पहिला पहिला शक्तिमा हुनेहरूले आफ्नो पोट्रेट बनाउन लगाउने चलन थियो। दरबारका भित्तामा लहरै झुन्ड्याइएका त्यस्ता पोट्रेटहरूमा लामो पुस्ता बास बस्थ्यो। तिनले मरेर गइसकेपछि पनि नयाँ पुस्तालाई इतिहासको भार बोकाइरहन्थे।
ती पोट्रेटका आँखा तेजिला हुन्थे। हेर्नेका आँखा तिलमिलाउँथे। त्यस्तै होस् भनेर बनाइएका हुन्थे।
ती पोट्रेट देखेरै हुर्किएका नयाँ राजाहरू बिस्तारै अर्को पोट्रेट बन्ने सपना देख्थे। वर्तमानमा बाँचे पनि विगतसँग छुट्न सक्थेनन्। त्यसैले उनीहरू हाइब्रिड हुन्थे। न पोट्रेटका राजा जस्तो हुन सम्भव हुन्थ्यो, न वर्तमानका जनता जस्तो।
हाइब्रिड शासक बनेर ती लोकल जनतालाई शासन गर्थे। उनीहरूको प्रकृति मिल्दैन थियो। सोचाइ मिल्दैन थियो। हुन त त्यस बेला शासन गर्ने र शासित हुने बीचमा केही मिल्नु पर्थेन पनि।
कतिपय ठाउँमा त पोट्रेट एक्लैले पनि शासन गर्थे। एउटा सिंगो देश नै एउटा निर्जीव पोट्रेटले बोल्ने मौन भाषामा समाहित हुन्थ्यो। पोट्रेट बाहिरका मान्छेले पोट्रेटलाई सोध्ने प्रश्नहरू जानेका थिएनन्।
विस्तारै त्यसको हिसाब खोज्न थालियो। विस्तारै प्रश्न सोध्न थालियो। विस्तारै उपनिवेशहरू जाग्न थाले।
त्यसरी आएको युगले कठिन प्रश्न सोध्यो। आवाजले मात्र सोधेन, युद्धहरूले पनि सोधे। ती युद्धले धेरै योद्धा जन्मायो। धेरै नेता उभ्यायो।
तर ती नेतामध्ये कति जना फेरि पनि पोट्रेटकै दास भइरहे।
कतिपय पोट्रेटका दास नै त भएनन् तर पोट्रेट झैं विगतसँग छुट्टिन नसक्ने बने। उनीहरूले देशको भविष्य आफूभन्दा बढी अरू कसैको हातमा सुरक्षित हुनसक्छ भन्ने सम्भावना नै देख्न छोडे। उनीहरूले प्राकृतिक चक्र नै नमान्न थाले।
विस्टर्न चर्चिल त्यस्तै नेता थिए।
उनले दोस्रो विश्वयुद्धमा लिएका अडान र कूटनीतिक पहलहरूले युद्धको बिउ जर्मनीलाई हराउन ठूलो भूमिका खेल्यो। फलस्वरूप युद्ध सुरू गर्ने ठूलो शक्ति र तिनका सहयोगी हारे। तिनीहरू चाँडो हार्दा लाखौं मान्छेको ज्यान जोगिएको थियो।
कोही चाँडै हारिदिए धेरै थोक जोगिन्छ। त्यसरी बेलायतको हिरो बनेका चर्चिललाई यो कुरा राम्रोसँग थाहा थियो।
तर हिरो हुँदाहुँदै पनि उनी संन्यास लिने कुरा अस्वीकार गरिरहेका थिए।
उनलाई आफ्नो पोट्रेट बनाउन त रूचि थिएन। बरू चित्र बनाउन रूचि थियो। उनी पोखरीको डिलमा बसेर घन्टौं हराउँथे र खुब चित्र बनाउँथे।
तर ती चित्रले उनलाई मैसँग मात्र बस भनेर बोलाउन सकेनन्।
उनले शक्तिलाई छाडेर चित्र मात्र बनाउँछु भन्न सकेनन्।
त्यसैले कसैले उनको पोट्रेट बनाउनुपर्ने भयो।
मैले हेरेको 'द क्राउन' सिरिजको एउटा शृंखलामा उनी त्यसरी नै पोखरीको डिलमा बसेर चित्र बनाउँदै गर्दा सुरू हुन्छ। यो सन् १९५४ को कुरा हो।
बेलायतको संसद खुल्ने दिन र प्रधानमन्त्री चर्चिलको ८० औं जन्मदिन एकैदिन परेको छ। ती दुई अवसर एकैपल्ट मनाउने तयारी हुँदैछ। यो अवसरमा चर्चिललाई एउटा विशेष उपहार आउनेवाला छ।
संसदको तल्लो र माथिल्लो सदनका सांसद तथा पार्टीका सदस्यले उनको पूर्ण कदको पोट्रेट बनाइदिने योजना बनाएका छन्। ग्रेहम् सदलण्ड नाम गरेका एक आधुनिक चित्रकार त्यसैका लागि चर्चिल निवास पुगिसकेका छन्।
चर्चिल शक्तिको उत्तरार्द्धमा हुने हरेक राजनीतिज्ञ जस्तै गल्दै गएको बेला छ। उनलाई बसेको ठाउँबाट उठाउन सहयोग चाहिन्छ। लौरो टेक्दा हात काँप्छ। विगतमा गरेका प्रभावशाली कामको इतिहासमा उनको नाम चम्किलो भए पनि तथा उनको बोली उस्तै दमदार सुनिए पनि, उनी भित्रभित्रै कमजोर हुँदै गएका छन्। आफू कमजोर हुँदै गएको अरूलाई भन्दा धेरै आफैंलाई थाहा हुन्छ।
उनी आफैंलाई सुनिरहेका छैनन्।
उनको कार्यकालमा बेलायतले ठूलो आर्थिक संकट झेलिरहेको छ। उनलाई राजीनामा दिन दबाब आइरहेको छ। उनी मान्ने पक्षमा छैनन्।
उनी अरूलाई पनि सुनिरहेका छैनन्।
चर्चिल हरेक राजनीतिज्ञले जस्तै आफूभन्दा टाढा नदेख्ने हुँदै गएका छन्। आफ्नो उत्तराधिकारी कसैलाई देखेका छैनन्। उनी आफूलाई जवान नै भएको देखाउन हरसम्भव प्रयास गरिरहेका छन्।
उनको पोट्रेट बनाउन दिने योजना त्यसैले पनि सांकेतिक छ। ग्रेहम सदलण्डलाई वास्तविकता लुकाउने चित्रकार होइनन् भन्ने जानेरै छानिएको हो। उनीहरू चर्चिललाई उनले नदेखिरहेका कुरा देखाइदिन चाहन्छन्।
त्यसैले यो पोट्रेट केबल पोट्रेट हुँदै छैन।
चर्चिललाई आधुनिक चित्रकार मन पर्दैन। उनको पोट्रेट एक चर्चित आधुनिक चित्रकारले नै बनाउँदै छन्।
चित्रकार चर्चिललाई आफ्नो सामुन्ने राखेर तस्बिर लिँदै छन्। त्यो तस्बिर उनको चित्र बनाउने प्रक्रियाको सुरूआत हो। उनीहरू आमुन्ने-सामुन्ने बसेका छन्। एकअर्कालाई घोचपेच सुरू भएको छ।
चर्चिल आफूलाई चित्रकलाबारे थाहा भएको कुरा बुझाउन खोजिरहेका छन्। चित्रकार नसुनी आफ्नो काममा लागिरहेका छन्। चर्चिल आफू उभिँदा तगडा देखिन्छु भन्दैछन्। चित्रकार उनलाई कुर्सीमा बस्दा वास्तविक देखिन्छ भन्दैछन्।
लुकाउन खोज्ने र देखाउन खोज्नेको जम्काभेट एक कलाको सामुन्ने भइरहेको छ। कलाले कसलाई सुन्छ भन्ने कुरा चित्रकार रहिसकेका चर्चिललाई थाहा नहुने कुरै भएन। तर उनी नसुनेजस्तै गरिरहेका छन्।
उनीहरूको हरेक कुराकानी कसिलो बन्दैछ। चित्रकार चर्चिलको फरक फरक कोणबाट फोटो खिचिरहेका छन्। उनी चर्चिलले नचाहेका कोणबाट फोटो खिचिरहेका छन्।
चर्चिल चाहेको कोणबाट खिचियोस् भन्ने सोचिरहेका छन्। उनलाई चित्र कस्तो बन्छ भन्नेमा चासो छ। उनी त्यसले कति सत्य देखाउँछ भनेर सोध्दैछन्।
चित्रकार 'जस्तो देखिन्छ त्यस्तै बनाउँछु' भन्दैछन्।
चर्चिललाई त्यस्तो भएको हेर्न मन छैन। उनी भन्दैछन्, 'जनता बलियो देखिने शासकबाट शासित हुन चाहन्छन्।'
जनता के चाहन्छन् भन्ने कुरा चर्चिललाई थाहा नहुने कुरै भएन। उनी त्यसलाई पनि थाहा नपाएजस्तो गर्दैछन्।
बरु पोट्रेटमा जवान र बलियो देखिने तरिका सुनाउँदैछन्। चित्रकार उनलाई सुन्ने मुडमै छैनन्।
चित्रकार अर्कोपल्ट आउने गरी फर्किए। चर्चिललाई उनी मनपरेको छैन।
उनलाई आफूबाहेक अरू ठीक लाग्दैनन्। कमजोर स्वास्थ्य र बुढ्यौली आइसके पनि नयाँ पुस्तालाई सत्ता छोडिदिन त्यसैले तयार छैनन्। उनी सत्तामा उनी हुँदा देशलाई 'हेल्प' होइन, 'हार्म' भइरहेको छ। तर उनी त्यसलाई मान्न तयार छैनन्।
चर्चिल आफ्नो अवस्थालाई मान्न तयार छैनन्।
उनी तानाशाह भइसकेका होइनन्। उनले प्रधानमन्त्री पद चुनाव जितेरै पाएका हुन्। तर उनको प्रधानमन्त्री कालमा देश ओरालो लागिरहेको छ। उनी जनताले त्यसका लागि आफूलाई छानेका होइनन् भन्ने कुरा स्वीकार्न तयार छैनन्। देशले नयाँ अनुहार खोजिरहेको आवश्यकता महशुस गरेका छैनन्।
एउटा शासकले स्वीकार्न र विकल्प देख्न छाडेपछि तत्कालै त केही हुँदैन। तर त्यसले राज्यका संस्थाहरूमा विस्तारै असर गर्न थाल्छन्। उनीहरू आफ्नो पद जोखिममा देख्न थाल्छन् र त्यसलाई जोगाउन अनेक प्रयत्न गर्न थाल्छन्। त्यो प्रयत्न लामो समय त टिक्दैन तर त्यसले देशलाई अस्थिरतामा पुर्याएर छोड्छ।
चर्चिलले यो पनि नबुझे जस्तो गरिरहेका छन्। धेरैले देख्दा उनको नियत सफा नै लाग्छ। तर सफा नियतले गरिने जिद्दी पनि परिस्थितिअनुसार फरक पर्छ भन्ने उनले बुझेका छैनन्। वा बुझेर पनि नबुझे जस्तो गरिरहेका छन्।
चित्रकार भोलिपल्ट फेरि आएका छन्। उनी कालो चारकोलले चर्चिलको पोट्रेटका लागि स्केच गर्न थालेका छन्। चर्चिल बन्दै गरेको हेर्ने इच्छा फेरि व्यक्त गर्छन्। तर चित्रकारले दिँदैनन्।
उनी भनिरहन्छन्, 'म जस्तो देख्छु, त्यस्तै बनाउँछु।'
चर्चिल भनिरहन्छन्, 'मलाई बलवान देखाउनू। जनता बलवान देखिने शासकबाट शासित हुन चाहन्छन्।'
चर्चिल बेलायतका सबभन्दा प्रभावशाली मानिएका प्रधानमन्त्रीमध्ये एक हुन्। उनी हिरो हुन्। उनको कमजोरी यत्ति हो, रिटायर हुने बेलामा पनि आफूलाई हिरो नै सोचिरहेका छन्। आफ्नो समयका सबभन्दा प्रभावशाली खेलाडी जस्तै। तर खेलबाट संन्यास लिएर युवा खेलाडीलाई छोड्ने बेलामा आफूबाहेक कसैले खेल्नै सक्दैन भनिरहेका छन्।
उनी जस्ता खेलाडी संसारका सबै देशमा छन्। यस्तो पटक पटक भएको छ। र जब जब यस्तो भएको छ, तब तब कलाले हस्तक्षेप गर्नुपरेको छ। चित्रकारले नसुनेजस्तै उनीहरूलाई सुन्न इन्कार गर्नुपरेको छ।
आधुनिक चित्रकारले उनको चारकोल स्केच बनाइसक्नै लागेको छ। उनी त्यस बेला पनि आफू बेलायतको प्रधानमन्त्री भएको कुरा दोहोर्याइरहेका छन्।
तर चित्रकारलाई त्यसले कुनै फरक पार्नेवाला छैन।
कलाको काम यही हो। कलालाई उसले देखेको वस्तुले भनेको कुनै कुराले फरक पार्दैन। चित्रकारका लागि उनी प्रधानमन्त्री होइनन् केवल एक पात्र हुन्। उनको चित्रको रङले प्रधानमन्त्री बनाउन चाहिरहेको छैन। यदि उनी कवि हुन्थे भने उनका कविताले प्रधानमन्त्री गाउने थिएनन्।
कलाले शक्तिका आसेपासेले बोलेभन्दा फरक कुरा बोल्नै पर्छ। उनीहरूले नदेखेको कुरा देखाइदिनै पर्छ।
त्यसैले त कलाबाट सुरू भएका ठूला ठूला आन्दोलनले शासकको कानैछेउ पुगेर बाहिरको स्वर सुनाइदिन्छन्। राजनीतिज्ञले राजनीतिबाहेक अरू केही देखेनन् भने कलाले देखाउँछ। राजनीतिले राजनीतिक हिसाबबाहेक अरू केही देखेन भने कलाले देखाउँछ।
राजाले आफू नांगिएको देखेनन् त्यसैले 'राजाको नांगो लुगा' कथा बन्यो। त्यसैले सेक्सपियरको 'किङ लियर' नाटक लेखियो। त्यसैले श्रवण मुकारूङको 'बिसे नगर्चीको बयान' कविता लेखियो। वात्सायनको कार्टुन छापियो।
यो कलाको विडम्बना भन्नु कि अवसर? हरेकपल्ट आफूले व्यंग्य गरेका पात्र मात्र फेरिन्छन्, अवस्था फेरिँदैन।
उता चर्चिलका चित्रकारले आफूलाई चाहिने सबै विवरण निकालेर गएको केही दिनपछि पोट्रेट सार्वजनिक गर्ने समारोह चलिरहेको छ। वरपर धेरै ठूलाठूला मानिस जम्मा भएका छन्। अलि पर भित्तामा एउटा पर्दाले ठूलो पोट्रेट छोपिराखिएको छ। अब केही बेरमा त्यसको अनावरण हुँदैछ।
चर्चिल स्टेजमा उक्लिन्छन्। उनी पहिला जस्तै उत्साहित भाषण गर्छन्। हसाउँछन्। उनलाई अगाडि के हुँदैछ भन्ने थाहा छैन। धेरै शासकलाई अन्तिम समयसम्म पनि अगाडि के हुँदैछ भन्ने थाहा हुँदैन।
चित्रका अगाडि लगाइएको पर्दा खुल्छ। त्यहाँ चर्चिलको कुर्सीमा बसिरहेको पूर्ण कदको पोट्रेट देखिन्छ। एउटा वृद्ध, कमजोर र लाचार देखिने पोट्रेट। त्यसले पहिला पहिला भित्तामा राखिएका पोट्रेटका आँखा जसरी घोचेर हेर्दैन, थकित देखिन्छ।
रियल लाइफमा चर्चिलले जबरजस्ती उमेर लुकाउँदा लुकाउँदा थाकेजस्तो। रियल लाइफमा चर्चिलले जबरजस्ती जवान देखिन गरेको प्रयत्न बोक्दा बोक्दा जर्जर भएजस्तो।
कमजोर र वृद्ध चर्चिलको पोट्रेट। उनले आफूलाई सोचेभन्दा ठ्याक्कै उल्टो पोट्रेट। उनका वरपरकाले उनलाई भनिदिएको भन्दा बिलकुलै भिन्नै पोट्रेट। उनले कहिल्यै नसोचेको पोट्रेट।
चर्चिलको अनुहारको चमक हराउँछ। उनलाई त्यो पोट्रेट मनपर्दैन।
उनलाई साँचो कुरा देख्दा मनपर्दैन।
उनी झसंग हुँदैनन्। बरू रिसाउँछन्।
यो शृंखला सकिन लाग्दा चर्चिलको घर बाहिर उक्त पोट्रेटमा आगो बलिरहेको देखिन्छ। त्यसपछि चर्चिल रानी एलिजावेथ भेट्न जान्छन् र राजीनामा दिन्छन्।
यो आजभन्दा लगभग ७० वर्ष पहिलाको कुरा हो।
यो शृंखला हेरिरहँदा मलाई धेरै हिसाबले अहिलेको नेपालको कथा हेरिरहेजस्तो लाग्यो।
सत्तरी वर्षअगाडिको बेलायत र सत्तरी वर्षपछिको नेपाल आमुन्ने सामुन्ने। व्यक्तित्वको तुलना गर्न नमिले पनि केही राम्रा काम र केही आचरण तुलना योग्य। मान्छे फरक तर मान्छेको विशेषता उस्तै छन्। उस्तै उस्तै अनुहार। उस्तै उस्तै बोली। उस्तै उस्तै व्यवहार। उस्तै उस्तै तरिका।
म सोच्दै छु, बालुवाटारमा पनि कसैले त पठाओस् एक जना आधुनिक चित्रकार।
त्यहाँ बस्ने प्रधानमन्त्रीलाई उनले बसाऊन् कुर्सीमा र ताकून् उनका आँखा क्यामराले। प्रधानमन्त्रीले सधैं देखेभन्दा फरक क्यामराले। कोरून् चारकोलको कालो रङले प्रधानमन्त्रीको स्केच। अनि टाँगियोस् त्यहाँ राखिएका प्रधानमन्त्रीहरूको तस्बिर भएको ठाउँमा। थपून् त्यहाँ झुन्ड्याइएका हरेक प्रधानमन्त्रीका फोटामाथि, आफूले तिनलाई देखेजस्तो स्केच।
तर फेरि सोच्छु, के काम? कुन शासक झसंग होला र? कुन शासकले धमाका नभई सडकलाई सुन्छ? कुन शासक अरूलाई सुन्छ? आजभोलि कुन शासक पोट्रेटलाई सुन्छ?
मलाई त आजको डर लागेको छैन। आजभन्दा करिब ७० वर्ष पछाडिको समयको डर लागेको छ।
कुनै दिन त बालुवाटारमा झुन्डिने सुन्दर तस्बिरभन्दा फरक पोट्रेट कसैले बनाउला र प्रधानमन्त्रीलाई बुझाउला!
त्यो पोट्रेट कहाँ जाला? त्यसलाई कसले जलाउला?
मलाई हराउन लागेको अर्को पोट्रेटको खुब माया लागिरहेको छ।
सुरज सुवेदीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्
ट्विटर: @SurajWritesNP