'कोठामा एसी छ, टिभी छ। चाहिएको खानेकुरा पुर्याएकै छौं। आरामले बस्नु नि!'
बुढ्यौलीबारेको भलाकुसारीमा व्यङ्ग्यकार चट्याङ मास्टरले बुवाहरूलाई हिजोआज यस्तै सुविधाका नाममा कोठाभित्र राखिएको तितो यथार्थ सुनाउनुभयो।
सन्तानसँगै सहर बजारमा बसेको देखिए पनि वास्तवमा बुवाहरू एक्लिँदै गएको उहाँको बुझाइ छ।
सुख खोज्ने ध्याउन्नमा सहर केन्द्रित हुँदै गएको आजको पुस्ताले सहरमा सुख र विलासितामा मात्र आनन्द देख्न थालेको छ। अध्ययन र कामका लागि सहर पसेकाहरूको घरजम सहरतिरै भएपछि बुवाहरू पनि गाउँको परिवेशबाट क्रमशः टाढा सहरका कोठा, बैठकसम्म पुर्याइए।
स्वास्थ्य उपचारको सुविधाले पनि वृद्ध बुवाहरूलाई सन्तानले गाउँबाट सहर पुर्याउनु पर्ने बाध्यता छ। तर गाउँको वातावरणबाट अलग्गिएका बुवाहरू सहरिया दौडधुपमा एक्ला बन्छन्। छरछिमेक, साथीभाइ, चौतारो र आफ्नो हैकमबाट टाढा बुवाहरू अरूको सहारा, आशामा बाँच्ने बन्न पुग्छन्।
बुवाहरूको एकांकी जीवन
केटाकेटीलाई हामी बोर नहोस् भनेर समय दिन्छौं। घुमाउँछौं, डुलाउँछौं। उनीहरूका कुरा सुन्छौं। तर बुवाहरूको कुरा कसले सुनोस्। बरू कोठामा थन्क्याउँछौं। विरोधाभाष यहीँनेर छ, बुवाआमालाई समय दिनुपर्छ भन्ने आमबुझाइ छैन।
सबैलाई आफ्ना कुरा भन्न मन लाग्छ। गाउँघरका कथा भन्न मन लाग्छ। दुःख साट्न मन लाग्छ। मनोरञ्जन गर्न मन लाग्छ। तर 'तँलाई सबै सुविधा पुर्याइदिन्छु, तँ कोठैमा बस्' भनियो भने जेल सजाय सरह हुने त्यही व्यवहार आजका बुवाहरूले चुपचाप भोगिरहेका छन्।
कोठामा कोचिएर बस्नुपर्ने बाध्यताबीच वृद्ध बुवाहरू झन् रोगी बन्दै गएका छन्।
टाढा जाऊँ, सहरको भिडभाडमा अल्मलिने डर, फेरि शारीरिक असक्तता पनि। न गाउँघरमा जस्तो सबैसँग कुरा मिल्ने! गफ गर्न, आफ्ना कुरा भन्न पनि मन मिल्ने सहृदयी हितैसी चाहिन्छ।
सहरमा विरानो। सन्तानका आफ्नै दौडधुप भएपछि बुवाहरूसँग को बसिदिओस्। आमाहरूलाई झैं गनथन गर्न बुवाहरूलाई नसुहाउने भनिन्छ। न मनको कुरा भन्न सक्छन्, न धित मरुञ्जेल रुनै सक्छन्।
स्वभावैले कडा मिजासका बुवाहरू उमेरमा छँदा केटाकेटी पनि डराउँछन्, बुवासँग परपरै हुन्छन्। ममताकी खानी आमासँग लुटपुटिन सन्तान सहज मान्छन्। बुवासँग परै हुने सन्तान आमासँग खुलेर कुरा गर्छन्। मनका कुरा सहजै साटासाट गर्नाले पनि बुवाको दाँजोमा आमाहरूलाई बुढ्यौलीमा गार्हो नुहन सक्छ।
जनसंख्या र कानुनी व्यवस्था
२०६८ सालको जनगणनामा ८.१ प्रतिशत रहेको ६० वर्षमाथिको उमेर समूह अहिले ३० प्रतिशत हाराहारी पुगिसक्यो। एक सर्वेक्षणले ३.७७ प्रतिशत प्रति वर्ष बढिरहेको ज्येष्ठ नागरिकको जनसंख्या १० वर्षमा अहिले संख्यात्मक हिसाबमा झन्डै ९० लाख पुगेको देखाएको छ।
नेपालको संविधानले मौलिक हकको धारा ४१ मा 'ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने' उल्लेख गरेको छ। यस्तै ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दै उनीहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी आदरभाव राख्न वाञ्छनीय ठानेर कानुन ल्याउनु परेको भनेको छ।
बिडम्बना, ऐनले ज्येष्ठ नागरिकको हेरचाहलाई 'सबैको कर्तव्य हुनेछ' मात्र भनेको छ।
ज्येष्ठ नागरिकका लागि उपलब्ध हुने सामाजिक सुरक्षा भत्ताका नाममा प्रति महिना पाँच हजार रुपैयाँ वृद्धा भत्ताबाहेक राज्यबाट अन्य सुविधा पाएका छैनन्।
जापानको अनुकरणीय कदम
तर संसारमै सबभन्दा बढी ज्येष्ठ नागरिक जनसंख्या भएको जापानी उदाहरण यहाँनेर जोड्नु सान्दर्भिक हुन्छ। जनसंख्याको ३३ प्रतिशत ६५ वर्ष उमेर नाघेको समूह जापानमा ३ करोड ६० लाख हाराहारी छ, नेपालको जनसंख्याभन्दा बढी।
त्यो समूह हाम्रा लागि अवकास प्राप्त नातिनातिना खेलाउने उमेर मात्र हो भन्ने हाम्रो बुझाइ छ। अन्यथा नेपालको संविधान र कानुनले 'ज्येष्ठ नागरिकको संरक्षण सबैको कर्तव्य' को सट्टा ज्येष्ठ 'नागरिकबाट लाभ लिने प्रकृया' हुन्थ्यो होला।
कानुनले भनेजस्तो अग्रज पुस्ताको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग हामीले गर्न सकेनौं। त्यसैले हाम्रा बुवाआमाहरू नातिनातिनाका 'सुसारे' मात्र सिद्ध भएका छन्।
ज्येष्ठ नागरिकप्रति सम्मान गर्दै जापानले सन् २००० मा दीर्घकालीन हेरचाह बीमा कार्यक्रम ल्याएर ६५ वर्ष नाघेका वृद्धवृद्धाको सम्पूर्ण सुरक्षा, बीमा कार्यक्रममार्फत गर्न थाल्यो। जसका लागि ६५ वर्ष पुगेका नागरिकले स्थानीय तहमा आवेदन दिएपछि उनीहरूको सम्पूर्ण आवश्यकता, सुविधाको बन्दोबस्त सरकारले गर्छ।
वृद्धावृद्धाका लागि जापानको यो सुविधा संसारकै उच्चतम हो। अझ जापानले उनीहरूको सम्मानमा प्रत्येक वर्ष सेप्टेम्बरको तेश्रो सोमबार वृद्धवृद्धाका लागि 'रेस्पेक्ट फर द एजेड डे' मनाउन सार्वजनिक बिदा नै दिन्छ।
बुढ्यौली कसैको रहर होइन। एक दिन हामी सबै त्यो उमेर समूहबाट गुज्रनै पर्छ। फेरि उमेरसँगै मानिसको मनोविज्ञान परिपक्क हुँदै जाने हुँदा वयश्कभन्दा बुढ्यौली उमेर समूहले सोच्ने शैली फरक हुन्छ।
अंग्रेजी साहित्यकार अर्नेष्ट हेमिङ्वेले भनेका छन्, 'मान्छेलाई बोल्न-सिक्न दुई वर्ष लाग्छ भने चुप लाग्न पचास वर्ष।'
अर्थात, उमेर बढेसँगै व्यवहार र अनुभवको परिपक्कताले कम बोल्ने र गाम्भिर्यता हामीमा आउन थाल्छ। वयश्कमा जे गरे पनि हुन्छ भन्ने मनोविज्ञान बुढ्यौलीमा सोचविचार गरेर मात्र गर्नुपर्छ भन्नेमा पुग्छ।
तर एउटा व्यक्तिले जीवनभर आफूमा लगानी गरेर आर्जन गरेको ज्ञान, अनुभवको सदुपयोग हामीले कहाँ गर्यौं र? अझ बुढ्यौली लागेको पुस्तासँग हामी दुरी कायम गर्छौं। निर्णय तहमा बुवाआमालाई सहभागी नै गराउँदैनौं। यसो गर्नाले ज्येष्ठ नागरिकमा झन् उपेक्षा बढेर गएको छ।
त्यसैले त एन लेन्डर्सले बुवाका लागि अन्त्येष्टि शीर्षक कवितामा भनेकी छन्, 'म ४० वर्षको हुँदा अचम्ममा परेँ, बुवाले यो सबै कसरी धान्नु भएको थियो होला। उहाँ साँच्चै बुद्धिमान हुनुहुन्थ्यो!'
बुढ्यौलीबारे बुझ्न जेरोन्टोलोजी र जेर्याट्रिक्स पद्धति
सर्वाङ्गिण विकासका लागि मनोविज्ञानमा आधारित व्यवहार हामीकहाँ नभएकाले र मनोवैज्ञानिक परामर्शदाताको उत्पादनमा जोड नदिएकाले पनि अग्रज पुस्ताको सम्मानमा हामी पछि पर्यौं।
बुढ्यौली अध्ययनशास्त्र जेरेन्टोलोजीका अनुसार वृद्धावृद्धाबारे बुझ्न सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक तथा जैविक ज्ञानका आधारमा अध्ययन गरिनुपर्छ। जुन समाजमा एउटा व्यक्ति बाँचेको हुन्छ, उसलाई मनोवैज्ञानिक आधारमा उसको वृद्धावस्थामा त्यही परिवेशमा त्यसै अनुसारको व्यवहार गरिनुपर्छ।
जेरेन्टोलोजीले व्यक्तिको स्वास्थ्य, शिक्षा, समाज, शारीरिक, आर्थिक, राजनीतिक, भौगोलिक लगायत विविध पक्षबाट बुढ्यौलीको अध्ययन गर्छ।
नेपालको पूर्व, पश्चिम, तराई, हिमाल पहाड वा जातजाति, धर्म, संस्कृति वा समुदायका मानिसको पहिचान, काम गर्ने शैली, सोचविचार अलग भएजस्तै गाउँको संस्कारमा हुर्किएका मानिस बुढ्यौलीमा सन्तानको सहारामा सहर बस्दा उकुसमुकुस भएर निस्सासिनु स्वाभाविक हो।
जेरेनटोलोजीभन्दा पृथक जेर्याट्रिक्स पद्धतिले वृद्धावस्थामा देखापर्ने स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबारे विशिष्टिगत अध्ययन गर्छ। अध्ययनका आधारमा वृद्धावस्थामा स्वस्थ जीवनका लागि पाका मान्छे उपचार विशिष्टिकृत ढंगबाट गर्छ। जेर्याट्रिक उपचार पद्धतिका दक्ष चिकित्सकले वृद्धवृद्धाको स्याहार गर्छन्।
जवान मानिसमा हुने शारीरिक स्फूर्ति उमेर बढेसँगै बुढ्यौलीमा कमजोर बन्दै जाने हुँदा बुढो शरीर वयश्कभन्दा मनोवैज्ञानिक रूपमा भिन्न भई रोग उत्पन्न हुन थाल्छ। यसका लागि जेरेन्टोलोजीका माध्यमबाट जेर्याट्रिक उपचार पद्धति मार्फत वृद्धवृद्धाको उपचार अहिले नेपालमा आवश्यक छ।
उमेर छँदा बाँचेको जीवनशैलीका कारण पछि बुढ्यौली लाग्दै जाँदा दीर्घरोग बन्न पुग्छ। र उमेरमा देखापरेका स्वास्थ्य सम्बन्धी सामान्य समस्या नै वृद्धावस्थामा रोग बन्न सक्छ।
जस्तैः वयश्क छँदा धूमपान गरेको कुलतले उमेर बढ्दै जाँदा बुढ्यौलीमा श्वासप्रश्वासमा नराम्रोसँग गाँज्न थाल्छ। र, धूमपानकै कारण फोक्सो खराब भई दम भएर अन्ततः क्यान्सरसम्म गराउँछ।
तर गाउँ छाडेर सहरमा कोठाभित्र एकांकी बनेका बुवाहरूले भोगिरहेको एक्लोपनले उनीहरूमा परोक्ष मनोवैज्ञानिक तनावका कारण मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, डिप्रेसन जस्ता दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुन थाल्छन्। रोगको पोको बोक्न थालेपछि अस्पताल धाउँदा र खुराकमा औषधिका झोला साथसाथै हुन थाल्छन्। फलस्वरुप दीर्घ जीवन बाँच्नसक्ने बुवाहरू मृत्युको मुखतिर लम्किन थाल्छ।
वृद्धावस्थामा पुगेका सबै मानिसमा जेरेन्टोलोजी र जेर्याट्रिक्स पद्धतिबाट उपचार गर्नुपर्ने, अलग्गै चिकित्सक तथा अस्पताल हुनुपर्ने, ग्रामीणस्तरमै पुगेर चिकित्सकीय सेवा दिनुपर्ने, मनोरञ्जनका लागि बाल क्लब, हेल्थ क्लब, समूह भने जस्तै ज्येष्ठ नागरिक क्लब खोलिनुपर्ने हो।
बिडम्बना, संसद भवन अघिल्तिर केही वर्षअघि वृद्धवृद्धाले हकअधिकार माग गर्दै धर्ना दिईरहे। आन्दोलनमा लागिरहे पनि राज्यले ज्येष्ठ नागरिकको त्यो आवाजको सम्बोधन गर्न सकेन।
भोलिका बुवाहरूको जिम्मेवारी
सानो छँदा म घरको बार्दलीबाट बुवा गएको बाटो हेरिरहन्थेँ। बुवा आउने बाटोमा आँखा ओछ्याइरहन्थे। आज म निस्कँदा छोरी मलाई 'बेलुका कति बजे आउने?' भनेर प्रश्न गर्छे।
घर आइपुग्दा जहिल्यै छोरी बार्दलीमा मलाई हेर्न उभिन्छे। समय फेरिएसँगै एक दिन त्यो बार्दलीमा म उभिएर छोरी गएको, आएको आँखा टटाउन्जेल हेर्नेछु।
मेरो स्वर्गवासी बुवाले हिजो म काममा निस्कँदा जसरी 'बेलुका छिटो आइज है' भन्नुहुन्थ्यो, ठीक त्यसैगरी म पनि त्यो बार्दलीमा उभिएर छोरीलाई 'बेलुका छिटो आऊ है' भन्नेछु।
समयको यो खेलमा हिजो मैले हेर्ने र आज मैले हेर्ने दृष्टिकोण फेरिनुपर्छ। उमेरको फरक अवस्थालाई हामीले मनौवैज्ञानिक आधारमा बुझ्न सक्नुपर्छ। कलिला सन्तानलाई बुवाहरूको बहादुरीका कथा चाहिन्छ। मैले मेरो बुवालाई हिजो गरेको पुण्यको फल मैले भोलि मेरो छोरीबाट पाउने हो। अग्रजको सम्मान गरे न भोलि हामी पनि सम्मानको भागिदार हुन्छौं।
अन्यथा ६० वर्ष उमेर काटेसँगै हामी यो समाजका लागि अवकाश प्राप्त बन्न पुग्छौं, आज कोठामा बुवाहरूलाई थन्क्याएर एसी र टिभीमार्फत सम्पूर्ण सुखसुविधा दिएजस्तै..।