कुनै समय थियो, नरहरि आचार्य देशभर डुल्थे। कांग्रेसका नेता-कार्यकर्ताहरू भेट्थे, कुराकानी गर्थे। कांग्रेसभित्र लोकतन्त्रको विषय उठाउँथे। राजतन्त्रकै बेला गणतन्त्रको कुरा निकाल्थे। राज्य पुनर्संरचना गरेर संघीयतामा जानुपर्ने प्रस्ताव राख्थे।
उनको वैचारिक प्रखरताले विचारको बहस कमै हुने कांग्रेसमा एउटा तरंग ल्यायो। यसले कांग्रेसभित्र र बाहिरका पनि धेरैलाई तानेको थियो।
पछिल्लो दुई वर्षदेखि भने नरहरि महाराजगन्ज, चुनदेवीस्थित आफ्नै घरको कम्पाउन्डभित्र विचरण गर्छन्। बाहिरी भेटघाट लगभग ठप्प छ। घरमा श्रीमती शारदा शर्मा छिन्। शारदा आफैं एक प्रखर लेखक हुन्। त्यसबाहेक घरमा एक जना सहयोगी छन्।
अहिलेका लागि नरहरिको संसार भनेकै उनकी श्रीमती हुन्। उनले लेख्दै गरेको किताब हो। उनीसँग भएका पुस्तक हुन्। सवा एक रोपनी जग्गामा फैलिएको निवास हो। त्यहाँभित्र हुर्केका करिब एक दर्जन रूख र बोटबिरूवा हुन्।
नरहरि हरेक दिउँसो चार बजे घरबाट बाहिरी संसारमा निस्किन्छन्— रूख र बोटबिरूवाको संसारमा। लठ्ठी टेकेर विस्तारै त्यहाँ विचरण गर्छन्। रूख हेर्छन्, बिरूवा हेर्छन्। के-के संवाद गर्छन्!
कपूर, शिरिश, रूद्राक्ष, ओखर, एभोकाडो, कोइरालो, अम्बा, कागती, भोगटे, आँप, हलुवाबेद लगायत बोटबिरूवाको संसारमा उनी भुल्छन्।
चुनदेवीको यो घर र कम्पाउन्डसँग नरहरिका अनगिन्ती सम्झना जोडिएका छन्। निजी सम्झना। वैवाहिक जीवनका सम्झना। राजनीतिका सम्झना।
यो जग्गा उनका बुवाले आजभन्दा ८३ वर्षअघि किनेका हुन्। घर भने चालीस वर्षअघि बनेको हो, शारदा र नरहरिको बिहेपछि।
'मेरो र शारदाको बिहे २०३५ सालमा भयो। त्यसपछि ०३७ सालमा यो घर बनाएका हौं,' नरहरिले भने।
यही घरमा उनीहरूका दुई छोरी जन्मिए। त्यही बगैंचामा खेल्दै हुर्किए। अहिले दुवै छोरी उनीसँग छैनन्। टाढाका देश अस्ट्रेलिया र अमेरिका बस्छन्। एक्लै बगैंचामा विचरण गर्दा सायद उनलाई छोरीहरू खेलेको सम्झना ताजा हुँदो हो!
छोरीहरू मात्र होइन, उनले राजनीति गरेको कांग्रेस पार्टी, त्यही बगैंचामा सँगै बसेर सघन बहस गरेका नेता-कार्यकर्ता पनि अहिले टाढा जस्तै छन्।
आफ्ना आमाबुवाको, छोरीहरूको र राजनीतिक सहकर्मीको सम्झना त्यो बगैंचामा यत्रतत्र छ। आफ्नो राजनीतिक जीवनको सबभन्दा प्रखर कालखण्डका साक्षी रूख पनि त्यहीँ छन्। ती रूखमध्ये एउटा विशेष छ— कपूरको बोट।
कपूरको रूख छेवैमा नरहरिको लाइब्रेरी छ। त्यहाँ पहिले सानो कटेरो थियो। त्यही कटेरोभित्र र कतिपय समय कपूरको रूखमुनि धेरै राजनीतिक विमर्श भएका छन्। तात्तातो बहस भएको छ— गणतन्त्रको, गणराज्यको, संघीयताको, संविधानसभाको। त्यो पनि त्यस्तो बेला जतिखेर कांग्रेसमा गणतन्त्रको बहस वर्जितजस्तै थियो। संघीयता र संविधानसभाको बहस अरूचिकर मानिन्थ्यो।
राजनीतिक सम्झना मात्र होइन, नरहरि र शारदाको पहिलो सन्तानको सुखद याद पनि यही रूखसँग जोडिएको छ। यो रूख उनीहरूले ठूली छोरी अनामिका जन्मिएको दिन रोपेका हुन्। कपूरको रूखसँगै हुर्किएकी छोरी पछि पढ्न अस्ट्रेलिया गइन्। उतै घरजम गरिन् र 'सेटल' भइन्।
'यो रूख धेरै ठूलो भइसक्यो तर हामी काट्ने छैनौं,' शारदाले भनिन्।
कसले पो काट्न सक्ला र आफ्नी छोरीसँगै जन्मिएको जुम्ल्याहा रूख!
कपूरको रूखभन्दा दक्षिणपट्टि, बगैंचाको दक्षिण-पश्चिम कुनामा एउटा भोगटेको बोट छ। त्यो भने बगैंचाकै मूली हो— नरहरिभन्दा पनि जेठो।
आफूभन्दा जेठो र छोरीहरूभन्दा कान्छा कैयन बोटबिरूवासँगको फराकिलो सम्झनामा नरहरि फुर्सदको जीवन यसरी बाँचिरहेका छन्, मानौं व्यस्त जीवनको कोटा उनले उहिल्यै खपत गरिसके।
त्यो 'कोटा खपत' को अन्तिम कालखण्डमा उनी अतिव्यस्त थिए। काठमाडौं-५ बाट दुईपटक संविधानसभामा निर्वाचित भइसकेका थिए। दुईपटक मन्त्री पनि बनिसकेका थिए। वैचारिक हिसाबले पनि उनी कांग्रेसको केन्द्रमा थिए।
उनले पक्षपोषण गरेको संविधानसभाको चुनाव भइसकेको थियो। गणतन्त्र स्थापित भइसकेको थियो। संविधान लेखेर संघीयता कार्यान्वयनको चरणमा थियो। राजनीतिले नै उनको दिन खान्थ्यो।
त्यो सबै एक्कासि बदलियो। तीव्र गतिमा झरिरहेको पुच्छ्रेतारा टक्क अडिएझैं भयो उनको राजनीति र दैनिकी।
उनको जीवनमा त्यो एक्कासि आउनुभन्दा केही घन्टाअघि नेपाली राजनीतिमा पनि एउटा 'एक्कासि' आएको थियो। अघिल्लो रात दुरूस्त सुतेका कांग्रेस सभापति सुशील कोइराला भोलिपल्ट बिहान यो लोकमा थिएनन्। डाक्टरकोमा नपुर्याई, डाक्टर उनीकहाँ नपुगी, उनले प्राण त्यागिसकेका थिए।
झिसमिसैमा आएको त्यो अप्रत्यासित खबरसँगै कांग्रेसका हजारौं नेता-कार्यकर्ता कोइराला निवास, महाराजगन्ज पुगेका थिए। बिहे नगरेका र आफ्नो निजी निवास नभएका सादगी नेता सुशील महाराजगन्जस्थित शशांक कोइरालाको निवासमा बस्थे।
आफ्ना नेता तथा पार्टी सभापतिको देहावसानको खबर सुन्नेबित्तिकै नरहरि महाराजगन्ज पुगे। कोइराला निवासमा खचाखच भिड थियो। केही बेरमा दिवंगत नेताको शरीर श्रद्धाञ्जलिका लागि घरबाहिर निकालेर कम्पाउन्डमा राखियो।
श्रद्धाञ्जलि सकेर नरहरि कोइराला निवासको प्रांगणमा पत्रकारहरूसँग कुरा गर्दै थिए। अचानक केही असजिलो भएको अनुभव गरे। सँगै रहेका मित्र र काठमाडौंका सांसद भिमसेनदास प्रधान त्यहीँ थिए, उनैले गंगालाल अस्पताल पुर्याए।
परीक्षणपछि अस्पतालले निष्कर्ष निकाल्यो— नरहरिलाई मस्तिष्कघात भयो। त्यहाँबाट तत्काल बाँसबारीस्थित न्यूरो अस्पताल लगियो।
उनको दाहिने हात र खुट्टा नचल्ने भयो। प्रस्टसँग बोल्न नसक्ने भए। लेख्न-पढ्न सक्ने कुरै भएन।
सदा चलायमान, राजनीतिमा सक्रिय, हिँड्ने, बोल्ने, पढ्ने नरहरिका लागि त्यो बज्रपात थियो। तर परेपछि मानिसले नबेहोरेर कहाँ धर पाउँछ र! मान्छेको एउटा खुबी के हो भने, परेपछि बेहोर्नसक्ने क्षमता उसले सोचेभन्दा कयौं गुणा बढी हुन्छ।
न्यूरो अस्पतालमा एक महिना पाँच दिन बसेपछि उनी डिस्चार्ज भए।
अस्पतालबाट डिस्चार्ज भएर मात्र भएन। उनी सामान्य जीवनमा फर्किने चाहन्थे। राजनीति जारी राख्न चाहन्थे। सपना बाँकी नै थिए।
त्यसपछि उनी उपचार गराउन केरलाको एउटा आयुर्वेद अस्पताल पुगे। आधुनिक चिकित्साको सहयोग उनले लिइसकेका थिए। अब आयुर्वेदको सहयोग लिन चाहन्थे। सायद आफ्ना 'पिताजी' को पृष्ठभूमिले पनि उनलाई आयुर्वेद उपचारले तान्यो।
नरहरिका बुवा उमानाथ आचार्य १४ वर्षको उमेरमा पढ्न भनेर तनहुँबाट काठमाडौं आएका थिए। उनी आयुर्वेदतिर आकर्षित थिए, त्यसैमा लागे। उनलाई अवसर पनि थपिँदै गयो। चन्द्रशमशेर जबराले सात जना विद्यार्थी छानेर आयुर्वेद पढ्न भारत पठाए। त्यसमध्ये उमानाथ एक थिए।
भारतबाट फर्किएर उनले काठमाडौंमै आयुर्वेद पढाउने र त्यो पद्धतिअनुसार उपचार गर्ने काम गरे।
'पिताजी मुख्यतः पढाउनु हुन्थ्यो। त्यो बेला अहिलेजस्तो क्लिनिक खोलेर बस्ने हुन्थेन। घरमै आएकालाई उपचार गरिदिनुहुन्थ्यो,' नरहरिले भने।
केरलामा आयुर्वेद उपचारले उनलाई सहयोग गर्यो।
'यहाँ अस्पतालबाट छुट्दा पढ्न सक्दिनँ थिएँ। केरलामा उपचार गराउँदै गएपछि आठवटा किताब त्यहीँ बस्दा पढ्न सक्ने भएँ,' उनले भने। त्यसो भनिरहँदा उनका आँखा चम्किए, अनुहार हाँस्यो।
नगुमाएसम्म मात्र आफूसँग भएका कुरा वास्ता नहुने हो मान्छेलाई। त्यो कति किम्ती छ भन्ने ख्याल नहुने हो मान्छेलाई।
जीवनभर पढ्ने, लेख्ने, प्राध्यापन गर्ने, राजनीतिक बहस चलाउन पुस्तक लेख्ने नरहरिका लागि कुनै दिन एक्कासि पढ्न र लेख्न नसक्नेमा परिणत हुनु सानो बज्रपात थिएन। अनि फेरि महिनामा आठवटा पुस्तक पढ्न सक्ने हुनु सानो पुन: प्राप्ति थिएन।
केरलाबाट फर्किएको केही समयपछि उनी थप उपचारका लागि अमेरिका गए। कान्छी छोरी अपराजिता क्यालिफोर्निया बस्छिन्। छोरीकहाँ बसेर उनले थप उपचार गराए। यसपटक उनको जोड हात र खुट्टा बलियो बनाउनेमा थियो। उपचारले सहयोग गर्यो। अहिले लठ्ठी समातेर उनी आफैं बगैंचा विचरण गर्न सक्छन्।
दाहिने हातले भने अझै धेरै भर दिन सकेको छैन।
'हिँड्दै गएपछि खुट्टा केही बलियो हुँदो रहेछ। हातमा भने त्यति तागत छैन,' उनले भने।
उनले देब्रे हातलाई नै तालिम दिइरहेका छन्। देब्रे हातले टाइप गर्न सिकेका छन्। किताब लेख्दैछन्।
'डेढ महिना जतिमा मेरो पुस्तक पनि सकिन्छ,' उनले भने।
'अटोबायोग्राफी हो?' मैले सोधे।
'निजी अनुभूति छन्, विचार र मेरा अरू कुरा पनि छन्।'
अनुमान गर्न सकिन्छ, उनको किताबमा राजनीति पक्कै होला। उनले पछाडि छाडेको राजनीति होला वा उनले अगाडि देख्न चाहेको राजनीति होला!
नरहरिले सक्रिय रूपमा राजनीति गरेको समय नेपालको राजनीतिक इतिहासमा सात सालयताकै सबभन्दा उथलपुथलपूर्ण कालखण्ड हो। उनी त्यसको साक्षी र कर्ता पनि हुन्।
प्रत्यक्ष राजनीतिमा उनी पहिलो जनआन्दोलनपछि २०४८ सालमा आए। राष्ट्रियसभाको सदस्यका रूपमा। त्यसपछि २०५२ सालमा उनी संसदीय मामिला मन्त्री बने। २०५५ सालमा पार्टीका प्रवक्ता।
उनी प्राध्यापन हुँदै राजनीतिमा आएका हुन्। २०३३ सालमा प्राध्यापन पेसामा त्रिभुवन विश्वविद्यालय प्रवेश गरेका उनमा राजनीतिक चेत भने त्योभन्दा पनि पहिलेको हो। उनले काठमाडौंस्थित तीनधारा पाठशालामा बसेर पढेका हुन्।
नेपालको राजनीतिक चेतना र जागरणमा तीनधारा पाठशालाको आफ्नै स्थान छ। 'जयतू संस्कृतम्' आन्दोलनदेखि नै यो पाठशालाले विद्रोहको चेत बोकेको हो। राणा शासनकै बेला २००४ सालमा तीनधाराका विद्यार्थीले संस्कृतबाहेक अंग्रेजी, विज्ञान, गणित, भूगोलजस्ता आधुनिक विषय पनि पढ्न पाउनुपर्ने माग राखेका थिए।
शिक्षा सुधारको यो माग बढ्दै गएर राणाविरोधी राजनीतिक परिवर्तनको आन्दोलनमा परिणत भयो। राणाहरूले कतिपय विद्यार्थीलाई चारपाटा मुडेर काठमाडौंबाट निष्कासन गरे। त्यो आन्दोलनका अग्रणी विद्यार्थी नेताहरू पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा, राजेश्वर देवकोटा लगायत बनारस पुगेर कांग्रेसको राणा शासनविरोधी आन्दोलनमा सहभागी भए। कतिपय विद्यार्थी गाउँ फर्किएर राणाविरोधी आन्दोलनलाई अघि बढाए।
नरहरि २०२४ सालमा तीनधारा भर्ना हुँदा मुलुकमा पञ्चायतको रजगज थियो। तीनधारामा भने पञ्चायत इतर राजनीतिक माहोल थियो।
'विद्यार्थीहरू कि कम्युनिस्ट थिए, कि कांग्रेस,' नरहरिले भने, 'राजनीतिक चर्चा र वादविवाद चलिरहन्थ्यो।'
नरहरिको राजनीतिक चेत त्यहीँ रोपिएको हो। विश्वविद्यालय पढ्दा त्यो थप झाँगियो। पढिसकेपछि पनि उनी सरकारी जागिरमा होइन, प्राध्यापनतिर आकर्षित भए।
'शास्त्री पढिसकेपछि एकपटक जागिर खाऊँ कि भन्ने नलागेको होइन। तर मेरो मन निजामतीको जागिरभन्दा प्राध्यापनतिरै तानियो,' उनले भने।
विश्वविद्यालयमा प्राध्यापन सुरू गरेपछि उनी प्राध्यापक संघमा आबद्ध भए। संघमार्फत् पञ्चायतविरोधी आन्दोलनमा सरिक हुन थाले। प्राध्यापक संघमा उनको सक्रियतासँगै कांग्रेसका नेताहरूसँग हिमचिम बढ्यो।
२०४६ को पहिलो जनआन्दोलनमा सरकारी सेवामा रहेका डाक्टर, इञ्जिनियर, प्राध्यापकहरूको ठूलो सहभागिता थियो। त्यसले आन्दोलनलाई ठूलो नैतिक बल पुग्यो। प्राध्यापक संघले गरेको उक्त आन्दोलनको अग्रमोर्चामा थिए नरहरि।
जनआन्दोलन सफल भयो। आमनिर्वाचनपछि राष्ट्रियसभा गठन भयो। नरहरि कांग्रेसबाट राष्ट्रियसभामा सदस्य बने। त्यसपछि उनले प्राध्यापन छाडे र पूर्णकालीन राजनीतिज्ञ बने।
राष्ट्रियसभा सदस्य, मन्त्री, त्यसपछि पार्टी प्रवक्ता हुँदै उनको राजनीतिक जीवन रफ्तारमा अघि बढिरहेको थियो। उनीमाथि पार्टी सभापति र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भरपुर विश्वास थियो।
समय कसका लागि सधैं एकनासको छ र!
कांग्रेसमा नरहरिको करिअर 'फास्ट ट्रयाक' मा चलिरहेको थियो। यसले विस्तारै गति फेर्न थाल्यो। गिरिजाप्रसादसँग उनको विमति बढ्दै गयो। पार्टीको ११औं महाधिवेशनसम्म पुग्दा उनले गिरिजाप्रसादको प्रतिद्वन्द्वीका रूपमा पार्टी सभापतिमा चुनाव लडे।
नरहरि र गिरिजाप्रसादबीच दरारको केन्द्रमा थियो राजदरबार।
२०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो। वीरेन्द्रको वशंनाश भयो। मानिसहरूमा आक्रोश थियो। वीरेन्द्रको शवयात्रामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादमाथि ढुंगा प्रहार भयो। दीपेन्द्रले हत्या गरेको भन्ने सरकारी आयोगको प्रतिवेदन थोरैले मात्र विश्वास गरे।
राजदरबार हत्याकाण्डपछि मुलुकमा राजसंस्था चाहिन्छ वा चाहिन्न भन्ने बहस गुपचुप नचलेको होइन। राजा वीरेन्द्रको वंशनाश भएपछि राजतन्त्र नराख्ने भन्ने निर्णय संसद र सरकारले गरेका भए मुलुकमा त्यही बेला गणतन्त्र आउँथ्यो भनेर मान्ने पनि धेरै छन्।
तर कांग्रेस त्यो बाटो हिँड्न तयार थिएन।
गिरिजाप्रसादलाई बन्दुक बोकेर जंगलबाट लडिरहेको माओवादीको पनि चिन्ता थियो। माओवादी राजा मात्र फाल्न चाहन्थेन, उसको सबभन्दा मुख्य तारो बहुदलीय व्यवस्था थियो। त्यस कारण पनि उनले जोखिम मोल्न चाहेनन्।
'ढुंगामुढा' खेपेरै भए पनि उनले ज्ञानेन्द्रको गद्दी जोगाए। त्यसबापत राजा आफ्नो टुंगोमा बस्नुपर्छ, संविधानको सीमामा बस्नुपर्छ भन्ने आवाज कांग्रेसमा जोडतोडले उठ्न थाल्यो।
संवैधानिक राजाका सीमा वीरेन्द्रले नै विस्तारै कुल्चिन थालेका थिए। राजदूतहरूको नियुक्तिमा दरबारले भाग खोजिसकेको थियो। त्योसम्म गिरिजाप्रसादले 'कम्प्रमाइज' गरेकै थिए। सेना परिचालनका विषयमा भने दरबारसँग उनको मतभेद बढ्दै गयो।
माओवादीविरूद्ध नेपाली सेना प्रयोग गर्ने विषयमा वीरेन्द्रले आनाकानी गरे। परिचालनपछि पनि सेनाले सरकारको निर्देशनमा होइन, दरबारकै इशाराअनुसार माओवादीसँग व्यवहार गरेको भन्दै कांग्रेसमा असन्तुष्टि बढ्यो।
माओवादीको होल्लेरी आक्रमणपछि गिरिजाप्रसाद नेतृत्वको सरकार र दरबारबीच मनमुटाव झनै बढ्यो। तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीले माओवादीविरूद्ध सेना प्रयोग गर्न दरबारले अवरोध पुर्याएको सार्वजनिक रूपमै आरोप लगाए।
यो पृष्ठभूमिमा नयाँ राजा ज्ञानेन्द्र निर्वाचित सरकार र संसदको अधीनमा बस्नुपर्छ भन्ने आवाज कांग्रेसभित्रै उठ्यो। दरबार हत्याकाण्डको दुई सातापछि असार ६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा संवैधानिक राजाका सीमा र दायित्वसँगै निर्वाचित सरकार र दरबारबीचको सम्बन्धबारे छलफल गर्ने तय भयो। राजगद्दी उत्तराधिकारसम्बन्धी प्रश्न पनि कांग्रेसमा उठेको थियो।
कांग्रेस बैठकपछि जारी गरिने विज्ञप्तिमा यो विषय कसरी लेख्ने, त्यसको खेस्रा तयार गर्न गिरिजाप्रसादले नरहरिलाई अह्राए।
'मैले गिरिजाबाबुलाई अरू दुई जना पनि मलाई दिनुहोस् भनेँ,' नरहरिले सुनाए, 'त्यसपछि उहाँले चक्र बाँस्तोला र महेश आचार्यको नाम दिनुभयो।'
कांग्रेस कार्यसमिति बैठकमा धेरै केन्द्रीय सदस्यहरूले दरबार र सरकारको सम्बन्धका विषयमा आ-आफ्ना धारणा राखे। यस विषयमा प्रधानमन्त्रीले राजा ज्ञानेन्द्रसँग भेटेर कुरा राख्ने सहमति बन्यो। त्यो कुरा भने सार्वजनिक विज्ञप्तिमा राखिएन।
कांग्रेसले सामान्य रूपमा विषय इंगित गर्ने खालको मात्र विज्ञप्ति जारी गर्यो। असार ६ गते जारी विज्ञप्तिको अन्त्यमा भनिएको छ, '…आजको गम्भीर परिस्थितिमा आपसी सानातिना मतभेद बिर्सिएर मुलुकसमक्ष आइपरेको यस दु:खद घटनाको परिप्रेक्ष्यमा, राष्ट्रिय एकताको प्रतीक संवैधानिक राजसंस्थालाई मर्यादित गराउन र राजदरबारसम्बन्धी मामिलालाई पारदर्शिता प्रदान गरी बहुदलीय संसदीय प्रजातन्त्रको सुदृढीकरण गर्ने कार्यमा हामी सबै क्रियाशील बनौं भनी सम्पूर्ण राजनीतिक दल लगायत नागरिक समाजलाई हार्दिक अपिल गर्छौं।'
'त्यो विज्ञप्तिमा कडा कुरा केही लेखिएको थिएन। मैले तयार गरेको मस्यौदामा चक्र र महेशजीसँग सल्लाह गरेर थप नरम पारिएको थियो,' नरहरिले भने।
असार ७ गते बिहान बिबिसीमा रवीन्द्र मिश्रसँगको अन्तर्वार्तामा नरहरिले त्यो विषय थप प्रस्ट्याए। यसमा थप व्याख्या आवश्यक छ भन्ने उनलाई लाग्यो। असार १२ गते उनले यसबारे कान्तिपुरमा लामो लेख लेखे। त्यसमा उनले राजगद्दी उत्तराधिकारसम्बन्धी कानुन निर्माण प्रक्रिया र राजगद्दीका उत्तराधिकारीको आचरणमाथि संसदमा छलफल हुनसक्ने प्रावधानबारे खुलेर लेखेका थिए।
'मेरो निजी लेख भएकाले त्यसमा मैले थप प्रखरतासाथ लेख्ने र व्याख्या गर्ने अवसर पाएँ,' नरहरिले भने।
यो लेखभन्दा पहिल्यै कतिपय पत्रपत्रिकामा कांग्रेसमा 'राजगद्दी उत्तराधिकारसम्बन्धी व्यवस्थामा पुनर्विचारको माग' भन्ने शीर्षकमा समाचार प्रकाशन भइसकेका थिए। दरबार कांग्रेससँग 'फायर' थियो। सायद प्रधानमन्त्री गिरिजाप्रसादलाई दरबारले आफ्नो असन्तुष्टि पोखिसकेको थियो।
असार २२ गते नरहरिले कल्पना नगरेको कुरा भयो। तत्कालीन पार्टी महामन्त्री सुशील कोइरालाले एउटा वक्तव्य जारी गरे। त्यसमा उनले राजगद्दी उत्तराधिकारसम्बन्धी व्यवस्थामा आफ्नो पार्टीमा कुनै छलफल नभएको जिकिर गरे।
संविधानले राजगद्दीको उत्तराधिकारसम्बन्धी व्यवस्थाको सम्पूर्ण अधिकार श्री ५ महाराजधिराजमा निहित गरेको उल्लेख गर्दै विज्ञप्तिमा सुशील कोइरालाले भनेका छन्, 'नेपाली कांग्रेस यो संवेदनशील विषयमा आफ्नो दायित्वको पालना गर्न र उच्छृंखलता र गैरजिम्मेवारी प्रदर्शन नगर्न पनि सबैलाई सचेत गराउन चाहन्छ।'
आफूले सार्वजनिक रूपमा बोलेको र लेखेको खण्डन हुने गरी महामन्त्रीले विज्ञप्ति जारी गरेपछि नरहरिलाई अप्ठ्यारो पर्यो। त्यो विज्ञप्ति आएको भोलिपल्ट उनी बालुवाटार गए। संयोगवश महामन्त्री सुशील कोइराला त्यहीँ थिए। नरहरि, प्रधानमन्त्री गिरिजाप्रसाद र महामन्त्री सुशीलबीच छलफल भयो।
नरहरिले आफ्ना कुरा राखे। सुशीलले वक्तव्यमा नरहरिको नाम उल्लेख नभएको र उनीविरूद्ध जारी नभएको जिरह गरे। प्रधानमन्त्री गिरिजाप्रसाद भने एकसुरमा चुरोट तानेर बसिरहे, एक शब्द बोलेनन्।
बैठकको अन्त्यमा नरहरिले पार्टी प्रवक्ताबाट राजीनामा दिएको पत्र त्यहीँ तयार पारे र सभापति गिरिजाप्रसादलाई दिए।
'एकनास चुरोट तानिरहनुभएका उहाँले पत्र समाउनुभयो, पट्याउनुभयो र कोटको खल्तीमा हाल्नुभयो। तर केही भन्नुभएन,' नरहरिले भने।
महामन्त्री सुशीलले त्यो वक्तव्य प्रधानमन्त्रीकै निर्देशनमा निकालेका हुन् भन्नेमा नरहरिलाई त्यही बेला र अहिले पनि कुनै भ्रम छैन।
'गिरिजाबाबुलाई अप्ठ्यारो परेका बेला सुशील ढाल बनेर उभिनु हुन्थ्यो, उभ्याइनु हुन्थ्यो,' उनले भने।
त्यो सम्पूर्ण प्रकरण दरबारको नाडी छाम्न गिरिजाप्रसादले गरेको एउटा प्रयोग पनि हुन सक्छ।
दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्र कति पानीमा छन् भनेर सायद गिरिजाप्रसाद नाप्न चाहन्थे। दरबारसँग उनको संशयपूर्ण सम्बन्ध थियो। बिपी कोइराला र दरबारबीचको उतारचढावपूर्ण सम्बन्ध उनले नजिकबाट देखेका थिए। प्रजातन्त्र फस्टाउन दरबारलाई नियन्त्रणमा राख्न जरूरी थियो। तर दरबार धेरै चिढियो भने उसले प्रजातन्त्र खाइदिन सक्थ्यो। त्यसको भुक्तमान उनी स्वयं थिए।
तर राजा ज्ञानेन्द्रको पाइन् नाप्न उनले केन्द्रीय समितिमा राजदरबारको विषय छलफल गराएका हुन सक्छन्। त्यसैले सावधानीपूर्वक विज्ञप्ति निकाल्न नरहरिलाई अह्राएका थिए। पार्टीको मौखिक निर्णयअनुसार राजासँग छलफल गर्न उनी आफैं दरबार गए कि गएनन्, यकिन छैन। तर जब 'लिक' भएको कांग्रेस बैठकको छलफल र नरहरिका लेख तथा अन्तर्वार्ताले 'ब्याक फायर' गर्यो, उनले सुशीललाई वक्तव्य निकाल्न लगाए।
दरबारलाई मत्थर पार्न, कांग्रेस राजाको अधिकार खोस्ने पक्षमा छैन भन्ने देखाउन सायद नरहरिको राजीनामा पनि उपयोगी हुन्थ्यो। त्यसैले गिरिजाप्रसादले त्यो चुपचाप स्वीकारे।
त्यो राजीनामासँगै गिरिजाप्रसाद-नरहरि सम्बन्धको एउटा दौरको पट्टाक्षेप भयो।
नरहरिको पार्टी प्रवक्ताको पद गयो। केन्द्रीय सदस्य त उनी निर्वाचन जितेर बनेका थिए। पोखरा महाधिवेशनमा कांग्रेसले पहिलोपटक पार्टी सभापतिसहित १८ जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको थियो। नरहरि तिनै निर्वाचितमध्ये थिए। त्यसले उनमा प्रशस्त आत्मविश्वास भरेको थियो।
पार्टी प्रवक्ताको जिम्मेवारी र सभापतिसँगको बफादारीबाट मुक्त भएपछि नरहरिले स्वतन्त्र रूपले आफ्ना विचार अघि बढाउन थाले। राजतन्त्रप्रति थप आक्रामक भए। मुलुक गणतन्त्रमा जानुपर्ने कुरा औपचारिक रूपमै भन्न थाले।
२०६१ सालमा ज्ञानेन्द्रले सैनिक 'कू' मार्फत् सत्ता कब्जा गरे। नेताहरूलाई जेल हाले। मुलुकमा आफ्नो नियन्त्रण कायम भएको विश्वास भएपछि उनले विस्तारै नेताहरूलाई छाड्न थाले। नरहरिलाई भने थुनामै राखे। कांग्रेस-एमालेका सबै नेताभन्दा लामो, छ महिना थुनेर उनलाई दरबारले अन्तत: मुक्त गर्यो।
त्यसपछि नरहरि संविधानसभा, गणतन्त्र, राज्य पुनर्संरचना, कांग्रेस पार्टीभित्रको लोकतन्त्रका सवालमा थप प्रखरतासाथ बोल्न र उभिन थाले। यी चारै विषयमा बहस चलाउन उनले नेपालको राजतन्त्र, राज्यको लोकतान्त्रीकरण, संविधानसभा र कांग्रेसमा लोकतन्त्र भन्ने शीर्षकमा चारवटा स-साना पुस्तक तयार पारे।
महाराजगन्ज, चुनदेवीस्थित उनको निवासमा मात्र होइन, मुलुकभर यी विषयमा बहस र छलफल चलाए।
पार्टीभित्र गणतन्त्रको आवाज बढ्दै गएपछि कांग्रेस र दरबारबीचको सम्बन्ध थप चिसिँदै गएको थियो। कांग्रेसले चाहेको गणतन्त्र नै हो वा होइन भन्ने प्रस्ट पार्न दरबारको अप्रत्यक्ष दबाब बढ्दो थियो।
माओवादीसँग १२ बुँदे सम्झौता गरेर अघि बढे पनि कांग्रेसले गणतन्त्र भनिसकेको थिएन। नेताहरूले 'पूर्ण लोकतन्त्र' स्थापना गर्न चाहेको बताइरहेका थिए। त्यसको व्याख्या गर्दै गिरिजाप्रसाद भन्थे, 'अब अर्को पुस्ताले फेरि प्रजातन्त्रका लागि संघर्ष गर्न नपर्ने गरी जनआन्दोलनलाई निष्कर्षमा पुर्याउने।'
त्यो भनाइको अन्तर्यमा गणतन्त्र छ भन्ने आभाष आन्दोलनकारीलाई थियो। कांग्रेस गणतन्त्रमा त कहाँ जान सक्छ भन्ने दरबार र राजावादीहरूलाई लाग्थ्यो!
त्यही बेला नरहरि भने कुनै भ्रम नरहने गरी गणतन्त्रको पक्षमा बोल्न, लेख्न र मानिसहरूलाई गोलबद्ध गर्न लागिसकेका थिए। अर्कातिर गगन थापा लगायत कांग्रेसका युवाहरूले सडकबाटै गणतन्त्रको माग गर्न थालिसकेका थिए।
कांग्रेसको महाधिवेशन सन्निकट थियो। नरहरिले आफ्नो विचार जसले बोक्छ, त्यसैलाई पार्टी सभापतिमा सघाउने घोषणा गरे। उनले पार्टीमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको विकल्प खोजेको प्रस्ट सन्देश थियो त्यो।
विराटनगरको एउटा कार्यकर्ता बैठकमा गिरिजाप्रसादले भन्दिए— नरहरि र गगन दरबारीया हुन्।
त्यसपछि महाधिवेशनमा गिरिजाप्रसादलाई आफैं चुनौती दिने निर्णय गरे नरहरिले। उनी गिरिजाप्रसादविरूद्ध पार्टी सभापतिमा उठे र हारे।
'मैले त्यो बेला पनि १४ प्रतिशत मत ल्याएको थिएँ,' उनले भने।
जनआन्दोलन सफल भएपछि गिरिजाप्रसाद र शेरबहादुर देउवा नेतृत्वमा दुई टुक्रा भएको कांग्रेस फेरि एक भयो। नरहरि भने संस्थापनभित्रको स्थायी प्रतिपक्षी जस्तो बने।
गिरिजाप्रसाद बितिसकेका थिए।
कांग्रेसको १२ औं महाधिवेशनमा नरहरि, चक्र बाँस्तोला र भिमबहादुर तामाङ लगायतले फेरि सुशील कोइराला र शेरबहादुर देउवालाई चुनौती दिने निर्णय गरे। सुशील र देउवा पार्टी सभापतिका उम्मेदवार थिए। भिमबहादुर तामाङ पनि सभापतिमा उठे। नरहरि पार्टी महामन्त्रीमा।
पार्टीभित्रको निर्वाचनमा फेरि पनि नरहरि नराम्रोसँग हारे। नरहरि अब न कांग्रेसको संस्थापन समूहमा थिए, न देउवा समूहमा। उनी पार्टीभित्रै सानो समूहमा खुम्चिने र पार्टी निर्णयमा प्रभावहीन हुने सम्भावना बढ्दै थियो।
समयको चक्र घुम्दै फेरियो।
संविधानसभाको दोस्रो निर्वाचनपछि कांग्रेस सबभन्दा ठूलो पार्टी बन्यो। संविधान निर्माण विषयमा माओवादीभन्दा एकअर्कासँग नजिक रहेका कांग्रेस-एमाले मिलेर सरकार बनाए।
सुशील कोइराला प्रधानमन्त्री बने। माओवादी र मधेसवादी दलसँग 'नेगोसिएसन' गर्न, संविधानका विषयमा एमालेसँग एकरूपता कायम गर्न र सफलतापूर्वक संविधान जारी गर्न उनलाई बलिया सहयोगीको जरूरत थियो। सुशीलले आफूसँग निकट नरहेका तर आफ्नो प्रखरताका लागि चिनिएका केही नेतालाई आफ्नो मन्त्रिमण्डलमा समेटे। नरहरि आचार्य, महेश आचार्य, प्रकाशमान सिंह, रामशरण महत, मिनेन्द्र रिजाल लगायत कांग्रेसका संस्थापन पक्षबाट मन्त्री बने।
तीमध्ये नरहरि र महेशलाई संविधान निर्माणको काममा वार्ता गर्न सुशीलले निरन्तर खटाए। केही समयपछि सत्तारूढ दलहरू र आन्दोलनरत माओवादी केन्द्रका साथै विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) बीच १६ बुँदे सहमति भयो।
अन्तत: संविधान जारी भयो। संसदमा भएको निर्वाचनमा सुशीललाई हराएर केपी ओली प्रधानमन्त्री बने।
त्यसपछि सत्ताबाट बाहिरिएका नरहरि अहिले राजनीतिबाटै बाहिर छन्। मस्तिष्कघातको घटनापछि किनारमै बसेर राजनीति नियाल्दै छन्।
मैले सोधेँ, 'बाहिर बसेर हेर्दा अहिलेको राजनीति कस्तो देखिन्छ?'
'संविधान लेखिसकेपछि मुख्य पार्टीहरू केही समय, एक-दुई चुनाव मिलेर जानुपर्थ्यो,' उनले भने, 'संविधान कार्यान्वयन गर्न, गणतन्त्रको जग बलियो बनाउन त्यो जरूरी थियो।'
त्यसो हुन नसक्नुको मुख्य अपजस उनले आफ्नै पार्टीका तत्कालीन सभापति र संविधान लेख्ने समयका प्रधानमन्त्री सुशील कोइरालालाई दिए।
'संविधान लेखिसकेपछि एमालेलाई हामी छाड्छौं, तिमीहरूलाई प्रधानमन्त्री दिने हो भनेका थियौं, सुशील कोइरालाले त्यो तोड्नुभयो,' उनले भने, 'त्यहीँबाट भद्रगोल सुरू भयो।'
एमालेलाई प्रधानमन्त्री दिने लिखित सहमति भएको थियो?
'लिखित थिएन। दुई पार्टीबीच मौखिक गरेपछि पुगिहाल्यो नि!'
तपाईं त सुशील कोइरालाको क्याबिनेटमा मन्त्री हुनुहुन्थ्यो। संविधान लेखन क्रममा पनि उनले तपाईंलाई धेरै विश्वास गरेका थिए। तपाईंले उनलाई सम्झाउनुभएन?
'किन नसम्झाउनु? कत्ति सम्झाएको। कति भनियो भनियो। अर्कै बाटो लाग्नुभयो,' उनले भने, 'त्यसपछि मैले पनि उहाँको साथ छाडेँ।'
नरहरि र महेश आचार्यसहित मन्त्रिमण्डलका धेरैले सुशीललाई एमालेसँग समझदारी तोडेर संविधान जारी भएपछि फेरि प्रधानमन्त्री बन्ने लोभ नपाल्न सम्झाएका थिए। भारतले सुशीललाई आफैं प्रधानमन्त्री बन्न उक्सायो। सुशील प्रधानमन्त्रीको उम्मेदवार बने र हारे।
सुशीलले संविधान बनाएर आर्जन गरेको आफ्नो राजनीतिक छवि त धमिलो बनाए नै, कांग्रेस-एमालेबीच टकरावको राजनीति पनि सुरू गराए।
'त्यस बेला भड्किएका ओली अहिलेसम्म भड्किएका छन्,' नरहरिले भने, 'भड्किँदाखेरि उनले हामीलाई हानि पुर्याए। मुलुकलाई पनि पुर्याए। अहिले आफूलाई पनि पुर्याए।'
जारी राजनीतिबारे पनि उनलाई चिन्ता छ।
'सबै पार्टीमा नेताहरूका लागि सत्ता प्रमुख भयो,' नरहरिले भने, 'सबै पार्टी प्रतिक्रियात्मक मात्रै भए, विचारको प्रधानता घट्दै गयो।'
अन्तिममा सोधेँ, 'कांग्रेसको महाधिवेशन आउँदैछ। तपाईंको नजरमा कांग्रेसको हाल ठीक छ, कि के छ?'
उनी थोरै हाँसे र भने, 'कांग्रेस ठीकै त के हुन्थ्यो र, होइन! अहिले हामीले राजनीतिको जति कुरा गर्यौं, त्यसबाट पनि कांग्रेस ठीक छैन भन्ने त देखिइहाल्छ, होइन?'
केही बेर रोकिएर थपे, 'तर अब कांग्रेसभन्दा अरू को त भनेर सोच्दा, फेरि कोही छैन।'
कांग्रेसका नेताले सधैं भन्नेजस्तै कुनै लोकतान्त्रिक र भरोसालाग्दो विकल्प नभएको गुनासो उनले पनि दोहोर्याए, 'कांग्रेसभित्रै अलि सक्षम, अलि राम्रो मान्छे आए हुने भन्ने लाग्छ।'
नरहरिसँगको कुराकानी लम्बिएर सवा दुई घन्टा बढी भइसकेको थियो।
शारदा शर्माले आएर भनिन्, 'बाबा, अब कुरा सकिएन र?'
नरहरिले घडी हेरेर भने, 'चार बज्न लागेछ, आजलाई सक्नुपर्छ।'
उनको बगैंचामा विचरण गर्ने समय भयो।
हामी सँगै घर बाहिर निस्कियौं।
उनी शान्त आँगनमा रूख-बिरूवाबीच टहलिन थाले।
म सडकभरिका गाडी र प्याँप्याँ-पुँपुँ झेल्दै कार्यालय फर्किएँ।
(सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी)