गौतम बुद्धको महापरिनिर्वाण बेला भिक्षु तथा उपासकहरू कुशीनगरमा भेला भएका थिए। त्यस क्रममा बुद्धले आफ्नो स्मृतिमा चारधाम यात्रा गराउने इच्छा व्यक्त गरेको वर्णन बौद्ध धर्मग्रन्थहरूमा पाइन्छ।
बौद्ध चारधाम यात्रामा लुम्बिनी पहिलो गन्तव्यमा पर्छ भने दोस्रोमा बोधगया, तेस्रोमा सारनाथ र अन्त्यमा कुशीनगरको यात्रा गर्नुपर्छ।
यसबाट बौद्ध चारधाम यात्राको परिपथ गौतम बुद्धकै जीवनकालमा निर्धारण भइसकेको बुझिन्छ।
त्यसको करिब साढे दुई सय वर्षपछि मगध सम्राट अशोकले इशापूर्व २५० ताका बौद्ध चारधाम यात्रा गरेको उल्लेख लुम्बिनीमा स्थापित अशोक स्तम्भमा पाइन्छ। उक्त स्तम्भमा सम्राट अशोकले भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा आफूले यात्रा गरेको उल्लेख गरेका छन्। त्यति बेला उनले आफ्ना गुरू उपगुप्तसँग बौद्ध चारधाम यात्रा गरेका थिए।
सम्राट अशोकपछि पनि अनेकौं तीर्थयात्रीले बौद्ध चारधाम यात्रा गरे। तीमध्ये चिनियाँ यात्री फाहियान तथा हुयेन्साङ्गले बौद्ध चारधाम यात्रा गरेको वृत्तान्त पढ्न पाइन्छ।
तर दुर्भाग्यवश, आजको समयसम्म आइपुग्दा प्राचीन बौद्ध चारधाम यात्राको परिपथ कस्तो थियो भन्ने हामीले बिर्सिसकेका छौं। यो लेखमा मैले त्यसबारे चर्चा गरेको छु।
नेपालभित्र परम्परागत तरिकाले सम्पन्न हुने बौद्ध परिक्रमाहरूका लागि निश्चित विधि र परिपथ तोकिएका छन्। यसलाई बौद्ध तीर्थयात्राको नमूना मान्न सकिन्छ। यसै आधारमा हामी बौद्ध चारधाम यात्राका लागि पनि निश्चित परिपथ र विधि तोकिएको थियो होला भन्ने अनुमान गर्न सक्छौं।
भारतका मुसलमान शासक बख्तियार खिल्जीले सन् ११९३ मा बंगाल आक्रमण गर्दा नालंदा र विक्रमशील महाविहार विध्वंश गरेका थिए। त्यसपछि भारतबाट बौद्धहरूको पलायन सुरू भयो। तीमध्ये कतिपय बौद्धहरू नेपालको काठमाडौं उपत्यका पसे। तिनले फेरि पनि आक्रमणमा परिएला भन्ने डरले बौद्ध चारधाम यात्रा गर्न छाडे। फलस्वरूप लुम्बिनीको वास्तविक पहिचानका साथै बौद्ध चारधाम यात्राको परिपथ र विधि पनि हराउँदै गयो।
भारतबाट पलायन भएर आएका ती बुद्धमार्गीले काठमाडौं उपत्यकामा मनाइने बौद्ध धार्मिक यात्राहरूमा सहभागिता जनाउन थाले, जुन प्राचीन कालदेखि नै निश्चित विधि र परिपथअनुसार चल्थ्यो। काठमाडौं उपत्यकामा हालको भारतमा जस्तो बौद्ध तीर्थयात्राको विधि र परिपथ निर्धारणमा कहिल्यै समस्या रहेन।
काठमाडौं उपत्यकाको ललितपुरमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयाको दिन बौद्ध जात्रा मत याः (दिपयात्रा) मनाइन्छ।
ललितपुरका १० टोलको जिम्मेदारीमा चलाइने यस यात्रामा पुराहित गुरूज्यूको नेतृत्वमा घडीको सुईअनुसार यात्रा गरिन्छ। जुन टोलको जुन चैत्यबाट दर्शन–पूजा सुरू हुन्छ, अन्त्य पनि त्यही टोलको त्यही चैत्यमा पूजा गरेर गर्नुपर्छ।
त्यस्तै, गाईजात्राको मध्यरात ललितपुरका प्रसिद्ध चार थुरको वार्षिक परिक्रमा गर्दा पहिले बागमती नदीको शंखमूल तीर्थमा स्नान गरिन्छ। त्यसपछि उत्तरपट्टिको इबही थुर दर्शन गरी घडीको सुईअनुसार पूर्वतर्फको टेटा थुर दर्शन गर्नुपर्छ। त्यहाँबाट लगनखेल थुर दर्शन गरी पुल्चोक थुर जानुपर्छ।
यी चार थुर परिक्रमाको परिपथले भगवान् बुद्धले चारधाम यात्राका लागि बताएको बौद्ध–परिपथ र विधिसँग विशेष सामीप्य राख्छ।
ललितपुरमै प्रत्येक वर्ष वैशाख महिनामा मनाइने करूणामय मच्छिन्द्रनाथ जात्राको परम्परागत परिपथ हेर्ने हो भने भक्तजनले घडीको सुईअनुसार घुमेर पुल्चोकबाट रथयात्रा चलाउँछन् र त्यही ठाउँको नजिकै पर्ने जावलाखेल आइपुग्छन्। यो बौद्ध यात्राको सुनिश्चित प्राचीन परिपथ हो। यसबाट बौद्ध चारधाम यात्रा पनि त्यसरी नै हुनुपर्ने प्रस्ट हुन्छ।
उपर्युक्त जात्राहरूको अध्ययन गर्दा हामीलाई निम्न तथ्यहरूको जानकारी प्राप्त हुन्छ –
बौद्ध यात्राको निश्चित परिपथ छ, विधि छ। यो घडीको सुईअनुसार परिक्रमा गर्नुपर्छ। यसका लागि निश्चित तिथिमिति र साइत हुन्छ। गुरूज्यू वा बौद्ध भिक्षुको नेतृत्वमा तीर्थालुहरूले यात्रा गर्नुपर्छ।
निष्कर्षमा भन्दा, बौद्ध चारधाम यात्रा गर्दा भगवान् बुद्धले भनेअनुसार लुम्बिनीबाटै सुरू गर्नुपर्छ हुन्छ। त्यसपछि बौद्ध गया, सारनाथ हुँदै कुशीनगर पुगेर यात्रा अन्त्य गर्नुपर्छ। काठमाडौं उपत्यकाको प्राचीन परम्पराअनुसार परिक्रमा गर्ने हो भने चाहिँ फेरि लुम्बिनीको दोस्रोपटक दर्शन गरेर मात्र यात्रा टुंग्याउनुपर्छ।
यस क्रममा तीर्थयात्रीले घडीको सुईअनुसार घुमेर यात्रा गर्नुपर्ने देखिन्छ।
बौद्ध चारधाम यात्रा गर्दा बाटोको आसपास रहेका अन्य बौद्ध तीर्थहरूको पनि यात्रा गरी दर्शन गर्न सकिन्छ। यो पनि घडीको सुईअनुसार नै हुनुपर्छ।
आजका ट्राभल एजेन्सीहरूले तीर्थयात्रीहरूलाई बौद्ध चारधामका नाममा जथाभाबी यात्रा चलाइरहेका छन्। धार्मिक विधान र निश्चित परिपथअनुसार नघुमाई आफूखुसी घुमाउने गरेको पाइन्छ। यसो गर्नु मूलतः धार्मिक तीर्थयात्रा नभई साधारण पर्यटन मात्र हो। यसमा सुधार ल्याउन जरूरी भइसकेको छ।
(लेखक संस्कृतिविद् हुन्।)
***