'तपाईंलाई डेंगी भएछ, अब यो गर्ने र त्यो नगर्ने' अहिले दैनिक अस्पतालमा जँचाउन आउने औसतमा सय बिरामीलाई भनिरहेका छौं।
डेंगीले आफ्नो प्रभाव बढाउँदै लगेपछि शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा छुट्टै 'डेंगी क्लिनिक' स्थापना गरी सेवा दिन सुरू गरिएको छ।
सन् २०१९ मा पहिलो पटक डेंगीले नेपालको अधिकांश भू-भागमा आफ्नो उपस्थिति देखाएको थियो। राजधानीमा डेंगी विशेषत काठमाडौं जिल्लामा केन्द्रित थियो। तर यो वर्ष डेंगीले दोस्रो पटक महामारीको रूप लिँदै गर्दा राजधानीको काठमाडौंमात्र नभई ललितपुर, भक्तपुर जिल्लामा समेत फैलिएको छ।
'डेंगी क्लिनिक' मा आउने लगभग सबैजसोले परिवारका सबैजसो सदस्य वा कार्यालयमा धेरै सहकर्मी अथवा छरछिमेकी, टोलमा डेंगी व्यापक देखिएको भनिरहेका छन्। यसले गर्दा डेंगी यत्रतत्र काठमाडौं उपत्यकामा फैलिरहेको प्रष्ट हुन्छ।
हाल डेंगीको लहर उत्कर्षतिर छ। सयौ डेंगी संक्रमित वा डेंगीजस्ता लक्षण भएकाहरू घर-घरमा स्वास्थ्य लाभ गरिरहेका अवस्थामा छन्। संक्रमण पुष्टि भएका सबैलाई अस्पताल भर्ना गर्ने अवस्था पनि छैन।
कोभिडको समयमा पनि संक्रमण पुष्टि भएकाहरू घर-घरमा बसेका र स्वास्थ्यमा जटिलताका संकेतहरू देखिए अस्पताल जान सुझाउने गरिन्थ्यो।
त्यस्तै, डेंगीमा पनि केही संकेत छन्, जुन संक्रमितमा देखिए तुरून्त चिकित्सकको सम्पर्कमा वा अस्पताल जान भनिन्छ। तारन्तार बान्ता हुनु, अत्यधिक पेटमा पीडा हुनु, नाक, गिजा वा अरू अंगबाट रगत बग्नु, अत्यधिक आलस्य/ बेचैनी हुनु जटिलताका संकेत हुन्।
यस्तो अवस्थामा तुरून्त अस्पताल जानु पर्दछ।
धेरै संक्रमितहरूले ज्वरो घट्नासाथ डेंगीको प्रभाव सकिएको हुनसक्ने अनुमान गर्ने गरेका पाइन्छ। तर वास्तवमा, ज्वरो घटेपछि कतिपयमा भने 'जटिल अवस्था' वा 'क्रिटिकल फेज' सुरू हुने गर्दछ। यो सामान्यतया २४ देखि ४८ घण्टामा देखिने गर्दछ। यो समयमा पेट वा फोक्सोमा पानी जम्न सक्ने सम्भावना रहन्छ। यस्तो अवस्था एक्सरे तथा अल्ट्रासाउन्ड मेसिनबाट पत्ता लगाउन सकिन्छ। यो समयमा बिरामी अचेत अवस्थामा समेत जान सक्नेछ र यसै समयमा रक्तस्रावको समस्या समेत देखा पर्न सक्छ। समयमा उपचार नपाए संक्रमितको मृत्यु समेत हुनसक्छ।
यो पनि:
'स्मार्ट' लामखुट्टेको 'स्मार्ट' आनीबानी
डेंगी संक्रमणमा मुख्यतय दुखाइ नै अत्यधिक हुने गर्दछ। तसर्थ, दुखाइबाट मुक्ति पाउन आफैं औषधी पसलमा जाने र औषधी खाने प्रचलन नेपालमा पुरानै हो। 'फ्लेक्सन', 'ब्रुफेन', 'निम्स' जस्ता औषधीहरू दुखाइ तथा ज्वरो कम गर्न सबैभन्दा बढी प्रयोग गरिने औषधी हुन्।
हामीले डेंगी देखिन सुरू भएयता यस्ता औषधीको प्रयोग नगर्न सचेत गर्दै आइरहेका थियौं। तर पनि 'डेंगी क्लिनिक' को सुरूआती दिनमा धेरै बिरामीले यस्ता औषधी लक्षण देखिन सुरू हुने बित्तिकै प्रयोग गर्ने गरेको हामीले पाएका थियौं।
अधिकांशले यस्ता औषधी डेंगी संक्रमणमा प्रयोग गर्नु हुँदैन भन्ने थाहा नभएको भनेका थिए भने कतिपयलाई भने औषधी बिक्रेता वा स्वास्थ्यकर्मीले नै प्रयोग गर्न सुझाएको भनेका थिए। यस्ता औषधीको अत्यधिक प्रयोगले कतिपय रक्तस्रावको समस्या लिएर समेत आएका थिए। तर पछिल्ला केही दिनमा भने यस्ता औषधीहरूको प्रयोगमा केही कमी आउन थालेको अनुभव छ।
आफन्त वा औषधी बिक्रेता वा सञ्चारका माध्यमबाट सुनेर 'फ्लेक्सन', 'ब्रुफेन', 'निम्स' जस्ता दुखाइ कम गर्ने औषधीको प्रयोग नगरेका भन्नेहरू विस्तारै बढ्दै गइरहेको छ। केहीले भने सिटामोलले खासै दुखाइ कम गर्न नसकेकोले 'फ्लेक्सन' वा 'निम्स' को प्रयोग गर्ने गरेको भनेका थिए।
डेंगीको दुखाइ अति पीडादायी हुने भएकोले छुटकारा पाउने उपाय खोज्नु स्वाभाविक नै हो। डेंगी संक्रमणको सुरूआतीमा खाना खानमा तीव्र अरूचि पैदा हुने भए पनि एक हप्तादेखि १० दिनसम्ममा भने केही सुधार हुँदै जाने गरेको देखिएको छ।
यो समय अवधि भित्रमा रगतमा देखिने गरेका उतारचढाव पनि धेरैमा सामान्यीकरण हुँदै जाने गरेको देखिन्छ। तसर्थ, बिरामीलाई ८-१० दिनको अवधि समय सचेत र धैर्य रहन आग्रह गर्ने गरेका छौं।
धेरै बिरामीले सिटामोल प्रयोगको बाबजुत दुखाइ पूर्ण रूपमा निको नभएको गुनासो गर्ने गरेका छन्। तर धेरै बिरामीको अनुभवलाई आधार मान्ने हो भने डेंगीको असर रहुन्जेल अर्थात् औसतमा ८-१० दिनको अवधिसम्म सिटामोल प्रयोगको बाबजुत पनि दुखाइबाट शत प्रतिशत मुक्त हुन्छ नसकिने देखिन्छ।
यो पनि:
यसरी सुरू भयो डेंगी लामखुट्टेको काठमाडौं यात्रा
डेंगीको विशेष औषधी र सुरक्षित खोपको विकास नभएकोले डेंगी लाग्न नदिनु नै डेंगीबाट बच्नु हो। डेंगी लाग्न नदिनु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो।तर डेंगी सार्ने एडिस जातको लामखुट्टेको आनीबानी भने विगतमा देखिँदै आइरहेका अरू लामखुट्टेका प्रजातिभन्दा बिल्कुल फरक छ।
यो दिनमा सक्रिय हुने, सफा पानीमा बस्ने/वृद्धि विकास हुने र घरभित्र पनि मानिससँगै पनि बस्ने गर्दछ। यसर्थ लामखुट्टे नियन्त्रणमा परम्परागत उपाय खासै प्रभावकारी हुने गरेको पनि देखिँदैन। राति झुल लगाएर सुत्ने, लामखुट्टे मार्ने फोगर (धुँवा) को प्रयोग जस्ताले मात्रै पनि लामखुट्टे नियन्त्रणमा आउन नसक्ने देखिएको छ। सबभन्दा उत्तम उपाय भनेको लामखुट्टे हुर्किने/वृद्धि विकासको लागि चाहिने संकलित पानी जम्मा हुने वातावरण नै सृजना हुन दिनु हुँदैन र त्यस्ता काम वर्षात्/मनसुन लाग्नुभन्दा अगाडि नै गर्नु पर्दछ।
अन्तमा, हाल डेंगी संक्रमित काठमाडौंमा यत्रतत्र देखिन्छन्। डेंगी संक्रमितको रगतमा प्लेटेलेट्सको संख्या घट्दा आत्तिने भएकोले र बढाउन भनेर पूर्ण र सही जानकारीबिना विभिन्न पातका रसहरू खाने गरेको पाइन्छ। यसले कतिपय बिरामीमा स्वास्थ्य समस्या समेत उत्पन्न गराएका चिकित्सकहरू बताउने गरेका छन्। तसर्थ, सम्बन्धित विज्ञबाट परामर्श लिएरमात्र कुनै पनि औषधी वा औषधीजन्य चिजको प्रयोग गरे सम्भावित डेंगीको जटिलताबाट बच्न सकिनेछ।
(लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)
(डाक्टर पुनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)