दार्जिलिङ, भारत:
समुद्र सतहदेखि दुई हजार मिटरमाथिका पहाड, भीर-पखेरा र समस्थलीमा गुजुमुज्ज फैलिएको बाक्लो बस्ती। बस्तीको शिर नजिकैको आँगनमा फराकिलो चोक र चौबाटो जसलाई स्थानीयबासी चौरस्ता भन्ने गर्छन्। चोकमा साँझपख स्थानीयबासीसँगै यात्रीको ठेलमठेल भीड।
चोकमाथि सहरबासीले पुज्ने देवी-देवताका मन्दिर। मन्दिरदेखि तल उभिएको भव्य सरकारी भवनको टुप्पोमा डल्लै पृथ्वी र त्यसमाथि खुकुरी सोझ्याएर उभिएको फुर्तिलो सैनिक। चोकमाथिको मन्दिर क्षेत्रको पृष्ठभूमिमा सेतै हिमश्रृंखला। हिमालय अघिल्तिरका पहाडका गरा-गरामा लेकदेखि बेँसीसम्मै हरिया चियाबारी।
चौरस्तादेखि तलका भीरमा आँखाले देखेसम्म अग्ला-अग्ला ढलान घरै-घर। पहाडी घुमाउरा सडकमा मानव भीड छिचोलेर गुड्ने ठाउँ खोजिरहेका जिप तथा कारका ताँती। सँगै वाष्प र डिजेल इन्जिनयुक्त प्राचीन रेलगाडी जुन युनेस्को विश्व सम्पदामा समेत अंकित छन्।
दार्जिलिङको बखान गर्न यी शब्द कहिल्यै पर्याप्त हुन सक्दैनन्।
नेपाली जन-जिब्रो र मन-मस्तिष्कमा छाएका कलाकार, गीतकारदेखि साहित्यकारसम्म जन्माएको दार्जिलिङ सन् १८१४-१८१६ सम्म भएको ब्रिटेन-नेपाल युद्धका बेला छोटो समयका लागि नेपालकै भूभाग थियो। तर ४ मार्च सन् १८१६ को सुगौली सन्धिपछि जब नेपाल महाकाली र मेचीबीचमा संकुचित हुन पुग्यो, पश्चिम दक्षिण र पूर्वको ठूलो भूभागसँगै दार्जिलिङ पनि भारतमा समेटियो।
सन् १८५८ देखि भारतमाथि प्रत्यक्ष ब्रिटिस राज थालेका ब्रिटिस शासकले कोलकातालाई आफ्नो मुकाम बनाउन थाल्नुअघिदेखि नै दार्जिलिङका पहाडमा आँखा लगाउन थालिसकेका दृष्टान्त पढ्न पाइन्छन्। दार्जिलिङका शीतल पहाडमा चिया खेतीसँगै आफ्नो गर्मी छल्ने मुकाम बनाएका ब्रिटिस शासकले सन् १८८१ मा रेलमार्ग बनाइसकेका थिए। जुन आजसम्म पनि चल्दैछ वाष्प वा धुँवा उडाउँदै।
दार्जिलिङकै त्यही पुरानो रेल यात्राको बखान कैयौं नेपाली गीतमा गरिएको छ।
रेलजत्तिकै चर्चित छ यहाँको चिया। दार्जिलिङ र वरपरका पहाडमा ब्रिटिसले थालेको चियाखेती आज पनि जीवित छ। फलस्वरूप दार्जिलिङ क्षेत्रको चिया आज पनि विश्व प्रख्यात छ र उत्तरको हिमालयको चिसो हावामा हुर्किएको चियाको पत्तालाई आज पनि उच्चकोटीको मानिन्छ।
त्यो चियाखेतीको लहरासँगै सुवास अहिले छिमेकी नेपाल भित्र-भित्रसम्म विस्तार भइसकेको छ। कैयौं भारतीय र नेपाली चलचित्रमा कैद भइसकेको दार्जिलिङले आजसम्म पनि विश्वभरिका पर्यटकहरू आफूतर्फ आकर्षित गरी नै रहेको छ।
दार्जिलिङमा क्रिसमस र नयाँ वर्ष
अहिले चिसो बढेको छ। तर दार्जिलिङले देश-देशावरमा आगन्तुक आफूतिर तान्ने क्रम यो हिउँदमा पनि जारी छ। गत साता यो लेखक काकरभिट्टाबाट मेची तरेर सिलगढी पुग्दा त्यहाँबाट दार्जिलिङ जाने जिप सिन्डिकेटमा नेपाली र भारतीय यात्रीको भीड बाक्लिँदै थियो। गितारधारी दुई युवा असममा सांगीतिक कार्यक्रम सकेर घर फिर्दै थिए।
जिपमा हामीसँगै बसेकी एक मिलनसार भारतीय युवती अंग्रेजीमा भन्दै थिइन्, 'म दिल्लीमा काम गर्छु, मेरो घर पनि असम हो। अहिले म क्रिसमस र नयाँ वर्षको बिदा मनाउन दार्जिलिङ जाँदै छु।'
हामी चढेको जिपका चालक निरज सलिम पनि दार्जिलिङकै रहेछन्, नेपालीभाषी। जिप सालबाडीतर्फ अघि बढाउने क्रममा भन्दै थिए, 'गोटाको २५० तिरेपछि दार्जिलिङ डेढ घन्टाको कुरा हो दाजु।'
तर नौ जना अट्ने जिपमा उनले आफूसहित ११ जना खाँदिछाडे।
कोचिएर यात्रा गर्नु परे पनि सालबाडीका हरिया चियाबारी, खर्स्याङको उकालो, पारि पश्चिमपट्टि देखिएको नेपाली भूभाग र बतासे नजिकै दार्जिलिङ पुग्ने घुमाउरो रेलमार्गसँगै लगभग समानान्तर बनाइएको सडकले यात्रालाई रोमाञ्चकारी बनाइदियो।
यो मेरो पहिलो दार्जिलिङ यात्रा होइन। यसअघि पनि म कम्तीमा तीनचोटि यो प्रसिद्ध क्षेत्रको भ्रमणमा गइसकेको छु।
यात्रा झापा-इलामको भए पनि भद्रपुर जाने हावाजहाज चढ्न काठमाडौं विमानस्थलभित्र प्रवेश गरेपछि बसमा भेटिएकी अपरिचिति दिदी दिव्या लामासँगको जम्काभेटले हामीलाई मेची तरेर एकचोटि दार्जिलिङ पुगिहाल्न उक्साउने काम गरिदियो सायद।
जापानबाट बिदा लिएर नेपाल घर आएकी दिव्या लामा दिदी दार्जिलिङ माइती जान लागेकी रहिछन्।
विमान नजिकैसम्म यात्रु ओसार्ने बसमा हामीसँग बसेकी उनी भन्दै थिइन्, 'दार्जिलिङ जानु हुने हो? हाम्रो घरमा हुटेल खुलेको छ, लिजमा देको छ, त्यहीँ बस्नु होला नि। त्यहाँदेखि हिमालको भ्यू पनि राम्रो देखिन्छ। मेरो फोन नम्बर लिइराख्नु नि।'
'फर्किएर फेरि सिड्नी अस्ट्रेलिया जान्छु,' छेवैमा बसेका सुनसरी घर भई कोलकातामा कार्यरत एक पाका दाजुसँगै भद्रपुर-काकारभिट्टा जाने ट्याक्सी चढ्ने योजना बनाइसकेकी दिदीले भनिन्।
उनको माइतीले लिजमा देको हुटेलको नम्बर लिएको भए पनि दार्जिलिङ बजार पुगेपछि म चौरस्तानजिकै कुनै होटल खोज्ने धुनमा बाटो काट्न खोजेँ, पारिबाट सुरू हुने उकालो लाग्न। तर दार्जिलिङको सडकमा मानिसलाई ज्यान जोगाउने कठिन हुने भिड। साँघुरो सडकमा सधैं स्थानीयसँगै देश-देशावरका यात्रुको घुँइचो। जिप र कारको दुईतर्फ लाम, भित्तापट्टि बेला-बेला रेल पनि कुदिदिने।
'हामीलाई पनि नेपालको माया लाग्छ,' निकै ओहोरदोहोरपछि चौरस्ताको पश्चिमी किनारमा भेटिएको भव्य बेलभ्यू होटलको रिसेप्सनमा भेटिएका स्थानीयबासी पवन राई भन्दै थिए।
'मेरो आमा शेर्पा हुन् तर बाबा राई। उहाँको पुर्खौली घर कतै पूर्वी पहाडमा छ रे। जानु मन छ मलाई कुनै दिन।'
बाहिर चौरस्तामा यात्रीहरूको भीड त्यसै टहलिन, घोडा चढ्न वा यत्रतत्र विभिन्न भावभंगीमा मोबाइलमा फोटो लिन व्यस्त थियो। अर्को कुनामा आदिकवि भानुभक्त आचार्यको सुनौलो सालिक साँझ बालिएका एलइडी बत्तीको प्रकाशमा झनै चम्किएको थियो।
नजिकै गएर सालिकलाई सम्मानपूर्वक हेरेँ। मुनिपट्टि लेखिएको थियो, 'नेपाली जातीय कवि, रामायणका रचयिता भानुभक्त आचार्यI जन्म सम्वत् १८७१, मृत्यु सम्वत् १९२५। नेपाली साहित्य सम्मेलन दार्जिलिङद्वारा स्थापित सम्वत् २००६। पुनर्प्रतिष्ठापित सम्वत् २९ असार २०५३।'
भानुभक्तको सालिक उभिएको चौरस्ता र माथिपट्टि रहेको महाकाल डाँडा मलाई दार्जिलिङमा सबैभन्दा रमाइलो लाग्ने ठाउँ। म यहाँ पछिल्लोपटक सन् २०१२ नोभेम्बरमा आउँदा दसैं-तिहारको रमझम सकिइसकेको थिएन। स्थानीय साहित्यकार तथा गायकहरू चौरस्तामा कुनै सांस्कृतिक कार्यक्रममा व्यस्त थिए। जहाँ चर्को स्वरमा अनेकानेक नेपाली गीतहरू गुञ्जिइरहेका थिए।
सन् २०२२ को पूर्व सन्ध्यामा अहिले चौरस्ता अलिक फेरिएछ। भानुभक्तको सालिकपछाडि नयाँ पर्यटकीय आकर्षण थपिएछन्। पछाडिपट्टि एउटा अग्लो पोलमा ठूलो मनिटर राखिएको रहेछ जहाँ दार्जिलिङ क्षेत्रमै छायांकन गरिएका पुराना हिन्दी चलचित्रका गानासँगै नेपाली गीत बजिरहेका थिए। ती हेर्दै खासगरी पश्चिमबंगाल वा पूर्वोत्तर भारत वा नेपालबाट दार्जिलिङ आएका यात्रीहरू खुब रमाइरहेका देखिन्थे।
अद्भूत आध्यात्मिक, साँस्कृतिक केन्द्र
चौरस्तादेखि थोरैअगाडि ब्रिटिस राजका बेला खोलिएका पुराना स्कुल, कलेज अहिले फेरिएकै रूपमा भए पनि जीवित छन्। महँगा होटल, रिसोर्ट हेर्दै चौरस्ताबाट चक्रीय मार्ग घुम्दै महाकाल डाँडाको कोरा वा फेरो लगाउन पनि सकिन्छ। मलाई त्यसो गर्न औधी रमाइलो लाग्छ।
फेरो लगाउँदै जाँदा गोर्खाल्यान्ड टेरिटोरिएल एड्मिनिस्ट्रेसन (जिटिए) को भव्य भवन आँखासामु आइपुग्छ। पश्चिम बंगाल प्रान्तीय सरकारअन्तर्गत रहेको यो प्रशासनिक केन्द्रलाई दार्जिलिङबासी आफ्नो नबनिसकेको राज्यको 'राजभवन' बराबर मान्छन्।
अघि बढेर लामो फेरो केही छोट्याउँदै महाकाल डाँडाको उकालो लाग्दा त्यही जिटिए भवनमाथि अंकित पृथ्वीको सानो स्वरूपमाथि टोप लगाएको एक गोर्खा सैनिक हातमा खुकुरी बोकेर उभिएको प्रस्ट देखिन्छ निकै गौरवसाथ, आफ्नो गोर्खाली शान-शौकत प्रदर्शन गर्दै।
अझै माथि चढ्ने क्रममा रोकिएर, पछाडि फर्किएर उत्तर क्षितिज हेर्न भुल्नु हुँदैन। आकाश खुलेका बेला त्यहाँबाट कञ्चनजंघा हिमाल प्रस्ट देखिन्छ। कञ्चनजंघाको थुप्रोको पश्चिमपट्टि कुम्भकर्ण हिमाल पनि।
अझ बजारदेखि दक्षिणतिर पर्ने घुम भन्ने स्थानबाट उकालो यात्रा गरेपछि पुगिने टाइगर हिल उक्लने हो भने त कञ्चनजंघा पश्चिमका 'थ्रि सिस्टर्स' भनिने तीन चुचुरा र अझै पश्चिमतिर मकालु र सगरमाथाको चुचुरो पहाड पछाडिबाट चियाइरहेको देख्न सकिने रहेछ। जुन कुरा मैले चौरस्ताको एक रेस्टुराँको भित्तामा राखिएको पोस्टर हेरेर चाल पाएँ।
कञ्चनजंघाको दर्शनपछि अब महाकाल थानको पालो। पछाडिको बाटो सिँढी उक्लिएर हरियो वनले छोपिएको पहाडको टुप्पामा पुगेपछि महाकाल मन्दिर देखा पर्छ, जहाँ देखिने दृश्यावलीले जोकोहीलाई चकित तुल्याइदिन्छ। महाकाल क्षेत्र बौद्ध धर्मावलम्बीले अति शुभ मान्ने लुङ्ताका रंगीबिरंगी ध्वजाले छोपिएको छ, सुसज्जित छ।
मन्दिरको अगाडि द्वारमा लस्करै नेपाली, हिन्दी र बंगालीभाषी पण्डित र जोगीबीच दक्षिणाको आसमा तपाईंलाई बसाउन र शुभ मन्त्रोचरणसहित तपाईंको नाडी वरिपरि डोरो बाँध्न प्रतिस्पर्धा नै चल्छ।
केही माथि पुगेपछि देखिने दृश्य तपाईंको हृदय नै हर्षित तुल्याइदिने खालको हुन्छ। काली मन्दिरभित्र एउटा डेस्कमा बौद्ध भिक्षु तिब्बती भाषामा लेखिएको पवित्र ग्रन्थ वाचन गरिरहेका हुन्छन्। अझै भित्र महाकाल मन्दिरभित्र गाडिएका त्रिशूलको दुवैपट्टि हिन्दु पुजारीसँगै बौद्ध भिक्षुहरू बसिरहेका हुन्छन् जसले सबै दर्शनार्थीलाई आशीर्वाद दिन कन्जुस्याइँ गर्दैनन्।
तिब्बती शब्द दोर्जी+लिङ मिलेर बनेको दार्जिलिङ सहरले तपाईंलाई यसै-यसैगरी छक्क पार्दै स्वागत गरिदिन्छ। तिब्बती भाषामा दोर्जीको अर्थ हुन्छ- मेघ, लिङको अर्थ हुन्छ भूमि। दार्जिलिङको नाम यिनै दुई शब्द मिलेर बनेको विश्वास गरिन्छ।
महाकाल मन्दिर वरपर पण्डित र लामाहरू मात्रै रम्दैनन्। मुख्य मन्दिरको परिक्रमा गर्ने क्रममा तपाईं हामीले लिम्बू र राई र अन्य नेपाली जनजातिका परम्परागत मन्दिर पनि देख्न सक्छौं।
आफ्नो कैलाश मानसरोवर यात्रा वृत्तान्त (काठमाडौं पोस्ट, २०१९ जुन ११) मा दार्जिलिङमा जन्मिएका भारतीय विद्वान महेन्द्र पी लामाले लेखेका छन्, 'रोममा भ्याटिकन…दिल्लीमा जामा मस्जिद, असममा कामाख्या, काठमाडौंमा पशुपतिनाथ…भएजस्तै दार्जिलिङमा महाकाल थान छ जहाँ पुग्दा पक्कै पनि शान्ति, स्थिरता, दिशानिर्देशको अनुभूतिसँगै विश्वव्यापी भाइचारा र तृप्तभाव प्राप्त हुन्छ।'
विभिन्न धर्मावलम्बीहरू मिलेर बसेको दार्जिलिङमा मन्दिर, गुम्बा, गिर्जाघर, मस्जिद र गुरुद्वाराको कमी छैन। बिहान सबेरैदेखि यात्रीको तँछाडमछाड हुने टाइगर हिलको टुप्पोमा मात्रै कहाँ हो र, दार्जिलिङका कुनाकुनामा आकर्षक मन्दिरहरू बन्ने क्रम जारी छ।
चौरस्तादेखि केही पश्चिमतिरको पाखामा केही वर्षअघि मात्रै पोखरा फेवातालपारि पहाडमाथि जस्तै विश्व शान्ति स्तुप (चैत्य) बनेको छ। एक जापानी संस्थाको अगुवाइमा अहिले धेरै देशमा यस्ता मन्दिर बनिसकेको बताइन्छ।
दार्जिलिङ काठमाडौंभन्दा केही अग्लो उचाइमा, २,००० चानचुन मिटरमा बसेको छ जुन यताको हाम्रो नगरकोटभन्दा थोरै मात्र तल हो। प्रख्यात बंगाली साहित्यकार रवीन्द्रनाथ टैगोर (ठाकुर) ले उहिल्यै अनुभव गरेजस्तै 'दार्जिलिङका दिनहरू चिसा हुन्छन् र सूर्यले प्रायःजसो बादलसँग लुकामारी खेलिरहन्छ।'
साँघुरा सडक र यो हिउँदको चिसो देखेर नआत्तिने हो भने दार्जिलिङमा हेर्ने ठाउँ धेरै छन्: तेन्जिङ नोर्गे शेर्पाको छुट्टै कक्ष रहेको हिमालयन माउन्टेनरिङ इन्स्टिच्युट, घुमाउरो उकालोमा बनाइएको रेलमार्ग हेर्ने बतासे लुप, रक गार्डेन, भुटिया बस्ती, सिंगलिला राष्ट्रिय निकुञ्ज, टिस्टा नदी, टिस्टा पारि लेकमा बसेको कालेबुङ सहर इत्यादी।
मिरिक नजिकैको सीमापारिको नेपाल र भुटिया बस्तीदेखि उत्तरतिरको सिक्किमले पनि देशी-विदेशी पर्यटक आकर्षित गरी नै रहेका छन्।
'चियाको पातमा उज्यालोको खोजी'
केही वर्षअघि सायद कान्तिपुर दैनिकमा पढेको थिएँ, दार्जिलिङका एक साहित्यकारको भनाइ- 'चियाको पातमा उज्यालो खोज्ने नेपालीको कथा नै दार्जिलिङ हो।'
सन् १८०० को सुरूतिर गोर्खाली फौजले दार्जिलिङ र सिक्किमलाई आफ्नो कब्जामा लिइसकेको बताइन्छ। तर पूर्वमा टिस्टा पुगेको नेपाली इतिहास सन् १८१६ को सुगौली सन्धिपछि बदलियो। त्यसपछि सिक्किममा रहेको दार्जिलिङमाथि सन् १८३५ देखि ब्रिटिसहरूको औपचारिक आधिपत्य सुरू भएको बताइन्छ।
लगत्तै चियाखेती सुरू भएपछि खासगरी पहाडी भेगबाट हुलका हुल नेपालीहरू कामको खोजीमा दार्जिलिङ आएर बसाइसराइ सुरू भएका दृष्टान्त पढ्न पाइन्छन्। सन् १९०० मा यहाँ पर्वतारोहणमा जाने 'गोरा साहेब' लाई सघाउने काम गर्न तेन्जिङ नोर्गेलगायत थुप्रै हिमाली शेर्पा पनि आउन थाले।
तिनै थरीथरी नेपालीका साखा सन्तान आज चौरस्ता वरिपरि हुँदै पूरै भारतभरि सलबलाइरहेका भेटिन्छन्। आज करिब २० लाख जनसंख्या रहेको दार्जिलिङमा नेपाली गोर्खालीहरूले दह्रो प्रभाव जमाएका छन्। भारतभरि छरिए पनि, कोहीकोही नेपाल फर्किए पनि, धेरै यतै रमाइरहेका छन्।
नेपाली पुर्खाकै रगत, भाषा, सँस्कृति र नेपालीपनको प्रभाव मान्नुपर्छ धेरै दार्जिलिङबासीले नेपाली संगीतदेखि साहित्य र चलचित्रसम्म बुलन्द उपस्थिति र छाप छोड्न सफल भइसकेका छन्। त्यसैले हुनुपर्छ दार्जिलिङलाई धेरै नेपालीले माया गर्ने गर्छन्। स्वभाविक मान्नुपर्छ पुर्ख्यौली देश नेपालका पुराना आदिकवि भानुभक्तको सालिकलाई सहरको छातीमा उभ्याएका दार्जिलिङबासीलाई नेपालीले आफ्नै ठान्ने गर्छन्।
'नेपालबाट बिहे गरेर आएकी सीता'
यसपटक पूर्वी नेपाल र दार्जिलिङ यात्राको क्रममा मैले इन्द्रबहादुर राईको प्रख्यात कृति 'आज रमिता छ' साथमा बोकेँ र यात्रामा फुर्सद भयो कि त्यही पढेँ। त्यसक्रममा मैले भारत स्वन्तन्त्र हुनुअघिको दार्जिलिङको परिवेश धेरथोर बुझ्न पाएँ। इन्द्रबहादुर राई बितेको पनि तीन वर्ष बितिसकेको छ, तर मैले दार्जिलिङमा उनले उभ्याएका जस्ता पात्र अझै पनि जीवित पाएँ।
जस्तो कि: जनक योञ्जन र उनकी नेपाल माइती भएकी श्रीमती सीता। मैले देखेँ, भेटेँ र थाहा पाएँ- अहिलेसम्म पनि थुप्रै जनकहरूको नेपाल नाता र त्यसकारण हुने स्वभाविक आउजाउ कायमै छ। अझै पनि नेपाली सीताहरू बिहे गरेर दार्जिलिङ पुगिरहेकै छन्।
मेरै आफन्त पर्ने सुबिना बहिनीको कुरा गरौं। उनको माइती काभ्रे-पनौती हो। तर दुई वर्षअघि भएको बिहेपछि दार्जिलिङ उनको कर्म घर भएको छ। यहाँका धिरज उनका खसम। सानो बाबु जन्मिसकेको छ जो नेपालबाट आएका मामाहरूले बोक्दा मजाले हाँस्छन्। दूधे दाँता देखाएर।
ती बालकले भविष्यमा गर्वसाथ भन्न पाउनुपर्छ- 'मेरो मामाघर नेपाल हो।'
भविष्यको दार्जिलिङ
'अंगुरको जस्तै सुवास छर्ने' भनी प्रचारित दार्जिलिङको चिया विश्व प्रसिद्ध होला, तर सायद त्यसभन्दा पनि मीठो दार्जिलिङको विशेषता भनेको अलि फरक स्वादको, अलि फरक प्रकृतिको नेपालीपन नै हो। त्यसको अर्थ अलिक फरक शैलीको नेपाली भाषा/साहित्य र नेपालको जातीय विविधता समेटिएको अद्वितीय नेपाली कला र सँस्कृति नै हो।
दार्जिलिङ नेपालदेखि टाढा छैन। पहिले अंग्रेजको अहिले बंगालीको गर्मी छल्ने थलो बनेको दार्जिलिङ झापाको काकरभिट्टाबाट ८५ किलोमिटर र इलामको पशुपतिनगरबाट ३३ किलोमिटर मात्र पर छ।
अर्को शब्दमा भन्ने हो भने दार्जिलिङ, कालेबुङ र पारिको सिक्किम क्षेत्र घुमेर तिनलाई जोडेर हेर्दा लाग्छ त्यो क्षेत्र अर्कै, सिंगै, डल्लै नेपाल हो, तर पश्चिम बंगाल वा पूर्वोत्तर भारतको नेपाल। त्यसैले होला थुप्रै दार्जिलिङबासी स्वायत्त र शक्तिशाली गोर्खाल्यान्ड नामक छुट्टै राज्य प्राप्तीका लागि वर्षौंदेखि भारत सरकारसामु आन्दोलनरत छन्।
सन् २०१७ मा भएको गोर्खाल्यान्ड आन्दोलनमा कम्तीमा ११ गोर्खालीको ज्यान गयो। ताजा खबरअनुसार गोर्खा जनमुक्ति मोर्चाका पूर्व नेता विनय तामाङ लगायतका अगुवा हिजोआज त्रिनामूल कंग्रेस नेता ममता बानर्जीसँग मिलिसकेका छन्।
सुनिँदै छ, गोर्खाल्यान्ड आन्दोलनका केही माग पूरा भएका छन्। तर थुप्रै माग पूरा हुन बाँकी नै छ। यहाँका एक विश्लेषक भन्छन्, 'गोर्खाल्यान्ड मुद्दा सुषुप्त अवस्थामा, निद्रामा होला, तर निभेको छैन। जुन भविष्यमा फेरि कुनै पनि बेला रन्किन र दन्किन सक्छ।'
नेपाली एकताको सन्देश
अनेकानेक थर वा जातीय उपसमूहमा विभक्त देखिएर के भयो, नेपाली भनेपछि दार्जिलिङमा एकै जाति। चौरस्तामा उभिएको भानुभक्तको सालिकले दार्जिलिङ र अन्यत्र भारतका नेपाली गोर्खालीलाई एकढिक्का राख्न प्रेरित गरेको पाइन्छ।
त्यसैले भारतभरि जहाँ पुगे पनि दार्जिलिङबासी र छरछिमेकका सिक्किम, असम वा परको उत्तराखण्ड वा हिमाञ्चलमा छरिएका नेपाली आफूलाई नेपाली वा गोर्खाली जातिका रूपमा चिनाउन सक्षम छन्।
भारतीय नागरिक बनिसकेका गोर्खालीको नेपाली जातीय एकताकै बलले मान्नुपर्छ, नेपाली भाषाले सन् १९९२ मा भारतमा संवैधानिक मान्यता हासिल गरिछाड्यो।
सन् २००५ मा दिल्लीमा एउटा गोर्खाली कार्यक्रमस्थलको भित्तामा मैले पढेको यी हरफ मेरो मस्तिष्कमा अझै ताजा छ—
'जोडिएर ठडिए उत्तम।
टुक्रिएर विलाए खत्तम।।
-भारतीय गोर्खा परिसंघ'
दार्जिलिङबाट सायद नेपालका थरीथरी नेपालीले सिक्नुपर्ने सबभन्दा ठूलो मन्त्र यही हो।
ट्विटरः @surendraphuyal
(सुरेन्द्र फुयालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)