प्रदीप यादवले खानेपानी मन्त्री नियुक्त हुनासाथ मातहतका निकायलाई उर्दी जारी गरे— मेलम्चीको पानी बाह्रैमास काठमाडौं फर्काउने प्रबन्ध गर्नू!
निर्देशनको भीडमा फुत्त निस्किएको मन्त्रीको यो आज्ञा सुनेर काठमाडौंबासी हाँसे कि हाँसेनन्, थाहा छैन। तर उत्तरी सिन्धुपाल्चोकतिर ठूलै अट्टहास छुटेको हुनुपर्छ।
मेलम्चीमा अहिले पानी र पैसा सरोबर बगेको छ। २०७८ देखि त यसमा भेल पनि थपिएको छ भनौं।
भेमाथाङको थाप्लो फुटेर मिसिएको गेग्रानले मेलम्चीलाई मृगमरीचिका बनाउने हो कि भन्ने आशंका पन्छिइसकेको छैन। खोला धमिल्लिने बित्तिकै मेलम्चीको सपना त्यसैमा बग्ने हो कि भन्ने भयले थिचिहाल्छ।
अम्बाथानको हेडवर्क्समाथि गेग्रान उरूङ लागेकै छ। त्यसमाथि सरकारै पिच्छेका उद्घाटन र जस लिन पानी पथान्तरण गरिहाल्ने होडले ताडित मेलम्ची स्वयंले पनि पछिल्लो मन्त्रीको उर्दीबाट खित्का छोड्यो नै होला!
६८ अर्ब रूपैयाँको चाङ र एसियाली विकास बैंकको ऋणभारले थिचिएको मेलम्ची परियोजनाले २९ सरकार फटाइसक्यो।कृष्णप्रसाद भट्टराईदेखि केपी शर्मा ओलीसम्म १४ पात्र बालुवाटार ओहोरदोहोर गरे। २९ पटक सरकार गठन र पटक–पटक मन्त्रिपरिषद पुनः गठन हुँदा खानेपानी मन्त्री बन्नेकै संख्याले अर्धशतक नाघिसकेको छ।
मेलम्चीका ढुंगासरह फेरिएका मन्त्रीका निर्देशन र उद्घाटनको तामझामले मेलम्ची परियोजनाको थाप्लामा अरू भ्रामरी खनिएको स्वयं मेलम्चीलाई बाहेक अरूलाई ज्ञात छैन।
निर्देशनमाथि निर्देशन दिने मन्त्रीहरूले मुहान क्षेत्रको थाप्लामा खस्न साइत हेरिरहेको दोरिङको भीरको अन्दाज गरे होलान्? सर्कथली र नाकोतेसम्मका पहिरोग्रस्त पहाड; फर्सी फुट्दाझैं फुटेको एक कोस फराकिलो भेमाथाङको खण्डहर चउरको चौडा छातीबारे उनीहरूलाई कति थाहा होला? त्यहाँ थुप्रिएको एक करोड पाँच लाख घनमिटर थेग्रिनीको निकासको बाटो के हो भन्ने भेउ पाएका होलान्? कथमकदाचित भेमाथाङ फुटेर थेग्रिनी सुरूङभित्र पस्यो र ३० अर्ब बढीको लागतमा बनाइएको पानी पथान्तरणको मुख्य अंग बेढंगको निर्देशनले जोखिममा पारिदियो भने मेलम्चीको भविष्य के होला भन्ने सोचेका होलान्?
सत्तासीनहरूमा त एउटा भ्रम देखिन्छ — विकासको बाटोमा शताब्दी पछि पर्नुको कारण फगत एक निर्देशनको कमीले हो! शासनको शिरमा बसेकाले निर्देशनको तीर चलाउनेबित्तिकै सबै समेटिन्छ!
तर सरकारैपिच्छे, बर्सेनिका उद्घाटन र अस्थायी पथान्तरणको जस लिने होडले परियोजनासँगै विछोड तुल्याउन खोज्दैछ। सत्तासीनहरूकै हेलचेक्र्याइँले काठमाडौंबासीको मेलम्ची तृष्णा मृगतृष्णाको लौकिक दृष्टान्तकै पथमा छ।
परियोजना देखाएर आफैलाई पोस्ने स्पर्धा चल्दैन थियो भने मेलम्ची खानेपानी विकासको कोशेढुंगा थियो। नेपाललाई सुरूङ युगमा प्रवेश गराउने पानीढलो पनि। सुरूङबाट खोला फर्काएर राजधानीको तृष्णा मेट्ने परियोजना देखाउँदै विकसित भनिएका देशसामु गर्वले छाती चौडा गर्न नसकिने होइन। विकासको जीवन्त आयामका रूपमा प्रस्तुत गर्न पनि सकिन्थ्यो होला।
तर अहिले मेलम्ची कमजोर अध्ययन, भू-विश्लेषण, दोहनकारी चित्तवृत्ति र राजनीति अस्थिरताको अन्त्यहीन दुष्चक्रको 'कालोछिद्र' भित्र पसिसकेको छ। यसबाट उम्किएर मेलम्चीको पानी दीर्घकालीन रूपमा काठमाडौं कसरी आउला, यसै भन्न मुस्किल छ।
मेलम्ची जलवायु परिवर्तनको वैश्विक महामारीको भुंग्रोमा पनि परिसकेको छ। २०७२ वैशाख १२ र २९ को भूकम्प र त्यसपछिका परकम्पले माथिल्लो तटीय क्षेत्र थङ्थिलो तुल्याएको प्रमाण आसपासका चिरैचिरा परेका पर्वतमाला छँदै छन्। क्रमशः हिमाली भेगतिर उक्लिन थालेको वर्षाको फेरिँदो चरित्रले निम्त्याउन सक्ने गेग्रान बहाव, मेलम्ची परियोजनाको अहिलेको खास चुनौतीका रूपमा उपस्थित छ।
त्यसमाथि उदांगो भेमाथाङको पहिरोले ल्याउने विपत्तिको आकलन गरिएको छैन।
भेमाथाङ भेलबाढीले तटीय क्षेत्र बढारेको तीन वर्ष पूरा भयो। पहिरो गएयता भेमाथाङले सरकारको अनुहार देखेको छैन। भेमाथाङ र आसपासको भग्न पहाड अहिले मेलम्ची दुर्दान्त दोहोर्याउन पर्खिबसेको छ!
अघिल्लो वर्षको साउन २८ र २९ गते दुई बाजि निम्तो पत्र पनि पठायो। तैपनि सरकारको कानमा बतास लागेन!
यो त भयो मेलम्चीको माथिल्लो तटीय क्षेत्रको आँखोदेखा हाल!
तल्लो तटीय क्षेत्रको जीवन निखारेको र बस्ती उजाडेको कथा अकथनीय छ।
५० को दशकसम्म हेलम्बु स्याउ र ह्योल्मो जातिको साझा चिनारी थियो। आमा यांग्रीको काखको गाउँ हेलम्बुसँग जब मेलम्ची परियोजनाको परिचय गाँसियो, तल्लो तटीय क्षेत्रमा विकासका बग्रेल्ती ढोका खुले।
मेलम्ची परियोजनाको पहुँच मार्ग बन्दा झोलुंगे पुलसमेत देख्न नपाएको डाँडाकाँडाले मोटरबाटा पाए। मेलम्ची परियोजनाले नै सामाजिक उत्थानको नाउँमा धक फुकाएर खर्च गर्दा विद्यालय, स्वास्थ चौकीको नियति बदलियो। घामको दृष्टि पर्नसमेत दुरूह हुने डाँडापाखा उज्याला बने।
एक किसिमले भन्दा मेलम्ची सिन्धु-ह्योल्मो उपत्यकाका 'गेम चेन्जिङ' परियोजना थियो।
बाटोको मुआब्जाले स्थानीयको आयस्तरमा आनका तान भिन्नता ल्यायो। ५० को दशकको उत्तरार्द्धमा पाएको मुआब्जाले अडिट मार्ग आसपासका मानिसहरूको जुनी बदलिन कत्ति समय लागेन।
त्यसको बदलामा त्यस भेगका मानिसहरूले गर्नुपरेको मूल्य भुक्तान झन् अकथनीय छ।
लाङटाङको नाभिस्थानबाट बगेर आउने मेलम्ची पश्चिमोत्तर सिन्धुपाल्चोकको धमनी नै हो। कोशी जलाधार क्षेत्रको उद्गम थलो मेलम्ची-इन्द्रावतीले आधा सिन्धुबासीको प्राण धानेको थियो। रसिला फाँट, ट्राउट माछाको फस्टाउँदो व्यवसाय र विस्तार हुँदै गरेको आन्तरिक बाह्य पर्यटन हेलम्बु भेगको परिचायक बन्दै थियो। तर आयस्ता भित्र्याउन नपाउँदै ह्योल्मो भेगको मुटुको पल्मोनरी धमनी काठमाडौं पथान्तरण भयो।
ह्योल्मो-सिन्धु भेगको नदी प्रणाली र नदी प्रणालीमा आधारित जीवनपद्धति बिथोलियो। नदीमा आश्रित बोटे, माझी विस्थापित भए। दिउल फुटाउँदै गरेको ट्राउट व्यवसाय होइन, नदीकै जलचर बाँच्ने स्थिति पनि क्षीण बन्न पुग्यो। मेलम्ची-इन्द्रावतीको पारिस्थितिक प्रणालीमा घनछिनो चल्यो।
काठमाडौंको प्यास मेटाउन सिन्धुबासीको बेहोर्नुपरेको उठिबासले न्याय नपाइरहेका बेला, त्यही भेगलाई लक्षित गरेर प्रकृतिले अर्को बज्र हान्यो।
तिम्बुको पुछारदेखि मेलम्ची बजारको किनारसम्म अजिंगरसरह अजंगको ढुंगासहितको गेग्रान लम्पसार छ। त्यो गेग्रानको उरूङ पन्छाएर हेलम्बु-मेलम्चीलाई लयमा फर्काउन संघ सरकारको दृष्टि अपेक्षित छ। मेलम्ची पुलबजारदेखि तिम्बुसम्म २२ किलोमिटर सडक अझै खण्डहर छ। बगर सम्याएर जेनतेन काम चलाइएको सडक बर्खाले खोलैमा परिणत गर्छ। दर्जनौं गाउँसँगको सम्बन्ध विच्छेदित तुल्याउँछ। तर सरकारको ध्यानदृष्टि ह्योल्मो-मेलम्चीबासीका यी वर्णनातीत पीडामा भन्दा धेरै मेलम्ची परियोजनामा देखिन्छ।
मेलम्ची परियोजनाको मुख्य व्यवधान भनेकै भेमाथाङ र आसपासका क्षतिग्रस्त पहाड हुन्। सरकार भने सर्कथली बाँध सारेर समाधान खोज्दैछ।
माथिल्लो तटीय क्षेत्रको भूअवस्थिति, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा निम्त्याएको बहुआयामिक असरको अध्ययन र भेमाथाङको पहिरो रोकथाम दिगो मेलम्ची परियोजनाका पूर्वसर्त हुन्। अहिले थप चार अर्ब रूपैयाँ खर्चिएर बाँध सार्ने तारतम्य मिलाइँदैछ। मन्त्रिपरिषदले अध्ययन र यकिन विश्लेषणबिनै सैद्धान्तिक स्वीकृति पनि दिइसकेको छ।
दोरिङको एउटा पहिरो छल्न गर्न लागिएको ४ अर्ब खर्चले मेलम्ची भविष्य दिगो हुन्छ कि हुँदैन, प्रश्नको उत्तर सरकार र सर्कथली दुवैले दिन सक्दैन!
७० अर्ब खन्याउँदा पनि अनिश्चित बनेको मेलम्ची परियोजना कति रकमको खोलो खन्याएपछि स्थायी होला? कति प्रधानमन्त्री र मन्त्रीले उद्घाटनको सिलसिला टुंग्याएपछि, कति सरकार प्रमुखको नाम शिलामा नाम कुँदेपछि मेलम्चीको पानी स्थायी रूपमै काठमाडौं पथान्तरित हुने हो?
उता अँधियामा खेतीकिसानी गरिरहेका हल्दे, बल्दे, चिउरीखर्क, किउल बगर, गणेशे बगर लगायत ठाउँका निमुखाहरू पुर्पुरामा हात लगाइरहेका छन्। खेतीकिसानी गरिरहेका जग्गा-जमिनमा १५ मिटरसम्म गेग्रान थुप्रिएको छ। खेतको साँध-सिमानाको नामोनिशान छैन। टेक्ने एक पाइलो जमिन नभएका कतिपयले सरकारी राहत पाएर पनि ओत उभ्याउन सकेका छैनन्। निरूपाय हुँदै उनीहरू आँसुले छातीको भुंग्रो निभाइरहेका छन्।
चनौटे बजारको दुर्दान्त झनै कारूणिक छ। खेत निखारेर नअघाएको मेलम्ची नदी आँगनमै आइपुगिसकेको छ। र, अहिले धुरीसमेत ताक्दैछ।
बजारको छाती चिरेर बेलगाम बगेको मेलम्चीले अझै कतिको जीवनको दौडधुप टुंग्याउने हो, २४ जनाको ज्यान निलिसकेको मेलम्चीले अझै कतिको इहलिला समाप्त गरिदिने हो — उनीहरूले भेउ पाउन सकेका छैनन्।
ग्याल्थुम र तालामाराङ बजारले पनि यसै गरी त्रासदीमै रात काटेको तीन बर्खा बितिसक्यो।
तत्कालीन प्रधानमन्त्री केपी ओली गणेशे बगरमा हेलिकप्टरमा उत्रिएका थिए। सर्वस्व गुमाएका किउल र चनौटेबासीका पोल्टामा उनले गह्रौं आश्वासन थमाए। त्यो आश्वासन व्यवहारमा उतार्न उनीसँग बीस दिन समय थियो। तर उनकै आँखासामु वाचा अलपत्र पर्यो।
पछि, पैदल मार्ग भएर मेलम्चीको मुहान अम्बाथान पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले आँसु मात्रै चुहाएनन्। मेलम्चीबासीको छातीमा लागेको घाउबाट गहिरो आहत व्यक्त गरे।
तर हेलम्बु-मेलम्चीबासीका लागि प्रधानमन्त्रीको राहत उही मृगमरीचिका नै सावित भयो।
भेलबाढीले सडक खाएपछि बगरैबगर खोलिएको बाटो पछ्याउँदै अम्बाथान पुगेका प्रचण्ड गाडीमै फर्किन सकेनन्। ढाड बिझाएर हेलिकप्टरको सहारा लिनुपर्यो। तर मर्माहत मेलम्चीबासीले आँखा बिझाए पनि भग्न घरबारीबाट दृष्टि हटाउन पाएका छैनन्।
भेलबाढी यता तीन सालमा चार सरकार फेरिए। उता हेलम्बु-मेलम्चीबासीको आँखाबाट खण्डहर बगर पन्छन सकेको छैन। प्रत्येक वर्षातले नदीको भेलसँगै बगेका प्रियजनको अनुहार ताजा तुल्याइदिन्छ। आफन्तको वियोगको घाउ खण्डहर मेलम्चीले खाटा बस्नै दिँदैन!
अकिञ्चन आँखा सिंहदरबारतिर फर्काउनुबाहेक उनीहरूसँग कुनै उपाय छैन।
अहिले पनि मेलम्ची क्षेत्रको पुनः निर्माण सरकारको दोस्रो प्राथमिकतामा परेको छ।
मध्य वर्षात् मौसम छ। बलेसीमा खसेको झरीको धुन सधैं कर्णप्रिय हुन्छ भन्ने छैन। कहिले त त्यसले मृत्युकै घन्टी बजाइरहेको हुन्छ। विपदग्राही सिन्धुपाल्चोकको भागमा यो अलि बढी पर्ने गरेको छ।
यसबाट ताडित मेलम्ची भेगको भग्न अनुहारमा सरकारको नजर कहिले पर्छ — मेलम्चीबासीको प्रतीक्षा यत्ति मात्रै हो।