अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनसँग १०-१२ दिनभित्र युद्धविराम गर्न चेतावनी दिएका छन्।
दुई साताअघि नेटोका महासचिव मार्क रूटसँग ह्वाइट हाउसमा भेटेपछि उनले पुटिनलाई युद्ध रोक्न ५० दिनको समयसीमा दिएका थिए। तर बेलायत भ्रमणका क्रममा स्कटल्याण्डमा रहेका ट्रम्पले सोमबार त्यसलाई घटाएका हुन्।
बेलायती प्रधानमन्त्री कियर स्टार्मसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले अरू पर्खनुको कुनै कारण छैन भनेका छन्।
‘म उदार हुन चाहन्छु। तर हामीले कुनै प्रगति भएको देखेका छैनौं,’ उनले थपे।
ट्रम्पले विगत केही सातामा बारम्बार पुटिनले आफूलाई निराश पारेको बताउँदै आएका छन्। आफूले दिएको समयभित्र युद्धविराम नगरे रूसी तेल किन्ने चीन र भारत जस्ता देशलाई समेत चर्को भन्सार दर लगाउने भन्दै आएका छन्।
चीनसँग चालु व्यापार वार्तामा समेत सैन्य र गैरसैनिक दुबै प्रयोजनमा प्रयोग हुनसक्ने कच्चा पदार्थ रूसलाई नबेच्न अमेरिकी अधिकारीले चीनलाई दबाव दिइरहेका छन्।
युक्रेनको आग्रहमा गत साता टर्कीको इस्तानबुलमा रूस र युक्रेनको वार्ता भएको थियो। तर बन्दी आदानप्रदान बाहेक खासै केही सहमति हुन सकेन। सो वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र पुटिनको भेटका लागि युक्रेनले प्रस्ताव गरे पनि रूसले मानेन। सम्झौतामा हस्ताक्षर गर्नका लागि मात्रै दुई नेताहरू भेट्नु पर्ने जिकिर गर्यो।
त्यस अघि जुन महिनामा इस्तानबुलमा भएका दुई चरणका वार्तामा पनि युद्धविरामका लागि कुनै प्रगति हुन सकेको थिएन। त्यसको सट्टामा ठूलो मात्रामा बन्दी आदानप्रदान र मारिएका सैनिकहरूको शव फिर्ता गर्ने सम्झौता भएको थियो।
पुटिनसँग आजित भएर ट्रम्पले केही साताअघि युक्रेनलाई सैन्य सामग्री दिने नयाँ योजना घोषणा गरेका थिए। त्यसमा आक्रामक हतियारहरू पनि संलग्न हुनेछन् भनेर पश्चिमा मिडियाले लेखेका छन्।
पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले दोस्रो कार्यकाल सुरू भएदेखि नै रूसका सर्तअनुसार शान्ति सम्झौता गर्न युक्रेनमाथि दबाब हालेका थिए।
युक्रेनलाई अघिल्ला अमेरिकी राष्ट्रपति जो बाइडेनले दिने निर्णय गरेका हतियार रोकेका थिए। त्यति मात्रै नभएर युक्रेनलाई अमेरिकाले उपलब्ध गराउँदै आएको खुफिया सूचना समेत केही समयका लागि रोकेका थिए।
तर पुटिनले युद्ध रोक्ने इच्छा नदेखाएपछि ट्रम्पले पछिल्लो समयमा रूस र युक्रेनप्रतिको रवैया परिवर्तन गरेको देखिन्छ।
तर पनि उनले द्वन्द्व बढ्न नदिन युक्रेनलाई केवल रक्षात्मक हतियारहरू मात्र दिने बताउँदै आएका थिए। अब भने उनले युक्रेनलाई आक्रामक हतियारहरू समेत दिने आकलन गरिएको छ।
अमेरिकी, युक्रेनी र युरोपेली अधिकारीहरूले ती हतियारले युद्धको दिशा बदल्ने अपेक्षा गरेका छन्। त्यसो भए पुटिनमाथि युद्ध विरामका लागि दबाब पर्ने उनीहरूले आशा गरेका छन्।
ट्रम्पको पहलमा रूस-युक्रेन युद्धविरामका निम्ति अमेरिकाले मध्यस्थता गरिरहेको छ। ट्रम्पले सार्वजनिक र निजी रूपमा पनि युद्धविरामका लागि दुवै देशमाथि दबाब दिँदै आएका छन्।
अमेरिकाले राखेको ३० दिनको अस्थायी युद्धविराम प्रस्ताव युक्रेनले सहजै स्वीकार गरे पनि पुटिनले सहमति दिएका थिएनन्।
उनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सीमित गर्नुपर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्र नभएर आफ्नो नियन्त्रणमा नभएका भागको पनि स्वामित्व दिनुपर्ने माग गरिरहेका छन्।
ट्रम्पले मे १९ मा पुटिनसँग फोन वार्ता गरेपछि युद्ध रोकिने अपेक्षा धेरैले गरेका थिए। तर दुई घन्टाको फोन वार्तामा पनि ट्रम्पले पुटिनलाई मनाउन सकेनन्। त्यसपछि रूसले तत्काल युद्धविराम घोषणा गर्नुपर्ने आफ्नो मागबाट ट्रम्प पछि हटे।
युद्ध रोक्न कदम चाल्नुको साटो पुटिनले उल्टै युक्रेनमाथि आक्रमण तीव्र बनाएका छन्। त्यही भएर ट्रम्पले पछिल्ला दिन पुटिनबारे कडा टिप्पणी गर्न थालेका छन्।
पुटिनले वार्ता गरेजस्तो देखाएर आफूलाई खेलाइरहेको भन्दै ट्रम्पले रूसमाथि नयाँ प्रतिबन्ध लगाउन छलफलसमेत थालेको मानिन्छ।
रूस शान्तिका लागि गम्भीर देखिएन भने ट्रम्पले रूसविरूद्ध कडा कदम चाल्न सक्ने अपेक्षा गरिएको छ।
जुनको सुरूमा युक्रेनले ठूलो संख्यामा ड्रोनहरू प्रयोग गरेर रूसका धेरै बमवर्षक विमानहरू ध्वस्त पारेपछि रूस र युक्रेनबीच टर्कीमा शान्ति वार्ता भएको थियो। तर पनि युद्ध रोक्नेबारे केही पनि प्रगति हुन सकेको थिएन।
एक घण्टाको सो वार्तामा रूसले आफ्ना सर्तहरू आधिकारिक रूपमा राख्यो। त्यसअनुसार थप भूभाग छोड्न र आफ्नो सेनाको आकार घटाउन स्वीकार गर्ने हो भने मात्र यो युद्ध रोकिने बताएको भनेर समाचार आएका छन्।
रूसले युद्धविराम नभएर आफूले दीर्घकालीन समाधान खोजेको बताउँदै आएको छ।
युक्रेनले भने रूसी राष्ट्रपति पुटिनले शान्ति नचाहेको आरोप लगाइरहेको छ।
रूसी समाचार एजेन्सी इन्टरफ्याक्सले प्रकाशित गरेको सर्तहरूका अनुसार युद्धको समाधानका लागि रूसले सन् २०१४ मा कब्जा गरेको युक्रेनको भूभाग क्राइमिया प्रायद्वीपलाई अन्तर्राष्ट्रिय रूपमा रूसी भूमि भनेर मान्यता दिनुपर्नेछ। त्यस्तै, रूसले आफ्नो भूभाग भनेर दाबी गरेको अन्य चार युक्रेनी क्षेत्रहरूलाई पनि अन्तर्राष्ट्रिय मान्यता खोजेको छ।
रूसले दाबी गरेको चार युक्रेनी क्षेत्रहरू हाल पूर्ण रूपमा रूसी सेनाको नियन्त्रणमा छैनन्। रूसले त्यहाँबाट पनि युक्रेनी सेना फिर्ता हुनुपर्ने माग गरेको छ।
युक्रेन तटस्थ देश हुनुपर्ने र नेटोको सदस्यता कहिल्यै लिन नहुने, युक्रेनमा रूसीभाषीहरूको अधिकार संरक्षण हुनुपर्ने, रूसीलाई आधिकारिक भाषा बनाउनुपर्ने र कथित नाजीकरण बन्द गर्नुपर्ने भन्ने माग रूसले पुनः दोहोर्याएको छ।
युक्रेनले भने रूसीभाषीहरूमाथि भेदभाव गरेको अस्वीकार गर्छ। युक्रेन नाजीकरण भएको आरोप सारा विश्वले हाँस्यास्पद ठान्छ।
अर्कोतर्फ, युक्रेनले भने आकाश, जमिन र समुद्रमा पूर्ण र बिनासर्त युद्धविराम हुनुपर्ने सर्त राखेको छ।
उक्त युद्धविरामको अनुगमन अमेरिकाले गर्नेछ। त्यसपछि सबै बन्दीको रिहाइ, रूसमा जबर्जस्ती लगिएका युक्रेनी बालबालिकाको फिर्ती र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र पुटिनबीच भेटघाट हुनुपर्ने छ।
रूसले फेरि आक्रमण नगरोस् भनी सुनिश्चित गर्न सुरक्षा ग्यारेन्टी पनि युक्रेनले माग गरेको छ।
रूसले आफ्नो नियन्त्रणमा रहेका युक्रेनी भूभागमाथि गर्दै आएको दाबीलाई अन्तर्राष्ट्रिय मान्यता दिनु हुँदैन भन्ने पनि युक्रेनले सर्त राखेको छ।
त्यस्तै, युक्रेनको सैन्य शक्तिमा कुनै सीमा लगाउन नहुने र रूसमाथि अमेरिका लगायत पश्चिमा राष्ट्रले लगाएको प्रतिबन्ध विस्तारै हटाइनुपर्ने छ। रूसले सम्झौता तोड्यो भने फेरि प्रतिबन्ध लगाउनुपर्ने युक्रेनको माग छ।
उसको सर्तअनुसार अमेरिका लगायत पश्चिमा राष्ट्रले जफत गरेको रूसी सम्पत्ति युक्रेनको पुनर्निर्माणमा खर्च गरिनुपर्ने छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)