खुलेर लामो समय कुराकानी नगरे पनि विषयवस्तुलाई खड्काले छोटकरीमा सरल ढंगबाट बुझाउँछन्।
खड्का सभापति देउवाले राम्रो काम गर्दा त्यसको प्रशंसा र ‘गल्ती’ गरेका बेला आलोचना गर्न पनि हिच्किचाउँदैनन्।
गत वर्ष मंसिरमा १४ औं महाधिवेशनअघि देउवा सचिवालयले ‘देउवा मलाई मनपर्छ’ भिडिओ बनाएर पोस्ट गर्दा यो अनावश्यक भनेर खड्काले आलोचना गरे, त्यसपछि देउवाबारेका भिडिओ पोस्ट हुनै छाडेको थियो।
खड्कालाई कांग्रेस सभापति देउवाले भरोसासमेत गर्छन्, महत्वपूर्ण जिम्मेवारी सुम्पिन्छन्। देउवा प्रधानमन्त्री हुँदा गठबन्धनका हरेक बैठकमा खड्का छुट्दैनथे। देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ को चुनावपछि प्रधानमन्त्रीको कार्यकाल २ र ३ वर्ष बाँड्ने सहमति गर्दा खड्का मात्रै प्रत्यक्षदर्शी थिए।
पछि देउवाले उक्त सहमति नमानेर पहिलो कार्यकाल आफू नै प्रधानमन्त्री हुन खोजेपछि प्रचण्ड एमालेसँग मिलेर प्रधानमन्त्री बनेका थिए।
प्रचण्ड प्रधानमन्त्री भएको दिन नै खड्का उनलाई भेट्न गइसकेका थिए।
खड्का आफू पूर्वप्रधानमन्त्री, पूर्वसभापति कृष्णप्रसाद भट्टराईको अनुयायीसमेत भएको बताउँछन्। उनी बेलाबखत भट्टराई बस्ने आश्रम बाँडेगाउँ पनि पुग्ने गरेका छन्।
खड्का २०४४ देखि २०४८ सम्म कांग्रेस सुर्खेत सभापति थिए। त्यसयता उनी केन्द्रीय राजनीतिमा सक्रिय छन्। खड्का २०४८ देखि लगातार सुर्खेतबाट चुनाव जित्दै आए पनि २०७४ मा हारेका थिए। उनी गत मंसिरमा फेरि सुर्खेत १ बाट निर्वाचित भएका थिए।
खड्का राजनीतिक परिस्थिति बदलिएका बेला तथा गठबन्धनका बैठकले महत्वपूर्ण निर्णय गर्दा ट्वीट र फेसबुकबाट पनि आफ्ना कुरा राख्ने गर्छन्। रोचक के छ भने उनले आफ्ना कुरासँगै सधैं लालीगुँरासको थुंगासमेत पोस्ट गर्ने गरेका छन्।
उपसभापति खड्कासँग हामीले यसबारे पनि सोधेका थियौं- हरेक पोस्टमा लालीगुँरास किन राख्नुहुन्छ? खड्काले यसबारे थप नखोतल्न आग्रह गर्दै भने, ‘त्यसको महत्व छ। मैले किन लालीगुँरास प्रयोग गर्छु भन्ने व्याख्या अहिले भनेँ भने त्यसको महत्व सिध्धिहाल्यो! किन लालीगुँरास राख्छ भन्ने मानिसहरूलाई जिज्ञासा भइरहोस्। यसबाहेक म थप व्याख्या गर्दिनँ, किन राखेको मैले आफैंलाई त व्याख्यासहित भनेको छैन!’