आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा धनुषाको क्षेत्र नम्बर २ मा यसपालि चुनावी गठबन्धन भएन।
सत्ता गठबन्धनका दुई घटकमध्ये नेपाली कांग्रेसबाट रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादीबाट रामचन्द्र झा उम्मेदवार छन्।
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सत्तारूढ गठबन्धनमा छन्।
एमालेबाट उमाशंकर अरगरिया उम्मेदवार छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका उनलाई गत असोज ८ गते अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए।
जनता समाजवादी पार्टी (जसपा) ले गंगाराम यादवलाई उम्मेदवार बनाएको छ। एमालेले टिकट नदिने भएपछि उनी केही दिनअघि जसपा प्रवेश गरेका थिए।
सरकारमा रहेको जसपा र विपक्षी एमालेबीच चुनावी तालमेल छ।
चार वटा पार्टीले आ-आफ्ना उम्मेदवार मैदानमा उतारेपछि कसले बाजी मार्ला भन्ने अड्कलबाजी सुरू भएको छ।
उम्मेदवारहरूले आफूहरूबीच मित्रवत प्रतिस्पर्धा हुने बताएका छन्।
प्रतिस्पर्धामा उत्रिएका यी चार उम्मेदवारमध्ये रामचन्द्र, रामकृष्ण र उमाशंकर पूर्वमन्त्री हुन्। यी तीन जना यसअघिको चुनावमा पनि प्रतिस्पर्धी थिए।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचन तत्कालीन संघीय समाजवादी फोरमबाट ३२ हजार ४४ मतका साथ उमाशंकर विजयी भएका थिए।
त्यतिबेला तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच गठबन्धन थियो।
नेकपा माओवादी केन्द्रका रामचन्द्रले १८ हजार ७१५ मत पाएका थिए। त्यो बेला एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन थियो।
गठबन्धन नगरेको कांग्रेसबाट रामकृष्ण यादव १५ हजार ४४२ मतका साथ पाएर तेस्रो स्थानमा थिए।
यसपालि मुख्य चार दलका उम्मेदवार छन्। पहिले जस्तो मधेसवादी दलहरूको तालमेल पनि छैन।
धनुषा–२ मा सात स्थानीय तहका ४४ वडा छन्। कमला नगरपालिकाका ९ वटा, शहीदनगर नगरपालिकाका ९ वटा, जनकनन्दनी गाउँपालिकाका ६ वटा र औरही गाउँपालिकाका ६ वटा वडा यस क्षेत्रमा पर्छ। विदेह नगरपालिकाका ८ वटा र हंसपुर नगरपालिकाका ४ वटा वडा यस क्षेत्रमा छन्।
जनकपुरधाम उपमहानगरका वडा नम्बर १७ र १८ पनि यो क्षेत्रमा पर्छन्।
गत स्थानीय तहको निर्वाचन परिणामअनुसार दलगत हिसाबले यस क्षेत्रमा कांग्रेस बलियो देखिन्छ।
कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र हंसपुर नगरपालिकामा गरी कांग्रेसले तीन वटा स्थानीय तहमा विजयी भएको छ।
विदेह नगरपालिका र औरही गाउपालिकामा एमाले विजयी भएको छ। शहीदनगर नगरपालिकामा भने जसपाले जितेको छ।
गत स्थानीय निर्वाचनको ४४ वटै वडाको मत जोड्दा जसपा भन्दा कांग्रेसको मत झन्डै साढे सात हजारले बढी छ।
कांग्रेसले २१ हजार २३२ र जसपाले १३ हजार ८८९ मत पाएका थिए। तेस्रोमा एमालेले ११ हजार ५८३, चौथोमा माओवादी केन्द्रले १० हजार ७९४, पाँचौँमा एकीकृत समाजवादीले ८ हजर ९९७ मत पाएका थिए।
सबैभन्दा कम लोसपाले ६ हजार ७१३ मत पाएको थियो।
गत स्थानीय तह निर्वाचनको परिणामले संसदीय निर्वाचनमा प्रभाव नपर्ने नेकपा समाजवादी केन्द्रका उम्मेदवार रामचन्द्रको जिकिर छ।
उनले जितको लागि अफ्नो नामै काफी रहेको दाबी गरे। जनताको समर्थन नै आफ्नो जितको प्रमुख आधार रहेको उनको भनाइ छ।
‘यस क्षेत्रको विकास निर्माणमा मेरो ठूलो योगदान छ। धेरै उम्मेदवारका बीचमा रामचन्द्र निस्कलंक, विकास निर्माणमा धेरै काम गरेको र जनताका कुरा राख्दै आएको नाम हो,’ उनले आफ्नो तारिफमा भने, ‘२०४६ सालको आन्दोलनदेखि हरेक लोकतान्त्रिक आन्दोलनमा मैले महत्वपूर्ण भूमिका खेलेको छु।’
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा विजयी भएका उनी त्यसपछि लगातार दुई पटक पराजित भए।
दोस्रो संविधान सभा निर्वाचनमा यहाँबाट कांग्रेसका दिनेश प्रसैला विजयी भएका थिए। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उमाशंकर विजयी भए। उनले ५ वर्षको कामको मूल्यांकन गरेर जनताले अफूलाई नै जिताउने दावी गरे।
उनले ४० वर्षमा नभएको काम आफूले यो पाँच गरेको दाबी गरे।
‘मेरो आफ्नै छुट्टै क्रेज छ। मैले संसदीय बजेटबाट एक रुपैँया कमिसन लिएको छैन। इमानदारीका साथ काम गरेको छु,’ चुनाव जित्ने आधार सुनाउँदै उमाशंकरले भने, ‘म भ्रष्टाचार विरुद्धको आन्दोलनबाट आएको हुँ, त्यो सिलसिला अझै जारी छ।’
उनले लोसपाबाट आफू एमालेमा आउँदा एमाले प्रवेशको लहर आएको दाबी गरे। उनले भने, ‘अरू दल त्यागेर हजारौँ नेता र कार्यकर्ता एमाले प्रवेश गरेका छन्, म चुनाव जित्छु।’
कांग्रेसबाट उम्मेदवारी दिएका रामकृष्णले समेत बलियो संगठन र विगतमा गरेको कामको आधारमा आफू विजयी हुने दाबी गरेका छन्।
एमाले परित्याग गरेर हालै जसपा प्रवेश गरेका गंगारामले पनि विगतमा गरेको काम र स्वच्छ छविका आधारमा आफूले चुनाव जित्ने दाबी गरेका छन्।
यहाँ लोसपा र माओवादी कन्द्रका उम्मेदवार नभएकाले उनीहरूलाई जाने मत विभाजित हुने देखिन्छ।
लोसपाबाट उमाशंकरका धेरैजसो समर्थक एमाले प्रवेश गरेका छन्। पार्टीका बहुसंख्यक कार्यकर्ताले कुन उम्मेदवारलाई मत दिन्छन् भन्ने कुरा मतदानको दिन धेरै नजिक हुँदा मात्र थाहा हुने नेताहरूको भनाइ छ।
यस क्षेत्रमा चारैजना उम्मेदवारको राम्रै प्रभाव रहेकाले को बलियो छ भनेर अहिले नै किटान गर्न कठिन छ।