देशकै सबभन्दा ठूलो ४५६ मेगावाटको जलविद्युत आयोजना माथिल्लो तामाकोशीको निर्माण सम्पन्न भएको छ। दुई महिनाभित्र यो आयोजना पूर्ण सञ्चालनमा आउनेछ।
यो आयोजनाले आन्तरिक विद्युत मागको ठूलो अंश पूरा गर्नेछ र वार्षिक करिब १० अर्ब रूपैयाँ आम्दानी गर्नेछ। यसबाट उत्पादित बिजुली बेचेर नेपाल विद्युत प्राधिकरणले थप १० अर्ब रूपैयाँ कमाउने छ।
नेपालले पहिलोपटक आफ्नै व्यवस्थापनमा यति ठूलो आयोजना सम्पन्न गरेको हो। योसँगै झन् ठूला जलविद्युत आयोजना बनाउन मुलुकको आत्मविश्वास बढेको छ। त्यसैले धेरैले भन्छन्, 'यो राष्ट्रिय गौरवको कुरा हो। हामी खुसी हुनुपर्ने कुरा हो।'
तर यो आयोजनाको अर्को पाटो पनि छ।
निर्माण सुरू हुँदा यो आयोजना पाँच वर्षमा सक्ने लक्ष्य राखिएको थियो। सकिन ११ वर्ष लाग्यो। सुरूमा ३५ अर्ब लागत अनुमान गरिएकोमा आयोजना सम्पन्न हुँदासम्म करिब ८५ अर्ब खर्च भयो। अर्थात्, अनुमान गरिएभन्दा दोब्बर बढी समय र दोब्बर लागतमा यो आयोजना बनेको छ।
आयोजना छ वर्ष ढिलो बन्दा लागत मात्र बढेन, प्रतिवर्ष आयोजनाले कमाउने १० अर्ब गुम्यो। प्राधिकरणले कमाउने अर्को १० अर्ब पनि गुम्यो। आयोजना र प्राधिकरणको गरेर छ वर्षमा १२० अर्ब रूपैयाँ गुम्यो।
त्यसैले कतिपयले भन्छन्, '११ वर्ष लगाएर यो आयोजना सम्पन्न हुँदा हामी खुसी होइन, दु:खी हुनुपर्छ। यसले हामीमा रहेको व्यवस्थापकीय कौशलको अभाव र अक्षमता देखाएको छ। ठूला आयोजनाको निर्माण हाम्रो बुताभन्दा बाहिरको विषय हो भन्ने देखाएको छ।'
त्यसो भए हामी खुसी हुने कि दु:खी? यति धेरै समय लाग्नु र लागत दोब्बरभन्दा धेरै बढ्नु कति जायज हो?
हामीले यिनै प्रश्न नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई सोधेका थियौं। घिसिङ भन्छन्, 'म धेरै खुसी छु। हामी सबै खुसी हुनुपर्छ।'
आखिर किन?
हेर्नुहोस्, घिसिङसँगको विस्तृत भिडिओ अन्तर्वार्ता: