नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि धनुषाको क्षेत्र नम्बर ३ बाट समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका छन्।
शुक्रबार दिउँसो बसेको कांग्रेसको क्षेत्रीय कमिटी बैठकले निधिलाई समानुपातिकतर्फ एकल सिफारिस गरेको क्षेत्रीय सभापति श्याम निधिले जानकारी दिए।
उनका अनुसार क्षेत्र नम्बर ३ को क र ख निर्वाचन क्षेत्रले उनलाई समानुपातिक सांसदमा गरेको सिफारिसलाई क्षेत्रीय कमिटीले अनुमोदन गरेको हो।
२०७४ को निर्वाचनमा यही क्षेत्रबाट प्रत्यक्षतर्फ लडेका निधि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का राजेन्द्र महतोसँग पराजित भएका थिए। महतोले ३० हजार ७२५ मत ल्याएर विजयी हुँदा निधिले २७ हजार ८४७ मत पाएका थिए।
अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता रहेका महतो फेरि यसै क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्। लोसपालाई गठबन्धनमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरिरहेको प्रयासमा निधिले पनि साथ दिएका छन्।
बुधबार जनकपुरधाममा आयोजित क्षेत्रीय कार्यक्रता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनी आफैं पनि आगामी निर्वाचनमा समानुपातिकतर्फ नै सांसद बन्ने संकेत दिएका थिए।
‘समानुपातिक सांसद भए पनि अन्यथा नबुझ्न धनुषा क्षेत्र नं. ३ का नेता कार्यकर्तालाई आग्रह गर्दछु,’ उनले भनेका थिए।
यसपालि निधिले प्रत्यक्षमा उम्मेदवार हुने इच्छा नै नदेखाएको कांग्रेस धनुषाका नेताहरू बताउँछन्।
निधिले पार्टीले सुरक्षित सिटबाट टिकट दिएमा हिमाली वा पहाडी क्षेत्रबाट पनि प्रत्यक्षमा निर्वाचन लड्न सक्ने विकल्प बाँकी रहेको निकटस्थहरूलाई बताउँदै आएका छन्। उनले प्रत्यक्षतर्फ गृह क्षेत्रसमेत रहेको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ छोड्ने बताएपछि विभिन्न राजनीतिक टीकाटिप्पणी भइरहेको छ।
लोसपालाई गठबन्धनमा ल्याउन वर्तमान सांसद महतोलाई सिट छोड्नुपर्ने र फेरि गठबन्धनभित्रै पनि घात हुने अवस्था देखेर निधि समानुपातिकमा जान चाहेको उनीनिकट नेताहरू बताउँछन्।
‘लोसपालाई गठबन्धनमा ल्याउन महतोलाई सिट छोड्नैपर्ने अवस्था आउनसक्छ। किनकी उहाँ अरू सबैतिरबाट असुरक्षित हुनुहुन्छ, यहाँबाट जानै मान्नुहुन्न,’ ती नेताले भने, ‘विमलेन्द्रजी त अहिलेसम्म बलियो क्यान्डिडेट नै हो तर कांग्रेस अधिवेशनमा देखिएको कित्ताकाट, गुट-उपगुट फ्याक्टरले कहीँ कुनै गेम खेलदिए समस्या आउन सक्छ।’
गत स्थानीय चुनावमा निधिको भूमिकाले पनि उनलाई सत्ता गठबन्धनबाटै असहयोग हुने देखिएको छ। त्यतिबेला गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीले जनकपुरको मेयर उम्मेदवार पाएको थियो। जसपा उम्मेदवारको विरूद्धमा कांग्रेसका मनोजकुमार साहले उम्मेदवारी दिए। उनी निधिनिकट हुन्। निधिको पनि सहयोगमा साहले मेयरमा जित हात पारे।
‘गत स्थानीय निर्वाचनमा गठबन्धनको उम्मेदवार हराउन उहाँले खेलेको भूमिकाको असर पनि यो निर्वाचनमा देखिनसक्छ भन्ने क्यालकुलेसन भएर पनि विमलजी पछि हटेको हुनसक्छ,’ ती नेताले भने।
उक्त क्षेत्रमा प्रत्यक्षतर्फ कसलाई सिफारिस गर्ने विषयमा केहीबेरपछि छलफल हुँदैछ। छलफलमा निधि समेत बस्ने बताइएको छ। प्रत्यक्षतर्फ जिल्ला सभापति योगेन्द्र पञ्जियारको चर्चा छ। उनी क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा पराजित भएका थिए।