एक समय थियो ज्वरो आयो कि टाइफाइड भन्ने गरिन्थ्यो।
तर पछिल्लो केही हप्ताको तथ्यांकलाई तुलना गर्दा 'स्क्रब टाइफस'ले टाइफाइडलाई धेरै पछाडि छाडेको देखिन्छ। यसलाई रोगको ट्रेन्डमा विस्तारै परिवर्तन हुँदै गएको संकेतको रूपमा देख्न सकिन्छ।
नेपाल सरकारले केही महिना अगाडि टाइफाइड विरूद्धको खोप प्रयोगमा ल्याएसँगै आगामी दिनमा टाइफाइडको प्रभाव झन् कम हुनसक्ने अनुमान गर्न सकिन्छ।
स्क्रब टाइफसले नेपालमा पहिलो पटक सन् २०१५ मा केही बालबालिकामा कडा रूप लिँदा सबैको ध्यान तानेकोथियो। यद्यपि यो संक्रमण सन् २०१५ अगाडि नै नेपालमा देखिँदै आइरहेको अनुसन्धानले देखाउँछ।
स्क्रब टाइफस 'ओरिन्सिया सुसुगामासी' नामक ब्याक्टेरियाको कारणले हुने गर्छ। यो ब्याक्टेरियालाई मुसाबाट मानिसमा 'चिगर माइट' किर्नोले सार्ने गर्दछ।
'चिगर माइट' किर्नोले टोकेको ५ देखि २० दिनभित्र सम्ममा स्क्रब टाइफसका लक्षणहरू देखापर्ने गर्छ। उच्च ज्वरो, असाध्य टाउको दुख्नु, आँखाको सेतो भाग रातो देखिनु, कानमा कृत्रिम आवाज सुन्निनु, सास फेर्दा असहज महसुस गर्नु, शरीरमा बिबिरा देखिनु ,लिम्फग्रन्थी सुन्निनु, पसिना आउने र सबैभन्दा महत्वपूर्ण संकेत 'चिगर माइट' किर्नोले टोकेर बनेको सानो घाउ वा पाप्रो देखिनु जस्ता स्वास्थ्य समस्याहरू स्क्रब टाइफसमा देखिने गर्छ।
'चिगर माइट' किर्नोले टोकेर बनेको सानो घाउ वा पाप्रोलाई 'इस्कार' भन्ने गरिन्छ।
'इस्कार' विशेषत काखीमुनि, छाती, पछाडि ढाड र गुप्ताङ्गमा बढी हुने भएकोले कतिपयलाई याद समेत नहुन सक्छ।
स्क्रब टाइफस विशेषत असार महिनादेखि तीव्र गतिमा फैलँदै भदौसम्ममा उच्चतम विन्दुमा पुग्ने गरेको अस्पताल तथ्यांकहरूले देखाउँछ। तसर्थ, आगामी महिनामा यो संक्रमण नेपालमा तीव्र रूपमा फैलिँदै जाने अनुमान गरिएको छ।
स्क्रब टाइफस विगतमा पहिचान नगरिने/नहुने हुँदा मृत्युदर ३० प्रतिशतसम्म पुग्ने गरेको देखिन्छ।
नेपालमा पनि यसको पहिचान नियमित परीक्षण अन्तर्गत गरिँदैन्थ्यो तर माथि उल्लेख गरेझैं ज्वरो आयो कि टाइफाइड भन्ने चलनले सुरूमा नै टाइफाइडको एन्टिबायोटिक चलाउने हुँदा र त्यो एन्टिबायोटिक स्क्रब टाइफसविरूद्ध समेत प्रभावकारी हुने हुँदा उच्च मृत्युदर नदेखिएको हुन सक्छ।
जब पछिल्लो समय टाइफाइडविरूद्ध फरक एन्टिबायोटिकको प्रयोग हुन थाल्यो, त्यसले स्क्रब टाइफसविरूद्ध प्रभावकारी काम गर्न सकेन। जसले गर्दा स्क्रब टाइफस सतहमा नै देखिन सुरू भएको देखिन्छ।
फलस्वरूप, सन् २०१५ मा स्क्रब टाइफसविरूद्ध प्रयोगमा आइरहेका एन्टिबायोटिकले प्रभावकारी रूपमा काम नगर्दा केही बालबालिकाहरूमा संक्रमण कडा रूपमा देखिएको थियो। निमोनिया यसको प्रमुख जटिलता हो तर शरीरका अरू अंगहरूमा पनि यस्ता जटिलताहरू देखिन सक्छ।
स्क्रब टाइफसविरूद्ध 'डक्सिसाइक्लिन' नामक एन्टिबायोटिक एकदम प्रभावकारी मानिन्छ।
बिरामीमा यसको प्रयोग गरेको ४८ देखि ७२ घण्टा सम्ममा ज्वरो घट्न सुरू हुन्छ तर पूर्ण निको हुनको लागि चिकित्सकले भने बमोजिम पूर्ण डोज लिनु पर्छ।
गर्भवती महिलामा भने एजिथ्रोमाइसिन नामक औषधी प्रयोग गर्न सकिन्छ।
स्क्रब टाइफसविरूद्ध खोप भने छैन। तसर्थ, संक्रमणबाट बच्न विभिन्न उपाय अवलम्बन गर्न सकिने छ। मुसामा हुने 'चिगर माइट' किर्नोले संक्रमण फैलाउने भएकोले मुसा आकर्षित नहोस् भन्नका लागि घर वरिपरि सरसफाइमा ध्यान दिनुपर्छ।
त्यस्तै, किर्नोले नटोकोस् भन्नाका लागि पूर्ण शरीर छोप्ने लुगा लगाउनु पर्छ भने घाँस भएको भुइँमा बस्दा कपडा ओछ्याएर मात्र बस्नु पर्छ।
कृषक, वरिपरि अग्लो घाँस भएका घरमा बस्ने, र ट्रेकिङमा जाने यात्रुहरूलाई स्क्रब टाइफसको जोखिम बढी हुने गर्छ।
स्क्रब टाइफस बर्सेनि बढ्दो क्रममा देखिँदै आइरहेको देखिन्छ। तर विगतमा जस्तो टाइफाइड व्यापक निदान हुने गरेको भने देखिँदैन।
स्क्रब टाइफस छिटो/द्रुत पहिचान गरी औषधी उपचार गर्न सके पूर्णरूपमा निको हुन्छ।
यसका संक्रमितहरू सबै ठाउँमा देखिने गरेको भएता पनि विशेषत गाउँमा बस्नेहरू बढी प्रभावित भएको पाइन्छ। तर त्यहाँ प्रयोगशाला परीक्षण गर्ने सुविधा नहुनाले लक्षणको आधारमा शंका गर्नुपर्ने हुन्छ। यदि असारदेखि असोजभित्रमा उच्च ज्वरोको साथसाथै शरीरमा 'इस्कार' (घाउ वा पाप्रो) देखिए स्क्रब टाइफस हुनसक्ने सम्भावना प्रबल हुन्छ।
के तपाईंलाई पनि उच्च ज्वरो, शरीरमा 'इस्कार' (घाउ वा पाप्रो देखिएको) र सास फेर्नमा असहज महसुस भएको छ? त्यो स्क्रब टाइफसको संक्रमण पनि हुन सक्छ है!
(लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)