ओली समूहको नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार नै अझै दुई वर्ष टिक्ने दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउन गरिएका क्रियाकलाप निरर्थक हुने र बाँकी दुई वर्ष पनि ओलीकै नेतृत्वमा सरकार हुने उनले बताए। बिहीबार बुटवल आएका पौडेलले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै ओलीलाई सरकारबाट हटाउन गरिएका सबै षडयन्त्र र कोशिश निरर्थक, व्यर्थ र असफल हुने बताए।
‘नेकपाको संसदीय दलमा मात्रै होइन, प्रधानमन्त्री ओलीका पक्षमा प्रतिनिधिसभामा पनि बहुमत छ, प्रतिनिधिसभाको बाँकी २ वर्षको कार्यकाल ओलीकै नेतृत्वमा अगाडि बढ्छ र उहाँलाई हटाउने कोशिश निरर्थक, व्यर्थ र असफल हुन्छन्,’ पौडेलले भने।
पौडेलले आफूहरू अहिले नै निर्वाचनमा जान चाहे पनि प्रतिनिधिसभा पुनर्स्थापना भएपछि दुई वर्षको लागि त्यो टरेको भए पनि निर्वाचन पछि पुनः ओली नेतृत्वको नेकपा नै मुलुक सम्हाल्ने प्रमुख शक्तिको रूपमा स्थापित हुने जिकिर गरे।
‘अहिले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि ढिलोमा दुई वर्षभित्र निर्वाचन हुन्छ, त्यो बेला यो पार्टीलाई मुलुक सम्हाल्ने प्रमुख शक्तिका रूपमा जनताले स्थापित गर्नेमा हामी विश्वस्त छौं,’ पौडेलले भने।
पौडेलले लोकतन्त्रमा कुनै पनि राजनीतिक दललाई प्रमुख शक्तिको मान्यता प्रदान गर्ने र स्थापित गर्ने अन्तिम अधिकारी जनता रहेको उल्लेख गर्दै नेपाली जनताले ओली नेतृत्वको नेकपालाई आफूहरूको र मुलुकको बागडोर सम्हाल्ने पार्टीको रूपमा देख्न चाहेको बताए।
मुलुकको सबैभन्दा शक्तिशाली र बलियो रहेको तत्कालीन एमालेको १५ वर्ष नेतृत्व गर्दा माधव नेपालले तेस्रो स्थानमा पुर्याएकाले अहिले पनि उनलाई नेकपा शक्तिशाली बनेको चित्त नबुझेर नेकपालाई फुटाउने विभाजनकारी भूमिका खेलेको पौडेलको आरोपछ।
‘माधव नेपालले १५ वर्षे आफ्नो नेतृत्वमा देशको प्रमुख पार्टीलाई तेस्रोमा धकेलिदिनुभयो, ओलीले तेस्रो भएको पार्टीलाई पहिलोमा स्थापित गरेको उहाँलाई पचेन त्यसैले पहिलो पार्टीलाई दोस्रो, तेस्रो, चौथो र पाँचौंसम्म पुर्याइदिन्छु भनेर विभाजनको धन्दामा लाग्नुभएको छ,’ उनले भने।
२०५४ सालमा पनि माधव नेपालले सुझबुझ पुर्याउन नसक्दा एमाले विभाजन भएको उल्लेख गर्दै पौडेलले अहिले पनि नेपाल नै विभाजनमै लागेको बताए। नेता नेपाल पार्टी विभाजन गरी नेपालमा कम्युनिष्ट आन्दोलनको भविष्य समाप्त गरेर आफूलाई सुरवीर, आँटिलो नेताका रूपमा प्रस्तुत गर्ने गरेको उनले बताए।
नेता पौडेलले प्रचण्ड-नेपाल पार्टी विभाजनमा लागे पनि पार्टीका अरू नेताहरू र केन्द्रीय सदस्य पार्टीलाई विभाजन गरी कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने खेलमा नलाग्ने उनले बताए।
‘पार्टीका अरू नेताहरू कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकार गिराएर अरू पार्टीको नेतृत्वमा सरकार बनाउन मतियार बन्नुहुन्छ भन्ने मलाई लागेको छैन,’ उनले भने।
गत पुस ५ गते प्रचण्डलाई वैकल्पिक प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेताहरू नै उक्त अविश्वास प्रस्ताव फिर्ता लिएर नेपाली कांग्रेस र जनता समाजवादीका नेतालाई प्रधानमन्त्री बनि दिन बिन्ती गर्दै हिँडेको उनले बताए।
‘आफ्नै दुई तिहाइको सरकार गिराएर अँध्यारो कोठामा बसेर प्रधानमन्त्री बन्न अरूलाई अफर गर्नुभएको छ, हाम्रो लागि प्रधानमन्त्री बनिदिनोस्, हामीलाई नेतृत्व गरिदिनुस् भनेर लाग्नुभएको छ। तर पार्टीका अधिकांश सांसद नेकपाको सरकार ढालेर उहाँहरूको गलत कामको पक्षमा लाग्नुहुन्छ भन्ने हामीलाई विश्वास छैन,’ उनले भने।
२०६४ सालमा निर्वाचन हारे पनि संवैधानिक समिति हुँदै संविधान सभामा प्रवेश गरेका माधव नेपाल प्रधानमन्त्री बनेको उल्लेख गर्दै नेता पौडेलले माधव नेपाललाई हारेका मानिसले नेतृत्व गर्नुपर्छ भन्ने भ्रम अहिले पनि रहेको पौडेलले टिप्पणी गरे।
‘हारेको व्यक्ति प्रधानमन्त्री बन्ने माधव नेपालको पृष्ठभूमि छ, त्यसैले उहाँलाई जितेकाले नभई हारेको व्यक्तिले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने लागेर निर्वाचन जितेको, संसदीय दलमा निर्वाचित भएको, प्रतिनिधिसभाका बहुसंख्यक सदस्यबाट निर्वाचित व्यक्तिलाई हराउने धन्दामा लाग्नुभएको छ,’ उनले भने।