खुल्ला मञ्च र सैनिक मञ्च छुट्याउने सानो बाटोको मुखैमा पुग्दै गर्दा एउटा आवाजले मलाई बोलायो।
'ए हजुर एकपल्ट यता फर्किएर हेर्नुस् त। म सँग थरिथरिका कहानी छन्।'
टुँडिखेललाई कहानी हुन नदिन आन्दोलन भइरहेको थियो। म त्यसमा सहभागी हुन जाँदै थिएँ। त्यसैले कहानी शब्द सुनेपछि झस्किएँ।
झस्किनुको अर्को पनि कारण थियो। भेट्छु भनेरै त भेट नहुने सहरको सबभन्दा व्यस्तमध्ये एक ठाउँमा मलाई कसैले चिने जसरी बोलाउँदै थियो।
आवाज आएतिर फर्किएँ। आवाज कसको थियो ठम्याउन सकिनँ। सुनिरहेको बोलीजस्तो लाग्यो तर सम्झना भएन। यताउता आँखा घुमाएँ।
नजिकै एकजना युवक अस्थायी टेबलमाथि विभिन्न खाले जुत्ता फिँजाइरहेका थिए। उनले टेबलमाथि राखेको चाइनिज रेकर्डर बोलिरहेको थियो, 'ए हजुर एकपल्ट यता फर्किएर हेर्नुस् त। यहाँ रू ३००, ४००, ५०० सम्ममा छानीछानी जुत्ता-चप्पल पाइन्छ।'
शब्दको बनोट उस्तै भए पनि मलाई अलिअगाडि बोलाउने आवाज थिएन त्यो। आफूलाई भ्रम भएजस्तो लाग्यो। हतारिएँ। हिँड्न पाइला उठाउन लाग्दै गर्दा आवाज फेरि सुनियो, 'म यता भित्रपट्टि छु। एउटा कहानी भए पनि सुन्नु न।'
आवाज दोहोरिएपछि ठाउँ ठम्याउन सजिलो भयो। तर दोहोरिएको आवाज पहिलाभन्दा फरक थियो।
रेकर्डिङमा जुत्ताको कुरा सुनेर आफूतिर तानिएको मान्छेलाई जुत्ता बेच्ने युवकले 'आउनुस् न हेर्नुस्' भनेर आफ्नै भाषामा बोलाएजस्तै थियो।
म फर्किएँ। आवाज आएतिर गएँ। भित्र एउटा प्लाइ-उडको बेन्च थियो। त्यहाँ रंगीन तर मैलो ज्याकेट लगाएर एकजना अधबैंसे मान्छे कुक्रुक्क परेर बसेका थिए। उनका खुट्टा कुनै गह्रौं सामानले लामो समय थिचेकाले कुँजिएजस्ता लाग्थे। वरपर कोही बसेको थिएन। तर उनी दुईतिरबाट जोडले पेलेको झैं खुम्चिएका थिए।
उनी दुखी देखिन्थे। थकित लाग्थे।
मैले दया गरेर उनलाई हेरेँ। मैले त्यसरी हेरेपछि उनका आँखा उज्यालिए।
'मैले नै बोलाएको हुँ। तपाईंलाई कहानी सुनाउँछु, यहाँ बस्नु। मसँग धेरै कहानी छन्।'
यो आवाज उनले दोस्रोपल्ट बोलाएकोभन्दा पनि फरक थियो। एकछिनको अन्तरमा तीन फरक-फरक आवाजले मलाई कहानी सुन्न बोलाएका थिए। बोलाउने मान्छे एउटै थिए।
'कति हतार छ?'
कथा सुरू गर्नुअघि उनले मलाई सोधे। यति बेलासम्म उनको प्रश्न ठाडो भइसकेको थियो। मैले पुलुक्क उनलाई हेरेँ।
'हतार नै नभए पनि हतार छ भन्दिने गरेको त होला नि? सहरका मान्छे न पर्यौ,' मैले जवाफ दिन खोज्दै गर्दा उनैले ओभरटेक गरे। म के भन्नु के भन्नु भएँ।
'उत्तर नसुन्ने भए किन प्रश्न सोध्नु?' उनले सोधेकै 'टोन' मा मैले पनि पेल्न खोजेँ।
'तिमीहरू नभएको चिज धेरै देखाउँछौ नि त। ढोंगीहरू,' उनको मुखबाट छिटा निस्कियो। एउटा छिटा मुख मुन्तिर झुस्स परेका दाह्रीमा पोखियो।
'तिमीहरूको साथ छोड्नु भनेको, त्यो पनि मिलेन,' छिटा पुछ्दै उनले भने।
'त्यसरी मिठो स्वरमा बोलाएर यसरी झाँको झार्न खोजेको?' मैले पनि मौका छोपेँ।
उनलाई मेरो प्रश्न ठीक लागेन।
'मैले जवाफ सुन्ने गरेको छैन। म नभनी थाहा पाउँछु। मैले सोधेको प्रश्नको जवाफ नदेऊ,' उनले मलाई सावधान गराए।
'रत्नपार्कमा हात हेर्ने मान्छे हो कि के हो?' मैले जिस्क्याएँ।
'अनुमान गर्न नसकिने को छौ र? सबै उस्तै छौ। पहिलादेखि नै सबै उस्तै छौ। तिमीहरूलाई चिन्न के गाह्रो?' उनले लगातार मलाई पेलिरहे, 'सबै उस्तै बाचा गर्छौ। सबै उस्तै झुट बोल्छौ। सबै उस्तै आश्वासन बाँड्छौ। अनि सबै बिर्सिन्छौ। गएको बाटो बिर्सिन्छौ। उभिएको ठाउँ बिर्सिन्छौ।'
उनले भनेको कुरा मलाई बिझ्यो। मैले आफूले बिर्सिएका मान्छे सम्झिन खोजेँ। सम्झिएका मान्छे सम्झिन खोज्दा पनि धेरै भएनन्। मलाई भित्रैबाट असहज भयो। मैले लाचार अनुहारले उनीतिर हेरेँ।
'यो तिमी एक जनाको दोष हैन। मैले तिमीलाई यसो भन्न बोलाएको हैन,' उनले मलाई सहज बनाउन खोजे।
म फिस्स हाँसे र उनको आँखामा हेरिरहेँ। मलाई उनका आँखा धेरै दुखी लागे। तर दुखी लागेको कुरा उनलाई भनिनँ।
'बाचा बाँध्ने गरेको छ कि छैन?' मेरा आँखाबाट आफ्नो आँखा अन्तै दौडाउँदै उनैले सोधे। यो प्रश्न सोध्दा उनका गाला अस्वाभाविक रूपमा थर्थराए। म जवाफ दिन खोज्दै थिएँ, उनले फेरि ओभरटेक गरे, 'यो अब विषय प्रवेश हो मेरो। विषय प्रवेश भनेको बुझ्छौ?'
मैले मुन्टो हल्लाएँ। उनले मेरो मुन्टोलाई पत्याएनन्।
'कति प्रवेश गर्यौ होला र? यसो गएजस्तो गर्छौ र निस्किहाल्छौ। तिमीहरू एकअर्काको समस्या भित्र पस्दैनौ। बाहिर बाहिरै मिसिन्छौ। बाहिर बाहिरै निस्किन्छौ। तिमीहरू कोही पनि भित्रबाट जोडिँदैनौ। जोडिए पनि स्वार्थसहित जोडिन्छौ,' उनी भुतभुताए।
त्यसपछि उनले केही प्रश्न सोधे तर कुनैको पनि जवाफ दिन दिएनन्। आफैं जवाफ दिए। मलाई हाम्रो कुराकानी असहज लाग्न थालिसकेको थियो। कुराकानी असहज लागे पनि उनको 'क्यारेक्टर' सहज लाग्न थाल्यो। सहज क्यारेक्टरसँग असहज कुराकानी लम्बिँदै गयो।
'नजिक हुने ठाउँ त छैन। सहरमा भएका पब्लिक ठाउँहरू सकिन थालिहाले। मान्छेहरू कहाँ भेटिनु र? यही एउटा टुँडिखेल पनि मास्न लागिसके भनेर आन्दोलनमा आको म,' मैले एक सासमा आफ्नो कुरा भनी सिध्याएँ।
उनलाई बल्ल मेरो जवाफ मनपरेजस्तो भयो। सन्तुष्ट भएजस्ता देखिए। उनले लामो सास ताने। तन्काइरहेको खुट्टा एकछिन छामे। फेरि पहिलाजस्तै राखे।
'के भएको यो?' मैले उनको खुट्टातिर हेर्दै सोधेँ, 'कसले खुट्टा किचिदियो कि क्या हो?'
'सुन्न मतलब भएरै सोधेको हो?' जवाफ दिनुको साटो उनले उल्टै प्रश्न फ्याँके।
'यसरी नै भगाउने गरेको रहेछ क्यार, अनि कसले सुन्छ तपाईंले बोलाएको? यस्तो खुत्तिएको मान्छेलाई कसले हेर्छ?' म थाहै नपाइ 'इरिटेट' भएँ। बोलिसकेपछि त्यसो नभनेको भए हुन्थ्योजस्तो लाग्यो।
'मलाई गलत नबुझ। म आफैं यस्तो भएको हैन। मलाई यस्तो पारिएको हो,' उनी अचानक नरम भए, 'धेरै जनाको बोली मिसिएपछि यस्तो हुन्छ क्यार। धेरै जनामा म मिसिएछु। मलाई धेरैको बानी सर्यो।'
उनले मुख छामे र औंलाको इशाराले मुख बन्द गरे। आफूलाई अब नबोल भनेजस्तै।
'खै क-कसका बोली मिसिए। आफ्नो बोली त कस्तो थियो पनि बिर्सिसकेँ। सबैका भाषण सुन्दा-सुन्दै आफू पनि के-के भएँ भएँ। आजकाल त कसैलाई पनि चिन्दिनँ,' उनी यसो भन्दै फिस्स हाँसे। उनलाई हाँसेको सुहाएन।
'कहानी के छन् भन्दै हुनुहुन्थ्यो त,' मैले पनि आफ्नो विषय प्रवेश गरेँ।
खासमा मलाई अब के बोल्नुपर्छ भन्ने नै अलमल भइसकेको थियो। मेरो प्रश्न सुनेर उनी निक्कै बेर रोकिए। केही भन्न लामो समय तयारी गर्नुपरेजस्तो गरे। घाँटीमा बाँकी रहेको थुक निले।
हुनसक्छ उनलाई भन्न खोजेका कुराको वाक्य बनाउन लामो संघर्ष गर्नुपरेको छ। वा हुनसक्छ उनको घाँटीमा हावा अड्किएजस्तै अक्षरहरू अड्किएका छन्।
उनको असहज स्थिति देखेर मैले हतार भएकै छैन भन्ने बुझाउन झोला निकालेँ र छेउमा राखेँ। हतार भएको रहेनछ बुझेर उनी पनि ढुक्क भए। अनि निक्कै बेर साहस जुटाएर एक वाक्य बोले, 'म दिनदिनै भाषणको 'इको' आएको सुन्छु। हरेक इकोले आफूलाई छोप्दै गएजस्तो लाग्छ।'
उनी आफ्नै बोली सुनेर झस्किए। त्यो वाक्य उनको मुखबाट पहिलोपल्ट निस्किए जसरी निस्कियो। यस्तो लाग्यो, मलाई सुनाउने बहानामा उनी आफूलाई पहिलोपल्ट यो कुरा सुनाउँदै छन्। वा हुनसक्छ कसैलाई सुनाउँदिनँ भनेको कुरा उनले मेराअगाडि फुत्काएका छन्।
'पहिला सुनेका सबै भाषण कानमा आएर थर्किन्छन्। म तिनलाई नसुन्न खोज्छु। नबुझ्न खोज्छु। बिर्सिन खोज्छु। तर सक्दै सक्दिनँ,' उनले यसो भन्दै गर्दा जोडले कान थुने।
उनले कान थुनेको देखेर म झनै अलमल परेँ।
'तिमीले खुलामञ्चमा भाषण सुनेका थियौ?' उनले सुने।
'भाषण सुन्न भनेर नआए पनि भाषण नसुनेको त छैन होला। भाषणको इको नसुन्ने त कुन चाहिँ नेपाली होला र? मैले त सुन्दिनँ भन्दा पनि सुनेको सुन्यै गर्नुपर्यो,' उनी फेरि हाँसे। उनले हाँसेको फेरि सुहाएन। तर मैले नसुहाएको कुरा उनलाई भनिनँ।
'यो सैनिक मञ्च किन त्यहाँ छ देखेका छौ?' उनको बोली बिस्तारै कसिलो हुन थाल्यो। उनी छिटो-छिटो बोल्न थाले। त्यसबीचमै उनले आफ्नो हात मुश्किलले उठाएर पहिला खुलामञ्चतिर देखाए। अनि त्यहाँबाट देखाउँदै देखाउँदै सैनिकमञ्चसम्म पुर्याए र रोके।
'राजनीति गर्नेको एक मात्र उद्देश्य यहाँबाट त्यहाँसम्म पुग्नु रहेछ। त्यसका लागि उनीहरू जे-जे भन्छन्, त्यो सबै झुट हो। जे-जे गर्छन्, त्यो सबै झुट हो। म झुट बोलेको थाहा पाउँछु। त्यही झुटको इको कानमा गुन्जिन्छ। मैले धेरै राम्रा अनुहारले झुट बोलेको सुनेको छु। तिमी थाहा पाउँछौ?'
मैले जवाफ दिइनँ। उनले जवाफ सुन्दिनँ भनेर राम्रै गरेछन् जस्तो लाग्यो। उनका पछिल्ला प्रश्नको जवाफ मसँग पनि थिएन।
'खुलामञ्चबाट बोलेको बोली देशैभरबाट मान्छे आइपुग्ने रत्नपार्कले सुन्यो। अलि पर कसैलाई सुन्दिनँ भनेर बसेको राजदरबारले सुन्यो। खुलामञ्चबाट बोलेको बोली इको भएर सबैतिर थर्कियो। तर...,' उनी बोल्दा-बोल्दै रोकिए। अचानक मन दुखे जसरी भावुक भए र आफूलाई सम्हाल्दै भने, 'तर कसले सुनेन थाहा छ?'
'यही सैनिकमञ्चले सुनेन। हिजो पनि सुनेन। आज पनि सुनेन। अझ खुलामञ्चमा भाषण गरेर त्यहाँ पुगेको मान्छेले त झन् सुन्दै सुनेन। उसले आफू आएको बाटोलाई हेप्यो। आफूलाई बनाउने सबैलाई हेप्यो। आज यो खुलामञ्च कुच्चिएर यत्रो सानो भएको छ, तर उसले हेरेन,' उनी बोल्दा-बोल्दै भत्किए। अपेक्षा गरेको मान्छेले धोका दिएजस्तो पीडा उनलाई परेको हुनसक्थ्यो। मलाई कहानी भन्न बोलाएका उनले ठीकसँग कहानी भनेर सिध्याएनन्।
मैले केही बोलेर उनलाई सम्झाउनुपर्छ जस्तो लागिरहेको थियो। तर आफूभन्दा पाको उमेरको मान्छे भावुक भएको देखेर अलमलिएँ। उनलाई सान्त्वना दिने शब्द केही छन् कि भनेर मनमनै वाक्य बनाउन थालेँ।
एउटा वाक्य पनि नबन्दै उनी बोले, 'खुलामञ्च र सैनिकमञ्च एकआपसमा उल्टो फर्किएर बसेका छन्। सैनिकमञ्चको अतिथि हुन बानी भएपछि सबैले अगाडि सिपाहीहरूको परेड र हेलिकप्टरको पुष्पवृष्टि मात्र देख्छ। सैनिकमञ्चबाट खुलामञ्चबाट हेर्दा देखिनेजस्तो मान्छे देखिँदैन।'
उनले बोल्दा-बोल्दै दिक्क माने र आफूले लगाइरहेको रंगीन मैलो ज्याकेट खोलेर टकटक्याए। अनि बर्बराएजसरी भन्दै गए, 'भाषणको इकोले जिउ नै थर्किएजस्तो हुन्छ। आवाज यही ज्याकेटमा अड्किएजस्तो हुन्छ। रातभर निदाउन सक्दिनँ।'
हामी निकै बेर चुप बस्यौं। मेरो मनमा त्यति बेलासम्म पनि कुनै वाक्य बनेन।
'तिमीलाई हतार होला?' उनैले मन बोले।
मैले मुन्टो हल्लाएँ र छेउको झोला टिपेँ।
उनले केही देखाउन खोजे जसरी ज्याकेटको भित्री गोजीमा हात हाले। त्यहाँबाट चाइनिज रेकर्डर निकाले र बजाए, 'ए हजुर एकपल्ट यता हेर्नुस् त...।'
त्यति बज्नासाथ बन्द गरे र त्यसलाई बेन्चमाथि राखे। उनले अघि बोलाएको आवाज रेकर्डिङको रहेछ। त्यसैले त बोली फरक परेको रहेछ।
म उभिइसकेको थिएँ। उनले मतिर हेर्दै भने, 'तिमी जाऊ। ढिलो भयो होला। अब म अर्को मान्छे पर्खिन्छु।'
मैले उठेर खुलामञ्चतिर हेरेँ। त्यहाँ मानिसहरू बिस्तारै भेला हुँदै थिए। म पनि त्यही भिडमा पुगेर गाभिनु थियो। सहरको खुला ठाउँ फिर्ता ल्याउने आन्दोलनमा मिसिनु थियो।
खुला ठाउँ जहाँ सयौं मान्छे एकैपल्ट बोले पनि एकअर्कालाई डिस्टर्ब हुँदैन। एकअर्काको कुराले कसैलाई अलमल्याउँदैन।
खुला ठाउँ जहाँ केटाकेटीहरू फरक-फरक मान्छे देख्छन्। मजस्तै मान्छे अरू पनि छन् भन्ने बुझ्छन्।
खुला ठाउँ जहाँ कसैको बोलीको इकोले कसैलाई सताउँदैन।
मलाई पनि उनलाई जस्तै सहरको इकोले सताइरहेको थियो। अन्डरग्राउन्ड पार्किङको इको। स्पिकरको इको। हर्नको इको। हरेक पल भुइँचालो गइरहेजस्तो लाग्ने बाटोको इको। तर मैले आफ्नो इकोको कुरा उनलाई भनिनँ। उनले पनि धेरै कुरा मलाई भन्न सकेनन्।
'ए हजुर यता हेर्नुस् त। मसँग धेरै कहानी छन्, म कहानी सुनाउँछु,' म ननिस्किँदै उनले फेरि रेकर्डर बजाए।
'यो बोली तपाईंको हैन है?' जाने बेलामा मेरो मनले बल्ल एउटा प्रश्न बनायो।
'यो पहिला बाहिर जुत्ता बेच्ने भाइले बजाउँथे। उनी एकदिन सहर छाडेर जाने भए। उनले केही नभनी आफ्नो आवाजमा मेरो कुरा रेकर्ड गरिदिए र गए,' उनी भावुक भए।
'तपाईं कहाँ बस्नुहुन्छ?'
उनले जवाफ दिएनन्। अघि खुलामञ्च देखाउँदा जसरी नै हातका औंला उठाए। तर खुलामञ्चतिर देखाएनन्। आफूतिरै देखाए। आफूतिर देखाउँदा-देखाउँदै आफ्नो छातीमा पाँचवटै औंला दले र वरपर आँखा डुलाएपछि आहत हुँदै मेरो आँखामा जुधाउँदै भने, 'म नै खुलामञ्च हुँ। मलाई बचाऊ।'
उनका आँखा एक्कासि रसाए।
मैले फेरि एकपल्ट रसिला आँखा छल्नुपर्यो।
ट्विटर: @SurajWritesNP
सुरज सुवेदीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्