मधेस प्रदेशमा गठबन्धनबारेको अन्यौलताले सत्तारूढ दलहरूमा उम्मेदवार घोषणामा ढिलाइ हुँदैछ। यद्यपि आन्तरिक तयारी भने सबै दलले तीव्र पारेका छन्।
सत्तारूढसँगै प्रतिपक्षी दलहरूले समेत उम्मेदवार चयनका लागि वडा तहबाटै सिफारिस गर्ने क्रम बढाएको छ।
केही स्थानबाहेक दलहरूले अधिकांश पालिकामा उम्मेदवारको अन्तिम टुंगो लगाउन बाँकी छ।
प्रदेशको १ सय ३६ स्थानीय तहमध्ये राजधानीको केन्द्र जनकपुरधाम उपमहानगरपालिकाको आगामी नेतृत्वबारे सबभन्दा धेरै चासो छ।
हालसम्म नेकपा एमालेबाट शिवशंकर साह ‘हिरा’ र स्वतन्त्र रूपमा निर्माण व्यवसायी बलराम महतोको उम्मेदवारी निश्चितजस्तै छ।
महतोले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने हिरा एमाले जनकपुरधाम उपमहानगरपालिका कमिटीबाट सिफारिस भएका एकल नेता हुन्।
त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।
जिल्ला अध्यक्ष एवं प्रदेश सांसद समेत रहेका साह, मनोजकुमार चौधरी, सञ्जय चौधरी, जानकीराम साह र अमर पंजियारको नाम नगर कमिटीले जिल्ला कमिटीमा सिफारिस गरेको हो। तीमध्ये महन्थ ठाकुरनिकट परमेश्वर साहलाई उम्मेदवार बनाउन केन्द्रीय नेतृत्व मनस्थिति बनाएको लोसपाका एक नेताले बताए।
जनता समाजवादी पार्टी (जसपा) गठबन्धनको पर्खाइमा छ। जनकपुरधामको मेयरका लागि जसपाबाट तीन जनाले दाबी गरेका छन्।
वर्तमान मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह र बजरंग यादवले दाबी प्रस्तुत गरेका हुन्।
विष्णुदेव यसअघि तत्कालीन समाजवादी पार्टीबाट मेयरका चुनाव लडेका थिए भने बजरंग यादवले अनुहार फेरेर नयाँ उम्मेदवार दिनुपर्ने भन्दै आफ्नो दाबेदारी गरेका छन्। तर मेयर साहले धेरै काम गर्न अहिले बाँकी रहेकोले दोहोर्याउनुपर्ने भन्दै आएका छन्।
त्यसैगरी, कांग्रेसबाट अघिल्लो चुनावमा पराजित भएका नगर सभापति मनोज साह, पूर्वउपमेयर किशोरी साह र नगर उपसभापति राकेश विक्रम साह आकांक्षी छन्। तीनै नेताले टिकटका लागि नेतृत्वसँगै नगरभित्र समेत धौडधुप बढाएका छन्।
मनोज साहले गत निर्वाचनमा म निकटतम प्रतिस्पर्धी रहेको कारण यस पटक आफू नै पाउनुपर्ने दाबी गरेका छन्।
त्यस्तै, राकेश विक्रम साहले विकास निर्माणका लागि नेतृत्वको जिम्मेवारी युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउँछन्। त्यसैगरी किशोरीले भने आफू २०५४ सालको निर्वाचनमा उपमेयरमा नेपालमै सबभन्दा धेरै मत ल्याएर विजयी भएको स्मरण गराउँदै यसपालि मेयरको टिकट पाउनुपर्ने दाबी गर्छन्।
जनमतका हिसाबले जनकपुरधाममा कांग्रेस, जसपा र लोसपा बलियो छ। अघिल्लो मतपरिणामलाई आधार मान्ने हो भने नेकपा एमाले, माओवादी र एकीकृत समाजवादी कमजोर छ।
जनतामा पकडसँगै जनकपुरमा सबै दलले जातीय समीकरण मिलाएरै टिकट बाँड्नुपर्ने चुनौती समेत छ। यहाँ साहुजी मतदाताको संख्या सबैभन्दा धेरै छ। त्यसपछि ब्राह्मण, मुस्लिम, यादव मतदाता छन्।