प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीय सदस्यज्यूहरू,
म त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको प्राध्यापक तथा नेपाल शिक्षाशास्त्री समाजको महासचिवका हैसियतले माननीय सदस्यहरूलाई यो खुलापत्र लेख्दै छु।
हालै प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षाशास्त्रसँगै अन्य जुनसुकै संकायमा पढेका व्यक्तिलाई पनि शिक्षक बन्ने बाटो खुला गर्ने गरी विद्यालय शिक्षा विधेयकमा सहमति जुटाएको भन्ने समाचार सार्वजनिक भएको छ।
यो खुलापत्र यसै विषयमा तपाईंहरूको ध्यानाकर्षणका लागि हो।
प्रतिनिधि सभाको समितिले त्यस्तो सहमति जुटाएपछि शिक्षाकर्मी र शिक्षाशास्त्रीहरूको ध्यानाकर्षण भएको छ। त्यस्तो सहमति अनुसार शिक्षक बन्न शिक्षाशास्त्र नपढे पनि हुने कानुनी व्यवस्था हुने भएको छ।
शिक्षक बन्न शिक्षाशास्त्रमा आधारित ज्ञान, तालिम र व्यावहारिक अभ्यास अनिवार्य हुनुपर्छ भन्ने मान्यता विश्वभरि छ। विश्वका अधिकांश देशमा 'पेडागोजिकल ट्रेनिङ' नलिएको व्यक्ति शिक्षक हुनै पाउँदैन।
संसदीय समितिमा बनेको उक्त सहमति शिक्षक बन्न आवश्यक पर्ने 'डिग्री' सम्बन्धी विश्वव्यापी मान्यताको विरूद्धमा छ। प्रथम दृष्टिमै अवैज्ञानिक र अव्यावहारिक छ।
यो महत्त्वपूर्ण विधेयक समितिबाट प्रतिनिधि सभाको 'फुल–हाउस' मा पुग्ने र पारित हुने प्रक्रियामा छ। सामान्यतया संसदीय समितिले गरेको सहमति अनुसार नै विधेयक पारित हुने गरेको छ।
शिक्षाशास्त्र नपढे पनि हुने उल्लिखित सहमति अनुसारै विधेयक पारित भयो भने अनर्थ हुनेछ। यो गम्भीर विषय फुल–हाउसमा पुग्नुअघि समितिमै पुनर्विचार होओस्, भएन भने फुल–हाउसले सच्याओस् भन्ने अपेक्षाका साथ यो खुलापत्र लेखेको छु।
शिक्षाशास्त्र बाहेकका अन्य संकायमा पढेका व्यक्तिलाई पनि शिक्षक सेवामा प्रवेश दिनुपर्छ भन्ने कुरा धेरै अघिदेखि उठेको हो। यसमा मूल रूपमा दुई तर्क प्रस्तुत गरिएका छन्–
एक, शिक्षाशास्त्र पढेका तुलनामा अन्य संकायका विद्यार्थी अब्बल छन्।
दुई, देशैभरि शिक्षक अभाव बढ्दै गएको छ, यस्तो अभाव हुन नदिन अन्य संकायबाट पनि शिक्षक बनाउनुपर्ने भयो।
यी दुवै तर्कमा केही हदसम्ममा सत्यता पनि होला। तर समस्या समाधान गर्ने स्थायी उपाय शिक्षाशास्त्रको महत्त्व नै खारेज गर्नु होइन। शिक्षाशास्त्र नपढी शिक्षक बन्ने बाटो खोल्नु भविष्यमा कमजोर र अपूरो शैक्षिक जनशक्ति उत्पादन गर्नु हो, शिक्षा प्रणाली खलबल्याउनु हो।
सांसदहरूले अल्पकालीन होइन, दीर्घकालीन सुधार सोच्नु जरूरी छ। दीर्घकालीन उपाय भनेको शिक्षाशास्त्र संकायको आकर्षण र गुणस्तर उकास्नु हो। यो काम शिक्षा मन्त्रालय र शिक्षाशास्त्र संकायको सहकार्यबाट सम्भव छ।
शिक्षाशास्त्र संकायका कार्यक्रमहरू सुधार गर्नुपर्छ, प्रवेश प्रणाली कडा पार्नुपर्छ, प्रतिभाशाली विद्याथी आकर्षित गर्नुपर्छ। हरेक मुलुकमा शिक्षक बन्ने खास योग्यता तोकिएको हुन्छ। नेपालले पनि त्यो मापदण्ड लागू गर्नुपर्छ।
शिक्षाशास्त्र पढेका शिक्षकबाट शिक्षणको गुणस्तरमा कस्तो प्रभाव पर्छ भन्ने तथ्य यहाँ प्रस्तुत गर्न चाहन्छु।
शिक्षाशास्त्र पढ्नु कुनै एउटा शैक्षिक डिग्री लिनु मात्र होइन, पेसागत ज्ञान–सीप हासिल गर्नु र शिक्षक बन्नुअघि नै शिक्षण अभ्यास गर्नु हो।
शिक्षाशास्त्रका विद्यार्थीहरूमा शिक्षण–सिकाइका लागि आवश्यक ज्ञान, दृष्टिकोण र सीप विकास गरिन्छ।
शिक्षाशास्त्रका विद्यार्थीहरू आफ्नो विषयको ज्ञानमा मात्र सीमित हुने होइनन्; उनीहरू पढाउने, पाठको कुरा बुझाउने, ज्ञान सम्प्रेषण गर्ने र मूल्यांकन गर्ने आधारभूत सीप पनि सिक्छन्।
शिक्षाशास्त्र पढ्नु भनेको भविष्यमा शिक्षक भएर प्रभावकारी रूपमा ज्ञान हस्तान्तरण गर्ने भन्ने विधि र सीप सिक्नु हो।
शिक्षाशास्त्रले विद्यार्थीलाई पाठ्यक्रम विकास गर्न सिकाउँछ, बाल–विकासक्रम र बाल–मनोविज्ञानको ज्ञान दिन्छ। शिक्षण विधि, कक्षा व्यवस्थापन, पाठयोजना निर्माण, मूल्यांकन प्रणाली, प्रविधिको प्रयोग, कार्यमूलक अनुसन्धान, परीक्षाफल विश्लेषण र समावेशी शिक्षा विधि पनि शिक्षाशास्त्रले नै सिकाउँछ।
शिक्षकमा पढाउनुपर्ने विषयको ज्ञान भएर मात्र हुँदैन, शिक्षणको र मूल्यांकनको सीप पनि आवश्यक पर्छ।
शिक्षाशास्त्र नपढेका व्यक्तिमा शिक्षणका लागि आवश्यक सीप र दृष्टिकोणको अभाव हुन्छ। पाठ्यवस्तु प्रसारण त गर्न सक्छन् तर बाल–मनोविज्ञानमा आधारित, विद्यार्थीकेन्द्रित, सिर्जनात्मक र उत्तरदायी शिक्षण कमजोर हुन्छ।
शिक्षाशास्त्र पढाइको अनिवार्य र व्यावहारिक अंगका रूपमा अभ्यास शिक्षण कार्यक्रम समावेश गरिएको हुन्छ। यसले विद्यार्थीलाई आफ्नो सैद्धान्तिक ज्ञान र शिक्षण–सिकाइ सीप विद्यालयको वास्तविक कक्षा परिवेशमा प्रयोग गर्ने अवसर दिन्छ।
अभ्यास शिक्षणका क्रममा प्रशिक्षार्थी शिक्षकहरूले विद्यालयको कक्षामै पुगेर पाठयोजना तयार गर्छन्, शैक्षिक सामग्री निर्माण र प्रयोग गर्छन्, प्रविधिमा आधारित शिक्षण विधि उपयोग गर्छन्, मूल्यांकन गर्छन्।
प्रशिक्षार्थी शिक्षकहरू प्रश्नपत्र र परीक्षा निर्माण, उत्तरकुञ्जिका तयारी, उत्तरपुस्तिका परीक्षण, परीक्षाको विश्वसनीयता र वैधताको मापन तथा प्रमाणीकरण, परीक्षाफलको तथ्यांकीय विश्लेषण जस्ता काममा संलग्न हुन्छन्।
उनीहरू लिखित परीक्षामा सीमित नरही वैकल्पिक मूल्यांकन उपकरण समेत प्रयोग गरेर विद्यार्थीको सिकाइस्तर निर्धारण गर्छन् र तदनुसार पृष्ठपोषण दिन्छन्। पाठ्यक्रमका अतिरिक्त तथा सह–क्रियाकलापमार्फत विद्यार्थीहरूको बहुआयामिक क्षमता अन्वेषण, मापन तथा अभिवृद्धि गर्ने काममा पनि संलग्न हुन्छन्।
अझै महत्त्वपूर्ण कुरा, अभ्यास शिक्षणको क्रममा प्रशिक्षार्थी शिक्षकहरूले कक्षामा अपेक्षित सिकाइ नपुगेका बालबालिका पहिचान गरी केस–स्टडी, कार्यमूलक अनुसन्धान र उपचारात्मक शिक्षण विधिमार्फत उपयुक्त शैक्षिक हस्तक्षेपको अभ्यास गर्छन्।
यसरी अभ्यास शिक्षण कार्यक्रममा शिक्षाशास्त्रका विद्यार्थीहरूले शैक्षिक सिद्धान्तको व्यावहारिक रूपान्तरणको ज्ञान हासिल गरेका हुन्छन्। शिक्षण अभ्यासले उनीहरूलाई भविष्यमा दक्ष र उत्तरदायी शिक्षक बनाउँछ।
यसरी शिक्षाशास्त्रका विद्यार्थीहरूले शिक्षणको व्यावहारिक अनुभव हासिल गरेका हुन्छन्।
हाम्रो अभ्यास शिक्षण कार्यक्रमको कमजोर कार्यान्वयनले प्रशिक्षार्थी शिक्षकमा उल्लिखित सीप विकास प्रभावकारी नभएको हुन सक्छ तर यसको शिक्षाशास्त्र नपढेरै पनि शिक्षक हुने बाटो खोल्नु दीर्घकालीन रूपमा घातक हुनेछ। यो बाटो उल्टो हुनेछ।
शिक्षाशास्त्र संकायका कार्यक्रममा रहेका कमीकमजोरी हटाउनु र कार्यक्रम सबल बनाउनु सुल्टो बाटो हुनेछ।
शिक्षकले शिक्षण–सिकाइको माध्यमबाट विद्यार्थीलाई ज्ञान, सीप, धारणा र व्यवहार विकासमा भूमिका निर्वाह गर्छ। शिक्षकमा पाठ्यवस्तुको ज्ञान भएर मात्र हुँदैन, पेडागोजी (शिक्षणविज्ञान) को पनि ज्ञान हुनुपर्छ।
शिक्षकमा बाल–मनोविज्ञान, शिक्षण प्रक्रिया र विधि, मूल्यांकन लगायतमा बहुआयामिक अवधारणा र सीप हुनुपर्छ।
यसो नभए कक्षामा ज्ञानको एकोहोरो प्रसारण गर्ने काम हुन्छ। यसबाट सिकाइ प्रक्रिया सीमित र बोझिलो हुने सम्भावना हुन्छ। सिकाइमा विद्यार्थीको सक्रियता अवरूद्ध हुन्छ। अन्ततः शैक्षिक गुणस्तर खस्किन्छ र दीर्घकालमा सिंगो शैक्षिक प्रणाली नै कमजोर हुन्छ।
यसर्थ शिक्षाशास्त्र नपढे पनि शिक्षक बन्ने बाटो खुला गर्नु कमजोर जनशक्ति उत्पादन गर्नु, शिक्षण पेसा नै कमजोर बनाउनु हो।
माननीय सदस्यहरूलाई शिक्षण लाइसेन्सको परीक्षाले उल्लिखित ज्ञान र सीप परीक्षण गर्छ भन्ने लागेको हुन सक्छ। यहाँ यस विषयमा पनि जानकारी गराउन चाहन्छु।
अहिलेको शिक्षण लाइसेन्स परीक्षा लिखित रूपमा हुन्छ जसले शिक्षकको विषयगत ज्ञान वा केही हदसम्म शिक्षण विधिसम्बन्धी सैद्धान्तिक र संज्ञानात्मक पक्ष परीक्षण गर्छ।
यस परीक्षाको प्रश्न सामान्यतया बहुवैकल्पिक वा विषयगत उत्तरमा आधारित हुने हुँदा शिक्षणका व्यावहारिक पक्षको जाँच हुँदैन। हालको परीक्षाले स्मृति र बोधमा आधारित जानकारी मात्र परीक्षण गर्छ।
बजारमा उपलब्ध तयारी सामग्री, गाइड पुस्तक र जताततै खुलेका तयारी कक्षाको सहयोगबाट लाइसेन्स परीक्षा उत्तीर्ण हुने सम्भावना बलियो छ। यस्तो तयारीबाट परीक्षार्थीहरू प्रश्नको उत्तर दिन सक्ने होलान् तर उनीहरूमा शिक्षण–सिकाइको व्यावहारिक प्रयोग गर्ने क्षमता नहुन सक्छ।
पाठयोजना, सिकाइ विविधता, मूल्यांकन रणनीति जस्ता शिक्षाशास्त्रका आधारभूत तत्त्वमा पनि प्रयोगात्मक नभई संज्ञानात्मक परीक्षा मात्र उत्तीर्ण गर्ने सम्भावना हुन्छ।
यसरी नियुक्ति पाएको शिक्षकले आफ्नो कक्षाकोठामा कति प्रभावकारी रूपमा सम्प्रेषण गर्न सक्छ भन्ने थाहा हुँदैन।
पौडी खेल्ने सीपको सिद्धान्त पढेर, लिखित परीक्षा उत्तीर्ण गरेर पोखरीमा पौडिन सकिँदैन। पौडिन जान्ने हुन त पोखरीमा पसेरै अभ्यास गर्नुपर्छ।
अहिलेको शिक्षण लाइसेन्स परीक्षा पनि पौडीको लिखित परीक्षा उत्तीर्ण गरेजस्तै हो। शिक्षण–सिकाइमा उत्तीर्ण हुन कक्षाकोठामै जानुपर्छ। कक्षाकोठाको वास्तविक अवस्थामा प्रत्यक्ष अभ्यास गर्नुपर्छ। लाइसेन्सको योग्यता परीक्षण पनि त्यसरी नै हुनुपर्छ।
शिक्षणमा सैद्धान्तिक ज्ञान चाहिन्छ, त्योभन्दा बढी व्यावहारिक दक्षता आवश्यक पर्छ। अहिलेको शिक्षण लाइसेन्स परीक्षाले शिक्षण गर्नुपर्ने विषय सम्बन्धी ज्ञान र शिक्षणको समग्र सीप परीक्षण गर्दैन।
यस कारण शिक्षाशास्त्र नपढेको भए पनि शिक्षक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गरेका आधारमा मात्र शिक्षक बन्ने बाटो खुला गर्नु शिक्षाको गुणस्तर र विश्वसनीयतामाथि जोखिमपूर्ण कदम हुनेछ।
अब शिक्षक बन्न शिक्षाशास्त्र अध्ययनको अपरिहार्यताबारे विश्वव्यापी केही अभ्यासबारे जानकारी गराउन चाहन्छु।
विकासोन्मुख र विकसित दुवै खालका देशमा शिक्षक बन्न शिक्षाशास्त्रको डिग्री अनिवार्य गरिएको छ। छिमेकी मुलुक भारतमा प्राथमिक तहको शिक्षक बन्न कम्तीमा १२ कक्षा उत्तीर्ण गरी दुई वर्षको 'डिप्लोमा इन इलिमेन्ट्री एजुकेसन' डिग्री हासिल गरेको हुनुपर्छ।
त्यसभन्दा ठीक माथिल्लो तहको शिक्षक हुन बिएड (शिक्षाशास्त्रमा स्नातक) सरहको योग्यता अनिवार्य गरिएको छ। अन्य संकायमा कम्तीमा ५० प्रतिशत अंक पाएको विद्यार्थी मात्र बिएड वा सोसरहको कार्यक्रममा भर्ना हुन पाउँछ। यस अतिरिक्त 'टिचर इलिजिबिलिटी टेस्ट' पनि उत्तीर्ण गर्नुपर्छ।
भुटानमा प्राथमिक तहको शिक्षक बन्न १२ कक्षा उत्तीर्ण गरेपछि 'रोयल युनिभर्सिटी अफ भुटान' अन्तर्गतको 'पारो शिक्षा क्याम्पस' वा 'सम्त्से शिक्षा क्याम्पस' बाट चार वर्षको 'बिएड इन प्राइमरी एजुकेसन' पूरा गर्नुपर्छ।
माध्यमिक तहको शिक्षक बन्न 'बिएड इन सेकेन्डरी एजुकेसन' वा अर्को कुनै संकायबाट स्नातक डिग्री प्राप्त गरी १८ महिनाको 'पोस्ट ग्राजुएट डिप्लोमा इन एजुकेसन' डिग्री हासिल गर्नुपर्छ।
बेलायतमा शिक्षक हुन बिएड डिग्री अनिवार्य छ। अन्य संकायमा डिग्री लिएकाको हकमा 'पोस्टग्राजुएट सर्टिफिकेट इन एजुकेसन' वा 'क्वालिफाइड टिचर स्टाटस' हासिल गरेको हुनुपर्छ। अस्ट्रेलियामा पनि यस्तै व्यवस्था छ।
युरोपका सबैजसो मुलुकमा शिक्षाशास्त्रमा स्नातक वा अन्य संकायमा स्नातक तह पूरा गरी शिक्षाशास्त्रको छुट्टै एउटा डिग्री हासिल गरेपछि मात्र शिक्षक बन्न पाइन्छ।
यसनिम्ति युरोपियन युनियनले एउटा गाइड लाइन पनि तयार गरेको छ। गाइड लाइनले शैक्षिक योग्यता, इन्टर्नसिप वा तालिमको न्यूनतम अवधि, अभ्यास शिक्षण, मूल्यांकन सीप लगायतमा मापदण्ड तोकेको छ।
यसले सिंगो युरोपमा शिक्षकको न्यूनतम योग्यता र शिक्षाको गुणस्तरमा एकरूपता कायम गर्न मद्दत गरेको छ।
अमेरिका पनि शिक्षाशास्त्र नपढी शिक्षक छनौटको परीक्षामा सामेल हुन पाइँदैन। राज्य अनुसार शिक्षक छनौटको प्रक्रिया फरकफरक भए पनि शिक्षाशास्त्रको पढाइ अनिवार्य गरिएको छ।
टेक्सस राज्यमा शिक्षक बन्न पाँचवटा योग्यता हुनुपर्छ– कुनै विषयमा स्नातक डिग्री हासिल गरेको, राज्य सरकारले तोकेका कलेजबाट 'एडुकेटर प्रिपरेसन प्रोग्राम' पूरा गरेको, शिक्षक योग्यता परीक्षा उत्तीर्ण गरेको, राज्य सरकारको निवेदन प्रक्रिया पूरा गरेको, अपराध सम्बन्धी पृष्ठभूमि जाँच गरी औंठाछाप प्रक्रिया पूरा गरेको।
हामीले पनि शिक्षाशास्त्रको डिग्री र शिक्षण तालिमलाई शिक्षक बन्ने सर्त मानेका हौं।
अब इतिहासको थोरै कुरा गरौं।
नेपालले शिक्षक बन्न शिक्षाशास्त्रको योग्यता र तालिम आवश्यक मानेको करिब सात दशक भयो। त्यही आवश्यकता विचार गरेर २०१३ सालमा 'कलेज अफ एजुकेसन' स्थापना भएको थियो। राष्ट्रिय शिक्षा पद्धति योजना (२०२८–२०३२) ले शिक्षक हुन शिक्षाशास्त्र पढाइ अनिवार्य गर्यो।
अहिले पनि शिक्षक बन्न प्राथमिक तहका लागि १२ कक्षामा २०० पूर्णांकको पढाइ र माध्यमिक तहका लागि बिएड योग्यता हुनुपर्ने विश्वव्यापी मान्यता अँगालेका छौं।
हामीसँग चार वर्षे नियमित बिएड र अन्य संकायबाट शिक्षण पेसामा आउन चाहनेका एक वर्षे बिएड कार्यक्रम छ।
त्रिभुवन विश्वविद्यालयले एक वर्षे बिएडमा देखिएका कमी कमजोरीबारे बृहत् अध्ययन गरी सुधारिएको तीन सेमेस्टरको 'पोस्ट ग्राजुएट डिग्री इन एजुकेसन' कार्यक्रम सुरू गरेको छ। जुनसुकै विषयमा स्नातक गरेका व्यक्तिले पनि यस कार्यक्रममार्फत शिक्षाशास्त्रको योग्यता हासिल गर्न सक्छ।
हो, हाम्रो मुलुकमा शिक्षाशास्त्रमा ठूलो आकर्षण छैन। फलस्वरूप न्यून ग्रेड हासिल गरेका र धेरै लगानी गर्न नसक्ने विद्यार्थी शिक्षाशास्त्रतिर आउने गरेका छन्। शिक्षण पेसा समाजले मानेको प्राथमिकतामा छैन।
हाम्रा शिक्षाशास्त्र कार्यक्रमहरूमा केही सुधार गर्नुपर्नेछ। पाठ्यक्रम सुधार गर्नुपर्ने छ। प्रविधिमा आधारित शिक्षण सिकाइ कौशल अभिवृद्धिमा पनि काम गर्न बाँकी छ।
अभ्यास शिक्षणको कार्यक्रम प्रभावकारी हुन सकेको छैन। ज्ञान र सीपको बदलिँदो र सजिलै आकलन गर्न नसकिने द्रुत गतिको परिवर्तन अनुसार शिक्षकको पेसागत दक्षता अभिवृद्धि गर्ने कार्यक्रम आवश्यक भएको छ। युवाहरूको बढ्दो विदेश पलायनले योग्य शिक्षाशास्त्री र योग्य शिक्षक उत्पादन घटेको छ।
माननीय सदस्यहरू,
यस स्थितिमा शिक्षाशास्त्रको महत्त्व र अनिवार्यता कमजोर बनाउनु उचित हुँदैन। हामीले शिक्षाशास्त्रका कार्यक्रम सबल बनाउँदै शिक्षण पेसामा आकर्षण बनाउने प्रयास गर्नुपर्छ।
यसो गर्दा अन्य संकायका स्नातकहरू पनि शिक्षक बन्ने एक वर्षे वा तीन सेमेस्टरको शिक्षाशास्त्र कार्यक्रममा सहभागी हुनेछन्।
शिक्षकको अभाव भयो, शिक्षाशास्त्रको गुणस्तर कमजोर भयो भन्ने कारण देखाए शिक्षक बन्न शिक्षाशास्त्र नपढे पनि हुने व्यवस्था गर्दा शिक्षण पेसा र गुणस्तरको अवमूल्यन हुन्छ।
विद्यालय शिक्षा विधेयकमा शिक्षाशास्त्र नपढेका व्यक्तिलाई पनि शिक्षक बन्ने बाटो खुला गर्दा नेपालको शिक्षाप्रणाली, शिक्षाशास्त्रको गरिमा र समग्र शैक्षिक गुणस्तरमा असर पर्नेछ।
विद्यालय शिक्षा नयाँ पुस्ताको भविष्य र देशको शैक्षिक गुणस्तरसँग गाँसिएको हुन्छ। म एक शिक्षाशास्त्रीको हैसियतमा संसदका माननीय सदस्यहरूलाई उल्लिखित विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्छु।
यस अनुसार संसदीय समितिमा छलफल होओस् र शिक्षाशास्त्रको कुनै न कुनै कार्यक्रम पूरा गरेको व्यक्ति मात्र शिक्षक बन्ने प्रावधान राखियोस्। शिक्षाशास्त्र अध्ययन र शिक्षकको योग्यताबारे अन्तर्राष्ट्रिय मान्यता तथा हाम्रो ऐतिहासिक अभ्यास ख्याल गरियोस्।
भवदीय,
प्रा. डा. पेशल खनाल
शिक्षाशास्त्र संकाय, त्रिभुवन विश्वविद्यालय
महासचिव, नेपाल शिक्षाशास्त्री समाज
(लेखक डा. पेशल खनालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)