धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराई सर्वोच्च अदालत तानिएका छन्।
जनकपुरका पेट्रोल पम्प व्यवसायी मनोज साहको हत्या मुद्दामा गरिएको फैसला विवादित बनेकै बेला उनलाई सर्वोच्चमा काज सरूवा गरिएको हो।
सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले भने कार्यव्यस्तताका कारणले सर्वोच्चमै राखेर काम गर्ने गरी भट्टराईलाई काजमा खटाइएको बताए।
सर्वोच्च अदालत स्रोतले भने विवादित फैसला र आदेशबारे सोधपुछ गर्न र बुझ्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीकै निर्देशनमा उनलाई काज सरूवा गरेर सर्वोच्च ल्याइएको बतायो।
गएको असार २१ गते भट्टराईको इजलासले साहको हत्या मुद्दामा गोली हानेर हत्या गरेको अभियोग लागेका पंकज चौधरीसहित घटनामा संलग्न भनिएका तीन जनालाई सफाइ दिएको थियो।
पंकजका ड्राइभर धनुषाधाम नगरपालिका–५ का ललित उराउ र मिथिलाबिहारी नगरपालिका–३ का गौरी मण्डल समेत घटनामा संलग्न रहेको अभियोग छ। उराउले मण्डलबाट पेस्तोल र गोली खरिद गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो। तर अभियोग दाबीअनुसार प्रमाण नपुगेका कारण उनीहरूलाई सफाइ दिइएको धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले बताए।
उनका अनुसार फैसलाको पूर्णपाठ आइसकेको छैन।
नेपाल बार एसोसिएसन जनकपुरले पनि न्यायाधीश भट्टराईको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ।
सोमबार बसेको बारको बृहत् बैठकले न्यायाधीश भट्टराईको ५ नम्बर बेन्च बहिष्कार गर्ने निर्णय भएको एसोसिएसनका सचिव अधिवक्ता नवल मण्डलले बताए।
‘संचारकर्मीसँगको कुराकानीको क्रममा उहाँले न्यायाधीश भट्टराई मेरो नाउबाट वकिलहरूले पैसा लिएको हुनसक्ने बताउनुभएको छ। यो भनाइप्रति हामीले खेद प्रकट गरेका छौं। उहाँले यस्तो दोषारोपणको भाषा बोल्नु हुँदैनथ्यो,’ अधिवक्ता मण्डलले भने, ‘बलात्कार, लागुऔषध लगायतका विभिन्न विवादित फैसलाहरू संकलन गरेर न्याय परिषदमा अनुसन्धानका लागि पठाउनुपर्ने निर्णय पनि भएको छ।’
६ कात्तिक २०७६ मा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो। हत्या आरोपमा पंकज चौधरीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको थियो।
प्रहरीका अनुसार, उनको साथबाट प्रहरीले दुई थान हतियार र २२ राउण्ड गोली बरामद गरेको थियो। लेनदेन विवादका कारण साहको हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको थियो।
निर्माण व्यवसायी पंकजले मनोजको सपहीस्थित न्यू शिव आयल स्टोर्सबाट डिजेल किनेको आठ लाख रुपैयाँ उधारो थियो। पंकजले सो रुपैयाँ दिन आलटाल गर्दै आएका थिए। त्यसैक्रममा मनोज पैसा लिनका लागि साथी अमित साहलाई लिएर पंकजको घर गएका थिए। दुवै जनाबीच भनाभन हुँदै विवाद भएपछि पंकजले बिहान १० बजेतिर मनोजमाथि गोली प्रहार गरेको प्रहरी अनुसन्धानले देखाएको थियो। हत्याका साक्षी अमीत भागेर नजिकै रहेको मुझेलिया प्रहरी चौकीमा पुगेर खबर गरेका थिए।
करिब ५० मिटरको दूरीमा रहेको चौकीका प्रहरीले पंकजलाई लुकेर बसिरहेको अवस्थामा छिमेकीको घरबाट हतियारसहित नियन्त्रणमा लिएको थियो।
उनको साथबाट ४ राउण्ड गोली र अटोमेटिक पेस्तोल घटनास्थलबाट तथा एक थान कटुवा पेस्तोल, त्यसको २ राउण्ड गोली र अटोमेटिक पेस्तोलको १५ राउण्ड गोली चौधरीले बोकेको झोलाबाट बरामद भएको थियो।
पंकज निर्माण व्यवसायी हुन्। उनले सपहीस्थित रहेको मनोजको पेट्रोल पम्पबाट पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ किन्ने गरेका थिए।
त्यसैक्रममा पंकजले मनोजको पम्पबाट खरीद गरेको डिजेलमध्ये ८ लाख उधारोमा लिएका थिए।
पंकजले त्यो पैसा दिन आलटाल गरेपछि दुबै जनाबीच मनमुटाव बढेको थियो। मनोजले उनको घरमै पुगेर ताकेता गर्न आएपछि उनीमाथि गोली प्रहार गरिएको प्रहरी अनुसन्धानमा खुलेको थियो।