उनी एक दशकदेखि निरन्तर सामाजिक काममा सक्रिय थिइन्। हुँदाहुँदै राजनीतिमा होमिइन्। मधेश आन्दोलनका बेला जनकपुरमा उनी अग्र मोर्चामा भेटिन्थिन्।
आन्दोलनको अघिल्लो पंक्तिबाट उठेर रिताकुमारी मिश्र चार वर्षअघि जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर भइन्।
त्यो अघि उनले परिवारमा, समाजमा, स्कुलमा, पार्टीमा, देशमा जहिले पनि पुरूषहरूकै नेतृत्व देखेकी थिइन्। उपमेयरका पाँच वर्ष उनले त्यो नेतृत्वले राज्य कसरी चलाउँछ कसरी काम गर्छ भनेर नजिकैबाट हेरिन्।
उनले राजनीति गरेको समाजलाई अघि लैजान हो। उनले राजनीति गरेको परिवारमा, समाजमा, स्कुलमा, पार्टीमा र देशमा देख्दै आएको नेतृत्वको अनुहार फेर्न हो। आफूले सानैदेखि देख्दै आएको नेतृत्वमा अब उनी आफ्नै अनुहार दर्ज गर्न चाहन्छिन्।
उनले उपमेयर भएका पाँच वर्ष मेयर लालकिशोर साहको नेतृत्वलाई कसरी मूल्यांकन गरिन्? के सिकिन्? के कुरा उनलाई चित्त बुझेन? आफूले के गरिन्?
यिनै प्रश्न लिएर हामी उनीसँग भेट्न गएका थियौं।
यो समयमा आफूले पुरूष नेतृत्वका कमजोर र बलिया पाटा पनि पर्गेल्ने मौका पाएको उनले बताइन्।
उनको अनुभवले भन्छ– पुरूष नेतृत्व सबभन्दा कठोर तब देखिन्छ जब उसले महिलासँग काम गर्नुपर्छ। महिलाका कुरा सुन्नै नसक्ने, आफ्नै एकाधिकार थोपर्ने ढिपी उनीहरूमा हुने रहेछ। महिलाको कुरा मान्यो भने सानो हुन्छु कि भन्ने हिनताबोध हुँदो रहेछ।
‘मैले कुनै राम्रो काम गर्ने प्रयास गर्ने बित्तिकै जस जाने ठानेर मेयरसाबले मलाई ब्रेक लगाउन थाल्नुभयो। मैले नेतृत्व गरेको कार्यक्रम अघि बढ्न नदिने, बजेट विनियोजनमा बाधा खडा गरिदिने काम गर्नुभयो,’ उपप्रमुख मिश्रले आफ्नो तीतो अनुभव सुनाइन्, ‘कर्मचारीलाई पनि मलाई असहयोग गर्न उस्काउनुभयो। समाज पनि महिला अघि नबढोस् भन्ने चाहँदो रहेछ।’
पुरुष कर्मचारीले महिलाका लागि आवश्यक योजनाहरूमा सहयोग र सहजीकरण नगरेको उपप्रमुख मिश्रको अनुभव छ।
उनको प्रयासले लैंगिक हिंसा न्यूनीकरण अभियानका लागि राष्ट्रिय योजना आयोगले उपमहानगरलाई चालु आर्थिक वर्षमा दुई करोड पाँच लाख रुपैयाँ दिएको थियो।
‘मेयरसाबको बेवास्ताले त्यो बजेट खर्च गर्न सकिएन, फिर्ता गयो,’ मिश्रले भनिन्,‘राजनीतिक र प्रशासनिक दुवै नेतृत्वमा पुरूष भएकाले महिला उत्थानको बजेटले महत्व पाएन।’
उपमेयरका रूपमा मिश्रको पाँच वर्षको अनुभवले भन्छ– पुरूष नेतृत्वले भौतिक विकासमा मात्रै जोड दिँदो रहेछ यद्यपि जनकपुरको सवालमा त्यो पनि खासै सफल देखिएन।
‘महिलालाई सानैदेखि मौन बस्न र सहन सिकाइएको हुन्छ तर पुरूषलाई आफ्नो शक्ति प्रदर्शन गर्न,’ मिश्र भन्छिन्,‘मैले नगरपालिकामा पनि त्यही प्रवृत्ति अनुभव गरेँ।’
अहिले उनलाई मेयरले अधिकारमा हस्तक्षेप गर्दा पनि चुप लागेर पो बसेँ कि जस्तो लाग्छ।
‘मेयर हाम्रै पार्टीका हुन्, कसरी विरोध गर्ने भन्ने सोच पनि भयो। जसरी घरमा हामी बर्दास्त (सहने) गर्छौं त्यसरी नै अफिसमा पनि बर्दास्त गर्दै गयौं, बानी नै त्यस्तै पर्यो,’ उनले थपिन्, ‘अहिले सम्झँदा नगरपालिकामा त्यसरी सहनु हुँदैनथ्यो जस्तो लाग्छ। अब आउने उपप्रमुखले हाम्रो अनुभवबाट सिक्नुपर्छ।’
मिश्रले महिलालाई पछि पार्न पुरूषहरू मिल्ने गरेको पनि देखिन्। परिवारमा महिलाले काम गरेर पुरूषले फल प्राप्त गरेजस्तै नगरपालिकामा पनि भएको उनले बताइन्।
योजना तर्जुमा उपमेयर नेतृत्वको समितिले गर्छ। बजेट सिलिङ भएर आएपछि योजना र कार्यक्रम बनाउने काम उपप्रमुखले गर्छन्। योजना सम्पन्न भइसकेपछिको जस लिन मेयर र वडा अध्यक्ष मात्रै अघि सरेको पनि मिश्रले देखिन्।
‘मैले नै योजना तर्जुमा गरेँ, नगरको बजेटले वडा कार्यालयहरू बने तर शिलालेखमा मेयर, वडाध्यक्ष र वडा सदस्यहरूको नाम लेखियो,’ उनले भनिन्, ‘महिला भएकाले उपमेयरको नाम नलेखिएको हो। यस्तो थाहा पाएपछि शिलालेख फोड्छु, अनुगमनमा आउँदिनँ भनेपछि कतैकतै उपमेयरको नाम पनि लेखिएछ। मैले त नामकै लागि पनि लडाइँ गर्नुपर्यो। अझै नामकै लडाइँ जारी छ।’
प्रमुखको मनोमानीले भौतिक विकासबाहेक अन्य महत्वपूर्ण योजनामा बजेट विनियोजन नभएको उनको भनाइ छ।
‘बजेट सिलिङ गरिदिएपछि त्यही बजेटबाट योजना बनाउनुपर्छ,’ उनले भनिन्, ‘स्वरोजगार, जनचेतना, कृषि लगायतका क्षेत्र पुरूषको प्राथमिकतामा परेनन्; भौतिक विकासको कुरा मात्र भयो।’
महिला स्वरोजगार, मिथिला पेन्टिङ लगायतका काम प्राथमिकतामा राखे पनि आवश्यक बजेट नछुट्याउँदा गर्नैपर्ने कतिपय काम गर्न नसकेको उनको भनाइ छ।
पच्चीस वटै वडामा बालविवाह र महिला हिंसा विरूद्धको कार्यक्रम भने गर्न सकेको उनले बताइन्।
उपमेयरका रूपमा आफ्नो कार्यकालबाट मिश्र असन्तुष्ट छिन्। उपमहानगरले कामको प्राथमिकता र लक्ष्य निर्धारण गर्न नसकेको उनको विश्लेषण छ।
मिश्रका अनुसार जनकपुरलाई स्वच्छ–सफा बनाउनुपर्ने र सौन्दर्यीकरण गर्नुपर्ने जनताको पहिलो माग थियो।
‘त्यसअनुसार उहाँ (मेयर) ले काम गर्नसक्नु भएन। अलि-अलि प्रयास त गर्नुभयो तर जुन अधिकार र कर्तव्य थियो, त्यस हिसाबले एकदमै न्यून काम भयो,’ मिश्रले भनिन्, ‘मेयर साबले सबै अधिकार आफैंमा केन्द्रित गर्नुभयो। आफूले पनि काम गर्न सक्नुभएन, अरूलाई जिम्मा पनि दिनुभएन।’
मिश्रका अनुसार उनले आफूलाई सफाइ समिति जिम्मा दिन मेयरलाई आग्रह गरिन्। जनकपुर सहर सफा बनाएर देखाउने वाचा गरिन् तर मेयर अधिकार प्रत्यायोजन गर्न तयार भएनन्।
उनले भनिन्,‘महिला भनेर होला, मलाई गन्दै गन्नुभएन। कुनै पुरूष वडाध्यक्षलाई संयोजक बनाउन पनि सुझाव दिएँ, त्यो पनि मान्नु भएन। आफूले पनि गर्न सक्नुुभएन।’
पाँच वर्षको अनुभवका आधारमा दोस्रो कार्यकालको मेयर पदमा आफू सबैभन्दा उपयुक्त पात्र रहेको उनको जिकिर छ।
स्वच्छ, सुन्दर, सफा, हिंसारहित पर्यटकीय जनकपुर बनाउन सक्ने क्षमता आफूले हासिल गरेको उनको दाबी छ।
संघीय सरकारले असहयोग गरे पनि त्योभन्दा धेरै मेयरकै कमजोरीले जनकपुर फेरिन नसकिएको उपमेयर मिश्रको निष्कर्ष छ।
उनले भनिन्,‘म मेयर भएको भए जनकपुर स्वच्छ हुने थियो। मसँग भिजन थियो। चार बिघा जमिनमै सहरको फोहोर व्यवस्थापन गर्न सकिन्थ्यो।’
उपमयेर मिश्र पाँच वर्षमा मेयरको कुनै पनि कामबाट प्रभावित भइनन्। बरू पुरूष प्रधान मनोविज्ञानले भरिएको नेतृत्व समाजको सर्वाङ्गीण विकासका लागि चुनौती रहेछ भन्ने निष्कर्षमा पुगिन्।