कोरोनाले सन् २०२० मा संसारभरका लाखौं मानिसलाई मृत्युको मुखमा पुर्यायो। हालसम्म पनि यो भाइरसले स्वरूप परिवर्तन गर्दै संक्रमण गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ।
संक्रमणको निरन्तरतामा 'ब्रेक' लगाउन संसारभरी विभिन्न उपायहरू अपनाइएका थिए, छन्।
यी उपायमध्ये जनस्वास्थ्यका मापदण्डहरू- मास्क लगाउने, शारीरिक दुरी कायम गर्ने तथा हात धुने सबभन्दा बढी चर्चित रहे। तर विश्वमा धेरैले यो मापदण्ड व्यवहारमा लागू गर्न भने सकेनन्।
अर्को विकल्प भनेको कोभिड-१९ विरुद्धको खोप नै थियो।
मैले पनि खोपलाई कोरोना महामारी नियन्त्रणमा निर्विकल्प उपाय हुनसक्ने भन्दै आइरहेको थिएँ। संसारभरका वैज्ञानिकदेखि अध्येताहरूसम्म यसमा एक मत देखिन्छन्।
इतिहासमै पहिलोपटक कोरोना खोपको विकास सबभन्दा छोटो अवधिमा भएको थियो। सुरूमा कोभिड खोप प्रति धेरैले टिका-टिप्पणी र प्रभावकारिता प्रति शंका-उपशंका पनि गरे। रोग नयाँ, खोप द्रुत गतिमा विकास हुनु वा छिटो उपलब्ध हुनु, क्लिनिकल परीक्षण पनि भर्खर मात्र सकिनु र सामाजिक सञ्जालहरूमा व्यक्त भएका नकारात्मक टिप्पणीले गर्दा यस्तो सोच जोकोहीमा आउनु स्वाभाविक थियो।
मैले यसबीच नेपाली समुदायमा खोपको महत्व र अनुसन्धानबाट निस्किएको नतिजामा विश्वास गराउन र बुझाउन भरमग्दुर प्रयास गरेँ। अरू धेरैले पनि गर्नुभयो। हाल खोप प्रति धेरैको विश्वास ह्वात्तै बढेको देखिन्छ। खोपको माग बढ्नुले पनि यो कुरा प्रमाणित गर्छ।
यी खोप १६ वा १८ वर्ष माथिकालाई (खोप अनुसार) मात्र प्रयोग गर्न सकिने थियो। अर्थात् योभन्दा कम उमेरकालाई खोप लगाउन सुझाइएको थिएन। किनभने बालबालिकाका लागि खोपको क्लिनिकल परीक्षण हुन बाँकी नै थियो।
कोरोनाले निरन्तर उतार-चढावको अवस्था सिर्जना गर्दैगर्दा आगामी दिनमा खोप नलगाउनेहरू यसको प्रभावमा पर्नसक्ने सम्भावना बढेर गएको छ। अर्थात् बालबालिकाले कोरोनाको अर्को लहर आउनुअगाडि खोप लगाउने अवस्था नभएमा उनीहरू जोखिममा पर्न सक्ने देखिन्छ।
यद्यपि आजको मितिसम्म वयस्क वा जेष्ठ नागरिक वा दीर्घरोगीहरूभन्दा बालबालिकामा तुलनात्मक रूपमा कम नै मानवीय क्षति भएको देखिन्छ। तर पहिलोभन्दा दोश्रो लहरमा बालबालिका कोरोनाबाट बढी प्रभावित भए। त्यसैले अर्को लहर देखिए थप बालबालिका प्रभावित/जोखिम हुनसक्ने सम्भावना नकार्न सकिँदैन। त्यसमा पनि विद्यालय-कलेज खोल्ने निर्णयसँगै बालबालिकामा खोपको आवश्यकता र चर्चा ह्वात्तै चुलिएको छ।
हालै अमेरिकामा फाइजर/बायोएनटेकको खोप १२ वर्ष माथिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ। नेपालले पनि यसको प्रयोग १२ वर्ष माथिका बालबालिकामा गर्ने भनिसकेको छ।
फाइजर/बायोएनटेकको खोप पहिलोपटक सन् २०२०, डिसेम्बरमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको थियो। त्यो बेला १६ वर्ष माथिकालाई मात्र अनुमति थियो। त्यस्तै सन् २०२१, मेमा अमेरिकी संस्था एफडिएले १२ देखि १५ वर्षकालाई आपतकालीन प्रयोगको अनुमति दियो। सन् २०२१, अगस्टमा अमेरिकामा यो खोपलाई १६ वर्ष माथिकालाई प्रयोग गर्न सक्ने पूर्ण अनुमति दिइयो। यो नै अमेरिकामा पूर्ण स्वीकृति प्राप्त गरेको पहिलो कोरोना खोप थियो।
नेपालमा यो खोप १२ वर्ष माथिकालाई दिने तयारी हुँदै गर्दा अभिभावकहरूमा यस प्रति विशेष चासो बढ्दै गइरहेको छ। अनुसन्धानमा १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिँदा शतप्रतिशत कोभिड-१९ बाट रक्षा गरेको नतिजा देखाएको थियो।
खोप लगाएपछि हुन सक्ने 'साइड इफेक्ट' का बारेमा पनि धेरैको चासो रहेको पाइन्छ। खोप लगाएपछि आफ्नो स्वास्थ्य प्रति चासो हुनु/राख्नु स्वाभाविक पनि हो।
अनुसन्धानबाट देखिएका साइड इफेक्ट सामान्य खालका थिए। खोप लगाएको ठाउँमा दुख्नु, थकान महसुस गर्नु, टाउको दुख्नु, जाडो लाग्नु/काम्नु, मांशपेशीका दुख्नु, ज्वरो आउनु, जोर्नी दुख्नुजस्ता समस्या बढी देखिएका थिए।
यसमध्ये एउटा मुटु सम्बन्धी अति दुर्लभ समस्या पनि अनुसन्धानमा देखिएको थियो। खासगरी दोश्रो डोज लगाएपछि देखिएको यो समस्यामा मुटुका मांशपेशी वा बाहिरी तह सुन्निएको थियो। अनुसन्धानमा यस्ता समस्या गम्भीर नभएका र उपचारपछि पूर्णरूपमा निको भएको थियो। खोप लगाएपछि छाती दुख्ने, सास फेर्न गाह्रो हुने, छिटो छिटो मुटु चल्ने आदी समस्या देखिए तुरून्त अस्पताल गई मुटुसँग सम्बन्धित जाँच गराइहाल्नु पर्छ।
फाइजर खोपको दुई डोज तीन हप्ताको अन्तरालमा दिइन्छ। यसलाई भण्डारमा राख्न 'अल्ट्रा' चिस्यान फ्रिजर चाहिन्छ। नेपाल सरकारले बालबालिकालाई दसैंलगत्तै फाइजर वा मोडर्ना खोपका लागि अल्ट्रा चिस्यान फ्रिजर व्यवस्थापन गर्दैछ भन्ने जानकारी बाहिर आइरहेको छ। यस्तो व्यवस्थापनको खाँचो लामो समयसम्म आवश्यक पर्न सक्नेछ।
फाइजर अबको केही सातामा पाँचदेखि ११ वर्षका बालबालिकामा पनि खोप प्रयोग गर्न पाऊँ भनी आपतकालीन स्वीकृतिका लागि एफडिएमा निवेदन दिने तरखरमा रहेको समाचारहरू आइरहेका छन्। अर्थात् यी उमेर समूहकालाई पनि फाइजर खोप दिने नेपालले निर्णय गरे अल्ट्रा चिस्यान फ्रिजरको निरन्तर आवश्यकता पर्नेछ।
हुन त हाल नेपालमा प्रयोग भइरहेको चिनियाँ खोप (शिनोफार्म, भेरोसेल) पनि तीन वर्ष माथिका बालबालिकामा दिन सुरू गरेको भनिएको छ। यो खोपका लागि अल्ट्रा चिस्यान फ्रिजर आवश्यक पर्छ भन्ने छैन। तर आवश्यकता र रोजाइमा कुन खोप पर्छ वा उपलब्ध हुन्छ भन्ने निश्चित नभएकाले तयारी गर्दा र रहँदा नै बुद्धिमानी हुनेछ।
आजको मितिसम्म वयस्क, जेष्ठ नागरिक वा दीर्घरोग भएकाभन्दा बालबालिकामा कोरोनाको मानवीय क्षति कम देखिए पनि पछि यस्तै अवस्था रहिरहन्छ भनेर यकिन गर्न सक्ने आधार छैन। भाइरसको स्वरूप परिवर्तन नियमित, स्वाभाविक भएको र यसले देखाउने अस्वाभाविक हर्कतले गर्दा आगामी दिनमा बालबालिका खोप लगाउनबाट बन्चित भए कोरोनाको जोखिममा पर्न सक्ने कुरा नजरअन्दाज गर्न सकिँदैन।
त्यसैले अर्को लहर आउनुअगाडि नै धेरैभन्दा धेरै बालबालिकालाई खोपको दायरामा समेट्न सके कोरोनाबाट देखिने भयावह अवस्था टार्न सकिनेछ। सरकारले पनि बालबालिकामा प्रयोग हुने खोपबारे तथ्य र जानकारी पर्याप्त मात्रामा सर्वसाधारणसम्म पुर्याउने पहल गर्नुपर्ने हुन्छ।
(डा. शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)