हिजोअस्तिको काठमाडौं
रंगीन मैनका थोपाले पानीमा जसरी रंगीविरंगी आकृति बनाउँछ, त्यही थोपा छालामा परे कस्तो होला?
बाटामा जम्मा गरेको पानीमा तपतप चुहिएको मैन देखेर मेरो बाल मस्तिष्कमा यस्तै उट्पट्याङ विचार आयो।
जसै विचार आयो, बायाँ हातले पानीमा झारिरहेको मैन दायाँ हाततिर मोडियो। बूढी औंला र चोर औंलाको बीचमा मैनका थोपा तपतप चुहिन थाले।
पहिलो थोपाले चसक्क गर्यो। त्यसपछि थोपाको थाक लाग्दै गयो। सुरूमा त केही भएन। विस्तारै छाला तातो हुन थाल्यो। एक छिनपछि भित्रैसम्म भतभती पोल्यो। सहनै नसकेर कराएँ।
पल्लो कोठाबाट दिदी हतारिँदै आउनुभयो। मेरो हातमा मैनको डल्लो देखेर आत्तिनुभयो। तुरुन्तै मिस पनि आउनुभयो। मेरो हात समाएर मैन पुछ्न खोज्नुभयो। घर गएपछि हेर्दा, मैन झारेको ठाउँमा छाला रातो भएछ। त्यसमाथि फोका उठेर जुल्जुल्ती पानी भरिएछ।
त्यसपछि के-के भयो याद छैन, तर मेरो दाहिने हातमा जीवनभरका लागि सानो धर्सो खत बनेर बसेको छ। यो खत पुरानो घाउको दाग मात्र होइन, मेरो मस्तिष्कमा छर्लंगै जीवित पुरानो याद पनि हो।
त्यति बेलाकै एउटा संयोग मेरी श्रीमती अल्कासँग जोडिन्छ।
कान्ति ईश्वरी स्कुल, ताहाचलमा पढ्दाको यो मैन-घटना अल्कालाई सुनाउँदा उनी कता-कता सम्झेजस्तो गर्छिन्। उनको प्रारम्भिक शिक्षा त्यही स्कुलमा भएको हो। युवराज दिपेन्द्र जुन बेला कान्ति ईश्वरीमा पढ्थे, अल्का त्यहीँ थिइन् रे। हिसाब गर्दा हामी दुवै एकै समय एकै स्कुलमा पढेका रहेछौं। दुवैलाई दुवैको सम्झना भने छैन।
'दिल्वाले दुल्हनिया ले जाएगें' फिल्ममा शाहरूख र काजोलको भेट त अलि पछि हुन्छ, तर त्यसअघि नै लन्डनको रेल्वे स्टेसनमा उनीहरू एकअर्कासँग नजिकबाट आरपार हुन्छन्। अल्का र म पनि स्कुलका करिडोरहरूतिर यसैगरी नजिकबाट आरपार भयौं कि!
नर्सरी र केजी कान्ति ईश्वरीमा पढेपछि मलाई सेन्ट जेभियर्समा जाँच दिन लगियो। लाने र ल्याउने जिम्मा बाका एक जना सहयोगी दाइको थियो। ती दाइले फक्सवागन भ्यानमा राखेर जावलाखेल र गोदावरी दुवै ठाउँमा जाँच दिन लग्नुभयो।
जाँचमा के-के भयो मलाई याद छैन, यत्ति याद छ- ताहाचल घरबाट कालिमाटी पुगेपछि हाम्रै टोलकी एक जना दिदी गाडीमा चढ्नुभएको थियो। स्कुल पुगेपछि मलाई जाँच हलमा पठाएर उहाँहरू बाहिरै बस्नुभयो। फर्कंदा दाइले क्याडबरी चकलेट दिँदै भन्नुभएको थियो, 'फलानो दिदी पनि गएको थियो भनेर कसैलाई नभन्नू है।'
क्याडबरीको गुलियो रसमा भुलेर मैले 'हस्' भनेँ। तर, घर पुग्नेबित्तिकै आमाका अगाडि जिब्रो फुस्किहाल्यो, 'मा... मा..., हामीसँग फलानो दिदी पनि जानुभएको थियो नि!'
आमा हाँस्नुभयो। किन हाँस्नुभयो, मैले बुझिनँ।
पाँच वर्ष हुँदा सन् १९७६ मा जावलाखेलको सेन्ट जेभियर्समा मेरो भर्ना भयो। त्यसको केही समयपछि ती सहयोगी दाइ देखिनुभएन। पछि थाहा पाएँ, ती दाइको टोलकी तिनै दिदीसँग प्रेम रहेछ। दाइ नेवार, दिदी ताहाचलका रैथाने क्षत्री। परिवारले छुट्टयाउन खोजे। यही दबाबले दाइले हामीकहाँ काम गर्न मात्र होइन, टोल नै छाड्नुपर्यो। ती दिदीले आजीवन बिहे गर्नुभएन।
अहिले पनि टोलको कुनै-कुनै बिहे-ब्रतबन्ध भोजमा दिदीलाई देख्छु। बितेका कुरा सम्झना आउँछन्, मन भारी हुन्छ।
काठमाडौंमा पारिवारिक कारणले विरहमा परेर आजीवन अविवाहित रहेका धेरै कन्या छन्। मन खाएकोसँग बिहे गरिदिए के जान्थ्यो है! बाबु, आमा, दाइहरूको दम्भ र इज्जतको शिकार भएका यी महिलाहरू देखेर हाम्रो समाजलाई मनमनै धिक्कार्छु।
स्कुले दिनहरूको सम्झना गर्दा पहिलो टर्मको रिपोर्ट कार्ड लिएर खुसी हुँदै घर आएको याद आउँछ। मेरो रिपोर्ट कार्डमा सबै नम्बर रातो थियो। मलाई रातो भनेको फेल भनेर के थाहा!
रातो नम्बरले पूरै साल छाडेन। अनि त, १९७७ मा पनि त्यही कक्षा, त्यही किताब, त्यही शिक्षक।
पहिलोचोटि एक कक्षा पढ्दा हामी ३८ जना विद्यार्थी थियौं। त्यति बेलाको फोटो हेर्दा त्यसमा देखिने १० जना साथी ९–१० कक्षा पढ्दा फेरि मेरो दौंतरी हुन आइपुगेका थिए। उनीहरू पनि मजस्तै कुनै न कुनै कक्षामा फेल भए होलान्!
१९७६ मा खिचेको त्यो फोटो मेरो स्मरणबाट बिल्कुलै मेटिइसकेको थियो। खिचेको ३८ वर्षपछि सन् २०१४ नोभेम्बरमा जब मभन्दा एक ब्याचअघि एसएलसी दिएका साथीले त्यही फोटो फेसबुकमा राखे, पुराना दिनहरू ताजा भए।
मैले घोरिएर हेरेँ। सबभन्दा तल्लो लहरको बीचमा प्यान्ट ल्याएर उभिएको आफैंलाई देखेँ। दोस्रो लहरमा सबभन्दा दाहिने उभिएका साथीलाई नियालेर हेरेँ, जसको निम्ति यतिका वर्षपछि फोटो सेयर गरिएको थियो। (हेर्नुहोस् आवरण तस्बिर)
ती साथीसँग मेरो निकट सम्बन्ध थियो। उनी ताहाचलमै बस्थे। हामी एउटै बसबाट स्कुल आउजाउ गर्थ्यौं। त्यस बेला सेन्ट जेभियर्सको बस कालिमाटी आउँदैन थियो। तल्लो कक्षाका विद्यार्थीलाई सेन्ट मेरिजको बसले ओसार्थ्यो।
हामी चढ्ने बस ७ नम्बर रूटको थियो, जुन छाउनी पुगेर टंकेश्वर, कालिमाटी हुँदै सोल्टीमोड पुगेर घुम्थ्यो। म टंकेश्वरमा चढ्थेँ, ती साथी सोल्टीमोडमा। उनी ताहाचलको सोल्टीपारि हिमालय हाइट्समा बस्थे।
हामी साना केटाकेटी बस चढ्नेबित्तिकै सेन्ट मेरिजका ठूला दिदीहरू 'हेर न कस्तो क्युट' भन्दै गाला चिमोट्न आउँथे। गाला नचिमोटेको दिनै हुन्न थियो।
एक कक्षा दोहोर्याएर पढेपछि म जावलाखेलबाट गोदावरीको सेन्ट जेभियर्स सारिएँ। त्यसपछि गाला चिमोटाइ छुट्यो, ती साथीसँग सम्पर्क पनि टुट्यो।
छ कक्षासम्म गोदावरीको छात्रावासमा बसेपछि सात कक्षा पढ्न म जावलाखेल फर्कें। ती साथीसँग फेरि भेट भयो।
मैले आठ कक्षादेखि स्कुल बसमा आउजाउ गर्न छाडेँ। बाले निलो रङको चाइनिज फिनिक्स साइकल किनिदिनुभएको थियो। ताहाचलदेखि जावलाखेलसम्म म त्यही साइकलमा जान्थेँ। बाटोभरि मेरो साथ हुन्थे तिनै मित्र।
जाने बेला हामी कालिमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली हुँदै जान्थ्यौं। फर्कंदा सानेपाबाट कालोपुल झरेर झोलुंगे पुल हुँदै टेकु निस्कन्थ्यौं। त्यो बेलाको काठमाडौंमा साइकल कुदाउन अहिलेजस्तो ट्रक-टिपरको डर थिएन। असनको बाटो पनि दिउँसै साइकल कुदाउन मिल्ने थियो।
स्कुल समयपछि हाम्रो खेलकुद हुन्थ्यो। ती साथी प्राय: खेलकुदमा बस्दैन थिए। मलाई पनि त्यति चाख थिएन। हाम्रो जोडी जमेको थियो। साढे तीन बजे स्कुलको अन्तिम घन्टी बज्नेबित्तिकै हामी साइकल चढ्थ्यौं र चार बजेभित्र घर पुगिसक्थ्यौं।
सेन्ट मरिजको अभिभावक दिवस बेला भने हाम्रो साइकल जोडी टुट्थ्यो। उनी केटीहरूलाई नाच सिकाउन स्कुलबाट सिधै उतै जान्थे। सेन्ट जेभियर्सको युनिफर्म लगाएर सेन्ट मेरिज छिर्न अनुमति पाउने छात्र उनी मात्र थिए होलान्।
उनी हिन्दी फिल्म, गीत र कलाकार भनेपछि हुरुक्क हुन्थे। कोठामा बलिउड हिरो-हिरोइनका तस्बिर राख्थे। त्यो बेला रेखा अभिनीत 'उमराव जान' को गीत उनलाई खुबै मनपर्थ्यो। सेन्ट मेरिजको अभिभावक दिवसमा उनी केटीहरूलाई यही गीतमा नाच्न सिकाउँथे।
इन आँखो के मस्ती के
मस्ताने हजारोँ है,
इन आँखो से बाबस्ता
अफ्साने हजारोँ है ...
घरमा पनि रेखाको त्यही पहिरनमा सजिएर बस्न र नाच्न आनन्द आउँछ भनी उनी सुनाउँथे। यस्तै बानीले स्कुल र टोलमा उनको धेरै खिसिट्युरी हुन्थ्यो। तर, उनी बेपरवाह थिए।
त्यति बेलाका केही शिक्षक सम्झँदा अहिले पनि कन्सिरीका रौं ठाडा हुन्छन्।
एक संगीत शिक्षक थिए। आठ कक्षा छँदा स्कुलको मुख्यभवनबाट उत्तरतिर रूखैरूख भएको वाटिकामा संगीतकक्षा हुने भयो। हार्मोनियममा सुर दिँदै ती शिक्षक पालैपालो सबैलाई गाउन लगाउँथे – सा ... रे ... ग ... सा सा ... रे रे ... ग ग ... स रे ग ... रे ग म ... ग म प ...
सुर भेट्नेहरू गाएपछि अघि बढ्थे, नभेट्नेको हालत खराब हुन्थ्यो। शरीरको कुन अंगमा कुन तोडले ती शिक्षकको हातखुट्टा बर्सिन्थ्यो, अन्दाज हुन्थेन।
त्यो समय सेन्ट जेभियर्स जावलाखेलमा पढ्ने विद्यार्थीमध्ये उनको मार नखाएको सायदै कोही होला। त्यही भएर विद्यार्थीमाझ उनी वास्तविक नाउँले भन्दा ‘धोबी’ भनेर बढ्ता चिनिन्थे। पहिले त मलाई उनी धोबी समुदायकै होलान् भन्ने लाग्थ्यो। पछि थाहा पाएँ, विद्यार्थीहरूको ‘धोबी धुलाई’ गर्ने भएकाले त्यस्तो नाउँ राखिएको रहेछ।
एकचोटि ती साथीको सुर चिप्लियो। शिक्षकको हात झ्याम्म उनको गालातिर घुम्यो। उनले छल्न खोज्दा शिक्षक बत्तिए। रिसको झोकमा कपाल समातेर यस्तरी झ्याइँकुटी पारे, हामी सबै स्तब्ध भयौं।
अहिले पनि ती शिक्षकले कपाल लुछेर रिङ्ग्याएको र ती साथीको बर्रर आँशु झरेको निरीह अनुहार सम्झिँदा रिस उम्लेर आउँछ। त्यस्तो शिक्षक कोही नहोऊन्!
त्यो घटनाको केही समयपछि उनी स्कुल आउन छाडे। हामीले थाहा पायौं, उनी घरबाट भागेछन्। करिब एक महिना हराएपछि घर त फर्के, तर स्कुल आएनन्। कतै प्राइभेटबाट पढाइ भने जारी राखेका थिए। ताहाचलका हिसाब मास्टर दली सरकहाँ उनी ट्युसन पढ्न आउँथे। त्यहीं हाम्रो भेट हुन्थ्यो।
एकचोटि कुरैकुरामा उनले घरबाट भागेर बम्बई गएको सुनाए।
'किन?' मैले सोधेँ।
'सञ्जय दत्तलाई भेट्न,' उनले गर्वसाथ भने।
‘रकी’ फिल्म हेरेपछि उनी सञ्जय दत्तका फ्यान भएका थिए। कुन सनकमा बम्बई त पुगेछन्, तर सञ्जय दत्तसँग कहाँ पाएर भेट्नु!
तै कुनै राम्रो मान्छेको फेला परेछन्। उनैले प्रहरीमा बुझाइदिएछन्। प्रहरीले बाल सुधार गृहमा राखेर घरमा खबर गरिदिएछ। घरबाट मान्छे गएर फिर्ता ल्याएका रहेछन्।
फर्कने बेला कसो कसो सञ्जय दत्तकहाँ यो घटनाको खबर पुगेछ र उनले भेट्ने मौका पाएछन्।
उनी यो किस्सा खुब प्रसन्न हुँदै सुनाउँथे।
एसएलसीसम्म हाम्रो फाट्टफुट्ट भेट भइरह्यो। त्यसपछि पातलिँदै गयो। उनी अमेरिका पढ्न गए रे भन्ने मैले पछि थाहा पाएँ। फर्केपछि टिभीमा काम गर्न थाले। फिल्म खेले, फिल्म बनाए। म्युजिक भिडियो पनि थुप्रै बनाए।
म पनि एफएम रेडियो र संगीत क्षेत्रमै लागेकाले आक्कलझुक्कल भेट हुन्थ्यो, तर लामो गफ गर्ने साइत जुरेन।
त्यो साइत अब कहिले जुर्दा पनि जुर्दैन।
सन् २०१४ नोभेम्बर ६ को दिन फेसबुकमा हाम्रो पुरानो फोटोसहित उनको नामको श्रद्धाञ्जली थियो। ती मेरा एक कक्षाका मित्रले आत्महत्या गरेछन्।
उनको शव कमलादीस्थित प्रज्ञा भवनमा राखिएको थियो। म पनि त्यहाँ पुगेँ। उनको शवअगाडि उभिएँ। मलाई चिन्नेहरू त्यहाँ खासै थिएनन्। चिन्ने व्यक्ति उनै थिए, जो चिरनिद्रामा थिए।
मलाई उनको ‘क्युट’ अनुहार, साइकल यात्रा र उनीसँग बिताएका पल झल्झल्ती याद आए। मनमनै गाली गरेँ, ‘ह्वाट अ वेस्ट अफ सच ट्यालेन्ट!’
आँखा धमिलो भएको अनुभव भयो। खल्तीबाट कालो चश्मा निकालेर आँखा छोपेँ। प्रज्ञा भवनको डबली छेउ उनकी आमा भावविभोर मुद्रामा देखेँ। गएर बोल्ने आँट आएन।
पछिल्लो चरणमा नेपाली सिनेमा र म्युजिक भिडियोमा बलिउड र ‘करण जौहरको ट्रेन्ड’ भित्र्याउने ती मेरा बालसखा थिए, आलोक नेम्वाङ। नेपाली टेलिभिजन र सिने जगतले अल्पायुमा गुमाएको एउटा प्रतिभा।
बाल्यकालदेखिको यौन प्राथमिकताका कारण उनलाई त्यस बेलाको समाजमा सजिलो पक्कै थिएन होला। एकपल्ट भेट्दा घरबाहिर बसेको सुनाएका थिए। आफ्नो व्यवसायमा राम्रै स्थापित हुँदै थिए। तर किन हो, जिन्दगीसँग हार खाए!
उनले गरेका थुप्रै काममध्ये इमेज च्यानलका लागि बनाएको एउटा म्युजिक भिडियो मलाई उत्कृष्ट लाग्छ। धानका फाँटमा गायक राजन इशान बयली खेलेको भावमा गाउँछन्–
चारैतिर फिजेको छ, उनैको रूप लालिमा
डुलिरहन्छिन् उनी हरपल, मेरो आँखाको नानीमा
बसमा छैन मेरो मन, बढ्छ झन् झन् मेरो धड्कन
खोजी रहन्छ यो पागल मन, तर कसलाई किन कुन्नी थाहा छैन ...
त्यो समयको प्राविधिक र आलोकको निर्देशकीय अनुभवलाई ध्यानमा राख्ने हो भने, यो भिडियोलाई उत्कृष्ट मान्नुपर्छ।
म यो गीत अझै सुन्छु, हेर्छु। हरेकपटक मनमनै कुर्लिन्छु, ‘ह्वाट अ वेस्ट अफ सच ट्यालेन्ट!’
स्कुलका पुराना दिनहरू र त्यही बेलाका बालसखा आलोक नेम्वाङलाई सम्झँदै म छ महिनाअघि सुरू गरेको यो स्तम्भबाट यसपालिलाई बिट मार्न चाहन्छु। पहिलोपटक नियमित स्तम्भ शृंखला लेख्ने मेरो प्रयासमा साथ रहेर हौसला दिनुहुने सबै पाठकलाई धन्यवाद दिन्छु।
काठमाडौंमा दसैं सकियो, अब तिहारको सुगन्ध छाउँदैछ। त्यसपछि जाडो बढ्ने छ। यहाँको पानी ठिहिरो हुँदै जानेछ। आफ्नो घरमा पाको उमेरका सदस्य छन् भने पुस, माघ महिना न्यानो गरेर राख्नुहोला।
काठमाडौंको एउटा पुरानो भनाइ छ, 'यहाँ माघमा बाघले लान्छ।'
@KiranKrShrestha