जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका बागी उम्मेदवार मनोज साहले गत स्थानीय तह निर्वाचनमा फोहोर व्यवस्थापनको मुद्दा जोडतोडले उठाएका थिए।
चुनाव जितेपछि यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता थियो।
फोहोर र लामखुटेले आजित भएका यहाँका बासिन्दाले साहलाई विश्वास गरेर जिताए तर निर्वाचित भएको दुई महिना बितिसक्दा पनि जनकपुरधामको फोहोर व्यवस्थापनमा कुनै पनि काम हुन सकेको छैन।
जानकी मन्दिरको पछाडिपट्टि रहेको खाली जग्गामा फोहोर डंगुर लागेको छ। फोहोरमा मरेका कुकुर–बिराला पनि फ्याँकिएका छन्। फोहोरको दुर्गन्ध परसम्म फैलिएको छ। खाली जमिन परिपरिको बस्तीको सबै फोहोर वर्षौंदेखि त्यहीँ फालिन्छ। राजदेवी मन्दिरको गेट अगाडि पनि फोहोर थुप्रिएको छ। प्रादेशिक अस्पतालको गेट छेउको फोहोर नउठेको झन्डै महिना दिन भएको छ।बाह्रबिघाको पश्चिमीतिरको सडक छेउमा पनि फोहोरको थुप्रो लागेको छ। टोलमा फोहोर उठाउने गाडी हप्तामा मुस्किलले एक दिन पुग्छ। संकट मोचन मन्दिर आसपासका टोलमा झन्डै दुई सातादेखि फोहोर उठाउने ट्याक्टर आएको छैन।
त्यहाँ वरिपरिका बासिन्दाले हप्ता दिन जम्मा गरेर राखेको फोहोर रात परेपछि बाह्रबिघा छेउको खाली जग्गामा फाल्ने गरेका छन्। उनीहरू यसरी फोहर फाल्न बाध्य भएको बताउँछन्। जनकपुर नगरका सबै टोल र चोकको अवस्था उस्तै छ। फोहोर व्यवस्थापन नहुँदा बासिन्दाहरू हैरान छन्। नयाँ जनप्रतिनिधिले पनि फोहोर व्यवस्थापनका लागि ठोस कदम नचालेकोमा असन्तुष्टि बढ्दो छ।
‘काठमाडौँ र धरानका मेयर जनताका लागि दिनरात खटिरहेका छन्। हाम्रा मेयर पनि फोहोर व्यवस्थापन गर्न त्यसरी नै खट्नुपर्थ्यो। यहाँ फोहोर र दुर्घन्ध बढेको बढ्यै छ मेयर फूलमाला र खादा लगाउँदै हिडेका छन्, केही गरेको देख्दिनँ,’ वडा नम्बर ११ का बासिन्दा अशोक कर्ण भन्छन्, ‘फोहोर फाल्ने ठाउँ नपाएर धेरैले मेरो घरको बाउन्ड्रीवाल भित्रै फालेर दुर्गन्धित बनाइदिएका छन्।’
चुनावको समयमा ठूल्ठूला सपना देखाएका मेयर साहले पूर्ववर्ती लालकिशोर साहजस्तै घात गर्ने हुन् कि भन्ने चिन्ता पनि अशोकलाई छ।
आफू निर्वाचित भएपछि जनकपुरधामका मेयर साहले फोहोर उठाउने जिम्मा सबै वडालाई दिने निर्णय गरेका थिए। त्यो निर्णय कागजमै सीमित रहेको एक वडाध्यक्षले बताए। उनले नाम खुलाउन चाहेनन्।
उनले फोहोर व्यवस्थापनका लागि मेयर साहले अहिलेसम्म वडाध्यक्षहरूलाई ठोस योजना दिन नसकेको बताए।
फोहोरको कुरामा धेरै जसो वडाध्यक्षहरू मेयर साहसँग असन्तुष्ट छन् तर कोही पनि सार्वजनिक रूपमा बोलेका छैनन्। मेयरलाई दबाब पनि दिन सकेका छैनन्। कतिपय मेयरलाई खुसी राख्ने दाउमा छन्।
‘अघिल्ला मेयरसाबको पालामा गलत हुँदा मैले धेरै विरोध गरेँ तर केही पनि फरक परेन। विरोध गरेपछि विकास पनि भएन,’ एक वडाध्यक्षले सेतोपाटीसँग भने, ‘यसपालि मेयर साबले जति गलत गरे पनि म उहाँको विरोधमा बोल्दिनँ।’
आफू विरोधमा नबोल्नुको कारण पनि उनले खुलाए। भने, ‘मेरो वडामा तीन वटा काम गराउनु छ। विरोध गरेँ भने त्यो योजना दिनुहुन्न। अरू वडाध्यक्ष पनि खासै नबोल्लान् अहिले।’
वडा नम्बर १९ का वडाध्यक्ष विनोदकुमार साहले ट्याक्टर उपलब्ध नहुँदा फोहोर व्यवस्थापन गर्न कठिन भएको बताए।
‘अहिले हाम्रो वडामा दुई जना स्वीपर (बढार्ने व्यक्ति) दिइएको छ। हप्तामा एक दिन ट्याक्टर आउँछ। यहाँ कम्तीमा चारजना स्वीपर र सधैँका लागि ट्याक्टर चाहियो,’ उनले भने, ‘फोहोर फाल्ने ठाउँ नहुँदा भएभरको फोहोर सडक छेउमै र ऐलानी जग्गामा थुप्रिएको छ।’
प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायले फोहोर फाल्न उपमहानगरले जग्गा भाडामा लिएको बताए। नगरबाट संकलन हुने फोहोर त्यही जग्गामा फालिने गरेको उनको भनाइ छ।
वडाध्यक्षहरू चाहिँ कतै सडक किनारमा त कतै खाली रहेको जग्गामा फोहोर फालिने गरेको बताउँछन्।
‘हुलाकी सडक बनाउने क्रममा छेउमा नालाजस्तो बनेको छ। हाम्रो वडाको सबै फोहोर त्यहीँ फालिन्छ,’ वडानम्बर १८ का वडाध्यक्ष लक्षमेश्वर मण्डलले भने।
नगरवासीले पनि सरसफाइमा ध्यान नदिँदा फोहोर व्यवस्थापनमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको भनाइ छ।
उपमेयर किशोरी साह चाहिँ गाडी र जनशक्ति अभावले फोहोर व्यवस्थापन हुन नसकेको बताउँछन्। तैपनि उनले प्रत्येक वडामा सफाइ कर्मचारी र ट्याक्टर उपलब्ध गराएको बताए।
उनले भने, ‘अहिले ट्याक्टर कम संख्यामा हुँदा सधैँ फोहोर उठ्दैन।’
वडाध्यक्षहरू भने एक–दुई जना सफाइ कर्मचारी दिए पनि ट्याक्टर नदिएको बताउँछन्।
ट्याक्टर थोरै भएकाले दिनदिनै फोहोर उठाउन नसकिएको उनको भनाइ छ। अब दुई सातामा पाँच वटा ट्याक्टर आउने र निरन्तर फोहोर उठ्ने उपमेयर साहले बताए।
उनले केही ठाउँमा अस्पतालले पनि फोहोर थुपारेको बताए। त्यो फोहर उठाउने जिम्मेवारी अस्पतालकै हुने उनको भनाइ छ।
फोहोर व्यवस्थापनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न जनकपुरधाम उपमहानगरले ल्यान्डफिल साइट निर्माण गर्न गुठी संस्थानसँग जग्गा लिजमा लिने तयारी गरेको छ।
उपमेयर साहका अनुसार वडा नम्बर १२ मा छिटै जग्गा लिजमा लिइनेछ।
ल्यान्डफिल साइटबाट दुर्गन्ध फैलिन नदिन उचित प्रबन्ध गर्ने उनले बताए।
उनले भने, ‘फोहोर जम्मा भइसकेपछि केमिकल हालेर गन्धरहित बनाइनेछ। भित्रै पार्क बनाइनेछ। यो ठूलो प्रोजेक्ट छ, तुरन्तै ठाउँ भेटियो भने ६ महिना लाग्छ होला।’
उपमेयर साहका अनुसार ल्यान्डफिल साइट व्यवस्थापनबारे केही ठाउँमा अध्ययन भ्रमण पनि भएको छ।
‘धरान र इलाम नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने प्रविधि हामीलाई मन परेको छ। हामी छलफल गर्दै छौँ, टुंगो लागिसकेको छैन,’ उनले भने।
उनका अनुसार धरानमा २० करोड रुपैयाँ लगानीको प्रोजेक्टले फोहोर व्यवस्थापन गरी इन्धन र अन्य समानहरू उत्पादन गरिरहेको छ।
त्यसैगरी इलाम नगरपालिकाले ५० लाख रुपैयाँकै लागतमा फोहोर व्यवस्थापन गरी आवश्यक सामानहरू उत्पादन गरेको भ्रमण टोलीलाई राम्रो लागेको छ।
ल्यान्डफिल साइट हुँदाहुँदै अर्को खोजिँदै
जनकपुरधाम उपमहानगरले ल्यान्डफिल साइट निर्माणका लागि गुठी संस्थानसँग वडा नम्बर १८ स्थित भोइलमा १२ बिघा १० कट्ठा १६ धुर जग्गा लिजमा लिएको ६ वर्षभन्दा बढी भएको छ।
उपमहानगरले २०७३ फागुन २० गते ३० वर्षका लागि जग्गा लिजमा लिएको हो। यो जग्गा हुँदाहुँदै अर्को जग्गा खोजी हुँदैछ। भोइलमा लिएको जग्गाको वार्षिक पाँच लाख रुपैयाँ तिर्ने गरेको वरिष्ठ इन्जिनियर वीरेन्द्र यादवले बताए।
‘त्यहाँ ल्यान्डफिल साइट बनाउने कुरा आएपछि स्थानीयवासीले विरोध गरे। अहिले त्यो जग्गामा मनपरी खेतीपाती गरेका छन्। लिज सम्झौता रद्द भएको छैन,’ उनले भने।
फोहोर व्यवस्थापनका लागि पहिले नै जग्गा लिजमा लिएको कुरा आफूलाई थाहा नभएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए।
उपमेयर साह पनि आफूलाई केही थाहा नभएको बताउँछन्।
वडा नम्बर १८ का वडाध्यक्ष मण्डलले पहिलै लिज लिएको उक्त जग्गामा ल्यान्डफिल साइट निर्माणबारे मेयरले चासो नराखेको बताए।
‘अघिल्लो मेयरको पालामा ल्यान्डफिल साइट बन्ने चर्चा भयो तर यो बाटोबाट प्लेन ल्यान्डिङ गर्छ। चराले असर गर्ला भनेर टोलवासीले विरोध गरे,’ मण्डलले भने, अहिले किन प्रयास गरिएन, मलाई केही थाहा छैन। मेयरसाबले सोध्नुभएको छैन।’
उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले फोहोर व्यवस्थापनको प्रयास भइरहेको भने पनि कहिलेसम्ममा काम हुन्छ भन्ने टुंगो छैन।