ओखलढुंगाको सदरमुकामा बस पार्किङ गर्ने ठाउँ नहुँदा सवारीसाधन सडकमै राख्नुपर्ने अवस्था छ।
पहिलो चरणअन्तर्गत यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोट माग्न जाने नेतालाई ओखलढुंगाका मतदाताले एउटा व्यवस्थित बसपार्क बनाउने शर्तमा मात्र मत हाल्ने सुनाए ।
सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका मञ्जु बाँनियाले भन्नुभयो, “जुन नेताले बसपार्क बनाउने योजना ल्याउँछ र जिल्लाको विकास गर्छु भन्छ त्यसैलाई भोट दिने हो ।” उहाँ बसपार्ककै छेउमा चिया पसल गर्नुहुन्छ । व्यवस्थित बसपार्क नहुँदा उहाँको चियापसमा आउन जान ग्राहकलाई अप्ठ्यारो छ ।
भोट माग्न गएका प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारसँग बाँनियाले गुनासो गर्नुभयो, “गरी खान पनि नपाउने, चिया पसलकै अगाडि बस आएर रोकिन्छ, ग्राहकलाई आउन जानै गाह्रो छ ।”
जिल्ला सदरमुकामा अहिलेसम्म बसपार्क छैन। बसपार्क नहुँदा सवारीसाधन बाटोबाटोमा राख्नाले अरु सवारीसाधनलाई पार हुन र सर्वसाधारण आवतजावत गर्न कठिनाइ हुन्छ।
बाँनिया मात्र हैन, सोही नगरपालिकाका–१२ का गोपाल बज्राचार्यको भनाइ पनि उस्तै छ । ‘मतदाताको मर्मलाई बुझेर जिल्लामा बसपार्क बनाउने, गाउँगाउँसम्म सडक विस्तार गर्ने नेतालाई हाल्छु,’ उनले भने।
पेशा व्यवसाय गर्ने र यात्रुलाई मात्र हैन ठूलाठूला कार्यक्रमको आयोजना गर्दा पनि ट्राफिक व्यवस्थापनमा निकै कठिनाइ हुने गरेको छ । ओखलढुंगाका ट्राफिक प्रहरी प्रमुख भेषराज कट्टेलका अनुसार कुनै ठूला कार्यक्रमको बेलामा ट्राफिक व्यवस्थापनमा निकै कठिन भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका अवसरमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको यही मंसिर २ गते आयोजना भएको बृहत् चुनावीसभामा पनि ट्राफिक व्यवस्थापन गर्न निकै समस्या भएको थियो । दुवै दलले आआफ्नो चुनावीसभाको कार्यक्रमस्थल नजिकै सडकमा लाइन लगाएर सवारी साधन पार्किङ गरेका थिए ।
वाम गठबन्धनको चुनावी प्रतिबद्धतापत्रमा सिद्धिचरण नगरपालिकाभित्र दुई वर्षमा व्यवस्थित बसपार्क निर्माण गर्ने उल्लेख छ । वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारले भने, ‘एउटा व्यवस्थित बसपार्क बनाउँछु, त्यो योजनाभित्रै छ।’
लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार रामहरि खतिवडाले पनि बसपार्क बनाउने आफ्नो पनि कार्ययोजना भएको बताए।सदरमुकाम ओखलढुंगास्थित रमाइलो डाँडामा बसपार्क बनाउने भनेर कामसमेत अघि बढिसकेको भए पनि नेपाली सेनाको जग्गा भएको हुँदा बसपार्क बन्न सकेन । अब उपयुक्त जग्गा खोजेर एउटा व्यवस्थित बसपार्क बनाउनु जरुरी छ ।
प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट सुनुवार र कांग्रेसका तर्फबाट खतिवडा उम्मेदवार छन् भने प्रदेशसभाको ‘क’ मा वाम गठबन्धनबाट अम्मिरबाबु गुरुङ, कांग्रेसबाट मित्रसेन दाहाल, तथा ‘ख’ मा वाम गठबन्धनबाट माओवादीका मोहन खड्का कांग्रेसबाट प्रदीप सुनुवारका साथै स्वतन्त्रबाट ज्ञानेन्द्र रुम्दाली प्रतिस्पर्धामा छन्। ओखलढुंगामा एक लाख दुई हजार २६३ मतदाता छन् ।