जम्मू यात्रा- २
यो लेखको पहिलो भागः छुट्टिने बेलाको बोली अन्तिम रहेनछ
आफू जाने रेल कुन प्लेटफर्ममा छ, थाहा पाउन अब कसैलाई सोध्नुपर्छ।
पुरानो दिल्लीको यो पुरानो स्टेसनका कुनै पनि 'डिस्प्ले बोर्ड' चलेका छैनन्। म जाने रेल कुन प्लेटफर्ममा बसेको छ, थाहा छैन। कसलाई सोध्ने?
स्टेसनमा भएका सबै रेल हिँडीजाने हुन्। त्यसमा चढेर आएका र चढ्न लागेका यात्रु पनि हिँडीजाने हुन्। पुर्याउन आएका र लिन आएका पनि हिँडीजाने हुन्। बाटो सोध्ने हो भने सधैंभरी त्यतै हुनेलाई सोध्नुपर्छ। ती जम्मू नपुगेका होलान् तर त्यता जाने रेलको प्लेटफर्म नम्बर जान्दछन्।
जाने बाटो देखाइदिन गइराख्नु पर्दैन।
'उहाँलाई थाहा होला' भुइँ पुछिरहेका एक दाइतिर देखाउँदै मन भन्छ। आफ्ना बारेमा कुरा गरेको थाहा पाएझैं उनी भुइँ पुछ्न छाडेर हामीतिर पुलुक्क हेर्छन्। उनले अन्तिम पल्ट दलेको पानी भुइँमा सुक्न थाल्छ। रेल भेट्न, त्यो पानी पूरै सुकिसक्न लाग्ने जति समय मात्र बाँकी छ।
उनैले देखाएको प्लेटफर्म नम्बर १६ तिर लम्किन्छौं। तर त्यहाँ बसेको रेल र टिकटमा भएको रेलको नाम मिल्दैन। रेल फेरियो कि गलत प्लेटफर्ममा पुगियो? कि भुइँ पुछ्ने दाइले गलत भने?
दौडिँदै फर्किएर रेल्वेका कर्मचारीलाई सोध्छु। उनी पनि १६ नम्बरमै पठाउँछन्। भुइँ पुछ्ने दाइले देखाएको प्लेटफर्म सही रहेछ। रेल साटिएको रहेछ। तर कागजमा साटिएको नामले उनले बोलेको सत्यलाई पत्याइरहन दिएन। वा उनले बोलेको सत्य र मेरो कागजबीच कुराकानी हुन पाएन।
सही बोल्नेलाई कागजले कति सजिलै शंकामा पारिदिन सक्छ।
टिकट कलेक्टर प्यासेन्जरको लिस्टमा मेरो नाम खोज्दै छन्। उनले भेट्नुभन्दा पहिला आफ्नो नाम देखिसक्छु। नाम भेटिएपछि मात्र रेल भेटिएजस्तो लाग्छ। मान्छे आइपुग्यो भन्ने संकेत मेरो नाममा लगाएर उनी टिकट फिर्ता दिन्छन्। मन मभन्दा अगाडि लाग्दै मेरो सिट भएको क्याबिन खोज्न थाल्छ।
स्टेसन पुर्याएर फर्किएका ट्याक्सी चालक दाइ पनि पछि पछि आउँदै छन्। उनको भौतिक शरीर अहिले पनि कसैलाई ट्याक्सीमा कतै पुर्याउँदै होला। तर उनको मन मसँग जम्मू जान हिँडेको छ। म उनी जान नपाएको ठाउँ जाँदै छु। आफू जान नपाएको ठाउँ हिँडेको मान्छेलाई उनले आफ्नै मन कोसेली पठाएका छन्। उनलाई यसरी मसँग जाँदा टिकट लाग्दैन। साहुले पनि रोक्न सक्दैन।
म जम्मू नपुगुन्जेल सम्भवत उनी मसँगै हुनेछन्। आफू जान नपाएको ठाउँमा जाने मान्छे नपुगुन्जेल उसँगै उसको गन्तव्यसम्म पुगिन्छ। अरू को-को मसँगै जाँदै होलान्?
मेरो क्याबिनमा थप ३ वटा सिट छन्। ती सिट कसले कसले बुक गरेका होलान्?
क्याबिनमा लगभग मेरै उमेरको एउटा युवक बसिरहेको छ। म छिर्नासाथ ऊ मलाई स्वागत गर्छ। हामी सामान्य परिचय गर्छौं।
'तपाईंलाई बोल्ने साथी भइगो, अब म त ढल्किएर सुन्ने हो' रेल गुड्न थाल्दै गर्दा ट्याक्सी चालक दाइ मेरो सिटमा पल्टिसकेका छन्।
भर्खरै गुडेको रेलको झ्यालबाट छोडिँदै गरेको प्लेटफर्म हेरिरहेको छु।
केही समय पहिला त्यही प्लेटफर्ममा उभिएर अलमलिँदै थिएँ। कुन रेल चढ्ने थाहा थिएन। रेलको नाम मिलेको थिएन। बेलैमा थाहा नभएको भए अहिले त्यही प्लेटफर्ममा उभिएर यही रेल गइरहेको देख्ने थिएँ। केही बेरमा रेल छुटेको थाहा पाएपछि मन कतै छुट्ने थियो। ट्याक्सीवाला दाइ कतै छुट्ने थिए। क्याबिनको युवकलाई म छु भन्ने कुरा थाहा हुने थिएन।
रेल छुटेको प्लेटफर्मबाट हेर्नु र प्लेटफर्म छुटेको रेलबाट हेर्नुमा कति ठूलो फरक छ।
'ऊ खै त?' ट्याक्सी चालक दाइ बाहिर हेरिरहेको मलाई भित्र हेर्ने बनाउँछन्। मन र अघि बसिरहेको युवक दुवै क्याबिनमा छैनन्। कहाँ गए?
रेलको गति दौडिएर चढ्न नसकिने भइसकेको छ। भर्खरै परिचय भएको युवक क्याबिनमा छैन।
'ऊ प्लेटफर्ममै छुट्यो कि क्या हो?'
नाइट बस चढेर काठमाडौं जाँदाको घटना सम्झिन्छु। पिसाब फेर्न गएको छेउको साथी नआइपुगी गाडी हिँड्न लागेका बेला मैले 'मान्छे आउनै छ' भन्दै गाडी रोकेको थिएँ। रेललाई कसरी रोक्ने?
आत्तिँदै ढोकातिर दौडिन्छु। युवक ढोकैमा आइपुगेछ।
'तिमी छुटेको जस्तै लागेको थियो' म आत्तिँदै भन्छु।
'खै त रेल रोकेनछौ' ऊ हाँस्छ।
'बस भएको भए रोकिदिन्थेँ। रेल कसरी रोक्ने के थाहा?'
'यो रातो डोरी तान्यो भने रोकिन्छ। तर रोक्नुको कारण दिनुपर्छ,' ऊ झ्यालभन्दा माथिको रातो डोरी देखाउँछ।
डोरी नियालेर हेर्छु- त्यसलाई तान्यो भने यो रेल रोकिन्छ। तर रोक्नुको कारण दिनुपर्छ।
कारण भएकाहरू सबैले रेल रोक्न सक्लान्? नभएकाहरूले नरोक्न सक्लान्? यो रेलले अहिलेसम्म के-के ओसार्यो? त्यसरी ओसारिनेले रोक्न चाहेको बेला सके कि सकेनन्?
हिटलरको क्याम्पमा लैजानको लागि युरोपभरबाट यहुदीहरूलाई ओसार्न रेल प्रयोग गरिएको थियो। त्यहाँ यस्तै रातो डोरी थिएन? कसैले तानेर किन रोकेन? के त्यो रोक्नलायक कारण थिएन? भारत-पाकिस्तान विभाजनको बेला लाशहरू भरिएका रेलहरू यताबाट उता रेल चलिरहे। तिनमा यस्तो डोरी थिएन?
केही समय पहिला पढेको अमेरिकी नाटक सम्झिन्छु। दौडिरहेको रेलबाट एक अश्वेत युवकलाई फालिन्छ। त्यहाँ यस्तो डोरी थिएन?
'रोक्ने चिज हुनु र रोक्न मन लागेका बेलामा रोक्न पाउनु धेरै फरक कुरा हुन्,' ट्याक्सिवाला दाइ मलाई थुमथुम्याउँछन्।
रोक्ने कारण केले निर्धारण गर्छ? एउटा मान्छेको कारण अर्को मान्छेका लागि महत्त्वपूर्ण हुन छोडिसक्यो। कसैलाई महत्त्वपूर्ण लाग्ने कारण रेलको प्रशासनलाई महत्त्वपूर्ण लाग्छ कि लाग्दैन? कसैलाई नरोकियोस् लागेका बेला अर्कोले रोकिदियो भने कारण पुगेको हुन्छ कि हुँदैन? रेलले जानाजान बाटोमा भएका मान्छेलाई किच्न थाल्यो भने?
'छेउको मान्छेसँग नबोलेर के आफैंसँग बोलिराखेको' फेरि झ्यालबाट बाहिर हेरिरहेको रहेछु। मन कोट्याउँदै गाली गर्छ।
डोरीको बारेमा बोलेर हामी फेरि चुप लागेछौं। छेउमा बसेको युवक पनि बाहिर हेरिरहेको छ। हामी एउटै झ्यालबाट बाहिर हेरिरहेका छौं। उसले देख्ने कुरा र मैले देख्ने कुरा फरक छन्।
ऊ त्यो बाटो पहिलोपल्ट हिँड्दै छैन। म पहिलोपल्ट हिँड्दै छु। हिँडिसकेको मान्छे र पहिलोपल्ट हिँडेको मान्छेले देख्ने कुरा फरक छन्।
एक अर्काले देखेको कुरा एक अर्कालाई सुनाउन सके पनि बाटो कटीजान्छ।
जम्मू जान हिँडेको रेलमा बसिरहेको ऊ भारतीय मुस्लिम। मलाई ऊसँग मनबाट बोल्न मन छ। उसले अहिलेको समयका बारेमा के भन्छ, सुन्न मन छ। उसले यो समयमा उभिएर के देख्छ, जान्न मन छ। ट्याक्सीवाला दाइसँग पनि मनबाट बोल्न मन थियो। त्यो बेला मन छेउमा थिएन र बोल्न सकिनँ। अहिले मन छेवैमा भएकाले बोल्न सकिनँ जस्तो लाग्दैछ।
'आफ्नै मनसँग पनि केको लाज होला?' मन मलाई जिस्क्याउँछ। उसले युवकको मनसँग चिनजान गरिसकेको छ।
म बोल्छु तर तर बलजफती गर्नु छैन। बलजफती सोधिएका प्रश्नको उत्तर बलजफती आउँछ। मलाई हामीबीचको संवाद बलजफती लेखिएका फिल्मका संवाद जस्तो बनाउनु छैन। मेरो प्रश्न बनावटी नहोस् ताकि उसको उत्तर बनावटी हुने छैन।
कुराकानीलाई कसरी सहज बनाउने पत्तो पाएँ भने ऊसँग बोल्नेछु। वा पत्तो नपाइ सहज कुराकानीमा पुगेँ भने पनि म ऊसँग बोल्नेछु।
ऊ उडिसामा जन्मिए पनि भारतको राजधानी दिल्लीमा इञ्जिनियरिङ पढिरहेको थियो। अहिले पन्जाबमा जागिर लागेको छ। सामान्य कुराकानीमा यति थाहा भयो। धेरै कुराकानी सामान्य कुरा थाहा पाएपछि अडिन्छन्। त्यसबीचमा एउटा सानो पुल हुन्छ। जुन तरिएन भने नयाँ कुराकानीमा पुगिँदैन। त्यस्तो कुराकानी जहाँ एकले अर्कालाई डिस्टर्ब नहुने गरी बोलिन्छ। जहाँ एकले अर्कालाई सुनेको थाहा नपाइकन सुनिन्छ। जहाँ एकले अर्कालाई बुझ्ने प्रयत्न बिनै बुझिन्छ।
ऊ बसिरहेको भारतमा यो कुरा भइरहेको छैन। म बसिरहेको नेपालमा पनि यो कुरा भएको छैन। एक अर्कालाई बुझ्नेछौं भनेर 'बाचा' गर्नेले पनि यही कुरा बुझ्दैनन्।
कत्ति ठूला ठूला समस्याहरू यही सानो सिद्धान्त लागू नभएर बल्झिरहन्छन्। ठूलो देश वा सानो देश यही कुरा थाहा नपाएर अस्थिरतामा गुज्रिन्छन्।
रेलले भर्खरै पुल काटेको छ। पुलको पल्लो लिक हेर्दैछु।
भारतमा मोदीको उदयपछि मुस्लिम अल्पसंख्यकहरू समस्यामा छन्। हिन्दु अतिवाद मौलाएको छ। अतिवादले आफू बाहेकको दृश्य छोपिदिन्छ। मानौं यही रेलमा झ्याल नभएको जस्तो। तर अतिवादीहरू झ्याल भएकै ठाउँ पनि अँध्यारै राख्न चाहन्छन्। मलाई त्यसको बारेमा ऊसँग गफिन मन छ। उसले 'झ्याल' बाट बाहिर हेर्दा के-के देख्छ, सुन्न मन छ। तर उपयुक्त शब्दहरू तयार भएका छैनन्। मनभित्र एकआपसमा ठोक्किएका छन् तर लाइन लागेर उभिएका छैनन्।
हामी दुवै जना झ्यालबाट बाहिर हेरिरहेका छौं।
शब्दहरूलाई जबरजस्ती लाइन लगाएर वाक्य बनाउन मन छैन। त्यसो गरेँ भने म र शासकमा के फरक भयो?
मैले कुरा गर्न खोजेको विषयसम्म कुन कुराले पुर्याउँछ, त्यो मलाई थाहा छैन। त्यहाँ पुर्याउने केही चिज होला भन्ने थाहा छ तर त्यो के हो, मलाई अहिले थाहा छैन।
बलजफती गरिएको विकास दिगो हुन्न। कुराकानी विकास हुन समय लाग्छ।
ऊ फोनमा केही हेरिरहेको छ। म किताब निकालेर पढ्न थाल्छु- अमेरिकामा बस्ने एक प्यालेस्टाइनी युवतीको घरमा केही सुरक्षाकर्मीहरू बलजफती घुस्दैछन्। उसलाई बलजफती प्रश्नहरू सोध्दैछन्। ऊ डराएकी छे। ऊजस्तै अल्पसंख्यकहरू सबैतिर डराएका छन्।
बहुसंख्यक हुनुमा त्यस्तो के छ? अरूको डरको कारण हुनुमा के त्यस्तो मजा छ? अरूलाई नबुझ्नुमा त्यस्तो के आनन्द छ?
केही नभएको चिजमा त्यस्तो के छ?
बलजफती घुसेकाहरू कतै पनि लामो समय टिकेका छैनन्। बलजफती टिकेकाहरू लडेपछि सजिलो गरी उठेका छैनन्। तर बलजफती गर्नेलाई यो कुरा थाहा हुँदैन।
रेल कुद्नुभन्दा पहिला ऊ स्टेसनमा चिप्स किन्न ओर्लिएको रहेछ। हामी सँगै चिप्स खान थालेका छौं। ऊ मलाई नेपालका घुम्ने ठाउँहरूका बारेमा सोध्छ। म उसलाई जानेसम्म बताउन खोज्दै छु।
एकछिन! किन नेपालका मुस्लिम धार्मिक ठाउँहरूका बारेमा जोड दिएर बताउन खोज्दै छु? काठमाडौंका मस्जिदका बारेमा सुनाएँ। जनकपुरको जानकी मन्दिरभन्दा धेरै त्यसको पछिल्तिर उभिएको मस्जिदका बारेमा सुनाएँ।
ऊ पनि त मलाई उडिसाको हिन्दु ठाउँहरूका बारेमा बताउन खोजिरहेको छ।
हामी एकअर्कालाई मन पर्न सक्ने कुरा अनुमान गरेर एकअर्काको नजिक जान खोजिरहेका छौं। तर मलाई उडिसाको मुस्लिमहरूको बारेमा बुझ्न मन छ। उसलाई नेपालका हिन्दुहरूको बारेमा बुझ्न मन होला।
के मैले उसको नजिक पुग्न उसलाई नजिक लाग्नसक्ने कुराहरू गरेको हुँ? ऊ मनबाट बोल्दै छ कि बोल्नका लागि बोल्दैछ? म के गर्देछु?
मन 'मलाई के थाहा?' भन्दै जवाफ दिन अस्वीकार गर्छ। ट्याक्सीवाला दाइ 'म त सुन्ने मात्र हुँ' भन्दै मुस्कुराउँछन्। म फेरि चुप लाग्छु।
'तिमीलाई पहिलोपल्ट देख्दा कश्मीरको मान्छे जस्तो लागेको थियो,' मेरो हुलियाका बारेमा बताउँदै युवक भन्छ। मैले लगाएको हाफ डाउन ज्याकेटले उसलाई त्यस्तो सोचाएको हुनसक्छ।
'ढोकाबाट छिर्नासाथ फिल्ममा खेल्नुपर्ने मान्छे, कहाँ रेलमा बसिरहेको जस्तो लागेको थियो,' म उसलाई जिस्क्याउँछु। हामी हाँस्छौं।
तर यो हाँसोले पनि मैले सुन्न खोजेको विषयसम्म हामीलाई पुर्याउँदैन। केही चिज छ जसले पुर्याउँछ। तर त्यो चिज के हो, त्यो अहिले मलाई थाहा छैन।
सहर निक्कै पर छुट्यो क्यारे। रेलको गति बढ्न थालेको छ। बाहिर साँझ पर्न लागिसकेको छ। साँझ परेपछि झ्यालबाहिर हेर्नलाई धेरै थोक हुँदैन। एकछिन सुतेर कुराकानी गरौंला भनेर आ-आफ्नो सिटमा चढ्छौं।
म मोबाइल खोल्छु र गीत बजाउँछु। कानमा चर्चित पाकिस्तानी कवि फैज अहमद फैजको 'हम देखेंगे' गीत बज्न थाल्छ। यो गीत पहिलोपल्ट सुन्दा जे सुनेको थिएँ दोस्रोपल्ट अर्कै सुनेँ। तेस्रोपल्ट अर्कै।
फैजले पाकिस्तानमा जिया उल हकको निरंकुश शासन चलेका बेला लेखेर हावामा छाडिदिएको यो गीत हरेक ठाउँ पुगेर स्वरूप बदलिरहन्छ। भाषा बदलिरहन्छ। हरेकपल्ट सुन्दा आशय बदलिरहन्छ, दिशा बदलिरहन्छ। र, भनिरहन्छ 'हामी हेर्नेछौं, जे बाचा गरेका छौ, ती पूरा गरेनछौ भने हामी हेर्नेछौं।'
पाकिस्तानी संगीतमा घुलेर जमिनमा दौडिएको यो गीत हरेक ठाउँका आन्दोलनमा मिसिन्छ। सामाजिक सञ्जालका भित्ताहरूमा मिसिन्छ। होस्टलका दैलाहरूमा मिसिन्छ। अल्पसंख्यकका मुखमा, विद्यार्थीहरूका मुद्दामा, असमानतामा, पीडामा...सबैतिर स्वरूप बदलेर मिसिन्छ। देश जुन भए पनि जहाँ जहाँ 'बाचा' ले शासन गर्छन्, त्यहाँ दौडिन्छ। जहाँ जहाँ 'बाचा'हरू डगमगाउँछन् त्यहाँ दौडिन्छ।
बीचमा काँडेतार लगाएको भए पनि बोर्डरले यो गीतलाई रोक्न सकेन। गीतलाई यात्रा गर्न पुल चाहिँदैन। गीत आफैं पुल हो।
बाचा गर्नेहरू उता पनि थिए, यता पनि थिए। उता पनि छन्, यता पनि छन्। 'बाचा त गर्यौ तर पूरा गरेनौ भने हामी हेर्नेछौं।'
यो गीत दुवैतिरकालाई एकैचोटि भनिरहन्छ। आशा र बिद्रोहलाई यति नजिकैबाट कुनै गीतले भनेको छ भने, त्यो गीत यही हो।
ट्याक्सीवाला दाइ 'खै म पनि सुनूँ' भने जसरी एउटा इयरफोन तान्छन् र आफ्नो कानमा लाउँछन्।
म उनीसँग गफिन्छु।
झ्यालबाहिर अँध्यारो बढेको छ। बीचमा आएका स्टेसनमा भिड घट्दै छ। अब झ्यालबाहिर देखिने चिजहरू लगभग उस्तै छन्। युवक एकछिन सुत्नुपर्यो भनेर आफ्नो सिटमा उक्लिएको छ। ट्याक्सी वाला दाइले अर्को इयरफोन पनि तानेका छन्।
सँगै हुनासाथ कुराकानी हुन्छ भन्ने हुँदैन। युवक मभन्दा त्यति नजिकैको दुरीमा छ तर हामी बोलिरहेका छैनौं। दुरीको नयाँ परिभाषा थाहा भएको छ। नजिकै भएका कति धेरै मान्छे टाढा हुन्छन्। टाढा भएका कति धेरै मान्छे नजिकै हुन्छन्।
म पनि आफ्नो सिटमा उक्लिएको छु। झोला कुनामा सारेर सिरानी मिलाउँछु। तन्ना तन्काउँछु र मोबाइलको चार्जर निकालेर प्लगमा जोड्दै ढल्किने तयारी गर्छु। ठीक त्यसैबेला अघि इयरफोनमा सुनेको 'हम देखेंगे' गीत आफैंले गुनगुनाएको सुन्छु। धेरैपल्ट सुनेको गीत कति बेला गुनगुनाइन्छ, थाहै हुँदैन।
त्यसको अन्तरा गुनगुनाएर बाँकी गीतमा छिर्न लाग्दै गर्दा दाहिने आँखापट्टिको पल्लो सिटमा कोही जुरुक्क उठेर बसेजस्तो लाग्छ।
म मुन्टो त्यता फर्काउँछु। सुत्न भनेर गएको युवक मतिर हेर्दै पलेँटी मारेर बसिरहेको छ। मैले हेर्नासाथ ऊ भन्छ:
'तिमीले यो गीत सुनेका छौ जस्तो लागेको थिएन।'
यसो भन्दै गर्दा उसको स्वर फरक छ। अघिको भन्दा बिल्कुल फरक। मलाई थाहा भइसक्यो, त्यो गीतले उसलाई ठीक त्यसरी नै तानेको छ जसरी मलाई तानेको थियो। आफूलाई तान्ने चिजले अरूलाई तानेको थाहा हुन्छ। उसले 'सुनेको छौ जस्तो लागेको थिएन' भन्नुको पनि गहिरो अर्थ छ।
गीतलाई पुल चाहिँदैन। गीत पुल हो।
अनि हामी गफियौं।
गीतका शब्द शब्दमा पुग्यौं र आफ्नो देशको अवस्थासँग मिलाउँदै गायौं। उसले नयाँ दिल्लीको विद्यार्थी आन्दोलनमा बजेका अरू गीत पनि त्यसमा मिसायो। नागरिकता कानुनको विरोधमा भर्खरै भारतमा भाइरल भएको 'हम कागज नही देखाएंगे' कविता पनि गीत भयो। मैले नेपालमा चलिरहेको किताबमा करविरूद्धको आन्दोलनबारे सुनाएँ। त्यस बेला चलेका ह्यासट्याग पनि गीत भए।
गीत, गीत मात्र होइन। गीतको गुनगुनाहट, गुनगुनाहट मात्र होइन। हामी गीतको प्रसंगबाट बोल्न थालेर अरू गीतमा मिसियौं। अरू धुनमा मिसियौं। अरू तारमा मिसियौं। अरू बाजामा मिसियौं। अरू शब्दमा मिसियौं।
गीत हामी भयो। हामी गीत भयौं।
ट्याक्सी चलाउने दाइ त्यसै गरी मुस्कुराएर सुनिरहे। बाँकी दुई सिट मान्छे पर्खिरहे। रेल कुदिरह्यो।
ऊ ओर्लिने स्टेसन आउनुभन्दा केही पहिला एकजना कश्मीरका पण्डित दाइ चढे। गीत भएका ठाउँमा पुग्ने जो कोही गीत हुन्छ। कश्मीरमा हिंसा बढेपछि घर छाडेर माग्दाको उनको कथा पनि गीत भयो।
उनीपछिको स्टेसनमा भारतीय आर्मीमा काम गर्ने नेपाल ससुराली भएका अर्का दाइ चढे। संगीत बजेको ठाउँमा पुग्ने जो कोही संगीत हुन्छ। परिवारबाट छुटेर सम्भावित लडाइँको मैदानमा हिँडेका उनको कथा सारंगी भई रेटियो।
दिल्लीबाट जम्मू जाँदै गरेको रेलको एक डिब्बाभित्र चार फरक पात्रहरू एउटै गीत भएर बजिरहे। स्टेसन आइरहे। छुटिरहे। अँध्यारो छिप्पिइरह्यो।
अब आउने कुनै स्टेसनमा युवक ओर्लिनेछ। जम्मूस्थित अन्तिम स्टेसनमा सबै ओर्लिनेछन्।
अनि जसरी भेटिएका थिए, त्यसरी नै छुट्टिनेछन्। गीत त्यति बेला पनि बज्दै हुनेछ र बजिरहनेछ।
पुस्ताहरू बित्नेछन्। पुस्ताहरू भेटिनेछन् र छुट्नेछन्। गीत त्यति बेला पनि बज्दै हुनेछ र बजिरहनेछ।
राजनीतिले मानिसहरूलाई टाढा पुर्याउनेछ। गीत त्यति बेला पनि बज्दै हुनेछ।
राजनीतिले बाचाहरू गरिरहनेछ, गीत त्यति बेला पनि बज्दै हुनेछ।
हम देखेंगे
लाजिम है कि हम भी देखेंगे
वो दिन कि जिसका वादा है
जो लोह-ए-अजल में लिखा है
हम देखेंगे. . .
(जम्मू यात्राको अन्तिम भाग बिहीबार प्रकाशित हुनेछ)
सुरज सुवेदीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्