नेकपा माओवादी केन्द्रका नेता एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णबहादुर महराले वाम गठबन्धनको बहुमत मात्रै नभएर दुई तिहाईभन्दा बढी बहुमत आउने दाबी गरेका छन्।
शुक्रबार दाङमा आयोजित विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता महराले वाम गठबन्धनको बहुमत आउनेमा कुनै शंका नभएको स्पष्ट पारेका छन् । उनले थपे,‘हामी साधारण बहुमतमात्रै होइन, दुई तिहाईभन्दा बढी मत ल्याएर सरकार बनाउँछौ, निर्वाचनपछि यहाँहरूले यो कुरा थाहा पाइनै हाल्नुहुन्छ।’
उनले निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने ठोकुवा गरे। ‘वाम गठबन्धनको सरकार विल्कुल बन्छ। दुई तिहाई बहुमत आउँछ। आन्तरिक तथा बाहृय पर्यवेक्षकहरूको आंकलन पनि बाहिर आएको छ, जस्तो पहिलो चरणको निर्वाचनमा ३७ मा २७ भन्दा बढी वाम गठबन्धनले जित्ने आंकलन आएको छ, अब बाकस खोल्न बाँकी छ। दुई तिहाई भन्दा बढी नै आउँछ।’
महराले संविधान जारी भएपछि अब देशको ध्यान समृद्धितिर भएकोले सोही उद्देश्य प्राप्तिको लागि आफूहरू केन्द्रीत रहने जनाए। उनले थपे,‘केही वर्षदेखि यता मेरो ध्यान पनि समृद्धिमा छ। यहाँका बाटोहरूका आन्तरिक व्यवस्थापन गर्न, पर्यटनको हब बनाउने, त्यतिमात्रै नभएर पश्चिम नेपालकै केन्द्र बनाउने र सबै किसिमका हब बनाउने, पाँच नम्बर प्रदेशको राजधानी बन्छ। विल्कुल संभावना छ । शंकर पोखरेल मुख्यमन्त्री बन्नुहुन्छ । वामपन्थीहरूले दुई तिहाई ल्याउँछन्।’
दाङ संभावना बोकेको जिल्ला भएको उल्लेख गर्दै उक्त क्षेत्रको विकासको लागि आन्तरिक सिँचाइ र खानेपानीको व्यवस्था गर्ने, आधुनिक कृषि उत्पादनमा ध्यान दिने, यातायताको पनि स्तरोन्नती गर्ने, रारा र लुम्बिनी जोड्ने आफ्नो योजना सुनाए। उनले थपे,‘सबै इन्टरकनेक्शनहरूको बढावा संभव छ । यहीबाट विकास हुन्छ।’