निर्वाचनमा मतदान कसरी गर्ने थाहा छ भन्ने जिज्ञासामा नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी किरण केवटले भने, ‘तीन पर्चा (मतपत्र) पाइन्छ भन्ने सुनेको छु, अरू थाहा छैन्।’
‘विभिन्न दलका नेता–कार्यकर्ता आउँछन्, आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हाल्न भन्छन् तर कसरी भोट हाल्ने कोही सिकाउँदैनन्’, उनको गुनासो थियो। सो क्षेत्रमा मतदाता शिक्षाका लागि निर्वाचन आयोगबाट समेत केही नआएको पनि केवटले जानकारी दिए।
मुलुकमा पहिलो पटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भइसकेको छ भने दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा मंसिर २१ गते हुँदैछ तर अझै कतिपय मतदाताले भने मतपत्रको सङ्ख्या र मतपत्रमा कति छाप लगाउनुपर्छ भन्ने जानकारीसम्म पाउन सकेका छैनन्। सम्बन्धित निकायले यस बारेमा प्रभावकारी कार्यक्रम गर्न नसकेको मतदाताको गुनासो छ।
नेपालगन्ज बीपी चोकका दिनेश ज्ञवालीलाई पनि मतपत्र र मतदान सम्बन्धमा खासै जानकारी छैन्। उनले भने, ‘मतदान प्रक्रियाका बारेमा सिकाउन कोही आएकै छैन्, आफैँ कसरी थाहा पाउनु।’ उपमहानगरपालिका–८ का मतदाता राजु केवटले पनि मतदान गर्ने सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताए। उनले उम्मेदवारप्रति आक्रोश पोख्दै भने, ‘जसलाई भोट हाले पनि सबै जितेपछि काठमाडौं जान्छन्, पैसा कमाउँछन्, हाम्रा समस्या केही बुझ्दैनन्, यसपालि त भोट हाल्ने मन पनि लागेको छैन्।’
खानेपानी, शिक्षा, रोजगारी, बाटो, भौतिक पूर्वाधार विकास, विद्युत्, सार्वजनिक शौचालय आदि यस क्षेत्रका मतदाताको मुख्य माग हुन् । नेपालगन्ज बाँकेको मात्र होइन मध्यपश्चिमकै प्रमुख सहर हो। यो उपमहानगरपालिका र सँगैको डुडुवा गाउँपालिका मिलाएर बाँकेको निर्वाचन क्षेत्र नं २ बनाइएको छ। यस क्षेत्रमा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमप्रकाश आजाद, वाम गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार पशुपतिदयाल मिश्रा र संघीय समाजवादी फोरम नेपालका इस्तियाग राईबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
सबै उम्मेदवार यस क्षेत्रमा सहरी पूर्वाधार विकासलाई मुख्य एजेण्डा बनाएर मतदातालाई आकर्षित गर्न घरदैलो अभियानमा व्यस्त छन्। उम्मेदवारले नेपालगन्जलाई प्रदेश नं ५ को राजधानी बनाउने, सुविधासम्पन्न शहरका रूपमा विकास गर्ने, पर्यटन र उद्योगको हब बनाउने, नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने लगायतका वाचा गर्दै भोट माग्ने गरेका छन्। यसै वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा यस उपमहानगरपालिकाको प्रमुखमा राप्रपा र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्व सुशील कोइरालाले २०७० सालको संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट विजय हासिल गरेका थिए।
निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक दुवै निर्वाचन प्रणालीका जम्मा तीन मतपत्रमा चार छाप लगाउनुपर्छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भने, ‘यस निर्वाचनमा हरियो, कालो र रातो मतपत्रमध्ये हरियो प्रतिनिधिसभाको हो भने कालो प्रदेशसभाको हो। दुवै मतपत्रमा एक/एक स्वस्तिक छाप लगाउनुपर्छ। रातो मतपत्रमा समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई मतपत्र एक पानामा छन् त्यसमा माथि प्रतिनिधिसभाका लागि र तल प्रदेशसभाका लागि छुट्टाछुट्टै दुई छाप लगाउनुपर्छ।’
नेपालगन्ज–१६ की हामिदा अन्सारीले मतदान प्रक्रियाका बारेमा आफू जानकार भए पनि अशिक्षित र पिछडिएको समुदायमा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको बताए। सोही क्षेत्रका ७२ वर्षीय गफ्फार खाँले निर्वाचनमा जितिसकेपछि गरीबलाई कुनै पनि उम्मेदवारले नहेर्ने गरेको गुनासो पनि गरे। दशकौँदेखि आफूलगायत धेरै परिवारले यस क्षेत्रमा बसोबास गरे पनि हालसम्म लालपुर्जा नपाएको उनको भनाइ थियो ।
बाँकेस्थित क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले भने आयोगबाट खटिएका स्वयंसेवीले प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षा दिइरहेको बताए। उनका अनुसार यस जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र कायम गरिएको छ।
यसअघिका निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको बाँकेमा हाल तीन निर्वाचन र कुल मतदाताको सङ्ख्या दुई लाख ७६ हजार ७१८ छ । क्षेत्र नं १ मा ९८ हजार ३२०, क्षेत्र नं २ मा ८२ हजार ९४९ र क्षेत्र नं ३ मा ९५ हजार ४४९ मतदाता रहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका (कोहलपुर) र ६ गाउँपालिका गरी आठ स्थानीय तह छन् ।