लकडाउनकै बीच नेपालमा करिब १२०० जनाले आत्महत्या गरेको खबर सरोकारवाला व्यक्तिहरूमाझ छलफलको विषय त बन्यो, तर आममानिसमा खासै चासो देखिएन।
भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याले भने भारत मात्र होइन, नेपालसमेत तरंगित भयो। ३४ वर्षका यी प्रतिभावान र सम्भावना बोकेका युवा अभिनेताको यस्तो कदमले म पनि दु:खी भएँ।
भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सहानुभूतिका अनेक किस्सा पोखिन थाले। कंगना रणावतको भिडियो सन्देशले त सबैलाई हल्लायो। उनले भनेकी थिइन्, ‘यो आत्महत्या होइन, हत्या हो। बलिउडका केहीले गरेको नियोजित हत्या।’
बलिउडकै एक चर्चित अभिनेत्रीबाट आएको यस्तो प्रतिक्रियाले अरू धेरैको जस्तै मेरो मथिंगल पनि हल्लियो।
मैले सुशान्तको आत्महत्या विवेचना गर्न यो लेख लेखेको होइन। पोस्टमार्टमको मेडिकल रिपोर्टसँगै यसको कानुनी र आधिकारिक तथ्य बाहिर आइहाल्ला। तर, यसको वास्तविक मानसिक कारण पोस्टमार्टममा देखिने छैन।
यसबारे अनुमान गरिएला, सबैले आ-आफ्ना तर्क राख्लान्, आ-आफ्ना मान्यतामार्फत् निचोड सुनाउलान्, तर वास्तविकता हामीलाई थाहा हुने छैन। त्यो वास्तविकता शून्य भएर रहनेछ, जसले उनको नजिकका परिवारजनलाई सबभन्दा लामो समय पछ्याउने छ। हामी त केही दिन वा केही सातामा बिर्सिहाल्छौं।
सुशान्त मात्र होइन, आत्महत्या गर्ने सबैले यस्तै एउटा शून्यपन छाडेर जान्छ। चाहे त्यो सबैले चिन्ने सेलिब्रिटी हुन्, चाहे मेरा परिचित मित्र, आफन्तजन वा रानीपोखरीमा हामफाल्ने अपरिचित।
म हरेकपटक यस्तो समाचारले विचलित हुन्छु। यसरी अल्पायुमा अप्राकृतिक मृत्यु रोज्नेहरूका परिवारले जीवनभर अंगाल्न बाध्य शून्यता र विचलित मनस्थिति सम्झँदा सद्भावका संवेगले मन झन् विचलित हुन्छ।
हरेकपटक म प्रश्न गर्छु- किन?
त्यो अनुत्तरित प्रश्न अर्को यस्तै घटना नभएसम्म थाती बस्छ। आज यो घटनाले फेरि मलाई आफ्नो नजिकबाट गुज्रेका यस्ता केही घटना सम्झाउँदै छ।
घरपछि प्राय: सबैको नजिकको सम्बन्ध स्कुलका बालसखाहरूसँग जोडिएका हुन्छन्। झन् छात्रावासमा बसेकाहरूका लागि त साथीहरूको विशेष महत्त्व हुन्छ नै।
मैले सन् १९८७ मा एसएलसी पास गर्दाको ब्याचमा हामी ७० जना साथी थियौं। कक्षा १ देखि १० सम्म बीचमा आउने-जानेहरू सबै गन्दा मसँग कुनै न कुनै बेला एउटै कक्षामा सहपाठी भएकाहरूको संख्या करिब ८० जना पुगे होलान्। तीमध्ये आठ जना बितिसकेछन्- दुई जनाले त आत्महत्या नै गरेका हुन्। ती ८० जनामध्ये अल्पायुमा बित्ने र आत्महत्या गर्ने दुवै आधारमा यो संख्या धेरै हो।
आत्महत्या गर्ने एक जना सहपाठीबारे मैले केही समयअघि सेतोपाटीमै एउटा लेखमा लेखिसकेको छु। त्यस बेला टिभी र सिने क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका ती मित्र हुन्, आलोक नेम्वाङ।
हेर्नुहोस्: त्यो पुरानो फोटो, ती पुराना बालसखा
आलोकसँग स्कुलपछि खासै भेट नभएकाले उनको आत्महत्याले मेरो मनमा उठेको ‘किन?’ प्रश्न अझै अनुत्तरित छ।
धेरै वर्षअघिका यी घटना सम्झँदै, अनुत्तरित ‘किन?’ सँग तालमेल खोज्ने प्रयासमा म ट्विटर हेर्दै थिएँ। मेरा औंलाले अनायसै 'सुशान्त सिंह राजपुत' टाइप गर्यो। एक्काइस लाखले फलो गर्ने उनको पेजमा अन्तिम पोस्ट २७/१२/१९ मा गरिएको रहेछ। केही रमाइला भ्रमण भिडियोहरू सर्सर्ती हेरेँ। उनले आफ्नो श्यामश्वेत तस्बिर प्रोफाइलमा राखेका रहेछन् भने कभरमा भ्यान गोको पेन्टिङ।
त्यसपछि म ट्विटर टाइमलाइन स्क्रोल गर्न थालेँ। एउटा ट्विटले ध्यान खिच्यो, लेखिएको थियो- 'आत्महत्या न त बहादुरी हो न त कायरपन नै। न त सबै किसिमको डिप्रेसनको अन्त्य आत्महत्याबाट हुन्छ। तपाईंले कुनै व्यक्तिलाई जति राम्रोसँग चिने पनि, उनलाई के कारणले त्यसो गर्न उक्साउँछ भनेर सधैं अन्जान नै रहनु हुनेछ। निश्चित विषयबारे उनलाई उनकै बुझाइले डोर्याउँछ, तपाईंको बुझाइले होइन।'
ट्विट गर्ने व्यक्ति थिइन्, सजिना ढुंगाना।
सजिनासँग मेरो पुरानै चिनजान थियो, तर फेसबुकमा देखादेख र एकअर्काका फोटोमा लाइक गर्नुबाहेक कुराकानी नभएको वर्षौं भइसकेको थियो। उनले आत्महत्याबारे यस्तो 'प्राविधिक' सुनिने भाषामा लेखेको देखेपछि पहिला मेसेज गरेँ, अनि फोन।
सबभन्दा पहिला सोधेँ, ‘तिमी अचेल के गरिरहेका छौ?’
मेरो प्रश्नको आसय आत्महत्याबारे मनोविज्ञानको प्राविधिक भाषामा टिप्पणी लेखेको देखेर कतै उनी यही विषयसँग सम्बन्धित त छैनन् भन्ने जिज्ञासातिर थियो।
‘म अहिले साइको थेरापिस्टका रूपमा काउन्सलिङ र हिलिङको काम गर्छु, नेपालीमा यो कामलाई मनोविमर्शकर्ता भन्छन्,’ उनले एकै लाइनमा मेरो जिज्ञासा मेट्नुका साथै आफ्नो कामप्रति चाख पनि बढाइदिइन्।
सुशान्तको मृत्युको खबरसँगै केही समयदेखि सामाजिक सञ्जालमा ‘म उपलब्ध छु, तिमीलाई केही समस्या भए मसँग कुरा गर ...’ भावका सन्देश निकै कपी-पेस्ट भएर छरिएको देखेको थिएँ।
यसको प्रतिवाद गर्दै सजिनाले लेखेकी थिइन्, ‘सुशान्तको मृत्युपछि धेरैले सामाजिक सञ्जालमा ‘तिमीलाई केही परे म छु’ भावका सन्देश लेखेको देखेँ। तर, यदि कोही आएर ‘म मर्न चाहन्छु’ वा ‘म एकदमै डिप्रेस्ड छु’ वा ‘मलाई सबैले बुली गर्छन्, हेप्छन्’ वा ‘आई फिल वर्थलेस – म आफूलाई औचित्यहीन महशुस गर्छु’ भनेर भने तपाईं के सुझाव दिनुहुन्छ? मेरो अनुभवमा यस्तो अवस्थामा रहेकाहरूलाई एकैचोटि सुझाव दिन व्यावसायिक रूपमा प्रशिक्षित मनोविमर्शकर्तालाई पनि अप्ठ्यारो पर्छ। त्यसैले, मेरो कुरा विश्वास गर्नुस्, आफूले नजानेको क्षेत्रको यस्तो जटिल अवस्थामा तपाईंको एक गलत सुझावले समस्या झन् गिजोलिदिन्छ। तपाईंले मद्दत गर्न खोज्दा उसलाई हानि पुग्न सक्छ। पानीमा कहिल्यै डुबुल्की नमारी पौडी कसरी खेल्ने भनेर केही लेख पढेको आधारमा डुब्न लागेको मान्छेलाई बचाउन नसकेजस्तै तपाईंको यो प्रयास प्रत्यूत्पादक हुन सक्छ। मानसिक विषय निकै संवेदनशील विषय हो, यसको समस्याको जरा निकै गहिरो हुन्छ। गुगलमा पढेको भरमा थेरापिस्ट हुन नखोज्नुस्, उपयुक्त व्यावसायिक सहयोगसम्म पुर्याउन भने सहयोग गर्नुस्।’
उनको यो अलि ठाडो लाग्ने अभिव्यक्तिबारे मलाई अलि असहज महशुस भयो। मलाई लाग्थ्यो, साथीभाइ र आफन्तहरूलाई सहयोग गर्छु भन्दा के को आपत्ति?
उनले यसरी अर्थ्याइन्, ‘मानसिक समस्याबाट गुज्रिएका व्यक्तिहरू निकै चनाखो पनि हुन्छन्। उनीहरूले सबैलाई मिहिन रूपमा अवलोकन गर्छन्। यो यस्तो समस्या हो, जसमा संकोच र अविश्वास व्याप्त हुन्छ। मानसिक समस्या भएका मानिस, विशेषतः डिप्रेसनबाट गुज्रिरहेकाहरूले आफूलाई स्वमूल्यांकन गर्ने आधार तीन किसिमको सोचबाट प्रेरित हुन्छ- १. वर्थलेसनेस– औचित्यहीन, ऊ निकम्मा महशुस गर्छ, २. हेल्पलेसनेस– असहाय, मलाई सहयोग गर्ने कोही नभएको महशुस गर्छ र यी दुई भावनाले उसलाई ३. होपलेसनेस– निराश बनाउँछ।'
सजिनाले अगाडि भनिन्, 'यी सोच रातारात सिर्जना हुने होइनन्। उसले निकै मानसिक पीडाका साथ यो झेलिरहेको हुन्छ। सायद सहयोग चाहिएको संकेत पनि गर्छ, तर उसको कुरा हामीले त्यत्तिकै ‘हावा’ ठानेर उडाइदिएका हुन सक्छौं। त्यसैले त, ऊ झन् हेल्पलेस महशुस गर्न थाल्छ। यो यस्तो समस्या हो, जसबारे पतिले पत्नीलाई, पत्नीले पतिलाई, छोराछोरीले आमाबाबुलाई र नजिकका साथीहरूमाझ पनि खुलेर कुरा गर्न सकिरहेको हुँदैन। हामी अन्जान व्यक्तिले मसँग कुरा गर भन्दैमा कोही आउँछ?’
उनको कुरा सुनेपछि मैले पनि कुनै बेला यस्तो महशुस गरेको थिएँ कि भनेर घोत्लिएँ। केही यस्ता सम्झना ताजा भए, जब संकट बेला र जे गरे पनि काम नबनेका बेला आफूलाई ‘वर्थलेस’ महशुस गरेको, सहयोग माग्दा विश्वास गरेकाहरूबाटै सहयोग नपाउँदा ‘हेल्पलेस’ महशुस गरेको र यो क्रम जारी रहँदा कुनै चरणमा ‘होपलेस’ भएर निराश स्थितिमा पुगेको।
म झल्याँस्स भएँ। उनलाई सुनाएँ, ‘यस्तो चक्र त साधारण नै हो नि होइन? सबैलाई भइहाल्छ, मलाई पनि भएको थियो। अहिले ठिकै छु त।’
मेरो कुरामा उनले प्रतिवाद गरिनन्, स्वीकार्दै भनिन्, ‘सबै मानिसको सोच, मानसिक अवस्था र क्षमता फरक-फरक हुन्छ। फिल्म हेर्दा कोही केही नभए पनि रोइहाल्छ, कोही अलि चरम अवस्था नभएसम्म सहन सक्छ। कोही जस्तोसुकै अवस्थामा पनि सहेर केही नभएजस्तै गरी आफू बलियो भएको अभिनय गर्छ। कोही-कोहीलाई भने साँच्चै आँसु नै आउँदैन। यो सबै मानिसको संवेदनाको स्तर र सहन सक्ने क्षमतामा भर पर्छ। यसमा यति बुझौं, कुनै पनि ‘अतिवाद’ मानसिक अवस्थाका लागि राम्रो होइन।'
'तपाईंले जे भोग्नुभयो र पार गर्नुभयो, तपाईं भाग्यमानी हुनुभयो होला,' उनले भनिन्, 'त्यही भोगाइमा अर्को मानिसको अवस्था अर्कै हुन सक्थ्यो।’
'फेरि त्यो बेलाको पारिवारिक र नजिकको 'सपोर्ट सिस्टम' ले पनि ठूलो भूमिका खेल्छ। तपाईंको 'सपोर्ट सिस्टम' ले त्यो बेला तपाईंलाइ उद्दार गरेको हुन सक्छ,' यति भन्दै उनले अर्को उदाहरण दिइन्, ‘हामी मानिस भनेको रूखजस्तै हौं। कुनै बेला सानो भेलले ठूलो रूख बगाएको देख्छौं। कहिले ठूलो बाढीपहिरोमा पनि मसिनो रूख अडेको देख्छौं। हामी मान्छेको शारीरिक सुगठनबाट उसको शारीरिक र मानसिक बल आँक्ने गर्छौं। तर, कस्तो मानसिक परिस्थितिलाई कसले कसरी ह्यान्डल गर्छ, त्यो त्यही व्यक्तिको त्यस बेलाको मानसिक अवस्था, उसको बुझाइ र पारिवारिक सपोर्टमा भर पर्छ। अरूले गर्ने त अनुमान हो, बस्।’
यसबारे थप बुझ्न मेरो सम्पर्क सूचीमा भएका मनोरोग विशेषज्ञ डा. प्रश्वास थापालाई सम्पर्क गरेँ।
उनले अलि प्राविधिक कोणबाट यसरी बुझाए, ‘वर्थलेसनेस, हेल्पलेसनेस र होपलेसनेस जस्ता सोच पलाउनेबित्तिकै डिप्रेसनको शिकार भइहाल्ने होइन। यस्तो सोच वा नरमाइलो लाग्ने क्रम कम्तिमा दुई हप्तासम्म भइरहे मात्र यो डिप्रेसन हो भनेर बुझ्नुपर्छ। स्याड्नेस र डिप्रेसन फरक कुरा हुन्। जस्तो कि, कोही घरमा हुँदा यस्ता सोचले ग्रस्त हुन्छन्, तर काममा खुसी नै हुन्छन्। कुनै बालबालिकाले स्कुलमा यस्तो महशुस गर्छ, तर घर आएपछि सबै बिर्सिएर रमाएर खेल्न थाल्छ। यो भनेको कुनै निहीत वातावरण वा व्यक्तिहरूमाझ ऊ स्याड वा दु:खी भएको हो। उसलाई डिप्रेसन भएको होइन। स्याड्नेस र डिप्रेसनबीच फरक छुट्याउन हामी हरेक ठाउँमा यो लक्षणले लगातार पछ्याउँछ कि पछ्याउँदैन भनेर लक्षणको ‘पर्भेसिव’ र ‘पर्सिस्टेन्स’ प्रकृति निर्क्यौल गर्छौं।'
यी कुरा अघि बढ्दै गर्दा मेरो अगाडि आफू र आफ्ना नजिकका धेरै जना सम्भावित रूपले मानसिक विचलनको सम्भावनाबाट गुज्रेको छनक महशुस हुँदै गयो। हुन पनि हो, हामी सबै जना मानसिक अस्थिरता र रोगको शिकार हुने सम्भावना बोकेर बाँचेका हुन्छौं। सबै राम्रै थियो, बेसै थियो। बेलुका राम्रै गफ गरेर भात खाएर सुत्न गएको मान्छे, अकस्मात् त्यस्तो के भएछ? यस्तो अवस्थातिर हाम्रो गफ मोडियो।
सजिनाले बुझाइन्, ‘यसलाई ‘हाई फंगसनिङ डिप्रेसन’ भनिन्छ। भित्र जस्तो भए पनि बिरामीले बाहिर सबै ठिक भएको अभिनय गरिरहन्छ, अन्तिम समयसम्म। यस्तो मानिसलाई समयमा परामर्श वा सहयोग प्राप्त भएन भने, कुन बेला ट्रिगर हुने आवेगले उसलाई आफ्नो जीवनको कठोर निर्णय लिन प्रेरित गर्छ, पत्तै हुँदैन। उसको जीवन जतिसुकै रंगीन र सहज देखिए पनि भित्र ऊ एउटा अन्तरिक शून्यतामा रूमलिएको हुन्छ। त्यो भित्री शून्यताको चित्कारको पीडाबोध पर्नेलाई मात्रै थाहा हुन्छ, हामीले त अनुमानसम्म लगाउन सक्दैनौं।’
उनले यसो भनिरहँदा मैले नजिकबाट देखेको छिमेकका एक जना समकालीन मित्रको याद आयो।
त्यस बेला हामी दुवै करिब २४-२५ वर्षका थियौं। उसको परिवारले हाम्रो छिमेकमा पसल चलाउँथ्यो। उसको बिहे भएको डेढ वर्षजति भएको थियो। ऊ र उसको भाइको एउटै लगनमा बिहे भएको थियो। हामी जन्तीलाई दुवैतिर भ्याउनुपर्ने चटारो परेको थियो। नजिकको छिमेकी भए पनि उसको परिवार अलि पछि ताहाचल सरेकाले हामी बालसखा नै त थिएनौं, तर भेट्दा गफ चल्थ्यो। पसलमा खात्राखुत्रु किन्न जाँदा ऊ भएको बेला केही मिनेट लामै गफ हुन्थ्यो। हरेक दिन नबिराई ‘हेलो हाई’ हुन्थ्यो।
बिहेपछि हामी उनलाई ‘मोज छ’ भनेर जिस्क्याउँथ्यौं। ऊ अप्ठ्यारो मान्दै हाँस्थ्यो। पसल जाँदा उसकी जेठी आमा भएका बेला ‘सबै ठिक छ गुरूमा?’ भनेर सोध्थ्यौं। उनी भन्थिन्, ‘सबै ठिक छ, त्यो एउटाको (उही मेरो साथी) रिस कडा छ, एकदमै लाटो रिस, मलाई त डर लाग्छ।’
उनको यो कुरा पनि हामीलाई सुन्दा सुन्दा साधारण लाग्ने भइसकेको थियो। हाम्रो अगाडि त ऊ सज्जन नै थियो। बज्राचार्य खलकका भएकाले टोलका सबैले त्यो परिवारका सदस्यलाई 'गुर्जु, गुरूमा' भनेर बोलाउँथे।
एक साँझ ७ बजेतिर म मोटर लिएर निस्किएँ। ऊ पसलको ढोकामै थियो। गाडी रोकेँ। चुइगम एक प्याकेट किनेँ। एकछिन हाँसीखुसी भलाकुसारी गर्यौं। उसको बच्चा भइसकेको थियो। श्रीमती र बच्चाबारे सोध्दा 'सबै ठिक छ, सुत्केरी स्याहार्न माइत गएका छन्' भन्यो। म आफ्नो बाटो लागेँ।
नौ-दस बजेतिर फर्कंदा टोलको बाटोमा अलि अप्रत्यासित भीड अनुभव गरेँ। घरनजिकै पुग्दा पुलिसको भ्यान र भ्यानको अगाडि सर्वेन्द्र खनाललाई देखेँ। त्यस बेला उनी कालिमाटी थानामा इन्स्पेक्टर भएर आएका थिए। कालिमाटी, उनको प्रहरी जीवनको प्रारम्भिक दरबन्दी थियो जस्तो लाग्छ। उनी तालिमे हुँदाका केही ब्याची मेरा साथी भएकाले उनीसँग पहिले नै चिनजान थियो।
गाडी रोकेर ‘के भयो’ भनेर सोधेँ। उनले छोटकरीमा ‘सुसाइड केस’ भने। म अचम्ममा परेँ। ‘को?’ भनेर सोध्नु स्वाभाविक थियो। उनले ‘त्यहाँ पसल गर्ने मान्छे’ मात्र भने, नाम उनलाई थाहा हुने कुरै भएन। उनी भर्खर त्यहाँ पुगेका थिए।
म गाडीबाट ओर्लिएँ। वरिपरिका अरू छिमेकीलाई हातको इसाराले सोधेँ, ‘को?’
नाम सुनेर म छाँगाबाट खसेझैं भएँ। एक छिनअघि मात्र गफ गरेको मान्छे!
एकछिन त्यहीँ बसेर छिमेकीहरूसँग गफ गरेपछि मैले सर्वेन्द्रतिर हेरेँ। उनी त्यही बाटोमा भ्यानको अगाडि उभिएका थिए। वरिपरि बस्ने ठाउँ थिएन। मैले उनलाई आफ्नै घर लगेँ। उनका केही सहयोगी प्रहरी साथै आए। उनीहरूले हाम्रै बैठकमा बसेर मुचुल्का उठाउने र लेखापढीको काम गरे।
सबै औपचारिकता सकिएपछि उनीहरू शव व्यवस्थापन गर्न उसको घर गए। म पनि सँगै गएँ। सबै जना छिमेकी घरबाहिर हुल बाँधेर बसेका थिए। प्रहरी सँगसँगै गएकाले म बिनारोकतोक माथि कोठामै पुगेँ। शव खाटमा छोपेर राखेका होलान् भन्ने अनुमानका साथ कोठाभित्र छिरेको थिएँ। खाटतिर हेरेँ, केही थिएन। यसो टाउको माथि उठाएको, ठ्याक्कै अगाडि टङग्रङ्ग झुन्डिएका।
म त झस्यांगै भएँ।
प्रहरीले 'ल अब झिकौं' भनेपछि अगाडि भएकाहरू पछि सर्न थाले। तीन-चार जना नभई शव झार्न गाह्रो थियो। म अगाडि नै भएकाले त्यसमा सामेल हुन कर लाग्यो।
त्यसपछि उनीहरूले शव पोस्टमार्टम गर्न वीर अस्पताल लगे। हामी घर आयौं।
त्यसपछिका कति दिन हो याद छैन, राति सुत्ने बेला मेरो कोठाको बत्ती निभेन। दाइ र म एकै कोठामा सुत्यौं।
उसको मृत्युले हाम्रो टोल-छिमेकमा लामो समय असर पार्यो। ताहाचलको बाटो राति पनि आवतजावत खाली हुँदैन थियो। सोल्टी होटल र क्यासिनो नेपालका स्टाफ सिफ्ट सकाएर पछाडिको गेट हुँदै त्यही बाटो आवतजावत गर्थे।
एक दिन क्यासिनोका एक कर्मचारीले काम गर्दागर्दै गफैगफमा आफ्नो साथीलाई भनेछन्, ‘त्यो गुरूमाको छोरा के भाको होला?’
उसको नाम सुन्नेबित्तिकै ऊ मरिसकेको कुरा थाहा पाएका साथीले उत्सुकतासाथ सोधेछन्, ‘किन के भयो र?’
‘खै अचेल रातबिरात घरबाहिर बसिरहेको हुन्छ। के भयो भनेर सोध्दा केही बोल्दैन। दुई-तीनपल्ट भइसक्यो।’
साथीको उत्सुकता झनै बढ्यो, ‘कहिलेको कुरा यो?’
‘यही हप्ताको आसपास– हिजो पनि भेटेको थिएँ।’
‘के भन्छ यो?’ झस्किँदै उनले भनेछन्, ‘ऊ त एक महिनाअघि झुन्डेको हो त, थाहा छैन?’
त्यसपछि हाम्रो टोल अँध्यारो भएपछि सुनसान। सोल्टी र क्यासिनोका कर्मचारी कालिमाटीको बाटो हिँड्न थाले।
आत्महत्याको घटनाले परिवारमा त अपूरणीय क्षति र असर पर्छ नै, छिमेकमा पनि लामो मानसिक असर पार्छ। सजिनाले भनेअनुसार मेरो त्यो साथी 'हाई फंगसनिङ डिप्रेसन' को रोगी थियो होला। उसकी आमाले भनेजस्तो रिसाहा बानी उसको रोगको संकेत थियो होला, जसको भेउ कसैले पाएनन्।
रिसाउनु साधारण कुरा हो, तर उसको केसमा त्यो असाधारण संकेत बनेर झुल्केको हुनसक्छ।
सजिना र मेरो कुरा अघि बढ्दै थियो, मैले प्रश्न गरेँ, ‘मानसिक अवस्थामा असर पार्ने प्राय: कारण के हुन्छ?’
‘यही कारण भनेर किटेर भन्न सकिँदैन। शारीरिक, मानसिक, वंशाणुगत जे पनि हुनसक्छ। त्यस्तै गर्भावस्थामा आमाको व्यवहारदेखि हुर्कंदाको पारिवारिक वातावरणसम्मले कुनै न कुनै किसिमको प्रभाव परेको देखिन्छ। आत्महत्याकै कुरा गर्दा, मानिसको आवेग, रिस, लोकलाज र सरमसँग जोडिएर सिर्जना हुने अनियन्त्रित संवेगहरूले पनि यस्तो निर्णयमा पुगेका घटना देखिन्छन्। तर, धेरै अवस्थामा यसको सम्बन्ध बाल्यकालसँग जोडिएको पाइन्छ,’ उनले भनिन्।
‘बाल्यकाल एकदम संवेदनशील समय हो। बाल्यकालमा कुनै पनि तरिकाले अपहेलित भएकाहरूको दिमागमा एक किसिमको अमीट छाप बसेको हुन्छ। त्यो चिज जिन्दगीको कुनै पनि क्षणमा ट्रिगर हुन सक्छ। झन् बच्चा हुँदा शारीरिक वा मानसिक रूपमा शोषितहरूमा त यो जोखिम उच्च रहन्छ। उनीहरूले आफूलाई माया गर्न सिक्दैनन्। बाल्यकालका ती अतेसलाग्दा स्मरणमा पनि उनीहरू आफूलाई नै दोषी ठान्छन्। यो छाप उनीहरूको दिमागमा यसरी गडेर बसेको हुन्छ, कुन बेला ट्रिगर भएर भयावह स्थिति सिर्जना हुन्छ पत्तै हुन्न। घडी छोपिएको टाइम बमजस्तै। त्यस्तै, परिवारमा भएका नजिकका नातेदारको मृत्यु वा कुनै अप्रिय दुर्घटनाको कारण मानसिक आघात पुगेको छ भने पनि पछि गएर ट्रिगर हुन सक्छ। यी सबैका साथै परिवारमा मानसिक रोगको वंशाणुगत उपस्थिति छ भने झनै सचेत हुनुपर्छ।’
‘अनि यसको उपचार के त?’
‘त्यही त गाह्रो छ। उपचार सुरू गर्न मुख्य कारण पत्ता लगाउनुपर्छ। जस्तो, कुनै किशोरी अहिले २५ वर्षकी छे र उसमा मानसिक समस्याको लक्षण देखियो, तर उसको समस्याको जड ऊ आठ वर्षको हुँदा यौन दुर्व्यवहारको शिकार भएको घटनासँग जोडियो। यस्तो केसमा उसको आठ वर्षको स्मरणलाई आठ वर्षकै बच्चाले बुझ्ने तरिकाले सम्झाउनुपर्छ। अहिलेको उमेर हेरेर उपचार गर्यो भने उसको आठ वर्ष हुँदा आघात परेको स्मरणले बुझ्दै बुझ्दैन,’ सजिनाले भनिन्।
उनले यो पनि भनिन्, ‘यस्ता प्रतिकूल भोगाइहरूबारे खुलेर कुरा गरिँदैन। त्यसलाई दबाएर बाँच्ने बाध्यताबाहेक अर्को विकल्प नहुन सक्छ। अझ कतिलाई त त्यस्ता घटना याद पनि हुँदैन। यसरी दबाइएका वा दबिएका स्मरणसँग मानिस चेत वा अचेत रूपमा जुधिरहेको हुनसक्छ। यस्ता मानिसको जीवनमा हुने कुनै नयाँ घटनाले ती चेत-अचेत पीडा ब्यूँताइदिन सक्छ। यस्ता दुर्भाग्यपूर्ण संयोगहरूले मानिसमा मनोवैज्ञानिक उथलपुथल सुरू गरिदिन्छ र मानसिक रोगको बिजारोपण गरिदिन्छ।’
मलाई बालबालिकाको कुरा आउनेबित्तिकै आफ्ना छोरीहरू याद आए। र, बालबालिकामै केन्द्रित थप कुरा जान्न मन लाग्यो। सोधेँ, ‘बाल मस्तिष्कमा दुरगामी छाप पर्ने अरू कस्ता-कस्ता घटना हुन सक्छन् त?’
‘धेरै हुन्छ। हामीले याद नगरेका पनि हुन सक्छन्। घरमा आमाबाबुको सम्बन्धले पनि बाल मस्तिष्कमा दुरगामी छाप पर्छ। धेरैले याद नगर्ने भनेको घरमा होमवर्क गर्दा आमाबाबु र बच्चाबीचको तनाव पनि हो। कर, धम्की र कसै-कसैले त पिट्नेसम्म गरेका हुन सक्छन्। यसमा कसैको दोष महशुस नहोला। आमाबाबुले प्राय: बच्चालाई राम्रै गर्न खोजेको हुन्छ। बच्चाले पनि डरकै कारण वा अरू कुनै प्रभावमा परेर आमाबाबुलाई खुसी पार्न खोज्छ। धेरै बालबालिका यसलाई स्वाभाविक रूपमा ग्रहण गरेर अघि बढ्छ। तर, केहीमा यसको एकदमै नकारात्मक असर पर्छ र कालान्तरमा जब नियन्त्रित माहोलबाट मुक्त हुन्छ, ऊ छाडा हुन्छ। ऊभित्र आफ्नो लागि पढ्नुपर्छ वा केही गर्नुपर्छ भन्ने सोच नै पलाउँदैन। आमाबाबुसँग राम्रो र विश्वासको सम्बन्ध विकास गर्न असफल यस्ता बालबालिका आफ्नोपन खोज्ने क्रममा गलत संगतमा परेर लागुऔषधको शिकार हुने जोखिम हुन्छ। उनीहरूले आफ्ना लागि बाँच्न सिकेकै हुँदैनन्। सहाराका रूपमा रहेका आमाबाबुप्रति उसको छाप जबर्जस्ती दु:ख दिने व्यक्तिको पर्न जान्छ। देख्दा सामान्य लाग्ने विषय र व्यवहार पनि बालबालिकाको मनमा कसरी प्रशोधित हुन सक्छ भन्ने यो एउटा उदाहरण हो।'
यसमा थप प्रकाश पर्दै मनोरोग विशेषज्ञ डा. प्रश्वास भन्छन्, ‘बाल्यकालमा कसैले कुनै पनि किसिमको शारीरिक, मानसिक वा यौन दुराचार भोगेको छ भने त्यो पछि गएर मानसिक स्वास्थमा असर पार्ने कारक हुन सक्छन्। यीबाहेक पारिवारिक विछोड, अपहेलना, घरेलु हिंसा सबैले बालबालिकामा नकारात्मक प्रभाव पारेका केसहरू मैले देखेको छु।’
उनको कुरा सुन्दा म कहिले आफ्नो बाल्यकालमा पुग्थेँ त कहिले मेरा छोरीहरूको बाल्यकालमा। मेरो बाल्यकालले मलाई केही दुरगामी असर परेको छ कि? अन्जानमै हामीले गर्ने कुनै व्यवहारले छोरीहरूमा कुनै त्यस्तो असर परेको छ कि?
‘कारणहरू यति हुन्छन्, सबै भनेर साध्यै छैन। जस्तो, बाल्यकालमा कुनै बच्चा १०–२० मिनेटका लागि मात्र बजारमा हराएको छ भने, त्यो बेलाको ‘असहायपन’ ले उसमा पछि गएर हेल्पलेस महशुस गराउने ट्रिगरको काम गर्न सक्छ। यस्ता अनुभवका कारण बालबालिकामा एक्लै कहीँ जान मन नगर्ने, चिन्तामा डुब्ने, भीडदेखि डराउनेजस्ता लक्षण विकास हुन सक्छन्,’ सजिनाले भनिन्।
डा. प्रश्वास पनि विगतले भविष्यमा बल्झने मानसिक रोगमा असर पर्ने कुरामा सहमत छन्। भन्छन, ‘अतीतमा भएका घटनाको नकारात्मक प्रभावले भविष्यमा व्यक्तिको मानसिक स्वास्थ्यमा असर पर्छ भन्ने कुरा न्यूरोलोजिस्ट तथा मनोचिकित्सक सिग्मन्ड फ्राएडको ‘साइको-डाइनामिक थ्योरी’ मा उल्लेख छ। तर, मानसिक समस्याको कारण विगत मात्र होइन। डिप्रेसनको कारक वर्तमान जीवनका तनाव र समस्याहरूबाट पनि सिर्जित हुन्छन्। अहिलेको आधुनिक जीवनयापन र कामको तनाव, पारिवारिक संरचना सबैका कारण मानिसमा मानसिक समस्या थपिएको हामी देख्ने गर्छौं।'
सामाजिक लोकलाज, तनाव, आर्थिक भार र आफूले थेग्न नसक्ने आरोपका कारण आत्महत्या गरेका वा प्रयास गरेका हिरो, हिरोइन, कर्मचारी, व्यवसायीहरूको उदाहरण नेपालमै पनि भेटिन्छन्। त्यस्तै, जाँचमा फेल भएपछि आत्महत्या गर्ने कुरा त हामीलाई साधारण नै लागिसक्यो। कुनै बेला एसएलसीको नतिजा प्रकाशन हुँदा रानीपोखरी वरिपरी प्रहरी नै तैनाथ गरिन्थे।
हामीले अहिलेसम्म कारणबारे धेरै कुरा गर्यौं। कारणबारे प्राय: सबै अन्जान हुन्छन्, किनकि त्यो अतीतसँग सम्बन्धित हुन्छ, भोगाइसँग सम्बधित हुन्छ र अझ मुख्य कुरा, त्यो अनुभवलाई उसले कसरी परिभाषित गरेको छ भन्नेबाट निर्देशित हुन्छ।
अतीत परिवर्तन गर्न सकिन्न। अब के त? कारण नै नरहोस् भनेर सचेतना अपनाउन सकिन्न? मानसिक समस्याका लक्षण के होलान् त? त्यसैबारे मैले सजिनालाई सोधेँ।
‘याद गर्ने,’ उनले भनिन्, ‘आफ्ना छोराछोरी, श्रीमान, श्रीमती, आफन्त, साथीभाइको दैनिक व्यवहार र आचरण याद गर्ने।’
‘तर के-के याद गर्ने? सबै याद गर्न सम्भव पनि त हुँदैन नि?’ मैले समस्या सोझ्याएँ।
‘सबै त याद गर्नै पर्दैन, याद गर्ने भनेको उसको दैनिकी। बिहान उठ्ने, खाने, सुत्ने समय त सँगै बस्ने सबैको याद भइहाल्छ। यसमा परिवर्तन आयो भने अलि ध्यान दिनुपर्छ। बिहान ६ बजे उठ्ने मान्छे १० बजेसम्म सुत्न थाल्यो र यो क्रम चलिरह्यो भने, राति १० बजे सुत्ने मान्छे मध्यरातसम्म सुतेन, सोध्दा निद्रा लागेन भन्यो भने, मज्जाले खाना खाने मान्छेले खान छाड्यो वा कम खानेले एक्कासि धेरै खान थाल्यो भने, उसलाई अलि नजिकबाट याद गर्न थाल्नुपर्छ। कहिलेकाहीँ कामको डेडलाइन वा जाँचको प्रेसरले केही समय दैनिकी उथलपुथल हुनु स्वाभाविक हो। तर, साधारण अवस्थामा पनि दैनिकी उथलपुथल भएको देखियो भने याद गर्नुपर्छ। त्यस्तो बेला उसले केही अनौठो कुरा गर्यो भने कस्तो हावा कुरा गरेको? बहुलाइस् कि कसो? मेरो दिमाग नखा! जस्ता उसलाई निरुत्साहित गर्ने बचन त बोल्नै हुन्न। उसलाई सुन्नुपर्छ। त्यस्तै अन्टसन्ट कुरा गर्ने क्रम बढ्दै गयो भने व्यावसायिक सहयोगतिर विस्तारै डोर्याउनुपर्छ।’
मानसिक समस्याको अवस्था हेरेर दुई किसिमका सेवा उपलब्ध छन्- क्लिनिकल र नन-क्लिनिकल।
सुरूआती अवस्थामा उपयुक्त सहयोग पाए औषधि खानै पर्दैन। 'साइको सोसिअल काउन्सलर' र 'क्लिनिकल साइकोलोजिस्ट' गैरचिकित्सकीय परामर्श सेवा हो भने मनोरोग विशेषज्ञ वा 'साइक्रियाटिस्ट डाक्टर' औषधि दिएर उपचार गर्ने एक मात्र आधिकारिक सेवा हो। लक्षण देखेपछि कसकोमा लाने भन्ने अन्योल हुनु स्वाभाविक हो।
‘सबभन्दा पहिले कसकोमा जाने त?’ मैले सजिनालाई सोधेँ।
‘जसको सम्पर्कमा आउन सजिलो छ, उसकोमा गइहाल्ने। समय घर्कन नदिने। त्यसपछि हामी अवस्था हेरर डाक्टरकोमा पठाउनुपर्ने केस भए भनिहाल्छौं। डाक्टरकोमा गए पनि समस्याको अवस्था हेरेर आफैं उपचार गर्ने कि हाम्रोमा पठाउने गरिहाल्छ।’
यसलाई थप स्पष्ट पर्दै डा. प्रश्वास भन्छन्, ‘मानसिक समस्या र डिप्रेसन विभिन्न तहका हुन्छन्- माइल्ड, मोडरेट र सिभियर। माइल्ड वा नरमदेखि मोडरेट वा मध्यम तहमा रहेका बिरामीलाई हामी नै साइकोलोजिस्टकहाँ पठाउँछौं। नेपालमा यसरी पठाउने अभ्यास कम छ, तर विदेशमा यो नियमित प्रक्रिया भइसक्यो। मध्यम तह पार गरिसकेपछि सिभियर बिरामीहरूलाई भने काउन्सलिङले मात्र काम गर्दैन। सँगसँगै औषधि पनि दिनुपर्ने हुन्छ। यस्तो अवस्थामा उपचारका लागि साइक्रियाटिस्ट डाक्टरको सहभागिता अपरिहार्य हुन्छ।’
मानसिक रोगको उपचार भनेको साधारण लक्षण वा संकेत देख्नेबित्तिकै सहयोग लिन ढिला नगर्ने हो। जति चाँडो भयो, निको हुने सम्भावना त्यति धेरै हुन्छ।
संकेत भन्ने चिज पनि अनेक हुन सक्छन्। संकेतको कुरा चल्दै गर्दा मलाई सुशान्तको ट्विट र त्यसमा भएको भ्यान गोको चित्र याद आयो। फेरि खोलेँ। उनको ट्विटरको कभर फोटोमा भएको कलाकार भिन्सेन्ट भ्यान गोको प्रख्यात पेन्टिङ ‘स्टारी नाइट्स’ नै एक संकेत हो कि भन्ने लाग्यो।
कलाकार भिन्सेन्ट भ्यान गो पनि मानसिक रोगी थिए। उनले एकपल्ट त आफ्नो कानै काटे। जीवनको अन्तिम समयमा उनी दक्षिणी फ्रान्सस्थित मानसिक उपचार केन्द्रमा बस्थे। सन् १८९० मा ३७ वर्षको उमेरमा आत्महत्या गर्नुअघिसम्म उनी चित्रकला बनाउन व्यस्त रहे। उनले मर्नुभन्दा अघि त्यहीँ बनाएका उनका प्रख्यात काममध्ये ‘स्टारी नाइट्स’ पनि पर्छ।
भ्यान गोको यो चित्र उनका प्रख्यातमध्ये एक हो। संसारभरका समालोचकहरूले यसको पत्र-पत्र केलाएका छन्। साधारण आँखाले देखिनेभन्दा अलग देखिने बिहानकालीन झिलिमिली आकाश र तारापुञ्जलाई उनले प्रकाशको तरंगका रूपमा प्रस्तुत गरेका छन्। साधारण आँखाले नदेखिने यी तरंगलाई केही समालोचकले कलाकारको मानसिक अशान्तिको छालको प्रतिबिम्ब पनि भनेका छन्।
यसमा समावेश गरिएको एउटा रूखको पनि सान्दर्भिकता देखिन्छ। ‘साइप्रस’ नामको त्यो रूखलाई मृत्युपछिको जीवनको प्रतीकका रूपमा लिइन्छ। त्यस्तै, यसलाई धर्ती र स्वर्गको बीचको साँघु पनि मानिन्छ। यो चित्रपछाडि धेरैका धेरै विवेचना प्रकाशित छन्।
यो चित्र कोर्नेताका भ्यान गोले भनेका थिए, 'मलाई कुनै कुराको यकिनसाथ जानकारी त छैन, तर आकाशमा जब तारा देख्छु, म सपना बुन्न थाल्छु।'
यो संयोग नै होला। तर, यो संयोग नियाल्दा मलाई लाग्यो, न सुशान्तले भ्यान गोको ‘स्टारी नाइट्स’ लाई आफ्नो ट्विटरको कभरमा राखेर चेत वा अचेत अवस्थामै केही संकेत गरेका थिए कि?
यो मेरो नितान्त व्यक्तिगत अनुमान हो? उनले छाडेको शून्यतामा डुब्ने अनुमान।
हामीले आफ्नो नजिकको मानिसप्रति संवेदनशील भएर उसले आफ्नो विचलित अवस्थाबारे प्रवाह गर्न खोजेको संकेत बुझ्नसके यो समस्याले जरा गाड्न पाउँदैन। यो कुरा भनेजति सजिलो पक्कै छैन। जीवनको भागदौडमा यति मिहिन संकेत याद गर्ने फुर्सद नै कहाँ हुन्छ र!
अहिले कोरोना लकडाउन बेला यस्ता वैराग्ययुक्त तर्कले हामीलाई छुन खोज्ला पनि, तर भोलि जीवन स्वाभाविक अवस्थामा तैरिएपछि हामी यी संवेदना सबै बिर्सने छौं।
लकडाउनका कारण अकस्मात् सबै आवाज बन्द हुँदा हामीले चराको चिरबिर, मौरीको भुनभुनको अस्तित्व याद गर्न थाल्यौं। प्रदूषण एक्कासि कम हुँदा पहाड-हिमाल नजिक देख्न थाल्यौं। रात सफा हुँदा ताराहरू याद गर्न थाल्यौं। ‘स्टारी नाइट्स’ देख्न थाल्यौं।
भोलि सहरमा आवाज, प्रदूषण र रात्रिकालीन कृत्रिम प्रकाश बढ्न थालेपछि यी सबै प्राकृतिक सौन्दर्य हामी याद गर्न छाड्नेछौं। यो स्वाभाविक नै हो। तर, यो महामारीले हामीलाई मानव जातिको औकात पनि यति मजाले देखायो, अब फेरि पुरानै अवस्थामा पुगेर मानिस त्यही हदको अमानवीय जीवनमा नजाला भनी आससम्म गर्न सकिने सम्भावना जीवित बनाइदियो।
सहरमा आवाज बढ्दैमा चराले चिरबिर गर्न छाड्ने होइन। तपाईंको जीवन सामान्य हुँदैमा नजिकका केही विशेष ‘एक्ला’हरूको मानसिक अवस्था सामान्य भइहाल्ने होइन। उनीहरूको अन्तर्मनको पुकार याद गरौं, कसैको सानो समस्या पनि नजरअन्दाज नगरौं। यति गर्दा कसैको जिन्दगी बच्छ-बच्दैन म भन्न सक्दिनँ। तर, हाम्रो सानो संवेदनाले कसैको अकालको मृत्यु पक्कै रोक्न सक्छ।
यहाँ मलाई फेरि सिग्मन्ड फ्राएड सम्झन मन लाग्यो। उनले भनेका छन्, ‘प्रेम र अर्थपूर्ण काम नै मानवताको कसी हो, खुसीको कडी हो... र हरेक मानसिक समस्याको समाधान पनि।’
त्यसैले एकअर्कालाई माया गरौं, कसैलाई पनि उसले गर्ने ‘अर्थपूर्ण’ कामबाट विमुख नगरौं।
@KiranKrShrestha