द्वन्द्व पीडित कालीबहादुर घर्तीमगरले तत्काल सशस्त्र युद्धका क्रममा भएका घट्नाहरूको बारेमा वाम गठबन्धन गम्भीर नबने अन्तरराष्ट्रिय अदालतमा जाने चेतावनी दिएका छन्।
सोमबार पत्रकार सम्मेलन गरेर घर्तीले एक महिनाभित्र द्वन्द्व पीडितले न्याय नपाए आफू अन्तरराष्ट्रिय अदालतमा जाने चेतावनी दिएका हुन्।
उनले भने,‘सरकारले आजको दिनसम्म धेरै प्रकारका आयोगहरू गठन गर्यो, ती आयोगहरू पैसा कमाउने जागिरमा परिणत भएका छन्, पछिल्लो समयमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले कुनैपनि काम नगरि फेरि एकवर्षे म्याद थप्न खोजिरहेको छ, यस्तो काम भयो भने पीडितको आशुमा रमाउनेहरूले बुझ्नुपर्छ, हामीले आफन्त गुमाएका छौँ, घरपरिवार विस्थापित छ, ६ लाख ४० हजार सम्पत्ति लुटिएको छ, घरपनि छैन, तीनपटक अपहरण गरि मार्ने कोसिस गरिएको थियो, भाग्यबस म बाँच्न सफल भएको थिएँ।’
उनले अघि थपे,‘द्वन्द्व पीडितहरूलाई तत्काल क्षतिपूर्ति दिनुपर्छ, मानव अधिकार उल्लंघनका घट्नामा मुछिएकाहरूलाई कानून बमोजिम कारवाही गरिनुपर्छ, माओवादी युद्धका योजनाकारहरूले ६० हजार द्वन्द्व पीडितहरूसमक्ष माफी माग्नुपर्छ।’
सल्यान जिल्ला ढोरचौर गाउँपालिका वडा नम्बर ४ निवासी घर्तीले कुनैपनि निकायबाट आजसम्म राहत नपाएको गुनासो गरेका छन्।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेका घर्तीले भक्कानिँदै भने,‘मेरो पार्टी नेपाली कांग्रेससँग पनि उपचार खर्चको लागि निवेदन दिएँ तर त्यसको सुनुवाइ भएको छैन, मलाई तुरुन्त पार्टी केन्द्रले वा नेपाल सरकारबाट आर्थिक सहायता उपलब्ध गराइयोस् भनी विनम्र अनुरोध गर्दछु।’
तत्काल राज्यद्वारा पीडितका मागहरू सम्बोधन नभए सशस्त्र युद्ध सुरू भएकै दिन अर्थात् फागुन १ गतेबाट राजधानीको टुँडिखेलमा धर्ना दिने र आन्दोलनमा उत्रिने बताएका छन् ।