निर्माण सम्पन भएर कार्यालय स्थानान्तरण भएको ६ महिनापछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवनको बिहीबार उद्घाटन गरिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त भवनको उद्घाटन गरेका हुन्।
तिलोत्तमा नगरपालिका वडा नं ६ कुञ्जलापुरमा निर्माण भएको उक्त भवनको २०७४ साल माघ ७ गते पौडेलले नै शिलान्यास गरेका थिए।
तीन वटा निर्वाचन क्षेत्रमा विभाजन भएको तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवन निर्माण स्थल पौडेलको निर्वाचन क्षेत्र हो। अर्थमन्त्री पौडेलले नगरपालिकाको डिजिटल नागरिक वडापत्रको समेत शुभारम्भ गरेका छन्।
भवनको उद्घाटन गर्दै पौडेलले तिलोत्तमालाई केन्द्रमा राखेर महानगरपालिका निर्माण गरिने बताए। बुटवल उपमहानगरपालिका सहित सिद्धार्थनगर, देवदह, सैनामैना र तिलोत्तमा क्षेत्रलाई समेटेर प्रशासनिक कार्यालय तिलोत्तमा रहने गरी महानगरपालिका निर्माण गरिने उनले बताए।
अहिलेको भवन तथा ठाउँलाई प्रशासनिक केन्द्र बनाएर महानगर बनाउने र हाल निर्माण भएको भवनमा कार्यालय सञ्चालनका लागि ठाउँ अभाव भएमा अर्को नयाँ भवन निर्माण गरेर भएपनि महानगरको केन्द्र तिलोत्तमालाई बनाउने उनको भनाइ छ।
उनले रुपन्देहीको विकासका लागि बजेटको कुनैपनि अभाव हुन नदिने प्रतिवद्धता दोहोर्याए। अर्थमन्त्री पौडेलले रुपन्देहीले भौतिक पूर्वाधार तथा विकास निर्माणको क्षेत्रमा फड्को मारेको बताउँदै विकास हेर्नका लागि अब रुपन्देही आउनुपर्ने वातावरण निर्माण गरिने बताए।
रुपन्देही विकासको रोल मोडल भएको दाबी गर्दै उनले जिल्लालाई विकासका हरेक क्षेत्रमा कुनै पनि हिसाबले पछि पर्न नदिने प्रतिवद्धता व्यक्त गरे।
पौडेलले नेपाललाई विखण्डन गर्ने नारा बोकेर हिँडेका सिके राउत र विप्लवलाई शान्तिपूर्ण राजनितिक आन्दोलनमा समाहित गर्नु ओली नेतृत्वको सरकारका महत्वपूर्ण उपलब्धि भएको बताए।
बुटवल भैरहवा सडकखण्डबाट करिब १२ किलोमिटर पश्चिम १० विघा क्षेत्रफलमा सुविधासम्पन्न पूर्वाधार सहित निर्माण गरिएको उक्त भवनमा करिब ८ करोड रुपैयाँ लागत लागेको छ।
निर्माण सम्पन्न भएपछि नगरपालिकाले करिब ६ महिनादेखि नै यसै भवनबाट आफ्नो प्रशासनिक सेवा थालेको थियो। नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले प्रशासनिक भवन परिसरमा बगैंचा निर्माणको काम बाहेक अन्य सम्पूर्ण निर्माणको काम सम्पन्न गरेको जानकारी दिए।
नगरपालिकाले सेवाग्राही र कर्मचारीहरुको लागि आफैले बोरिङ जडान गरी खानेपानीको ब्यबस्था गरेको छ।
३० कोठा रहेको नवनिर्मित चारतले भवन बालबालिकामैत्री, अपाङ्गमैत्री र बृद्धबृद्धामैत्री रहेको नगरप्रमुख घिमिरेले दावी गरे। भवनमा नगरप्रमुख, उपप्रमुख र अलगअलग च्याम्बरमार्फत विभिन्न शाखाहरुको सेवा संचालन हुनुको साथै सभाकक्ष, बैठक कक्ष, न्यायसम्पादन कक्ष र स्तनपान गराउने महिला कर्मचारीहरुको लागि स्तनपान कक्षको समेत व्यवस्था गरिएको उपप्रमुख जगेश्वरीदेवी चौधरीले बताइन्।