भक्तपुर दरबारक्षेत्रमा किराना पसल चलाउने दिनेश सुवाल विरलै काठमाडौं जान्छन्।
एकचोटि जाँदा गाडीबाट झर्नेबित्तिकै बिरामी परे। धूलोधुवाँले सास फेर्न गाह्रो परेपछि ठाउँको ठाउँ अर्को गाडी चढेर फर्के। ‘त्यो बेलादेखि नगई नहुने काम परे मात्र जान्छु, आफ्नै गाडीमा,’ उनी भन्छन्, ‘नजिकै गाडी रोक्यो, काम सक्यो, फर्कियो।’
उपत्यकाका तीन सहर काठमाडौं, ललितपुर र भक्तपुरलाई तीन दिदी–बहिनी मान्ने सुवालले मुस्काउँदै भने, ‘यी दिदी–बहिनीमध्ये कान्छी भक्तपुरै प्यारो। बस्न आनन्द छ, व्यवस्थित छ, हावापानी पनि राम्रो।’
भक्तपुरलाई गर्व गर्नलायक सहर बनाएको जस उनी यहाँका नेता नारायणमान बिजुक्छेलाई दिन्छन्, जसले बहुदल आएपछि भक्तपुर–१ मा कहिल्यै चुनाव हारेनन्।
बिजुक्छे कस्ता नेता हुन् भने, धेरैअघि उनका छोरा बिरामी परेछन्। भक्तपुरमै जचाउँदा निको भएनन्। महिनादिनसम्म नफिरेपछि कान्ति बाल अस्पताल लगे। दुई मात्रा औषधिले नै छोरा सन्चो भए। बिजुक्छेले सोचे, ‘मैले त काठमाडौं ल्याएँ, भक्तपुरमा कति जनता होलान्, जो उपचार गर्न काठमाडौं जान सक्दैनन्!’
उनले तुरुन्तै भक्तपुरमा स्वास्थ्य चौकी खोल्न पहल गरे। राम्रा डाक्टरलाई बेलाबेला शिविरमा डाके। अहिले यहाँ भक्तपुर नगरपालिकाले नै २५ शैयाको अस्पताल बनाउँदै छ।
यस्तै समर्पणको कारण हो, बिजुक्छेले भक्तपुरमा एकछत्र राज गरेको।
देशको सरकार जोसुकै होस्, भक्तपुरका ‘सरकार’ उनै हुन्।
उनै सरकार २५ वर्षको अनवरत शासनपछि विश्राम लिँदै छन्।
उनले यो निर्णय दुई वर्षअघि नै गरिसकेका थिए। कसैलाई सुनाएनन्। आफ्नो क्षेत्रका जनताको मत बुझे। पार्टीभित्र को योग्य छ भनी पर्गेले। र, यसपालि उम्मेदवार मनोयनको अन्तिम घडीमा बल्ल मुख खोले, ‘नेतृत्व र राजनीतिमा नयाँ पुस्तालाई ठाउँ दिन मैले चुनाव नलड्ने निधो गरेँ।’
बिजुक्छेले भक्तपुर–१ सरक्क नयाँ पुस्तालाई सुम्पे। अब यहाँबाट प्रेम सुवाल उठ्दैछन्।
नेपाल मजदुर किसान पार्टीमा ४३ वर्षदेखिको नेतृत्व पनि विस्तारै नयाँ पुस्तालाई सुम्पने उनले निधो गरेका छन्।
‘अचानक मेरो प्रस्ताव सुनेर साथीहरू अचम्म पर्नुभो। पहिल्यै भनेको भए मान्ने थिएनन्,’ ७६ वर्षीय बिजुक्छेले सेतोपाटीसँग भने, ‘भोलिको नेतृत्व तयार गर्नुपर्यो नि भनेर सम्झाएँ। त्यसपछि बल्ल मान्नुभो।’
बिजुक्छे यस्ता नेता हुन्, जसका बारेमा राजनीतिक विश्लेषक कृष्ण खनाल भन्छन्, ‘उहाँ नेपाली राजनीतिमा इमानदार, पदको लोभमा नफसेका थोरै नेतामध्ये पर्नुहुन्छ।’
उनी यस्ता नेता हुन्, जसका बारेमा कांग्रेस नेता विश्वप्रकाश शर्मा भन्छन्, ‘सरकारमा जाने धेरै अवसर पाएर पनि उहाँले कहिल्यै लोभ गर्नुभएन।’
र, उनी यस्ता नेता पनि हुन्, जसका बारेमा एमाले नेता रवीन्द्र अधिकारी भन्छन्, ‘संसदका निरन्तर प्रतिपक्षी।’
भक्तपुरका स्थानीयदेखि प्रतिद्वन्द्वी नेता र विश्लेषकका नजरमा समेत उँचो छवि बनाएका बिजुक्छेले यस्तो बेला विश्राम लिए, जब उनी आफैं चुनाव उठेका भए पनि सजिलै जित्न सक्थे। अनवरत नेतृत्वमा बस्ने प्रवृत्तिबीच नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उनको घोषणाले ‘आदर्श राजनीतिक संस्कारको नमूना’ प्रस्तुत गरेको शर्मा बताउँछन्।
यस्ता नेतामा राजनीतिको झिल्को बालेको थियो, २०११ सालको गौर किसान आन्दोलनले।
त्यो वर्ष बाढीले गौरमा तबाही मच्चियो। घरखेती जम्मै डुबे। अन्नको एक गेडो बचेन। बाढी सुकेपछि अनिकाल लाग्यो। भोका किसानले सरकारको आस गरे, केही पाएनन्।
जागिरे बुवा पछ्याउँदै गौर पुगेका बिजुक्छे त्यो बेला जुद्ध हाइस्कुलमा पढ्थे। उनका घरबेटी कम्युनिस्ट थिए। उनी किसान आन्दोलनका पर्चा बनाउँथे। र, बिजुक्छेजस्तै स–साना केटाकेटीलाई बजारमा छर्न पठाउँथे।
‘अन्यायविरुद्ध बोल्नुपर्छ भन्ने भावना र राजनीतिक चेत विकास त्यही घटनाले भयो,’ बिजुक्छेले भने, ‘मैले यही चेत आफूसँगै काठमाडौं ल्याएँ। यहाँ आएपछि पनि कम्युनिस्ट पार्टीप्रति मेरो झुकाव बढ्दै गयो।’
‘त्यो कम्युनिस्ट हुन सजिलो बेला थिएन। मार्क्सवाद पढ्नैपर्थ्यो, लेनिनवाद जान्नैपर्थ्यो। पार्टी प्रशिक्षणमा भाग लिनैपर्थ्यो। राजनीतिक बहसहरूमा सरिक हुँदै लेख पनि लेख्नैपर्थ्यो। मैले यी सब चरण पार गरेर २०१५ सालमा पार्टीको सदस्यता लिएँ,’ उनले भने।
सदस्यता त लिए, तर सक्रिय हुन अर्को कठिन परीक्षा पार गर्नुपर्यो– परिवारको विरोध।
उनी परिवारको आँखा छलेर राजनीतिक कार्यक्रमहरूमा हिँड्न थाले। ट्युसन पढ्ने बहानामा कम्युनिस्ट नेता तुलसीलाल अमात्यकहाँ जान्थे, र मार्क्सवाद–लेनिनवादमाथि घन्टौं विमर्श गर्थे।
‘घरमा कम्युनिस्ट हुन मनाही थियो, म आमालाई झुक्याउन कम्युनिस्ट किताबहरूमा भगवानको फोटो भएको गाता हाल्थेँ,’ उनले भने, ‘अमात्य सरसँगको विमर्शले मेरो राजनीतिक ज्ञान अझ माझियो।’
कम्युनिस्टहरूमा एउटा चलन थियो, आफूले जानेका ज्ञान तल्लो तहसम्म गएर सिकाउने। बिजुक्छे पनि गरिब जनता पढाउन राति–राति हिँड्थे। सावाँ अक्षर नचिनेकालाई पहिला कखरा पढाउँथे, अनि अधिकारको कुरा गर्थे। उनीहरूसँग सुखदुःख बाँडेर मन जित्थे, राजनीतिक चेत बाँडेर संगठन बनाउँथे।
२०२१ सालको कुरा। चार वर्षअघि शाही ‘कू’ गरेर सत्ता हातमा लिएका तत्कालीन राजा महेन्द्रले ‘किसान नभड्किऊन्’ भनेर भूमिसुधार कानुन ल्याए। स्कुल आउने किसानका छोराछोरी ह्वात्तै बढे।
र, उनीहरूसँगै स्कुल पसे बिजुक्छे लगायत कम्युनिस्ट कार्यकर्ता।
‘हामी शिक्षकको भूमिकामा स्कुल गएका थियौं,’ उनले भने, ‘विद्यार्थीलाई पाठ्यक्रमसँगै राजाबाट खोसिएका राजनीतिक अधिकारको पाठ पठाउँथ्यौं।’
त्यो बेला सबै पार्टी भूमिगत थिए। नेताहरू या भूमिगत थिए, या बन्दी। उता, कम्युनिस्ट पार्टीमा फुटको राजनीतिक सुरु भइसकेको थियो। कसैले पञ्चायती व्यवस्था समर्थन गरे, कसैले विरोध।
बिजुक्छे नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग थिए, जो शाही ‘कू’ को विरोध गर्थे।
२०२७ सालसम्म आइपुग्दा बिजुक्छे आफैं पनि पुष्पलालबाट छुट्टिए।
विभाजनको कारण थियो, तत्कालीन पूर्वी पाकिस्तान (हाल बंगलादेश) मा भारतको हस्तक्षेप। उक्त घटनामा पुष्पलालले भारतको समर्थन गरे, बिजुक्छे लगायत केही नेताको असहमति रह्यो।
यो विभाजनपछि २०३१ सालमा नेपाल मजदुर किसान संगठनको जन्म भयो। पञ्चायत सरकारले राजनीतिक दललाई प्रतिबन्ध लगाए पनि संगठन खोल्ने अधिकार खोसिएको थिएन। यसैमा टेकेर मजदुर किसान संगठनले २०३६ र ३९ सालको स्थानीय चुनावमा भाग लिने निर्णय गर्यो।
‘स्वतन्त्र उठेर पञ्चायतबाटै जनताको पक्षमा काम गर्न हामीले चुनाव उपयोग गर्ने नीति लियौं,’ तत्कालीन भक्तपुर नगरपालिका–६ मा मजदुर किसान संगठनबाट वडाध्यक्ष जितेका र यसपालि बिजुक्छेका सट्टा उम्मेदवार प्रेम सुवालले सम्झे, ‘भक्तपुर नगरका धेरैजसो वडा संगठनमा हाम्रै साथीहरूले जित्नुभयो।’
‘चुनावमा जानुअघि नै पार्टी अध्यक्ष (बिजुक्छे) ले प्रशिक्षण दिनुभएको थियो। उहाँले नगर सफाइमा हामीलाई मुख्य भूमिका खेल्न भन्नुभयो। हामी जनप्रतिनिधिहरू बेलाबेला कुचो बोकेर नगर सफाइमा निस्कन्थ्यौं। जहाँ पायो तहीँ फोहोर फाल्न हुन्न भनेर जनतालाई बुझाउँथ्यौं। नगरपालिकामा बसेर जनताका हितमा काम गर्नू भन्ने अध्यक्षज्यूको निर्देशन थियो।’
उनका अनुसार चुनाव जितेर स्थानीय निकाय पुगेका जनप्रतिनिधिलाई जनताले भन्दा पार्टीले बढ्ता निगरानी राख्थ्यो। ‘जनताको गुनासो सुन्नेबित्तिकै अध्यक्षज्यूले नै बोलाएर केरकार गर्नुहुन्थ्यो,’ उनले भने।
पार्टीको यो निगरानी आज पनि उस्तै छ।
‘हामी पार्टीले दिएको कार्यादेश पालना गर्छौं,’ भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भने, ‘हामी यहाँ शासन हैन, सेवा गर्न आएका हौं।’
त्यो कार्यादेशअनुसार स्थानीय विकास निर्माणका काम गर्ने तरिका नै भक्तपुरमा बेग्लै छ। अन्यत्र ठेकदारले काम गर्छन्, यहाँ उपभोक्ता समितिबाट हुन्छ। समितिमा स्थानीय, नागरिक समाज र विभिन्न दलका प्रतिनिधि हुन्छन्। निर्माण सामग्री किन्नेदेखि काम गराउने जिम्मा समितिकै हुन्छ। नगरपालिकाले पनि समितिकै नाममा पैसा निकासा गर्छ।
यसरी काम गर्दा ठेकेदारलाई लगाएभन्दा राम्रो र सस्तो हुने प्रजापति बताउँछन्।
त्योभन्दा ठूलो कुरा, स्थानीय जनताले अपनत्व महशुस गर्छन्।
‘हामीले जनताको हितमा काम गर्न सिकेको नारायणमान दाइको स्कुलिङबाटै हो,’ उनले भने, ‘संगठनमा आबद्ध हुँदादेखि नै हामीलाई समुदायको हितमा काम गर्न सिकाइएको थियो।’
आज भक्तपुरमा स्कुलदेखि कलेजसम्म नगरपालिकाले नै चलाउँछ, जुन अन्य सरकारी संस्थाको त के कुरा, निजीभन्दा अब्बल छन्।
यहाँ नगरपालिकाका आठ स्कुल सञ्चालित छन् भने ख्वपः कलेजमा विभिन्न संकाय पढाइ हुन्छन्। यसलाई विश्वविद्यालय बनाउन बिजुक्छेले पहल गरेका छन्। ख्वपः विश्वविद्यालयको अवधारणा संसद पुगेर अड्किएको उनले बताए।
‘भक्तपुरमा पढेलेखेका मानिस धेरै भइसके, मलाई असाध्यै खुसी लाग्छ,’ बिजुक्छेले भने, ‘हाम्रो पार्टीमा पनि बिए–एमए नगरेका कोही छैनन्। यो पुस्ताले भक्तपुरलाई अझ समृद्ध बनाउने छ।’
बिजुक्छेको अर्को ‘स्कुलिङ’ भनेको, उनले आफ्ना कार्यकर्तालाई जनताको हितमा काम गर्न मात्र होइन, पार्टी अनुशासन कायम राख्न र पारदर्शी हुन पनि सिकाएका छन्।
एकदिन उनले बिहानको चिया पिउँदा–पिउँदै रेडियो नेपालमा समाचार सुने– ‘दैलेखमा मजदुर किसान पार्टीका कार्यालय-सचिवले रक्सी खाएर झैझगडा गरे।’
उनले तुरुन्तै फोन घुमाइहाले। ती कार्यालय-सचिवलाई घटनाबारे सोधे। भएकै रहेछ।
‘तपाईंले रक्सी खाएर होहल्ला गर्दा त्यहाँका जनताले कति हैरानी बेहोर्नुपर्यो होला? सोच्नुस् त? यस्तो काम गर्ने हो? हाम्रो पार्टीमा यस्तो काम गर्न छुट छ?’ बिजुक्छेले सोधे।
पार्टीले ती कार्यालय-सचिवलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्यो।
‘हाम्रो पार्टीमा भ्रष्टाचारी, दुराचारी र अनैतिक मानिसलाई ठाउँ छैन,’ बिजुक्छेले भने।
उनको अर्को अडान छ, कम्युनिस्ट व्यवस्था नआएसम्म सरकारमा नजाने।
२०४६ को जनआन्दोलनपछि एमालेले पटक–पटक सरकारमा आउन आग्रह गर्दा पनि उनले मानेनन्। २०६२-६३ पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईले दिएको निम्तो पनि उनले नकारे।
‘प्रचण्ड र बाबुराम ठूल्ठूला होटलमा बैठक राख्ने भैसकेका थिए। एकदिन मलाई पनि बोलाए, सरकारमा आउन प्रस्ताव राखे। मैले क्रान्ति अझै पूरा भएको छैन, क्रान्ति पूरा नभएसम्म सरकारमा जान्न भनेँ,’ त्यतिबेला दाहाल र भट्टराईलाई आफूले भनेको बिजुक्छेले सम्झे, ‘प्रचण्डले अर्कोतिर हेरे, बाबुराम बोल्न सकेनन्, म फर्किएँ।’
हुन पनि २०४८ को निर्वाचनयता उनी सधैं संसदमा रहे। यसबीच सरकार परिवर्तनका अनेक खेल भए। कुनै राजनीतिक साख नै नभएका व्यक्ति पनि मन्त्री बने। बिजुक्छेले भने सधैं प्रतिपक्षमै रहेर सरकारका काम–कारबाहीमा औंला ठड्याइरहे।
कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले विदेशी बैंकमा खाता खोलेकोबारे उनले संसदमै विरोध गरे। त्यसैसम्बन्धी एक बैठकमा ‘विदेशी बैंकमा खाता खोल्दा कुन-कुन देशका कुन-कुन पदाधिकारीले राजीनामा दिनुपर्यो’ भन्ने फेहरिस्तै सुनाइदिए।
‘मैले अन्तर्राष्ट्रिय उदाहरण दिएँ र नैतिकताका आधारमा राजीनामा मागेँ, पछि उहाँले राजीनामा दिनुभयो। मसँग तीन महिना बोल्नुभएन,’ बिजुक्छे हाँसे, ‘मैले आफ्नो कर्तव्य निर्वाह गरेको हुँ र सधैं गर्छु।’
यस्ता उदाहरण थुप्रै छन्।
‘पहिले कसैले भ्रष्टाचार गर्दा संसदमा व्यापक विरोध हुन्थ्यो। कुनै मन्त्रीले नराम्रो काम गरे ऊ संसदमा जवाफदेही हुनुपर्थ्यो। संसदलाई चित्तबुझ्दो जवाफ दिन नसक्ने मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउँथ्यो। साझा बस चलेन भने पनि संसदमा बहस हुन्थ्यो। विकास निर्माणका ठेक्कापट्टाबारे सरकारका सचिव आएर जवाफ दिनुपर्थ्यो। सांसदहरू उनलाई प्रश्न सोध्न प्रमाण राखेर बस्थे, हावामा बोल्दैनथे। जवाफ दिन नसक्ने सचिव, निर्देशक र मन्त्रीको जागिरै जान्थ्यो,’ उनले भने, 'संसदीय व्यवस्था पहिलेभन्दा बिग्रँदै गएको छ, ठूला पार्टी सुध्रिएनन्। अहिले यी सबै एकादेशका कथा भए।'
‘अहिलेको संसदमा जनताले दुःख पाएका कुरा उठ्दैनन्। ठेकेदार, अपराधी र गुन्डा प्रवृत्तिका मानिस सांसद भएर आउँछन्। दलहरूले अपराधमा संलग्न व्यक्तिलाई पनि खुलेआम भित्र्याउँछन्। संसद पहिलेजस्तो रहेन। दल र नेताहरू देश बनाउन हैन, पैसा कमाउनतिर लागे। राजनीतिक संस्कार भ्रष्ट हुँदै गयो। मलाई त हेर्न पनि लाज लाग्छ।’
आफ्नो पार्टीलाई यस्ता भ्रष्टाचारबाट मुक्त राख्न निकै मिहिनेत गरेको उनले बताए।
उनका अनुसार मजदुर किसान पार्टी आज पनि कार्यकर्ताको लेबी र जनताको चन्दाले चल्छ। चुनाव बेला पार्टीका उम्मेदवार जनतासँगै चन्दा आह्वान गर्छन्। रसिद दिएर मात्र चन्दा बुझ्छन्। सबै विवरण पत्रिकामा जस्ताको तस्तै छाप्छन्। जो रसिद लिन मान्दैन, उसको पैसा पार्टीले लिँदैन। कति सर्वसाधारण त पार्टीले चन्दा लिन नआएको भनेर दुःख मान्छन्।
ठूला उद्योगीले दिने रकम पनि नलिने पार्टीको नीति छ। त्यो पैसा लिए जनताको भन्दा उनीहरूकै हितमा काम गर्न दबाब आउने बिजुक्छे बताउँछन्। ‘पहिले सर्वसाधारणले पैसा हैन, आफ्नो घरको अन्नपात दिन्थे। एकपटक अन्नपात राख्ने ठाउँ नभएर हामी ७–८ वटा घरमा गएनौं। उनीहरूले पछि साह्रै दुःख पोखे,’ उनले भने।
यी तमाम गुणका बाबजुद उनको सोच्ने शैली ‘पराम्परागत’ र बढी ‘सिद्धान्तनिष्ठ’ छ भन्ने आलोचना पनि सुनिन्छ।
‘आफ्नो तरिकाभन्दा बेग्लै सोच्नुहुन्न। एकोहोरो विरोध गर्नुहुन्छ। उहाँको पद्धति कहिलेकाहीँ सिर्जनात्मक देखिँदैन। सबै कुरा विरोध गर्न लायक त हुँदैन होला नि,’ एमालेका रवीन्द्र अधिकारीले भने, ‘एक अध्ययनशील, इमानदार र सिद्धान्तनिष्ठ नेताका रूपमा भने म उहाँलाई सधैं सम्मान गर्छु।’
अरू पार्टीका सांसद ३०–४० प्रतिशतभन्दा बढी विधेयकको छलफलमा मौन बस्दा मजदुर किसान पार्टीका सांसदले सबै किसिमका विधेयकमा अध्ययन गरेर राय दिएको उनले सुनाए।
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालको विचारमा, बिजुक्छे यतिविधि सिद्धान्तनिष्ठ छन्, ‘सिद्धान्तका लागि संगठन हो, संगठनका लागि सिद्धान्त होइन’ भन्ने उनको राय छ।
जवाफमा बिजुक्छे यत्ति भन्छन्, ‘नेपाल मजदुर किसान पार्टीको बल भनेकै भक्तपुरका जनता हुन्। हाम्रो कार्यशैली र सोचाइबाट खुसी भएरै उहाँहरूले हामीलाई स्वीकार गर्दै आउनुभएको हो।’
यसको प्रमाण त, दरबारक्षेत्रमा किराना पसल चलाउने दिनेश सुवाल नै हुन्, जो भन्छन्, ‘उहाँले आफ्नो जिन्दगी नै जनता र पार्टीका नाममा समर्पित गर्नुभयो।’
उनै सुवाल आफ्ना नेताले यसपालि उम्मेदवारी नदिँदा ‘खुसी’ पनि छन्, ‘बेखुसी’ पनि।
खुसी यस कारण, किनकि उनले आफू सक्रिय छँदै नयाँ पुस्तालाई मौका दिए। विश्राम लिँदा पनि आफ्नो उचाइ बढाए।
बेखुसी यस कारण, किनकि अबको संसदले इमानदार र निर्भीक ‘प्रतिपक्षी’ गुमाएको छ।