मंसिर २१ गते सम्पन्न निर्वाचनअन्तर्गत झापामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ८.१० प्रतिशत र प्रदेशसभाको समानुपातिकतर्फ १२.३० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्राप्त विवरणअनुसार प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ मा समानुपातिकमा ७५ हजार ९८६ मत खसेकामा पाँच हजार ५०३ मत बदर , निर्वाचन क्षेत्र नं २ मा ८४ हजार ६४९ मत खसेकामा पाँच हजार १९मत बदर, निर्वाचन क्षेत्र नं ३ मा ८३ हजार ९३ मत खसेकामा आठ हजार १२५मत बदर, निर्वाचन क्षेत्र नं ४ मा ७७ हजार २१५ मत खसेकामा छ हजार १२५मत बदर र निर्वाचन क्षेत्र नं ५ मा ९६ हजार मत खसेकामा छ हजार ४८० मत बदर भएको थियो ।
त्यस्तै प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ को ‘क’ मा समानुपातिकतर्फ ४५ हजार ३५८ मत खसेकामा चार हजार ५५५ र ‘ख’मा ३० हजार ६२८ मत खसेकामा तीन हजार ३३२ मत बदर , निर्वाचन क्षेत्र नं २ को ‘क’ मा ३६ हजार ६३६ मत खसेकामा तीन हजार १७४ र ‘ख’ मा ४८ हजार १३ मत खसेकामा चार हजार ५७५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका कर्मचारी प्रेम न्यौपानेले बताए।
यसैगरी, निर्वाचन क्षेत्र नं ३ को ‘क’ मा ४२ हजार २३९ मत खसेकामा हजार २०३ र ‘ख’ मा ४० हजार ८५४ मत खसेकामा पाँच हजार ३११ मत बदर, निर्वाचन क्षेत्र नं ४ को ‘क’ मा ३३ हजार ५७ मत खसेकामा तीन हजार ८७४ र ‘ख’ मा ४४ हजार १५८ मत खसेकामा पाँच हजार १४४ मत बदर भएको थियो भने निर्वाचन क्षेत्र नं ५ को ‘क’ मा ४७ हजार ४१३ मत खसेकामा पाँच हजार ५२४ मत र ‘ख’ मा ४८ हजार ६३१ मत खसेकामा तीन हजार ९८३ मत बदर भएको कर्मचारी न्यौपानेले जानकारी दिए।
प्राप्त जानकारीअनुसार प्रतिनिधिसभाको समानुपातिक तथा प्रदेशसभाको समानुपातिकमा कूल चार लाख १६ हजार ९८७ (७१.२६ प्रतिशत) मत खसे पनि प्रतिनिधिसभातर्फ समानुपातिकमा ३१ हजार २५२ र प्रदेशसभातर्फ समानुपातिकमा ४५ हजार ६७५ मत बदर हुनुले मतदाता शिक्षा प्रभावकारी नभएको सम्बद्ध पदाधिकारीको भनाइ छ ।