केही वर्षयता उच्च शिक्षामा सुधारका बहस-छलफल बाक्लिएको छ, जुन राम्रो हो। यस्तो बहसमा नेपालको उच्च शिक्षाको इतिहास र विरासत बोकेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) पनि केन्द्रमा हुन्छ। सबै ठाउँमा उच्च शिक्षाको पहुँच नहुने अवस्थामा त्रिविको केन्द्रीय क्याम्पसमा पढ्नु अघिल्ला धेरै पुस्ताको सपना हुन्थ्यो।
त्यस समयको सपना साकार हुँदै मैले पनि त्रिविमा अध्ययन गर्ने अवसर पाएँ। त्रिविमा पढेका विभिन्न विषयमध्ये ‘प्रोजेक्ट प्लानिङ’ भन्ने विषय हामीलाई अमेरिकाको एक प्रसिद्ध विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका प्राध्यापकले पढाउनु हुन्थ्यो। उहाँले राम्रोसँग व्याख्या गरेर रमाइलो किसिमले पढाउनु हुन्थ्यो। परिणामतः मैले परीक्षामा उत्कृष्ट अंक पाएको थिएँ। त्यस विषयका कतिपय अवधारणा र सिद्धान्तहरू मलाई आज पनि याद छ।
उत्कृष्ट अंक ल्याएको विद्यार्थी भएर पनि मलाई वास्तविक रूपमा प्रोजेक्ट प्लानिङ गर्न आउँदैन थियो। यसका व्यावहारिक पक्ष नजान्दा त्यसपछि मैले धेरै चुनौतीसँग सामना गर्नुपरेको थियो। यो मेरो जिन्दगीको एक विरोधाभाष थियो- प्रोजेक्ट प्लानिङको परीक्षामा मेरो अंक अब्बल थियो, व्यवहारमा भने म शून्य थिएँ।
स्नातकोत्तर सकेर मैले पनि पढाउन सुरू गरेँ। यस क्रममा मैले पाठ्यक्रममा उल्लेख भएका विषयवस्तुको सिद्धान्त, अवधारणा र उदाहरणहरू कक्षामा सुनाउँथे। पाठ्यक्रमसँग सम्बन्धित विद्यार्थीले सोध्ने प्रश्नहरूको जवाफ दिन्थेँ। त्यस बेला मलाई घमन्ड थियो, मलाई सबै कुरा थाहा छ। पाठ्यक्रमसँग सम्बन्धित हरेक पक्ष म व्याख्या र विश्लेषण गर्न सक्थेँ।
तर शिक्षण सिकाइ भनेको आफूले जानेको र घोकेका कुराहरू कक्षामा गएर भन्नुभन्दा धेरै माथि रहेछ भन्ने महसुस गर्न मलाई १२ वर्षभन्दा बढी लाग्यो। किनकि मैले अनुभव गरिरहेको थिएँ- आफूले कक्षामा सिकेका कतिपय कुराहरू मैले व्यवहारमा लागू गर्न सकेको थिइनँ। मैले देखिरहेको थिएँ, परीक्षामा उच्च अंक ल्याएका मेरा विद्यार्थीहरूले पनि पढेको कुरा प्रयोगमा ल्याउन सकिरहेका थिएनन्।
यसपछि म जिज्ञासु हुन थालेँ। आखिर रूचिको विषय, त्यसमा राम्रो पकड भएका प्राध्यापक र परीक्षामा राम्रो अंक हासिलका बाबजुद कुनै विद्यार्थीले वास्तविक जीवनमा आफ्नो पढाइलाई किन उपयोग गर्न जान्दैन वा पढेको विषयबाट व्यवसायिक जीवनमा ठोस लाभ लिन सक्दैन?
धेरैपछि मलाई महसुस भयो- ज्ञानलाई व्यवहारसँग जोड्ने एक महत्चपूर्ण पक्ष हुने रहेछ शिक्षण सिकाइ विधि।
पाठ्यक्रम, प्राध्यापक र विद्यार्थी तीनै पक्ष अब्बल हुँदाहुँदै पनि शिक्षण सिकाइ विधि उन्नत भएन भने शिक्षा व्यावहारिक रूपमा अर्थपूर्ण नहुने रहेछ। अधिकांश नेपाली शैक्षिक संस्थाहरूले आज भोगिरहेको समस्या पनि यही हो- शिक्षण सिकाइको विधिलाई व्यवहारसँग जोड्न नसक्नु।
विभिन्न शैक्षिक संस्था र शिक्षकहरूको अनुभवसँग साक्षात्कार गर्दा यस समस्याको केही कारणहरू पहिचान गर्न सकिन्छः
शिक्षण सिकाइ विधिबारे प्रशिक्षण र छलफल नहुनु
नेपालमा विद्यालयस्तरमा पूर्व प्राथमिक तहदेखि नै शिक्षण विधिका वैज्ञानिक अभ्यास अपनाइएका र त्यसका लागि शिक्षकलाई पनि प्रशिक्षण दिइएका केही उदाहरण हामीकहाँ पाइन्छन्। कार्यान्वयन पक्षमा चुनौती देखिए पनि विद्यालयका शिक्षकलाई प्रशिक्षण व्यवस्था गर्ने विभिन्न सरकारी, गैर-सरकारी र निजी क्षेत्रका कार्यक्रमहरू देखिन्छन्।
उच्च शिक्षामा भने ठोस शिक्षण सिकाइ विधिसम्बन्धी प्रशिक्षणहरू विरलै हुन्छन्। उच्च शिक्षामा शिक्षणकै लागि भनेर डिजाइन गरिएको ‘स्कुल अफ एजुकेसन’ मा बाहेक अन्य संस्थाहरूमा यसलाई महत्त्व दिएर काम गरेको पाइँदैन।
यसबाहेक हामीकहाँ पढाउने विधिका विषयमा पनि चर्चा, संवाद, प्रशिक्षण, आदि भएको विरलै पाइन्छ। उच्च शिक्षामा शिक्षणसम्बन्धी तालिम दिने संस्था खासै देखिँदैन। कतिपय देशमा औपचारिक डिग्रीपछि पनि शिक्षणसम्बन्धी एकवर्षे विशेष कोर्स नगरी विश्वविद्यालयमा पढाउन नै दिइँदैन। हाम्रो देशमा यस्तो अभ्यास देखिँदैन।
मानौं, एउटा विद्यार्थी नयाँ कुरा सिक्न खोज्दै छ। ऊ सिक्न इच्छुक छ। सिक्नुपर्ने सामग्री (कन्टेन्ट) छ र शिक्षक पनि छ। सिकाइका यी परम्परागत मिश्रणहरूमा हामीले के बुझ्दै आएका छौं भने शिक्षकसँग सिकाउनु पर्ने सामग्रीको ज्ञान छ र अनुभव पनि छ भने उसले आएर पढाएपछि विद्यार्थीले जान्दछ!
मलाई भने यही मान्यतामाथि ठूलो प्रश्न गर्नु पर्छ भन्ने लाग्छ। किनकि शिक्षकसँग सीप, अनुभव र सामग्री तीन वटै कुरा भए पनि त्यसलाई विद्यार्थीसम्म पुर्याउन चाहिने प्रक्रियालाई हामीले खासै ध्यानै दिएका छैनौं।
यस कारण हामीकहाँ विश्वविद्यालयबाट डिग्री हासिल गरेको प्रमाणपत्र भएलगत्तै अध्यापनका लागि पूर्ण रूपमा योग्य भएको ठहर्छ। अर्थात् शिक्षणका लागि आवश्यक मापदण्ड र योग्यता विश्वविद्यालयको प्रमाणपत्र हुनेबित्तिकै पर्याप्त हुन्छ। ऊसँग पढाउने/सिकाउने विषय र प्रक्रियाको ज्ञान र विज्ञता छ कि छैन भन्नेमा संवाद तथा छलफल नहुनु दुर्भाग्यपूर्ण हो।
शिक्षण सिकाइ विधि शिक्षार्थी केन्द्रित नहुनु
आजको अर्को वास्तविकता हो- शिक्षण सिकाइ विधि शिक्षार्थी केन्द्रित नहुनु।
सिकाइ हुन शिक्षार्थी नै 'इन्चार्ज' हुनुपर्ने अत्यन्त सामान्य सिद्धान्त हो। मैले साइकल चलाउन सिक्नु छ भने मैले नै चलाएर सिक्नु पर्छ। अरूले चलाएको देखाइदिएर मैले कहिल्यै चलाउन सक्दिनँ। कुनै पनि सिकाइको हकमा यही कुरा लागू हुन्छ। यसको सार यो हो कि कुनै विषय विज्ञले प्रवचन दिएकै भरमा शिक्षार्थीले सिक्ने सुनिश्चित हुँदैन। त्यसमा शिक्षार्थी आफैं सहभागी भए मात्र त्यसबाट केही न केही अनुभव गरेर त्यसलाई चिन्तन-मनन गरेर सिक्न सक्छ।
अहिलेको आधुनिक शिक्षणलाई 'शिक्षार्थी केन्द्रित' वा 'लोकतान्त्रिक' पनि भन्ने चलन छ। यसमा शिक्षकले उत्तर दिने होइन भन्ने मान्यता राखिन्छ। शिक्षकले विद्यार्थीलाई सही वा गलत नभन्ने मात्र होइन, हाउभाउ वा संकेतमा समेत देखाउन पाउँदैन भनिन्छ। शिक्षकले एउटालाई प्रसंशा गर्दा ऊभन्दा अलि कमजोर अर्को विद्यार्थीलाई हिनताबोध हुने, अपमान महसुस गर्ने, हतोत्साही गर्ने मनोवैज्ञानिक असर पर्ला कि भन्नेतर्फ पनि विचार पुर्याउनुपर्ने हुन्छ।
शिक्षक जति तटस्थ बस्न सक्यो उति महान हो भनिन्छ। उसले विद्यार्थीलाई सिकाइमा दरिलोसँग सघाउने किसिमका प्रश्नहरू चाहिँ पर्याप्त गरिदिनु पर्छ। र, विद्यार्थीलाई सिक्नका लागि चाहिने आवश्यक वातावरण र स्रोतहरूको व्यवस्था गरिदिनु पर्छ।
यस्तो शिक्षणमा शिक्षक वा प्राध्यापकले विद्यार्थीलाई अघि सारेर उसका अनुभव र विचारलाई सम्मान गर्दै उसले जाने/बुझेका वा नजानेका/नसिकेका कुराहरूको कारणमाथि प्रश्न गर्दै उसलाई सिक्न अभिप्रेरित गर्छ। विद्यार्थीका जिज्ञासामा आफैं सुरूमै उत्तर दिएर वा आफूले जाने/बुझेका कुरा लाद्नुभन्दा जिज्ञासु बन्दै आफैं उत्तर दिन/खोज्न सक्ने क्षमता विकासको सम्भावनामा अवरोध खडा गर्दैन।
हिजोको परम्परागत शिक्षण विधिमा यो सबै कुरा सोचविचारको गुञ्जायस हुँदैन। सिक्ने तल, सिकाउने माथि रहँदै आएको, भनिरहने र सुनिरहने परिपाटीको एकतर्फी शिक्षण (वान वे टिचिङ) हो त्यो। सिकाउने विज्ञ हो, विद्यार्थीलाई केही जानकारी छैन, त्यसैले उसले शिक्षकले भनेको नै सुन्नु पर्छ भन्ने मान्यता पुरानो शिक्षण विधि हो।
अनि यसरी शिक्षकले पढाउँदा नोट गरिरहने र परीक्षामा जे आउँछ त्यसको ठ्याक्क फ्रेमभित्र लेख्ने विद्यार्थी अब्बल ठहरिन्छ र त्यसभन्दा बाहिर गएर लेख्ने विद्यार्थी गलत हुन्छ। पुरानो शिक्षण विधिको परिणाम हो यो।
'सत्य' किताबमा वा शिक्षकसँग मात्र छ भन्ने मान्यता हुनु
हाम्रो शिक्षण सिकाइमा एउटा मान्यता प्रचलित छ- किताबमा लेखिएको वा शिक्षकले भनेको 'सत्य' नै ध्रुव सत्य हो। त्योबाहेक अरू सत्य हुँदैन।
त्यो 'सत्य' बाहेक अन्य कुरा परीक्षामा लेख्यो भने अनुत्तीर्ण हुने सम्भावना हुन्छ। समाजसँग सम्बन्धित विषयहरू समेत गणित जसरी पढाएको पाइन्छ। जबकि गणितमा समेत कुनै विद्यार्थीले २ मा २ जोड्दा ४ हुँदैन भन्छ भने उसलाई चुप लगाउन पाइँदैन। 'तिमीलाई किन ४ हुँदैन जस्तो लाग्यो' भनेर उसको दृष्टिकोण राख्ने मौका दिइनु पर्छ।
विद्यार्थीलाई कुनै पनि विषयमा आफ्नो दृष्टिकोण राख्न प्रोत्साहन गर्यो भने मात्र नयाँ कुराहरू आउँछन्। शिक्षकले आफूले जानेकै कुरा मात्र सही हो भन्ने हो भने अग्रगामी, उदार र प्रगतिशील सिकाइको वातावरण विद्यार्थीले पाउँदैनन्।
शिक्षकले त आफूले पढाउने कुरामा चुनौती प्रस्तुत गर्न विद्यार्थीलाई प्रोत्साहित गर्ने हो। तब मात्र भोलिका लागि नयाँ तरिकाले सोच्ने पुस्ता तयार हुँदै जान्छन्। हिजोको शिक्षण विधि, सूचना वा जानकारीलाई शिक्षकमार्फत हस्तान्तरण गर्ने शैली प्रेरित हो। यस्तो विधि कुनै बेलासम्म जायज थियो होला, अहिले असान्दर्भिक भइसक्यो।
पाठ्यक्रमलाई 'पाठ्यवस्तु' मात्र मान्ने धारणा हुनु
शिक्षासम्बन्धी छलफल हुँदा धेरै ठाउँमा मैले सुनेको छु- 'हाम्रो पाठ्यक्रम हार्वर्डको भन्दा कम छैन।'
यसले पाठ्यक्रमको अपूर्ण बुझाइ इंगित गर्छ। पाठ्यक्रम भनेको विषयवस्तु मात्र होइन। पाठ्यक्रम त विषयवस्तु, विधि र नतिजाको संयोजन हो।
'के पढाउने' भन्ने पक्ष विषयवस्तु मात्र हो।
जस्तै, 'के पढ्ने' भन्नेको जवाफ 'मार्केटिङ' होला। तर यसपछि 'कसरी मार्केटिङ सिक्ने वा सिकाउने' भन्ने शिक्षण सिकाइ विधिको कुरा आउँछ। यो असाध्यै ठूलो र महत्त्वपूर्ण प्रश्न हो। मार्केटिङ पढाउने हो भने पढिसकेपछि विद्यार्थीले मार्केटिङ गर्न जान्नुपर्यो नि!
जब विषयवस्तुलाई मात्र पाठ्यक्रम हो भनिन्छ तब हार्वर्डको भन्दा हाम्रो पाठ्यक्रम कम नलाग्नु स्वाभाविक हो। किनकि त्यहाँ पनि मार्केटिङमा फिलिप कोटलरको किताब पढाइ हुन्छ होला। यहाँ पनि त्यही किताब पढाउन गाह्रो छैन। वा अन्य जुनसुकै किताब पनि ल्याएर यहाँ हुबहु हुने गरी पाठ्यक्रम तयार गर्न गाह्रो छैन।
सारेको विषयवस्तुका आधारमा दाबी गर्ने हो भने त यहाँका विश्वविद्यालय/कलेजमा हार्वर्ड मात्र होइन, संसारका अरू उत्कृष्ट विश्वविद्यालयहरूको भन्दा कम नहुने गरी बनाउन आरामले सकिन्छ।
प्रश्न चाहिँ के शिक्षण विधि पनि हामीकहाँ उनीहरूको जस्तै छ त भन्ने हो।
पाठ्यक्रमलाई पढाइबाट आउने नतिजासँग जोडेर फराकिलो गरी हेर्नु पर्छ भन्ने मेरो मान्यता हो। यस्तो नतिजालाई म तीन कुरा सँगसँगै हेर्न रूचाउँछु- के, कसरी र किन?
उदाहरणका लागि फेरि पनि- यदि कसैले मार्केटिङ पढ्छु भन्यो उसले मार्केटिङ पढ्न खोज्नुको कारण के हो, उसलाई कसरी सिकायो वा पढायो भने उसले चाहेको कुरा जान्दछ, अनि सिकाइसकेपछि उसले सिकाइ/पढाइको उद्देश्य वा नतिजा हासिल गर्यो कि गरेन, जान्यो कि जानेन भन्ने पनि मूल्यांकन र परिभाषित गर्नु पर्छ। यी सबैको समष्टिगत योग हो पाठ्यक्रम र शिक्षण।
जस्तै उद्यमशीलता पढाएर वा पढेर मात्र सिकिने होइन। इञ्जिनियरिङ होस् वा अरू कुनै विषय, सबैमा यो लागू हुन्छ। पढाइसँगै विषयहरूलाई 'गराइ' सम्म ल्याएर जोड्नु पर्छ। अनि मात्र सिकाइ हुन्छ।
हामीले उद्यमशीलतामा एमबिएको पाठ्यक्रमलाई हाम्रा समाजका वास्तविक समस्यासँग सम्बन्धित वास्तविक परियोजनाहरूसँग जोडेर त्यसको समाधानमा केन्द्रित गर्ने कोशिस गर्नु पर्छ। विद्यार्थीहरूको योग्यता वा उसले सिके/नसिकेको मूल्यांकन पनि त्यस्ता परियोजनाहरू (प्रोजेक्ट पोर्टफोलियो) का आधारमा गरिनु पर्छ।
सिकाइको मनोवैज्ञानिक परिभाषा नै छ, जसले भन्छ- लर्निङ इज द चेन्ज इन बिहेभियर।
अर्थात् सिकाइ भनेको व्यवहारमा परिवर्तन गर्ने हो।
यदि सिक्ने व्यक्तिको व्यवहारमा परिवर्तन आएको छैन, उसको सीप, क्रिया, प्रतिक्रिया इत्यादि केही पनि परिवर्तन भएको छैन भने त्यो सिकाइ हुन सक्दैन। जस्तै- बाटोमा फोहोर फाल्नु हुँदैन भन्ने थाहा छ तर पनि व्यवहारमा त्यो देखिँदैन, फ्याँकिरहन्छ भने त्यो जानकारी र बोध मात्र हो, सिकाइ होइन।
यस कारण हामीले शिक्षण विधिलाई 'गराइ' मा केन्द्रित गर्न जरुरी छ। सिकाइ भनेको पढाउने मात्र नभएर गराइ पनि हो। 'गराइ' सम्म नआइ 'सिकाइ' को प्रक्रिया पूरा हुँदैन। यसका लागि पहिले विद्यार्थीले अनुभव गर्ने, त्यसलाई समीक्षा तथा प्रतिबिम्बित (रिफ्लेक्ट) गर्ने, छलफल गर्ने/पढ्ने, अनि व्यवहारमा उतार्ने।
सँगै शिक्षण विधिलाई नतिजामुखी बनाउन आवश्यक छ। र, यसका लागि शिक्षक वा शैक्षिक संस्थाहरूले विद्यार्थीलाई सिकाउने प्रक्रिया के कस्तो छ भन्ने सबैभन्दा महत्त्वपूर्ण हो। न कि संसारभर जहाँबाट पनि नक्कल गर्न सकिने 'पाठ्यक्रमको कन्टेन्ट' मा हामीले गर्व गर्ने!
शिक्षण विधि उन्नत बनाएर त्यसको जगमा हासिल गरेको नतिजाको सवालमा जब हामी कहाँ छौं भनेर संसारका राम्रा विश्वविद्यालयहरूसँग आफूलाई तुलना गर्ने हिम्मत गर्न सक्ने हुन्छौं, त्यति बेला पक्कै हाम्रो पाठ्यक्रम पनि हार्वर्डको भन्दा कम छैन भनेर गर्व गर्न धक मान्नु नपर्ला।
त्यहाँ नपुगुन्जेल शिक्षण विधि सुधार्न हामी सबैले निक्कै मेहनत गर्नुको विकल्प छैन।
(लेखक नरोत्तम अर्याल किङ्स कलेजका प्रेसिडेन्ट हुन्।)