हाम्रा स्थानीय सरकार
सम्पादकीय नोट: राजनीतिक अस्थिरताका कारण लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन थिए। संघीयतामा गएपछि गाउँ/नगरपालिकाको पुनर्संरचना भयो। गाउँ-सहरमा सिंहदरबारको नारा लाग्यो। यी स्थानीय तहले पाँच वर्षको आफ्नो पहिलो कार्यकाल पूरा गर्दैछ। यस अवधिमा अरूले भन्दा राम्रो काम गरेका प्रत्येक प्रदेशका दुईवटा गाउँ/नगरपालिकाबारे सेतोपाटीले स्टोरी गर्ने छ।
आजकाल नियमित स्वास्थ्य जाँच गराउन र सुत्केरी गराउन गर्भवतीलाई भारतको मेजरगञ्ज लैजानु पर्दैन। विद्यालयका पुराना शिक्षक आफ्नो सट्टा 'खेताला शिक्षक' राखेर कमाउ धन्दामा लाग्न पाउँदैनन्। १२ कक्षासम्म पढ्न गाउँ छाडेर बाहिर जानु पनि पर्दैन।
सबै घरपरिवारले खाना पकाउन ग्यास सिलिन्डर र चुलो पाएका छन्। अब उनीहरूले दाउरा खोज्ने सास्ती गर्नु पर्दैन। अति विपन्न पाँच मुसहर परिवारले त घर नै पाए। स्वरोजगारीका लागि गाउँपालिकाले तालिम पनि दिएको छ।
गाउँका मुख्य बाटाहरू ढलान भए, नाला र कल्भर्ट बने। मठमन्दिरहरू मर्मतसम्भार भए। प्रत्येक वडामा एउटा सामुदायिक भवन बन्यो। ठेकदारले निर्माण काममा छलछाम र ठगी गर्ने कुरा नसोचे पनि हुन्छ।
यो पृष्ठभूमि हो सर्लाही जिल्लाको विष्णु गाउँपालिकाको। एकपटक सरसर्ति विष्णु गाउँपालिका घुमौं है त!
सुत्केरी अब भारत जानु पर्दैन
मधुवनकी रामकुमारी देवीले गाउँमा 'मुखियाजी' आएपछि साधारण उपचारका लागि बिहार, मेजरगञ्ज जानु नपरेको बताइन्। उनका अनुसार अलि ठूलो रोगका लागि चाहिँ भारत नै जानुपरेको छ। गाउँलेहरू किनमेलका लागि पनि भारततिर जान्छन्। धेरैजसो मानिस मेजरगञ्ज र सीतामढी बजार जाने गरेको उनले बताइन्।
यहाँका अधिकांश बासिन्दाहरू गाउँपालिकाका अध्यक्ष जवाहर यादवलाई 'मुखियाजी' भन्छन्।
'अहिले त गाउँमै पनि दबाई राम्रो हुन्छ। पहिले बहुत समस्या थियो,' रामकुमारी देवीले भनिन्, 'मुखियाजी आएपछि पढाइ र दबाइको राम्रो व्यवस्था भएको छ।'
उनका अनुसार बाटोघाटोमा चाहिँ धेरै सुधार भएको छैन।
'रास्तापैरा (बाटोघाटो) पहिलेजस्तै छ,' उनले भनिन्, 'गाउँमा अस्पताल बनेको छ, स्कुल बनेको छ। कतै कतै सडक ढलान भएको छ।'
रामकुमारीले चार वर्षअघि आफ्नी छोरी कवितालाई सुत्केरी गराउन भारतको मेजरगञ्ज लगेकी थिइन्। उनको गाउँबाट मेजरगञ्ज झन्डै १२ किलोमिटर टाढा पर्छ। राति नै जानु पर्ने भयो। चार हजार रूपैयाँमा जीप भाडामा लिए। हिलो बाटोमा जिप फसेर पुग्न ढिला भयो।
उनले त्यस दिनको आपत सुनाइन्, 'त्यहाँ फेरि डाक्टरले मजबुरीको फाइदा उठाउँछ। जानेबित्तिकै अपरेसन गर्नु पर्छ भन्यो, अपरेसनकै १५ हजार भारू लियो।'
दुई वर्ष भयो गाउँमा बर्थिङ सेन्टर सञ्चालन भएको। उनकी बुहारीको पालामा सजिलो भयो। गाउँकै स्वास्थ्य चौकीमा चार पटक बुहारीको निःशुल्क जाँच भयो। गाउँकै बर्थिङ सेन्टरमा बुहारीले बच्चा जन्माइन्। बुहारीले सुत्केरी हुँदाको सबै औषधि पनि निःशुल्क पाइन्। घर फर्किँदा एक हजार रूपैयाँ, एक क्यारेट अन्डा, तीन किलो चना, बच्चाका लागि दुई जोर र आमाका लागि एक जोर लुगा पनि पाइन्। गाउँमै यस्तो सुविधा पाएर रामकुमारी देवी दंग परिन्।
उनले भनिन्, 'जो धनीमानी छ उसका लागि त यो केही होइन, हाम्रा लागि ठूलो उपकार हो।'
गाउँपालिकाको अभिलेखअनुसार दुई वर्षमा बर्थिङ सेन्टरमा तीन हजार दुई सय महिलाले प्रसूति गराएका छन्। सुत्केरीलाई दिने अन्डा र चनाको गुणस्तरमा भने असन्तुष्टि सुनिएपछि एक किलो घिउ दिन थालिएको छ।
'पहिले गरिबले बयलगाडा चढेर जानुपर्थ्यो, ढिलो पुग्दा बच्चा पेटमै मर्ने घटना पनि भयो,' अध्यक्ष यादवले भने, 'बच्चाले दिसा खाएको छ, उल्टो छ, सालनालले बेरिएको छ भनेर नेपाली एक लाख रूपैयाँ ठटाइहाल्ने! साहुसँग ऋण लियो अनि तिर्दैमा जीवन जाने हुन्थ्यो।'
उनले थपे, 'प्रसूतिमा एक लाखको दरले हिसाब गर्ने हो भने हाम्रो प्रयासले गरिबको ३२ करोड रूपैयाँ बचत भयो। कति आमा र बच्चा अकाल मृत्युबाट जोगिए।'
सबै वडामा स्वास्थ्य चौकी
स्थानीय सरकार आउनुअघि गाउँपालिकाभर सिमरामा एउटा स्वास्थ्य चौकी थियो। औषधि त जुन सोधे पनि 'छैन' भन्ने जवाफ आउँथ्यो।
'यहाँ त गरिब मान्छे मात्र दबाई लिन आउँथे। स्वास्थ्य चौकीमा औषधि हुँदैन थियो। अहिले पाइन्छ,' रामकुमारीले भनिन्, 'मुखियाजीले डाक्टरले छैन भनेर फर्काए भने तुरन्त मलाई भन्नु भनेका छन्।'
साविकका चार वटा गाविस गाभिएर बनेको विष्णु गाउँपालिकामा आठ वटा वडा छन्। अहिले सबै वडामा आधुनिक भवनमा स्वास्थ्य चौकी छन्। साधारण उपचार, गर्भवतीको जाँच र प्रसूति सेवा स्वास्थ्य चौकीमै उपलब्ध छ।
दक्षिणी सीमावर्ती क्षेत्रको विष्णु गाउँपालिका जिल्लाकै पिछडिएको मानिन्थ्यो। स्थानीय सरकारको चार वर्षमा धेरै सुधार भएको स्थानीयवासीहरू बताउँछन्।
अध्यक्ष यादव २०५४ सालमा साविकको सिमरा गाविसमा अध्यक्ष निर्वाचित भएका थिए। आफ्नो उक्त कार्यकालमा स्वास्थ्यमन्त्री सुरेन्द्र चौधरीलाई आग्रह गरेर सिमरा स्वास्थ्य चौकीको भवन निर्माण गराएका थिए। अहिले त्यही भवनमा स्वास्थ्य चौकीसँगै गाउँपालिका कार्यालय समेत छ। अहिले स्वास्थ्य चौकी परिसरमै ११ करोड रूपैयाँ लागतमा गाउँपालिका भवन बन्दैछ।
आफू अध्यक्ष निर्वाचित हुनासाथ यादवले प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापनाको अभियान चलाए। स्वास्थ्य चौकी पुग्ने बाटाहरू मर्मत गराए। संघीय सरकारसँग कर छुट मागेर एउटा एम्बुलेन्स किने। सुरूमा एम्बुलेन्स प्रयोग गर्न दूरीअनुसार दुई सयदेखि तीन सय रूपैयाँसम्म शुल्क लिए पनि पछि निःशुल्क भयो।
स्वास्थ्य चौकीमा नहुने भए एम्बुलेन्सले जिल्ला अस्पताल पुर्याउँछ। प्रसूतिका लागि आउने महिलाको प्याथोलोजी परीक्षण पनि न्यूनतम शुल्कमा गाउँकै स्वास्थ्य चौकीमा हुन्छ।
ल्याब असिसटेन्ट राहुलकुमार मण्डलका अनुसार प्याथोलोजी ल्याब सञ्चालनमा आएपछि क्षयरोग जँचाउन आउनेको संख्या धेरै छ। पहिले अनुमानका भरमा दबाई चलाउनुपर्थ्यो। अहिले यहीँ जाँचेर दिइन्छ।
अध्यक्ष यादवका अनुसार ३० करोडको लागतमा १५ शैयाको अस्पताल निर्माणका लागि पनि प्रयास भइरहेको छ। अस्पताल चालु भएपछि गाउँपालिकाका जनताका लागि वरदान हुने उनको विश्वास छ।
भन्छन्, 'गाउँमै यस्तो हस्पिटल बनाउँछु कि यहाँबाट रिफर भएर बिरामीलाई जनकपुर, मलंगवा र वीरगञ्ज जानु नपरोस्, जानु परे सिधै काठमाडौं।'
ठग ठेकदारलाई छैन ठाउँ
एक वर्षअघि वडा नम्बर ३ मा स्वास्थ्यचौकी भवनको छत ढलान हुँदै थियो। निर्माणस्थलमा प्राविधिक कर्मचारीसँगै कार्यालय सहयोगी पनि थिए। ठेकदारले प्राविधिक कर्मचारीको आँखैअगाडि अनुमान गरिएभन्दा आधा सिमेन्टले ढलान गराए। एक सय २५ बोरा सिमेन्ट प्रयोग गर्नुपर्नेमा ६० बोराले काम चलाए।
ढलानमा भएको यस्तो छली काम गाउँपालिकाका अध्यक्ष यादवले बेलुकीपख थाहा पाए। सामान्यतया गाउँपालिकाले ठेक्का दिएका भवन ढलानमा अध्यक्ष आफैं उपस्थित हुन्थे। त्यस दिन कोरोना संक्रमितका क्वारेन्टिन र आइसोलेसन निरीक्षणमा गएका थिए।
ठेकदारको छल अध्यक्ष यादवलाई सह्य भएन। त्यसै दिन राति ९ बजे भवन निर्माणस्थल पुगे। छत हेरेरै उनले बदमासी थाहा पाए। उनले आफ्नो साथमा रहेका कर्मचारी र सहयोगी लगाएर ढलानका केही टेका लडाइदिए, दिउँसो ढलान गरेको छत गर्ल्याम्मै खस्यो।
ठेकदार दस दिनसम्म बेपत्ता भए। अध्यक्ष यादवले कारबाही गर्ने चेतावनी दिएपछि तीन महिनाअघि फेरि छत ढलान भयो।
'म इञ्जिनियर र ओभरसियरमाथि मात्रै विश्वास गर्दिनँ,' अध्यक्ष यादव भन्छन्, 'निर्माण काम हुने सबै ठाउँमा अनुमानित बजेट र सामग्रीको विवरण हातमा थमाएर कार्यालय सहयोगी खटाउँछु। उसको ड्युटी नै राम्ररी काम गराउने र अनुमानभन्दा बाहिर भयो भने मलाई जानकारी गराउने हो।'
अध्यक्ष यादव आफ्नो कार्यकालमा भएको काम गुणस्तरहीन होला र आफूलाई कलंक लाग्ला भनेर सचेत रहन्छन्। भन्छन्, 'म मात्रै हो र! मेरा सन्तान र उनका सन्तान पनि कलंकित हुन्छन्। यहाँ गुणस्तरहीन काम गर्ने र कमिसन लेनदेन गर्ने ठेकदारलाई अनुमति छैन।'
खेताला शिक्षक त नसोचे पनि हुन्छ
शिक्षामा पनि विष्णु गाउँपालिकाले कायापलट गर्दै छ। मधुवन माध्यमिक विद्यालयको जीर्ण भवनका ठाउँमा आधुनिक नयाँ भवन बनेको छ। कक्षा कोठाहरू भरिभराउ हुन थालेका छन्। फलामे फ्रेमका डेस्कबेन्च राखिएका छन्। विषयअनुसार शिक्षक नियुक्त गरिएका छन्।
स्थानीय सरकार बन्नुअघि उक्त विद्यालयमा सात जना शिक्षक थिए, पढाइ दस कक्षासम्म थियो। अहिले १७ जना शिक्षक छन्, १२ कक्षासम्म पढाइ हुन्छ। शिक्षक अखिलेश बैठाका अनुसार कुल विद्यार्थी भर्ना एक हजार तीन सय छ तर आठ सय जना मात्र नियमित छन्।
बैठाका अनुसार विष्णु गाउँपालिकामा करिब ४० प्रतिशत जनसंख्या दलित र अधिकांश विपन्न छन्। यीमध्ये धेरैले छोराछोरीलाई पढ्न पठाउनुको साटो काममा लगाउँछन्।
मधुवन मावि एउटा दृष्टान्त मात्रै हो। गाउँपालिकाका अन्य विद्यालय पनि खराब अवस्थामा थिए। ती सबैमा राम्रो सुधार आएको स्थानीय गोपी रायको भनाइ छ।
उनी भन्छन्, 'किसानका लागि त मुखियाजीले अहिलेसम्म केही गर्न सक्नुभएको छैन तर स्कुल र अस्पतालमा पहिलेभन्दा धेरै राम्रो काम गर्नुभएको छ।'
सबैजसो विद्यालयका जीर्ण भवन भत्काएर नयाँ बनाइएका छन्।
'म त पढलेखा होइन। आजकाल सबैले बोर्डिङ (निजी विद्यालय) मा भन्दा सरकारी स्कुलमा राम्रो पढाइ हुन्छ भन्न थालेका छन्,' स्थानीयबासिन्दा पप्पु राय भन्छन्, 'मेरा नातिनातिना पनि खुसी छन्।'
उनका अनुसार आफ्नै काम गर्ने र डुली हिँड्ने शिक्षक स्कुलमा नियमित रूपमा पढाउन थालेका छन्।
यहाँका विद्यालयका कतिपय शिक्षक आफ्नो सट्टामा कम पैसामा अर्को व्यक्ति राखेर निजी काममा र कमाउ धन्दामा हिँड्छन् भन्ने गुनासो अभिभावकको थियो। यस्तो गुनासो गाउँपालिकाका अध्यक्ष यादवले पनि सुनेका थिए।
आफू अध्यक्ष भएपछि उनले सबभन्दा पहिले खेताला शिक्षक भनिने ती सट्टा शिक्षक खोजी गरेर निस्कासन गरे।
यादव भन्छन्, 'यहाँका दस वटै स्कुलमा सट्टा मास्टर (शिक्षक) थिए। दिनभरि आफ्नो काममा हिँड्ने, मलखाद तस्करी गर्ने, खेत कमाउने र आफ्नो सट्टामा शिक्षक राख्ने गरेका थिए। सट्टामा आउनेले महिनाको तीन–चार हजारमै पढाउँथे। मैले ती सबैलाई निकाली दिएँ।'
सट्टा राखेर हिँडेका सबै शिक्षक फर्किए। उमेर हदले शिक्षक निवृत्त भएपछि धेरै दरबन्दी रिक्त थिए। अध्यक्ष यादवले सुरूमै सट्टा शिक्षक र रिक्त दरबन्दी खोजी गरे। रिक्त स्थानमा शिक्षक झिकाए। भवन, खानेपानी, शौचालय, शिक्षक दरबन्दी इत्यादि अध्ययन गरी ठोस प्रतिवेदन बनाउन कार्यदल बनाए।
कार्यदलको निष्कर्षअनुसार एकै पटक ५३ जना शिक्षक करारमा नियुक्त गरे। आठै वडाका विद्यालय स्तरोन्नति गरी आठ कक्षासम्म चलेकालाई दस कक्षासम्म पुर्याए। दस कक्षासम्म चलेका दुइटालाई १२ कक्षासम्म पुर्याए।
वडा नम्बर ८, बतरौको सामाजिक आधारभूत विद्यालयमा भने अझै पनि खास सुधार नभएको स्थानीयवासी हरिशरण राय बताउँछन्।
'अरू स्कुलमा राम्रो पढाइ भएको भन्ने सुन्छु तर यहाँ खासै सुधार भएन। यहाँका मान्छेले पनि मतलब गर्दैनन्,' उनले भने, 'मुखियाजी एक्लैले मात्रै गरेर हुँदैन, जनताले पनि चासो देखाउनुपर्यो।'
दाउराको साटो ग्यास चुलो
विष्णु गाउँपालिकाका विपन्न महिला अचेल निकै खुसी देखिन्छन्। दाउरा बालेर खाना बनाउने तर आफ्नो जमिन नहुनेलाई दाउरा खोज्न मुश्किल थियो। उनीहरूलाई गाउँपालिकाले चल्तीको एलपी ग्यास सिलिन्डर र चुलो अनुदानमा दियो।
'कुनै कुनै गिरहत (जग्गाधनी) ले दाउरा खोज्न जाने महिलालाई कुटपिट गर्थे, जरिवाना तिराउँथे,' वडा नम्बर ८ बतरौलकी रामरति मुखिया भन्छिन्, 'मेरो आँखा खराब भइसकेको छ, डाक्टरले धुँवा र आगोको तातोबाट आँखा बचाउनु भनेका थिए। ग्यास पाएपछि ढुक्क भएको छ।'
गाउँपालिकाले धुवाँमुक्त गाउँ बनाउने अभियानअन्तर्गत यहाँका अधिकांश घरपरिवारलाई ग्यास र चुलो दिएको छ। हालसम्म पाँच हजार छ सय सिलिन्डर र ग्यास वितरण गरेको जनाइएको छ।
दाउरा खोज्न टाढा जानु पर्ने र धुवाँले आँखा खराब हुने समस्या न्यूनीकरण गर्न ग्यास र चुलो वितरण गरेको अध्यक्ष यादवको भनाइ छ।
हरेक वडामा सामुदायिक भवन
गाउँका केही मानिस भने अध्यक्ष यादवले प्राथमिकता पहिचान गर्न नजानेको आरोप पनि लगाउँछन्। यादवले शिक्षा र स्वास्थ्यपछि गाउँमा मठमन्दिर र सामुदायिक भवनलाई प्राथमिकतामा राखेका छन्।
उनले मठमन्दिरको साटो बाटोमा ध्यान दिनु पर्थ्यो भन्नेहरू धेरै छन्।
वडा नम्बर ६ की जगतारैन देवी भन्छिन्, 'यहाँ कुनै ठाउँमा सडक पिच भएको छ, ढल बनेको छ तर भित्री बाटाहरूमा बर्खामा धेरै हिलो हुन्छ। मन्दिरको साटो बाटो पो बनाउनु पर्ने!'
थोरै मानिसको कुरा सुनेर मुखियाजी मन्दिर र धर्मशाला (सामुदायिक भवन) तिर लागेको जगतरैन देवीको आरोप छ।
वडा नम्बर ७ का बासिन्दा चन्देश्वर यादव भने भगवानको शक्तिले गाउँमा सुखशान्ति भएको विश्वास गर्छन्। उनले भने, 'माओवादीकालमा यहाँ बजरंगबलीको ध्वजा थियो। टोलबासीले भगवानसँग शान्तिका लागि प्रार्थना गरे। भगवानकै शक्तिका कारण माओवादी द्वन्द्वकालमा गाउँमा कुनै अशान्ति भएन।'
वडा नम्बर ८ का रामबाबु रायलाई पनि भगवान खुसी भए मात्रै गाउँलेलाई सुखशान्ति हुन्छ भन्ने विश्वास छ। यसैकारण आफूहरूले मठमन्दिर मर्मतसम्भार गर्न मुखियाजीलाई आग्रह गरेको उनले बताए।
उनले भने 'मुखियाजीले त पहिले सडक बनाउनुपर्छ भन्नुभएको थियो। तर हामीले उहाँलाई मठमन्दिर बनाउन आग्रह गर्यौं।'
हरेक वडामा एउटा सामुदायिक भवन पनि बनेको छ।
भित्री बाटामा पनि काम
भित्री बाटोमा पनि काम नभएको भने होइन। केही ठाउँमा कलभर्ट बनाएर पानीको निकास मिलाइएको छ। गाडी फस्ने ठाउँमा मर्मत गरिएको छ। अध्यक्ष यादव आफूले जनताको मागअनुसार काम गरेको र सोहीअनुसार मन्दिर र धर्मशालालाई प्राथमिकता दिएको बताउँछन्।
'यहाँ धनीलाई त कुनै समस्या भएन, धर्मशाला गरिबका लागि हो,' अध्यक्ष यादव भन्छन्, 'परापूर्वकालदेखिका धर्म, परम्परा र संस्कृति जगेर्नाका लागि मठमन्दिरमा पनि जोड दिएको हुँ।'
वडा नम्बर ७ का बासिन्दा शिवलाल मुखिया अध्यक्ष यादवको कामप्रति खुसी छन्। फेरि पनि यादव नै अध्यक्ष हुने सम्भावना उनले देखेका छन्।
उनले भने, 'मैले त उहाँलाई भोट दिएको होइन तर फेरि पनि उहाँ (यादव) को भोट बढ्छ। उहाँले स्कुल, अस्पताल, नाला, बाटो, धर्मशाला, मन्दिर बनाउनुभयो।'
अध्यक्ष यादवका अनुसार गाउँपालिकामा पाँच वटा कल्भर्ट बनेका छन्। सबै वडामा नालाको काम भएको छ। उनी भन्छन्, 'मैले टिकाउ काम गरेको छु। चार वर्षमा गर्न सकिने सबै काम गरेको छु। बाटोमा हिलो कम भएको छ।'
गाउँका ट्र्याक्टर चालक चन्दन यादव पनि खुसी छन्।
'यहाँको सडक र नाला हेर्नुहोस्, जे काम भएको छ निकै मजबुत छ,' उनले भने, 'मेरो टोलमा पहिले हिलै हिलो हुन्थ्यो। अहिले नाला बनेपछि समस्या छैन।'
सबै वडामा पानी ट्यांकी निर्माण गर्न टेन्डर प्रक्रिया अघि बढाइएको गाउँपालिकाको कार्यालयले जनाएको छ।
स्वरोजगार तालिम
गाउँपालिकाको कार्यालयले महिलालाई स्वरोजगार बनाउन उद्यम तालिम पनि दिएको छ। तरकारी खेती, सिलाइबुनाइ, साबुन बनाउने लगायत तालिम दिइएको गाउँपालिका उपाध्यक्ष उषादेवीले बताइन्। उनका अनुसार गाउँपालिकाले कृषक समूहका सय जनालाई दिएको आधुनिक तरकारी खेतीसम्बन्धी तालिममा अधिकांश महिला सहभागी थिए। ती समूहलाई ट्र्याक्टर, पाइप लगायत कृषि उपकरण प्रदान गरिएको उनले बताइन्।
गाउँपालिकाले दलित समुदायका व्यक्तिहरू बंगुरपालनमा सहयोग गर्न चालु आर्थिक वर्षमा ५६ लाख रूपैयाँ बजेट छुट्याएको छ। युवाहरूलाई इलेक्ट्रिसियन, प्लम्बर अन्य सीपको तालिम दिएको छ। गाउँपालिकामा हुने लोडसेडिङलाई ध्यानमा राखेर गाउँपालिकाले वडा नम्बर ५ र ६ मा सोलार बत्ती जडान गरेको जनाएको छ।
गाउँपालिकाले अत्यन्त विपन्न पाँच मुसहर परिवारका लागि दुइटा सुत्ने कोठा, भान्सा र बाथरुमसहितको पक्की घर बनाइदिएको छ। नयाँ घर पाएकी सिमराकी अनारकली सदाले गाउँपालिकाले घर बनाइदिएपछि सजिलो भएको बताइन्।
कमिसनको खेलले हैरान
अध्यक्ष यादव प्रदेश सरकारसँग असन्तुष्ट छन्। प्रदेश सरकारले कमिसन लिएर योजना बाँड्ने गरेको उनको आरोप छ। कमिसन दिएर कुनै पनि आयोजना नलिने उनको भनाइ छ।
'एक करोडको काममा बीस लाख कमिसन माग्छ। मैले २० प्रतिशत किन बुझाउने?' प्रश्न गर्दै यादवले भने, 'मैले योजनाहरू दिएँ तर २० प्रतिशत दिन तयार भइनँ। मैले नमानेपछि योजनाहरू फालिदिएँ।'
स्थानीय तहले नियमअनुसार पाउने पैसामा कमिसन दिनुपर्ने कुरा आफूलाई कहिल्यै मान्य नहुने उनको भनाइ छ।
यी पनि हेर्नुहोस्: