केही महिना अगाडि मैले नेपालको पूर्वदेखि पश्चिमसम्मका धेरै कलेज भ्रमण गरेँ। त्यो बेला त्यहाँका विद्यार्थी र शिक्षकहरूसँग अन्तरक्रिया गर्ने अवसर पाएको थिएँ।
मैले विद्यार्थीहरूलाई सोधेको थिएँ — तिमीहरूले आजसम्म अनुभव गरेको आधारमा हाम्रो शिक्षा प्रणाली कस्तो लाग्छ?
अधिकांशको जबाफ एउटै थियो — हाम्रो शिक्षा कसरी परीक्षा पास गर्ने भन्ने मात्रमा केन्द्रित भयो। सिकाइ केन्द्रित भएन।
एक जना विद्यार्थीले बडो भावुक भएर भनेका थिए, 'खोइ सर, के भन्ने, भन्ने। हरेक कुरा अलिक राम्रोसँग बुझ्न चाहेर प्रश्न सोध्दा शिक्षकले यो परिभाषा परीक्षामा आउँदैन, यति भए पुगिहाल्छ नि भन्नु हुन्छ।'
ती विद्यार्थीले मलाई उल्टै प्रतिप्रश्न गरे, 'सर, हामीले पढ्ने जाँचका लागि मात्र हो त?'
अर्कातिर शिक्षकहरूको आफ्नै वेदना छ।
केही शिक्षकहरूले मलाई सुनाउनुभयो, 'अलिकति गहिराइमा कुनै कुरा सिकाउन खोज्यो भने विद्यार्थीहरू जाँचमा आउँछ कि आउँदैन भनेर सोध्छन्।'
विद्यार्थी र शिक्षकको भनाइको तात्पर्य यस्तो देखिन्छ — सबैको उद्देश्य परीक्षा पास गर्नु र गराउनु मात्र भयो। पढाउने प्रक्रियामा विद्यार्थीहरूको सिकाइ कस्तो हुन्छ भन्ने कुरालाई कहिल्यै जोड दिएर हेरिएन।
यो नयाँ कुरा होइन। तर दशकौंदेखि थाहा भएको यो कुरा मैले यहाँ उल्लेख गर्नुको अर्थ हो — हामीले यसमा किन केही गर्न सकिरहेका छैनौं?
ती विद्यार्थीले भनेझैं दशकौंदेखि हामी सिकाइको एउटै चक्रमा घुमिरहेका छौं। उच्च तहमा विश्वविद्यालयहरूले तोकेको पाठ्यक्रम छ, विद्यालयहरूमा पनि पाठ्यक्रम विकास केन्द्रले बनाएको पाठ्यक्रम छ। त्यो पाठ्यक्रमको अधिकांश मूल्यांकन लिखित परीक्षाबाट हुने पद्धति छ। अनि सबैको ध्यान त्यही परीक्षामा धेरैभन्दा धेरै ग्रेड ल्याउने कुरामा केन्द्रित छ।
त्यसैले त हामी कहाँ रोजगारदाताहरूको ठूलो गुनासो छ — हाम्रा युवाहरूमा ज्ञान, सीप र सोच अपेक्षा अनुसारको पाइँदैन। खोजेको जस्तो मानिस पाइँदैन।
हाम्रो शिक्षाले शिक्षकको कुराको नोट सार्न, किताब पढ्न र जाँच लेख्न त सिकायो तर सोच्न र गर्न सिकाएन। हामीलाई चाहिएको सोच्न र गर्न सक्ने मानिस पो हो! सोच्न र गर्न सिके पो जीवनमा, पेसा वा व्यवसायमा आउने समस्याहरूको समाधान गर्न सकिन्छ।
हाम्रोमा शिशु कक्षा वा कक्षा १ को भन्दा एसइईको समयमा बढी चर्चा हुन्छ। शिशु कक्षादेखि उच्च तहसम्म हाम्रा विद्यार्थीले पाउने अनुभवबारे सार्वजनिक वृत्तमा धेरै कुरा भएको देखिँदैन। यसरी हेर्दा कुन विद्यालय र विश्वविद्यालय राम्रो कि नराम्रो भन्ने पनि कति विद्यार्थीले परीक्षा पस गरे तथा कस्तो ग्रेड ल्याए भन्नेबाटै गरिन्छ।
एकपटक हाम्रा विद्यालय र कलेजका कक्षाहरूमा पुगौं। त्यहाँ कसरी कक्षा भइरहेको छ, हेरौं। केही अपवादहरू र उदाहरणीय काम गर्नेहरू पक्कै छन् तर अधिकांशको प्राथमिकता ग्रेड र परीक्षामा नै देखिन्छ।
के हुन्छ त अधिकांश कक्षाकोठामा?
शिक्षकहरू कक्षामा पस्छन्, कसैले पाठ्यपुस्तक पल्टाउँछन् र व्याख्या गर्न थाल्छन्। अलिकति प्रविधि जान्नेहरू पावरप्वाइन्ट खोलेर व्याख्या गर्छन्। कोही विद्यार्थीहरू ध्यान दिएर सुन्छन् भने कोहीलाई समय बिताउन हम्मे हुन्छ।
अनि तीन-तीन महिनामा परीक्षा हुन्छ। वर्षमा एकपटक कक्षाको अन्तिम परीक्षा हुन्छ। निश्चित अंक कटाउनेहरू पास हुन्छन्, अरू फेल हुन्छन्। प्रयोगात्मक भनिएका परीक्षा पनि सही रूपमा कार्यान्वयन नभएको हामीले देखेकै छौं।
भर्खरै मात्र काठमाडौंको नामुद एउटा स्कुलमा कक्षा १० लाई पढाउने शिक्षकहरूसँग कुरा गरेको थिएँ।
सबै शिक्षकको एउटै गुनासो थियो — विद्यार्थीहरू कक्षामा ध्यानै दिँदैनन्। कक्षा १० मा पनि उनीहरू गम्भीर छैनन्। एसइईमा कसरी पास हुन्छन् यिनीहरू? महत्त्वपूर्ण कुरा गर्दा पनि सुन्दैनन्!
यसबाट देखिन्छ, शिक्षकहरूमा पनि सुनाएपछि विद्यार्थीले सिकिहाल्छन् नि भन्ने मान्यता हाबी छ।
मूलतः हाम्रो मूल्यांकन पद्धति पनि सेमेस्टर र वर्षभरि शिक्षकले पढाएका र पुस्तकमा भएका कुराहरू कति सम्झिएको छ, त्यसमा निर्भर छ। विद्यार्थीहरूले के अनुभव गरे भन्ने कुरामा भन्दा पनि कुनै जानकारी कति सम्झिए, कसरी विश्लेषण वा संश्लेषण गरे त्यसमा बढी केन्द्रित छ।
यस सन्दर्भमा हामीले आफैंलाई सोध्नुपर्ने सवाल हो — के शिक्षकले व्याख्या गरेर, किताब पढेर र विद्यार्थीले सुनेर मात्र सिकाइ प्रभावकारी हुन्छ?
हामी वरपरका उदाहरणले नै देखाउँछन् — पक्कै हुँदैन।
त्यसैले सिकाउने पद्धतिलाई यसभन्दा माथि बढाउनु आवश्यक छ। सिकाइको प्रक्रियामा विद्यार्थीहरूले अनुभव गरेर सिक्ने पद्धति समायोजन गरिनु आवश्यक छ।
सिकाइमा किन अनुभव जोड्ने?
म आफैले स्नातकोत्तर गर्दाको अनुभव छ। हामीलाई परीक्षामा एउटा प्रश्न सोधिएको थियो — नीति निर्माणका विभिन्न चरणको बयान गर्नुहोस्।
ती चरणका बारेमा मलाई पूरै जानकारी थियो। मैले परीक्षामा राम्रो अंक ल्याएँ।
तर के साँच्चिकै मैले नीति निर्माण गर्न जानेको थिएँ त?
अहँ!
त्यसैले जान्नु र गर्नुमा धेरै अन्तर छ।
हामीले जिन्दगीमा दिनानुदिन विभिन्न समस्याहरू समाधान गर्नुपर्ने हुन्छ। विभिन्न चुनौती सामना गर्नुपर्ने हुन्छ। कुनै नयाँ काम गरेर अगाडि बढ्नुपर्ने हुन्छ। विभिन्न निर्णय लिँदै अगाडि बढ्नुपर्ने हुन्छ। त्यसैले शिक्षाले आफ्नो निजी, सामाजिक र समसामयिक जीवनमा आउने कुराहरू कसरी निप्ट्याउने भनेर समेट्न पनि आवश्यक छ।
शिक्षा लिने भनेको त व्यक्तिगत, सामाजिक र व्यावसायिक जीवनमा गर्नुपर्ने काम गर्न सक्ने, आइपर्ने समस्याको समाधान गर्न सक्ने, आवश्यक निर्णयहरू गर्न सक्ने तथा मानव सभ्यतालाई अगाडि बढाउन नयाँ ज्ञान र उपायहरूको विकास गर्ने पो हो त।
त्यसैले यो सामान्य तथ्य हो — हाम्रो शिक्षण पद्धतिले विद्यार्थीहरूलाई जीवनका विविध कुराहरू सिक्न मद्दत गर्नुपर्छ। यसका लागि विद्यार्थीहरूलाई पनि विभिन्न चुनौती सामना गर्न, समाधान निकाल्न सिकाउने प्रक्रियाबाट सिकाउनु आवश्यक छ।
'वयस्कहरूले कसरी सिक्छन्?' भनेर गुगलमा खोज्दा यसले दिएको पहिलो जबाफ थियो, 'गरेर सिक्छन्।'
हुन त कक्षा ९ र १० को 'माध्यमिक शिक्षा पाठ्यक्रम- २०७८' मा शिक्षण प्रक्रियाबारे यस्तो उल्लेख छ — विद्यार्थीको सहभागितामा योजना निर्माण, परियोजना तथा प्रयोगात्मक कार्य, क्षेत्र भ्रमण, समस्या समाधान, आविष्कारमुखी अध्ययन प्रवर्तनमुखी शिक्षण पद्धतिलाई सिकाइ सहजीकरण विधिका रूपमा कार्यान्वयन गर्नुपर्ने छ।
पाठ्यक्रम बनाउँदा अपनाइने एउटा साझा मोडल ब्लुम्स ट्याक्सोनोमीले पनि सिकाइको विविध चरणको कुरा गर्छ। यसका अनुसार विद्यार्थीहरूको सिकाइ कुनै सूचनाको स्मरण, बुझाइ, प्रयोग, विश्लेषण, मूल्यांकन हुँदै सिर्जनासम्म पुग्छ। यसरी विद्यार्थीहरूले कुनै पनि सामग्रीलाई व्यवहारमा उतार्न सक्ने गरी सिक्ने हो भने मात्र प्रभावकारी सिकाइ सम्भव छ।
विभिन्न शैक्षिक अध्येता र अभ्यासकर्ताहरूको अनुभव हेर्दा देखिन्छ — सिकाइ प्रभावकारी बन्न सिकारूहरूले समस्यासँग खेल्ने, त्यसमा 'रिफ्लेक्ट' गरेर सोच्ने, छलफल गर्ने र प्रयोग गर्ने वातावरण र पद्धतिले मात्र सम्भव छ।
शिक्षा सम्बन्धी एक प्रसिद्ध दार्शनिक जोन डिवीका अनुसार सिकाइ हुनका लागि सिकारूको सक्रिय सहभागिता हुनुपर्छ। उनी शिक्षामा मूलतः चार सिद्धान्तहरूले सिकाइ प्रभावकारी हुने बताउँछन्।
पहिलो, विद्यार्थीले सिक्ने सबै कुराको उपयोगिता हुनुपर्छ। अर्थात्, सिकेको कुरा विद्यार्थीको जीवनमा सान्दर्भिक र उपयोगी हुनुपर्छ।
दोस्रो, पाठ्यक्रमले विद्यार्थीको रूचिलाई समावेश गर्नुपर्छ। विद्यार्थीको रूचि नै जिज्ञासा र खोजीको प्राकृतिक स्रोत हो।
तेस्रो, ज्ञान र सिकाइको प्राथमिक स्रोत अनुभव हो।
चौथो, पाठ्यक्रमलाई फरक फरक विषयका रूपमा छुट्ट्याएर भन्दा पनि सर्वांगीण रूपमा तयार गरिनुपर्छ।
यो लेखमा म डिवीको तेस्रो सिद्धान्तको सेरोफेरोमा आफ्नो अनुभवमा आधारित भएर शिक्षण सिकाइ विधिमा प्रयोग गर्न सकिने केही उपायहरू प्रस्तुत गर्दैछु।
यी उपायहरू डिवीले भनेर मात्र उपयोगी हुन्छन् भनेर प्रस्तुत गरेको होइन। यी उपायहरू कति आफ्नो, सहकर्मी र अग्रजहरूको अनुभवबाट प्रभावकारी भएको देखेको छु।
पाठ्यक्रमले के कुरा सिक्ने भन्ने जनाउँछ। शिक्षण पद्धतिले त्यो कुरालाई कसरी सिकाउने भन्ने कुरा गर्छ। मूल्यांकन पद्धतिले विद्यार्थीले सिक्नुपर्ने कुरा कति सिके वा सिकेनन् भन्ने कुरा गर्छ।
अब म कसरी सिक्ने भन्ने विषयमा केही उपायहरू प्रस्तुत गर्छु।
अनुभव जोड्ने उपायहरू
हामीले साविककै स्थितिमा पनि विभिन्न सिकाइको विधामा, विभिन्न शैक्षिक संस्थाहरूले र शिक्षकहरूले स्वःस्फूर्त रूपमा अनुभवजन्य विधि समावेश गरेको देखेका छौं।
चिकित्साको पढाइ हेरौं। त्यहाँ सैद्धान्तिक सँगसँगै वास्तविक जीवनमा चिकित्सकले जे गर्नुपर्ने हुन्छ, त्यही अभ्यास गर्दै सिकाइन्छ। अस्पतालको वातावरण देखाइन्छ, बिरामीसँग अन्तरक्रिया गर्न लगाइन्छ। मृतकको वास्तविक शरीर वा कुनै नक्कली शरीरमा शल्यक्रिया गर्न सिकाइन्छ। उनीहरूलाई खुरूखुरू किताब मात्र पढाएर सिकाइँदैन।
पाइलटको पढाइ हेरौं। त्यहाँ वास्तविक जस्तै वातावरण सिर्जना गरेर 'सिमुलेसन' विधिबाट सिकाइन्छ।
सुर्खेतको जनज्योति माध्यमिक विद्यालयमा पैसा कमाउने तरिकाको प्रवचन मात्र होइन, विद्यार्थीहरूलाई वास्तविक रूपमै पैसा कमाउने अवसर सिर्जना गरेर सिकाइन्छ।
केही शिक्षकहरूले शंका गरेको देखेको छु — के हामी सबै कुराहरू अनुभव गरेर सिक्न सक्छौं त?
यसको जबाफ हो — सक्छौं।
जरूरी कुरा भनेको शिक्षकले सही शिक्षण पद्धति डिजाइन गर्न कति सक्नु हुन्छ भन्ने हो। अनुभव गर्ने अवसर भन्दैमा सधैं वास्तविक अनुभव मात्र गराउनुपर्छ भन्ने होइन। यो सधैं सम्भव हुँदैन। तर मल्टिमिडिया, केस स्टडी, वादविवाद, बहस, नक्कल क्रियाकलाप, आदिको माध्यमबाट छलफल, रिफ्लेक्सनको परिस्थिति सिर्जना गर्न सकिन्छ। त्यस्तै कार्यशाला गरेर होस् या प्रयोगशालामा लगेर होस्, परियोजना दिएर होस् वा समस्यामा छलफल गराएर होस्, सिक्ने वातावरण सिर्जना गर्न सकिन्छ।
मुख्य कुरा भनेको कुनै पाठमा सिकारूको गराइ र सोचाइमा सक्रिय सहभागिता छ कि छैन भन्ने हो।
देशका विभिन्न स्कुल भ्रमण गर्ने क्रममा विद्यार्थीहरू भन्छन्, 'गणित विषय धैरै गाह्रो लाग्छ। अवधारणा, सूत्र बुझ्न झनै गाह्रो हुन्छ।'
उनीहरूको मुख्य चुनौती भनेको आफूले पढिरहेको कुरा कहाँ काम लाग्छ र यो कसरी प्रयोग गर्न सकिन्छ भन्ने थाहै नहुनु हो।
स्ट्यानफोर्ड विश्वविद्यालयका गणित शिक्षाका प्रोफेसर जो बोलरका अनुसार विद्यार्थीहरूले अभ्यासबाट भन्दा पनि आफूलाई मनपर्ने समस्यामा काम गर्दा गणित राम्रोसँग सिक्छन्। यसका लागि विद्यार्थीलाई उनीहरूको दैनिक जीवनसँग सम्बन्धित समस्यामा काम गराउन सकिन्छ। प्रविधि प्रयोग गर्न सकिन्छ।
त्यस्तै गरी समाजशास्त्र, इतिहास जस्तो विषयलाई चाहिँ कसरी अनुभव गराउने त?
समाजशास्त्र त समाजमा घुलमिल भएर नै बुझ्ने हो। इतिहासमा भएका घटनाको प्रविधिको प्रयोग गरेर अनुभव गराउने हो। विभिन्न घटनाहरूमा छलफल गराउने, पुरानो मानिसहरू. जसले घटनाहरू भोगेका थिए उनीहरूसँग अन्तरक्रिया आदि गराएर रोमाञ्चक र सहभागितामूलक बनाउन सकिन्छ। तथ्यहरू मात्र पढाउँदा विद्यार्थीहरूको सिकाइ गहिरो नहुन सक्छ। यसका लागि संग्रहालयहरूको अध्ययन भ्रमण, पुरातत्व विभागसँग सहकार्य गर्न आवश्यक छ।
यसरी सिकाइ अनुभवलाई सापेक्ष रूपमा विशिष्टिकृत बनाउन सकिन्छ। प्रक्रियालाई जति विशिष्टिकृत बनाउन सक्यो, सिकाइ उति नै प्रभावकारी हुन्छ।
उदाहरणका लागि, मःम बनाउन सिकाउने विधि हेरौं।
रेसिपी बुक दिएर मात्र वा भनेर मात्र मःम बनाउन सिकिँदैन। यसका लागि केही प्रक्रिया हुन्छ। सुरूमा विद्यार्थीलाई पकाउन लगाउने, पकाइसकेपछि के राम्रो भयो र के राम्रो भएन भनेर छलफल गराउने, एक अर्काको अनुभवबाट सिक्ने, किताब पढ्ने तथा शिक्षकसँग कसरी राम्रो बनाउन सकिन्छ भनेर सोध्ने, फेरि पकाउने। हरेक पटक पकाएपछि अझै राम्रो हुँदै जाने हो। यो सिकाइको प्राकृतिक प्रक्रिया पनि हो।
यहाँ एउटा आफ्नै उदाहरण दिन चाहन्छु।
म र मेरो सहकर्मीले एकपटक 'एमबिएका विद्यार्थीहरूलाई नेतृत्व' भन्ने कोर्स लिएका थियौं।
एउटा कक्षामा हामीले विद्यार्थीहरूलाई 'नोस्टाल्जिक' भन्ने विषयमा पेन्टिङ गर्न लगायौं। यसमा उनीहरूले आफ्नो जीवनलाई फर्किएर हेर्दा कस्तो लाग्छ भन्ने विषयमा पेन्ट गर्नुपर्ने थियो। हरेकले चित्र तयार गरेपछि त्यस भित्रका कथाहरू साथीहरूलाई सुनाए।
यो क्रियाकलापबारे उनीहरूको धारणा थियो — पेन्टिङ क्रममा आफूलाई भित्रबाट नियाल्न पाइयो। आफू जन्मेको परिवार, परिवेश र समयले आफ्नो जीवनमा पारेको प्रभाव थाहा भयो।
यस क्रियाकलापमा हामीले नेतृत्व विकासको विभिन्न सिद्धान्तहरू आफ्नै अनुभवबाट सिकाउने वातावरण सिर्जना गर्न सकेका थियौं।
यो कोर्सको अर्को एउटा उद्देश्य नेपालको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक इतिहास सिकाउनु थियो। यसका लागि हामीले विद्यार्थीलाई समूहमा बाँडेर नेपालको विभिन्न सन्दर्भमा दसवटा तस्बिरहरू दियौं। र, त्यसबाट एउटा कथा बनाउन भन्यौं।
हामीले पहिलो सेसनमा नोस्टाल्जिक थिममा पेन्ट गर्न लगायौ। नेपालमा विभिन्न परिस्थितिका तस्बिर दिएका थियौं। दस वटा फरक फरक तस्बिर दिएर एउटा कथा बनाउने काम दिएका थियौं।
उनीहरूले धेरै मेहनत गरेर कथा सुनाए। त्यसपछि सिकाइ प्रक्रियाको विश्लेषण गरे।
त्यति बेला उनीहरूले भनेका थिए — फोटोहरूको अवस्था बुझ्न उनीहरूले धेरै सोच्नु र खोजी गर्नुपरेको थियो।
यस्तो अनुभवजन्य विभिन्न सिकाइ विधि प्रयोग गर्दा मैले केही कुरा अनुभव गरेको छु।
पहिलो, विद्यार्थीहरू जति धेरै वास्तविक समस्यामा काम गर्छन्, उनीहरू त्यति नै उत्प्रेरित र सहभागी हुन्छन्। अनि सिकाइ राम्रो हुन्छ।
दोस्रो, शिक्षकहरू पनि जति धेरै विद्यार्थीसँग काम गर्छन्, त्यति नै विद्यार्थीहरू उत्प्रेरित हुन्छन्।
तेस्रो, विद्यार्थी र शिक्षकको आपसी सम्बन्ध जति गहिरो विश्वास र सम्मानमा आधारित हुन्छ, विद्यार्थीहरू त्यति नै सुरक्षित महसुस गर्छन् र खुसी हुन्छन्। यस्तो वातावरणमा सिकाइ राम्रो हुन्छ।
माथिका केही उदाहरण मात्र हुन्।
यहाँ अनुभव गर्ने अरू धेरै विधिहरू म उल्लेख गर्न चाहन्नँ। आफ्ना सहकर्मीहरूसँग ज्ञानको साटासाट, इन्टरनेट, उत्कृष्ट शिक्षकहरूको अनुभव खोज्दा धेरै कुरा थाहा पाउन सकिन्छ। यसका लागि आवश्यक मूल कुरा भनेको विद्यार्थीहरूको सिकाइप्रति शिक्षक र शैक्षिक संस्थाहरूको इच्छाशक्ति र प्रतिबद्धता नै हो।
यो लेखको मुख्य धारणा यो हो कि, सिकारूहरूलाई प्रभावकारी रूपमा सिक्न अनुभव गर्ने अवसरहरू निर्माण गरिनुपर्छ। चाहे मःम पकाउन होस्, चाहे समाजशास्त्र र व्यवसाय होस्, चाहे गणित र विज्ञान होस्, चाहे अर्थशास्त्र र दर्शन होस्, अनुभवजन्य विधिहरू समायोजन गर्नैपर्छ। अनुभवबाट गुज्रेर सिकेपछिको आत्मविश्वास नै अलग हुन्छ।
यस्तो कुरा गर्दा धेरै शैक्षिक संस्था र शिक्षकहरूको गुनासो हुन्छ — धेरै विद्यार्थीहरू भएको कक्षामा अनुभव गर्ने विधि सम्भव छैन।
म भन्छु, यदि विद्यार्थीहरूलाई त्यस्तो वातावरण र पद्धतिबाट सिकाउन हाम्रो शिक्षक र स्रोत पर्याप्त छैन भने बरू नपढाऔं। अनुभवजन्य विधिबाट सिक्न पाउनु विद्यार्थीहरूको न्यूनतम अधिकार हो।
राज्यले यसबारे गम्भीर समीक्षा गरोस् र निर्मम निर्णय लिओस्। पाठ्यक्रम र मूल्यांकन सोही अनुसार निर्माण गर्ने प्रतिबद्धता गरोस् र शैक्षिक संस्था र शिक्षकहरूलाई सोही अनुसार तयार गर्ने नीति लिओस्।
(लेखक अर्याल किङ्स कलेजका प्रेसिडेन्ट हुन्)
नरोत्तम अर्यालका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।