उज्ज्वल शाक्य र उनकी दिदी पबिना शाक्यबीच १३ वर्षको उमेर अन्तर छ।
सायद त्यही भएर उज्ज्वलको जिन्दगीमा पबिनाको स्थान आमाकै बराबर छ भन्दा फरक पर्दैन।
सानोमा उज्ज्वललाई होमवर्क गराउनेदेखि लुगाफाटो तयार गरेर स्कुल पठाउनेसम्म र खुवाउने–पियाउनेदेखि अरू सारा हेरविचार पबिनाले नै गरिन्।
पबिनाकै रेखदेखमा हुर्केकाले उज्ज्वलको सोच पनि दिदीको जस्तै छ। उनीहरू दुवै अर्काको जागिर खान होइन, आफ्नै व्यवसाय गर्न रूचि राख्छन्।
अहिले २४ वर्ष पुगेका उज्ज्वललाई सानैदेखि क्याफे खोल्ने इच्छा थियो। यो इच्छा दिदीबाटै सरेको हो कि भन्ने उनलाई लाग्छ। किनभने, पबिना पहिल्यैदेखि खाना पकाउने सोख राख्थिन्।
दिदीभाइको यही साझा इच्छा र रूचिको परिणाम हो, पाटनको गाबहालमा दुई वर्षअघि खुलेको रेस्टुरेन्ट — आर्यता पिज्जा ब्लेसिङ्स एन्ड क्याफे।
रेस्टुरेन्टबारे कुरा गर्नुअघि उनीहरू यहाँसम्म कसरी आइपुगे, त्यसको चर्चा पहिले गरौं।
उज्ज्वल शाक्य र उनकी दिदी पबिना शाक्य। तस्बिर: आर्या श्रेष्ठ/सेतोपाटी
प्लस–टू पास गर्नासाथ उज्ज्वल हस्पिटालिटी म्यानेजमेन्टमा डिप्लोमा गर्न थाइल्यान्डको बैंकक गए। त्यति बेला उनी १८ वर्षका थिए। पबिना काठमाडौंमै अकाउन्टेन्टको काम गर्दै थिइन्।
'बैंककमा मैले पढाइ सँगसँगै काम पनि सुरू गरेँ। सुरूआत भाँडा माझ्नबाट भयो,' उज्ज्वलले भने, 'त्यही क्रममा एक जना रसियन सेफ (भान्से) सँग भेट भयो। ती रसियन सेफमार्फत् अरू धेरै सेफसँग चिनजान भयो।'
उज्ज्वललाई दिदीको प्रभावले खाना पकाउने रूचि त थियो नै, त्यसमाथि विभिन्न देशका सेफसँगको संगतले उनको यो रूचि हलक्कै बढ्यो।
आफूले पकाएको खाना अरूले स्वाद मानी मानी खाँदा जुन सन्तुष्टि प्राप्त हुन्छ, त्यो सन्तुष्टि अरू कुनै कामले दिन सक्दैन भन्ने उनलाई लाग्यो।
यही सोचका साथ उनले आफ्ना सेफ साथीहरूको मद्दतले विभिन्न देशका परिकार बनाउन सिके। कति सेफसँग औपचारिक तालिम लिए भने कतिसँग अनौपचारिक ढंगले सिक्न थाले।
पढाइ सकेपछि उनले बैंककको स्काई भ्यू होटलमा प्रशिक्षार्थीका रूपमा काम गरे। त्यहाँ केही नामी सेफसँग उनको संगत भयो। यसले उनको सिकाइ परिस्कृत बनाउँदै लग्यो। उनले खाना सँगसँगै विभिन्न किसिमका ड्रिंक्स बनाउन पनि सिके।
'नेपालमा हुँदासम्म मलाई सेफ भनेको त्यति इज्जतिलो पेसा हो भन्ने थाहै थिएन। हामीकहाँ यो कामलाई खासै महत्त्व दिइँदैन। बाहिरतिर त सेफको महत्त्व निकै ठूलो हुँदो रहेछ। नेपालमा डाक्टर, इञ्जिनियरलाई जति महत्त्व दिइन्छ, सेफले त्यत्तिकै महत्त्व पाएको मैले देखेँ। चारतारे, पाँचतारे होटलमा त सेफ जत्तिको इज्जत अरू कसैले पाउँदैन कि जस्तो मलाई लाग्यो,' उज्ज्वलले भने।
यही अनुभवबाट उज्ज्वलले सेफ पेसामा भविष्य देखे।
करिब दुई महिना स्काई भ्यू होटलमा काम गर्दा उनले त्यहाँको मेनुका सबै परिकार बनाउन जानिसकेका थिए। यही कारणले छ महिनामै उनी 'शू–सेफ' (मुख्य सेफभन्दा एक तहमुनिको पद) मा बढुवा भए।


'म पहिले धेरै अल्छी थिएँ। जब खाना बनाउन सिकेँ र यसबारे गहिरोसँग बुझ्न थालेँ, मलाई एकदमै धेरै ऊर्जा आएजस्तो महसुस भयो,' उनले भने, 'म आफै पनि नौलो नौलो स्वादका नयाँ नयाँ खानेकुरा बनाउने प्रयास गर्न थालेँ।'
'सेफ भनेको खासमा पेन्टरजस्तै हो। जसरी पेन्टरले विभिन्न रङको प्रयोगबाट नयाँ आकृति सिर्जना गर्छ, त्यसरी नै सेफले पनि विभिन्न मरमसला प्रयोग गरेर नयाँ स्वादको परिकार बनाउँछ,' उनले अगाडि भने, 'मलाई त यो काम गर्दा आफ्नो हातको जादू देखाएजस्तै लाग्छ।'
करिब तीन वर्ष बैंककमा बिताएपछि उज्ज्वललाई नेपाल फर्कने मन भयो। नेपालमै व्यवसाय सुरू गर्ने सानैदेखिको धोकोले पनि उनलाई तानेको थियो।
फर्कनासाथ उनी सबभन्दा पहिला विभिन्न जिल्लाको भ्रमणमा निस्के र कुन ठाउँमा कस्तो खाना बनाइँदो रहेछ भनेर अध्ययनमा लागे।
त्यसैबीच एकदिन दिदीभाइ पुराना दिनको कुराकानी गरिरहँदा उज्ज्वलले सोधे, 'दिदी, हामी सधैं क्याफे खोल्ने कुरा गर्थ्यौं। मलाई अहिले पनि आफ्नो क्याफे सुरू गर्न मन छ। तपाईंको के छ विचार?'
पबिना त्यति बेला खाली नै थिइन्। उनले पहिलेको काम भर्खरै छाडेकी थिइन्।
त्यही मौकामा उनले भनिन्, 'खोल्ने भए खोलौं।'
पबिना र उज्ज्वल त्यसपछि सानो चिया पसल वा क्याफे खोल्ने तयारीमा लागे। त्यही क्रममा एकदिन पिज्जा खान गएका बेला उनीहरूलाई कुरै कुरामा पिज्जा रेस्टुरेन्ट खोल्ने कि भन्ने विचार आयो।
उज्ज्वलले बैंककमा पिज्जादेखि विभिन्न खालका इटालियन खाना बनाउन सिकेका थिए। पिज्जामा पनि विभिन्न स्वाद र विभिन्न शैली कसरी दिन सकिन्छ भन्ने उनलाई ज्ञान थियो।
उनले पबिनालाई भने, 'मलाई विभिन्न खालको पिज्जा बनाउन आउँछ। भान्साको जिम्मा म सम्हाल्छु, हिसाबकिताब तपाईं हेर्नू।'
आफ्नो विशेषज्ञता अनुसार कामको बाँडफाँट गरेपछि दिदीभाइ पिज्जा रेस्टुरेन्ट खोल्ने तयारीमा लागे।
'काठमाडौंमा पिज्जाको ठूलो माग छ। तर यसको मूल्य एकदमै धेरै पर्छ। सामान्य मान्छेलाई त पिज्जा भनेको महँगो खाना हो भन्ने नै लाग्छ,' उज्ज्वलले भने, 'त्यही भएर हामीले आममान्छेको आर्थिक क्षमताले धान्ने गरी सस्तो मूल्यको पिज्जा ल्याउने उद्देश्य राख्यौं।'
यसरी आममान्छेको क्षमताले धान्ने सस्तो पिज्जा ल्याउन कसरी सम्भव छ त?
उनले धेरै समय त्यसकै तयारी गरे।
आखिरमा सोचे — नयाँ तरिकाले पिज्जा बनाएर एक–एक स्लाइस (टुक्रा) बेच्ने हो भने सस्तो पर्छ र सबैले पिज्जाको स्वाद लिन सक्छन्।
पबिनालाई पनि यो आइडिया मन पर्यो।
उनीहरूले यो पनि सोचे — सस्तो मूल्यमा पिज्जा बेच्न रेस्टुरेन्टको भाडा पनि सस्तै हुनुपर्यो।


'हाम्रा लागि सबभन्दा ठूलो चुनौती भाडा सस्तो भएको ठाउँ खोज्नु थियो,' उज्ज्वलले भने, 'हामीले काठमाडौंको वसन्तपुर र पाटनको पिम्बहाल क्षेत्रमा भाडा सस्तो भएको सानो कोठा पाइन्छ कि भनेर खुब खोज्यौं। तर कतै पाइएन।'
आखिरमा उनीहरूले पाटनको गाबहालमा एउटा सानो कोठा फेला पारे।
बैंककमा सानो सानो कोठामा पनि क्याफे, रेस्टुरेन्टहरू राम्ररी सञ्चालन गरिएको देखेका उज्ज्वललाई त्यो ठाउँ खुब मन पर्यो।
'सबभन्दा ठूलो कुरा त, यहाँ भाडा हामीले सोचेजस्तै छ,' उनले भने, 'त्यसमाथि बैंककको अनुभवले होला, मलाई ठुल्ठूलो ठाउँभन्दा सानो ठाउँमा काम गर्न सजिलो लाग्छ।'
ठाउँको टुंगो लगाएपछि उनीहरूले रेस्टुरेन्टको नाम जुराउन पनि धेरै समय लगाए। निकै सोचविचारपछि दिदीभाइ दुवैलाई आर्यता नाम मन पर्यो। आर्यता पबिनाकी छोरीको नाम हो।
उनीहरूले गाबहालमा जति बेला यो रेस्टुरेन्ट खोलेका थिए, वरपर अरू क्याफे र रेस्टुरेन्टहरू खासै थिएनन्। तर पछिल्ला दुई वर्षमा प्रशस्त खुलिसके। टोलभरि क्याफे र रेस्टुरेन्ट फस्टाएको देखेर उज्ज्वल एकदमै खुसी मान्छन्।
'हामी दिदीभाइ नै यो कामबाट सन्तुष्ट छौं,' उनले भने, 'पहिलेको सहमतिअनुसार भान्साको सारा काम म हेर्छु, दिदीले हिसाबकिताब सम्हाल्नुहुन्छ।'
रेस्टुरेन्टमा यी दुई जनाबाहेक जयविन्द्र बज्राचार्य निस्क्रिय साझेदारका रूपमा संलग्न छन्। उनीहरूको करिब २५ लाख रूपैयाँ लगानी भएको छ।
सस्तो पिज्जा बेच्ने योजनाअनुसार खोलिएको यो रेस्टुरेन्टमा एक स्लाइस पिज्जाको मूल्य ८५ देखि १८० रूपैयाँ पर्छ। ठूलो पिज्जा पनि पाइन्छ। यसबाहेक पास्ता, बर्गर, स्यान्डविच, चाउमिन, थुक्पा, किमा नुडल्स, गार्लिक र चिज ब्रेड, मलाइ टेन्डर ग्रिल, विभिन्न खालका डिजर्ट, ड्रिंक्स र कफी पनि पाइन्छन्।
उनीहरूको मुख्य ध्यान र जोड भने पिज्जामै छ। अहिले ३२ स्वादका पिज्जा पाइन्छन्। हरेक दिन नयाँ नयाँ स्वादको पिज्जा ल्याउने प्रयासमा लागेको उज्ज्वल बताउँछन्। बिहान, दिउँसो, राति; जुनसुकै बेला आउने ग्राहकलाई पिज्जा खुवाउन पाइयोस् भन्ने आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ।
'हामी पिज्जा बनाउन प्रयोग गर्ने पिठोदेखि ससहरू सबै आफै उत्पादन गर्छौं,' उज्ज्वलले भने, 'तरकारी पनि हरेक दिन ताजा किनेर ल्याउँछौं र पिज्जामा ताजा तरकारी नै प्रयोग गर्छौं।'
उनका अनुसार काठमाडौंका प्राय: सबै रेस्टुरेन्टमा पाइने पिज्जा विदेशी स्वादका हुन्। उनी आफूले भने नेवारी स्वाद मिश्रण गरेर अन्तर्राष्ट्रिय परिकारलाई नेवारीकरण गरेको बताउँछन्।
त्यही भएर पिज्जाको मेनुमा पनि स्थानीयता झल्किन्छ। यहाँ वाइल्ड पिरो छ्वयला चिकेन पिज्जा, टवाक्क टिक्का चिकेन पिज्जा, कस्तो पिरो बफ किमा पिज्जा लगायत स्वादका पिज्जा पाइन्छन्।
'यहाँ आउने विदेशीहरूले क्लासिक पिज्जाभन्दा नेवारी स्वादको पिज्जा धेरै रूचाउँछन्,' उनले भने, 'कहिलेकाहीँ भिड धेरै भएर बाहिरै बसालेर खुवाउनुपर्छ।'


उज्ज्वलको एउटा सपना छ — नेपाली स्वादलाई संसारभरि चिनाउने। बैंककबाट फर्केपछि उनी नेपाली परिकारहरूको खोजी र अध्ययन गर्न देशभरि घुमेका थिए। त्यो अनुभव समेटेर नेपाली स्वादका परिकारलाई संसारभरि लिएर जाने उनको धोको छ।
नेपालमा रूचाइएका अन्तर्राष्ट्रिय परिकारलाई नेपालीकरण गर्ने विचार पनि गरिरहेका छन्। पिज्जाको नेवारीकरण त्यसैको एउटा कडी हो।
उज्ज्वल र पबिनाको रेस्टुरेन्टमा अहिले पाँच जना कर्मचारी छन्। ठाउँ सानो भए पनि सबै मिलेर काम गर्छन्। तीन जना भित्र पकाउन बस्छन् भने दुई जना बाहिर ग्राहक सम्हाल्छन्। सबै कर्मचारीलाई उज्ज्वलले आफै तालिम दिएका हुन्।
'हामीले काम गर्ने मन भएका तर अनुभव केही नभएका मान्छेहरू लिने गरेका छौं,' उनले भने, 'युवाहरूलाई तालिम र रोजगार दिऊँ भन्ने सोच छ।'
हामीले रेस्टुरेन्टको हिसाबकिताब सम्हालेकी पबिनालाई व्यापारबारे पनि सोध्यौं। उनले दिनको १० देखि १५ हजार रूपैयाँसम्म कारोबार हुने जानकारी दिइन्।
उनीहरूका अनुसार अब एक महिनाभित्र यो रेस्टुरेन्टको नयाँ शाखा पुल्चोकमा खुल्दैछ।
'दिदीले र मैले सानैदेखि आफ्नै व्यवसाय गर्ने सपना देख्यौं। आज त्यो सपना पूरा भएको छ,' उज्ज्वलले भने, 'मलाई सानैदेखि हुर्काउनुभएको दिदीसँग मिलेर व्यवसाय गर्न पाउँदा म खुसी छु।'
सबै तस्बिर स्रोत: आर्यता पिज्जा ब्लेसिङ्स एन्ड क्याफे
***


