नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताएका छन्।
शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने बताए।
'उसले रगतको आधारमा जुन प्राप्त गर्ने अधिकार हुन्छ, त्यो कसैले खोज्न सक्दैन,' उनले भने, 'एलन मस्कको तीन वटा देशको नागरिकता छ । बाउ दक्षिण अफ्रिकाको भएकाले वंशजको आधारमा नागरिकता छ, आमा क्यानाडेली भएकाले वंशजको आधारमा नागरिकाता छ । पछि अमेरिकामा गएर बसोवास गरे, त्यहाँ उनको अंगीकृत नागरिकता छ । वंशजको नागरिकता खारेज हुन सक्दैन, उसले स्वेच्छाले छोड्यो भने मात्रै हो भन्ने बहस भयो।'
नागरिकलाई सेनामा भर्ती हुन पठाउने र आवासीय अधिकार दिँदैमा नेपालमा वंशजको आधारमा पाउने नागरिकताबाट वञ्चित गर्नेकुरा राम्रो नभएको उनले बताए।
'तर हामी हाम्रै नागरिकहरुलाई अर्काको सेनामा भर्ती हुन पठाउँछौँ । सुगौली सन्धीको बेलादेखि हो । कि त हामीले पठाउनु भएन, पठाउने, तिनले ल्याएको पैसाले हाम्रो अर्थतन्त्र मौद्रिकीकरण भएकै तिनीहरुले ल्याएको पैसाले हो । एकातिर हामीले आफ्नो देशको नागरिकलाई पठाउने, कि त पठाउनै हुँदैन थियो । हाम्रो हिम्मत र शाहस छ भने गरौँ त्यस्तो । होइन भने उनीहरु त्यहाँ जाने, त्यत्रो योगदान गर्ने, उनीहरुले प्रकारान्तले नागरिकता खोस्नेकुरा भएको छ । त्यसलाई सच्याऔँ । नत्र भने हाम्रै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार हामीलाई छैन । यो लोकतन्त्र हो । सबैले लडेर ल्याएको । संविधानमै कसैलाई पनि नागरिकताबाट वञ्चित गर्न सकिँदैन भनेर लेखिएको छ,' उनले भने। -न्युज एजेन्सी नेपाल