बन्दै गरेका राजमार्ग–१
चौडा नागबेली सडक। पहेँलो र कालो पोतेर झकिझकाउ तुल्याइएका डिभाइडर। अनि, सडकको बीच भागमा हरित क्षेत्र र फूल रोप्ने ठाउँ।
मुग्लिन–पोखरा सडक खण्ड अहिले वास्तवमै हेर्न र यात्रा गर्न लायक बन्दै छ।
केही समयअघिसम्म यही सडक सास्तीको पर्याय थियो। धुलोले स्थानीयको धुरी ढाकेको हुन्थ्यो। सिँचाइ कुलो र खानेपानीका स्रोत मात्र होइन, बालीनालीसमेत धुलो र धुवाँले छोपिएका हुन्थे।
घाम लाग्दा कुहिरीमण्डल धुलो र एकझर पानीपछि हिलाम्य हुने बाटोले यात्रा सकसपूर्ण बनाउँथ्यो। यसले स्थानीय जनजीवनमा पनि कष्ट थपेको थियो।
तर मुग्लिन–पोखरा पूर्वी खण्डको पुनर्निर्माणसँगै यो सकस अन्त्य हुँदै छ।
यात्रुहरूले अब चिल्लो र सफा सडकमा सरर यात्रा गर्न पाउने छन्। सवारी साधन निर्वाध गुड्न पाउने छन्। कालोपत्रे गरिएको चार लेन सडकले गाउँको रोगन नै फेरिएको छ।
आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म ४१.५ किलोमिटर सडक पूर्ण रूपमा कालोपत्रे सकिएको छ। सडक सौन्दर्य र सुरक्षाको काम मात्र बाँकी छ।
चित्ताकर्ष सडक बनेकाले साना तथा हलुका सवारी बेपरवाह गुड्ने गरेका छन्। त्यसले सडक दुर्घटनाको जोखिम बढाएकाले ठाउँ ठाउँमा ट्राफिक संकेत चिह्न राख्नुपर्नेछ। उक्त खण्डमा ६० किलोमिटर प्रतिघन्टाको गतिमा मात्र सवारी गुडाउन पाइने आयोजना प्रमुख भण्डारी बताउँछन्।
मुग्लिन–पोखराअन्तर्गत पूर्वी खण्डको काम २०७८ वैशाख १५ गतेबाट सुरू भएको थियो। चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले निर्माण जिम्मा पाएको उक्त आयोजना तीन वर्षभित्र पूरा गरिसक्नुपर्ने थियो। तर बेलैमा काम पूरा नहुने सरूवा रोगतुल्य समस्याले यो आयोजनालाई पनि गाँज्यो।
आयोजना प्रमुख भण्डारी भने सरकारी पक्षकै कमजोरीका कारण ठेकेदार राम्रोसँग परिचालन हुन नसक्दा ढिला भएको तर्क गर्छन्।
'सुरूमा मुआब्जा विवादले घर–टहरा हटाउन समय लाग्यो। पछि कोभिड–१९ लगायत समस्याले काम अड्कियो,' भण्डारीले भने, 'बिजुलीका पोल र खानेपानी पाइप हटाउन पनि समय लागेकाले ठेकेदारको काममा बाधा पुग्यो।'
यसरी सडक निर्माणमा ढिलाइ हुँदै गएपछि ४५५ दिन म्याद थपिएको थियो। थपिएको अवधि असार २९ गते पूरा भएको छ। अहिलेसम्म शतप्रतिशत नभए पनि ९५ प्रतिशतभन्दा बढी काम पूरा भइसकेको भण्डारी बताउँछन्।
'चार लेन कालोपत्रे शतप्रतिशत सकिएको छ। छिटपुट मात्र बाँकी छ,' उनले भने, 'अप्रोच रोडका काम बाँकी छन्। सडक सुरक्षामा पनि ध्यान दिनुपर्नेछ।'
उनका अनुसार यो आयोजनाको लागत ६ अर्ब २१ करोड रूपैयाँ हो। त्यसमध्ये निर्माण कम्पनीलाई ७१ प्रतिशत भुक्तानी दिइसकिएको छ।
आगामी पाँच वर्षसम्म यो सडक निर्माण कम्पनीकै जिम्मामा रहनेछ। यसबीच बाटो बिग्रिए वा भत्किए सम्झौता रकमबाटै ठेकेदार कम्पनीले निर्माण गर्नुपर्नेछ। यसबाट राज्यलाई थप आर्थिक भार नपर्ने उनले बताए।
यो सडक खण्डमा तीनवटा मुख्य र १६ वटा साधारण पुल बनाउनुपर्ने थियो। ती संरचनाको निर्माण पनि पूरा भइसकेका छन्।
यही खण्डअन्तर्गत दमौलीको मादी नदीमा नेपालकै पहिलो चार लेन पुल बन्दैछ। लामो पुलमध्ये पर्ने मादी पुल निर्माणको दुईतिहाइ काम सकिएको छ।
'यो पुल नेपाली निर्माण कम्पनी अनक निर्माण सेवाले बनाइरहेको छ। बर्खाका कारण पुल निर्माणमा समस्या उत्पन्न भएको छ। मनसुन सकिएलगत्तै बनाउन थाल्छौं,' उनले भने।
यही खण्डको चुनपहरा क्षेत्रमा सडक तलमाथि हुने गरी निर्माण गरिएको छ। चुनपहरा खण्ड मुग्लिन–पोखराअन्तर्गत मर्स्याङ्दी नदीले भेट्ने ठाउँमा पर्छ।
सुरूआती डिजाइनमा नदीतिर नभई डाँडा काटेर बाटो बनाउने उल्लेख थियो। तर डाँडा काट्दा कमजोर चट्टान खस्ने जोखिम बढ्यो। त्यसले पहिरो रोकथाम झनै चुनौतीपूर्ण हुने देखेर डिजाइनमा थोरै परिवर्तन गरिएको भण्डारी बताउँछन्।
'हामीले यहाँ नदीबाटै बाटो उठाउँदै ल्याएर दुई लेन तल बनायौं र दुई लेन माथिबाट बनायौं। त्यसो गर्दा केही नदी नियन्त्रणका काम गर्नुपर्ने भयो। त्यो बाँकी छ,' उनले भने, 'अहिले बर्खाले काममा बाधा पुग्न सक्छ। बर्खालगत्तै नदी नियन्त्रण कार्यलाई थप व्यवस्थित गर्छौं।'

मुग्लिन–पोखराको पश्चिम खण्ड निर्माणमा भने विलम्ब देखिएको छ। यो खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर सडक विस्तार गर्नुपर्नेछ। करिब १९ किलोमिटर खण्डमा ६ लेन र करिब २० किलोमिटर खण्डमा चार लेनको सडक बनाइँदैछ।
२०७८ सालमै पूर्वी खण्डभन्दा करिब एक महिना ढिलो ठेक्का लागेको भए पनि अहिलेसम्म यो खण्डको भौतिक प्रगति ५५ प्रतिशत मात्र छ।
आयोजना प्रमुख कृष्णबहादुर कुँवर बर्खाअगाडि यात्रुहरूले धुलो–धुवाँमा हिँड्न नपरोस् भनेर एकतर्फी कालोपत्रेमा जोड दिएको बताउँछन्।
उनका अनुसार करिब ३७ किलोमिटर भागमा एकतर्फी कालोपत्रे भइसकेको छ। यात्रुहरूले करिब डेढ किलोमिटर खण्डमा मात्र पुरानो सडकमा यात्रा गर्नुपर्ने अवस्था रहेको उनले बताए।
यहाँ पुल निर्माण पनि तीव्र गतिमा भइरहेको छ। यो खण्डमा १२ वटा पुल रहेकामा ११ वटा निर्माण पूरा भइसकेका छन्।
'विजयपुर खोलामा मात्र पुल बन्न बाँकी छ। यहाँ पनि चार–पाँच महिनाभित्र निर्माण पूरा हुन्छ,' उनले भने।
२०७८ जेठ ३ देखि निर्माण सुरू भएको यो खण्ड तीन वर्षसम्म पूरा भइसक्नुपर्ने थियो। पछिल्लोपटक थपिएको म्याद आउँदो पुस १६ गते पूरा हुँदैछ। यो म्यादसम्म चार लेन सडक र मुख्य संरचनाहरूको निर्माण पूरा भइसक्ने छ। त्यसपछि फुटपाथ र सडक सुरक्षाको काम मात्र बाँकी रहने उनले बताए।
यहाँ सुरूको दुई वर्षको भौतिक प्रगति ७ प्रतिशत मात्र थियो। चालू आर्थिक वर्ष भने २८–२९ प्रतिशत प्रगति थपियो।
'पहिलो वर्ष काम ढिला हुनुमा ठेकेदारले आन्तरिक कारण देखाएको थियो। काम नै नगरेपछि ठेक्का तोडिने अवस्थामा पनि पुगेको थियो,' उनले भने, 'पछिल्लोपटक सडक विभागले आन्तरिक माइलस्टोन सिर्जना गरेर कामलाई तीव्रता दिइएको छ।'
उनका अनुसार साउन मध्यसम्म काम सक्ने लक्ष्य लिइएको थियो। त्यो लक्ष्य हासिल नभए पनि त्यति बेलासम्म पूरै सडक एकतर्फी कालोपत्रे सक्ने लक्ष्य छ। यसमा अब १५०० मिटर बाँकी छ।
मुग्लिन–पोखरा पश्चिम खण्डको लागत करिब ७ अर्ब ४० करोड रूपैयाँ हो। चिनियाँ कम्पनी एनहुई केयुयन हाइवे एन्ड ब्रिजले यो सडक निर्माणको जिम्मा पाएको थियो। यस खण्डअन्तर्गत दुवैतर्फ गरी ७७ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेछ।
'चार–चार लेन सडककै हिसाब गर्ने हो भने २६ किलोमिटर कालोपत्रे सकिएको छ। अब १२ किलोमिटर मात्र चार लेन बाँकी छ,' कालोपत्रे ढिला हुनुको कारण देखाउँदै उनले भने, 'पोखरातिर यस वर्ष वैशाखबाटै झरी पर्न सुरू भयो। त्यसले पनि काममा ढिलाइ भयो।'
उनले बिजुलीका पोल र खानेपानीका पाइप पन्छाउन समय लाग्दा पनि सडक विस्तारमा विलम्ब हुन पुगेको बताए।
'चार लेन खण्डमा पर्ने बिजुलीका पोल सारिएको छ। अब सर्भिस लेनमा रहेको १५०–१६० वटा पोल हटाउन बाँकी छ,' उनले भने।
पृथ्वी राजमार्ग २०२१ सालमा निर्माण थालेर २०३० सालमा सकिएको थियो। त्यति बेला चिनियाँ सहयोगमा निर्माण भएको यो सडक दुई लेनको थियो। अहिले एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनमा विस्तार गरिएको हो।
***


