आगामी मंसिर २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नं २ बाट नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी गतिविधि प्रचारप्रसार गर्नका लागि निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
नेपालको प्रचार अभियान सञ्चालन गर्नका लागि क्षेत्रीय, नगरकमिटी र वडास्तरका निर्वाचन परिचालन कमिटी गठन गरिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। नेपालको चुनावी कार्यक्रम सञ्चालन गर्न एमालेले समानुपातिक उम्मेदवार सरिता न्यौपानेको संयोजकत्वमा कमिटी बनाएको हो ।
यस्तै कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकाका विभिन्न वडामा पनि वडास्तरीय कमिटी गठन गरिएको छ । निर्वाचन गतिविधिलाई तीव्र बनाएका नेपालले अगुवा कार्यकर्ता भेला र महिला भेलासमेत गरिरहेका स्वकीय सचिव गौतमले बताए।
यस्तै, काठमाडौं क्षेत्र नं ५ बाट एमाले तर्फबाट उम्मेदवार बनेका महासचिव ईश्वर पोखरेलले पनि चुनावी अभियान तीव्र पारेका छन्। वाम गठबन्धनबाट उम्मेदवार बनेका पोखरेलले विभिन्न भेला र भेटघाटका कार्यक्रम सुरू गरेका उनका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए।
उनको निर्वाचनको प्रचारप्रसार गर्नका लागि एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।