नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन्।
शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भए पनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने बताएका हन्।
'ब्रिटिश गोरखा सैनिकहरुको विषयमा छिटै निष्कर्ष निस्किनेछ। यसमा के छ भने एनआरएन भन्ने पनि छ,' उनले भने, ' नेपाल छोड्नुपर्ने विभिन्न बाध्यता छन्, 'उता नागरिकता लिइसकेकालाई हामी नेपालको नागरिकता दिन सक्दैनौँ। अरु कामहरुका लागि एनआरएन नागरिकता दिन सकिन्छ। हाम्रो जस्तो सानो देशमा धेरै गाह्रो पर्छ।'
उनले ब्रिटिश गोरखाले पनि बेलायती सैनिक सरह नै सेवा पाउनुपर्छ भन्ने आफूहरूको माग भएको तर उनीहरूले नमानेको पनि बताए।
'निरन्तर नागरिकताको माग उठाउनु स्वभाविक कुरा हो। त्यो दिने नदिने कुरा हाम्रो हातमा हुँदैन,' उनले भने, 'नागरिकताको सम्बन्धमा छलफलको विषय छ। अरु देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ। अरु सुविधाहरु दिन सकिन्छ। नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ।’
सभापति देउवाले गोरखा सैनिकहरुको इतिहास गर्विलो रहेको बताए।
उनले ब्रिटिश गोरखा सैनिकहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताए।
नेपाल र बेलायतबीचको सम्बन्ध विस्तार हुनुमा गोरखा सैनिक फौज महत्वपूर्ण रहेको जिकिर देउवाको थियो। -न्युज एजेन्सी नेपाल