जनकपुरको जानकी मन्दिर घुम्ने मेरो लामो समयदेखिको इच्छा थियो। यस पटक त्यो पूरा भयो, त्यो पनि रवाफी शैलीमा।
म र दुई साथीहरू मन्दिर परिसरमा घुम्दै गर्दा हाम्रा पथप्रदर्शक थिए जनकपुर नगरपालिकाका पूर्वउपमेयर ७५ वर्षीय अस्गर अलि।
मानिसहरूले लाम लागेर पूजा गरेको मन्दिरको मुख्य हिस्सामा उनी छिरेनन्। भने— तपाईंहरू दर्शन गरेर आउनुस्।
तर मूल मन्दिर छेउको संग्रहालयदेखि राम, लक्ष्मण, भरत र शत्रूघ्नको विवाह मण्डप भएको मानिने नजिकैको मन्दिरमा उनले हामीलाई घुमाए।
अनि फर्किनुअघि मूल मन्दिरको एउटा ढोका छेउमा रहेका त्यहाँका महन्तको कानमा हाम्राबारे बताए र हामीलाई उनीसित भेट्न पठाए। हामीले महन्तको अनुमति लिएर उनको तस्बिर लियौं।
उनले प्रेमपूर्वक हामीलाई पेडा प्रसाद दिँदै अस्गरजीतिर औंल्याउँदै भने — यो मेरो बाल्यकालदेखिको साथी हो।
संग्रहालय र विवाह मण्डपमा टिकट लाग्दो रहेछ। तर हामी सरासर अस्गरजीको पछि लागेर त्यहाँ छिर्यौं।
हाम्रो हिच्किचाहट देखेर उनले भने, 'आउनुस्, मैले यहाँ यति त मान्छे कमाएको छु। मसित आएपछि टिकट लाग्दैन।'
मन्दिरको मूल गेट बाहिर स्थानीय हिन्दु तीर्थारूहरूले पनि श्रद्धापूर्वक अस्गरजीलाई नमस्ते गरेको हामीले देख्यौं।
सायद यो जनकपुरका लागि असाध्यै साधारण कुरा हो। तर हामी त्यहाँ पुग्दा मधेसको अर्को सहर वीरगन्ज साम्प्रदायिक हिंसाको चपेटाबाट मुस्किलले निस्केको थियो, अनि तिक्ततापूर्ण साम्प्रदायिक विद्वेषको भुंग्रोबाट निस्किसकेको थिएन। वीरगन्जबाट २०८१ चैत ३० को झडपपछिका दिनहरूमा समेत जस्ता समाचार आइरहेका थिए, तिनका कारण हामीलाई जनकपुरको यो दृश्य असाधारण लागिरहेको थियो।
हाम्रो खास गन्तव्य पनि वीरगन्ज नै थियो। तर हामीलाई लाग्यो वीरगन्ज बुझ्न पहिले जनकपुर बुझ्नुपर्छ। त्यसैले भरतपुरबाट हेटौंडा, सिन्धुली र जनकपुर हुँदै फर्केर आउँदा वीरगन्ज पसेर त्यहाँ एक रात बिताएर फर्कियौं हामी।
पछिल्ला वर्षहरूमा साम्प्रदायिक विद्वेष फैलाउनेहरूको नजरबाट जनकपुर पनि बच्न सकेको छैन। जानकी मन्दिर परिसरसित जोडिएर बनेको मस्जिद र त्यस वरिपरिको मुस्लिम बस्ती देखाएर भारतीय सञ्चार माध्यमहरूले अनेक दुश्प्रचार गर्दै मुस्लिम समुदायलाई अतिक्रमणकारी देखाउने भरपुर प्रयास गरेका छन्।
खास गरी कोभिडका बेला गोदी मिडिया भनिने भारतीय टेलिभिजन र अनलाइनहरूले धेरै अफवाह फैलाएका थिए। कतिसम्म भने, कर्फ्युका बेला हतार हतार घर फर्किँदै गरेकी मुस्लिम महिलाको खल्तीबाट केही नोटहरू झरेको कुरालाई 'पैसामा थुक लगाएर बाटोमा फाल्दै कोरोना फैलाएको' भन्नेजस्ता उट्पट्याङ तर डरलाग्दा षड्यन्त्र कथाहरू फैलिएका थिए।
तर स्थानीयवासीको संयम र शताब्दीयौं पुरानो सहिष्णुताका कारण विद्वेष मधेसका अरू धेरै ठाउँमा झैं गहिरिन पाएको छैन।
यी सब कारणले म वीरगन्जलाई बुझ्नुअघि जनकपुरमा सहअस्तित्वको प्रतीकका रूपमा रहेका मन्दिर र मस्जिदको किस्सा विस्तारमा जान्न लालायीत थिएँ। त्यसका लागि मैले जनकपुरका पूर्वउपमेयर अस्गर अलि र स्थानीय अध्येता तथा इतिहासकार रोशन जनकपुरीसँग घन्टौं समय बिताएँ।
जनकपुरको मैत्रीपूर्ण इतिहासबारे दुवैले मलाई जे बताए, सिंगो दक्षिण एसियामा कसरी मिश्रित समुदायसहितका बस्ती र सहरहरू बने भन्ने साझा कथा हो यो।
जहाँ जहाँ हिन्दु राजा–महाराजाहरू पुगे, त्यहाँ तिनलाई दरबार बनाउन शिल्पी कालिगढहरू चाहिए। कपडा र आभूषणका लागि बुन्ने र सिलाउने मानिसहरू चाहिए। खेती गर्न किसानहरू चाहिए। यी तीनै काममा मुस्लिमहरू पोख्त थिए। त्यसैले कुनै विकट र निर्जन इलाकामा गएर कुनै हिन्दु राजाले नयाँ राज्य बसाए भने पनि त्यहाँ अनिवार्य मुस्लिमहरू पुगे। ठूला राज्य र सहरहरूमा मिश्रित बस्ती हुनु त स्वाभाविकै भइहाल्यो।
सिकर्मी, डकर्मी, सिलाइबुनाइ गर्ने र खेती गर्ने हिन्दुहरू थिएनन् भन्ने होइन। तर ती काममा मुस्लिमहरूको खास निपुणता भएको र राजाहरूसित समाजमा उपलब्ध सबभन्दा उत्कृष्ट कालिगढहरूलाई छानेर काममा खटाउने सुविधा भएकाले उनीहरूले तिनलाई प्राथमिकता दिए।
दक्षिण एसियामा छिटपुट धार्मिक तिक्तता आजको कुरा होइन। तर पनि शताब्दीयौंसम्म यसरी एकअर्काका पूरक भएर दुई समुदाय विकसित भएकाले मूलभूत रूपमा दुवै पक्षबीच मैत्रीपूर्ण सम्बन्ध कायम रहिरह्यो। कतिसम्म भने, कुनै नयाँ बस्तीमा दुई सय घरधुरी हिन्दु र एक घर मुस्लिम भए भने पनि त्यहाँ एउटा मन्दिर बनाएपछि त्यसको छेउमै एउटा मस्जिदसमेत बनाउने अभ्यास बस्यो।

परिणाम — फरक भए पनि दुवै पक्षका चाड सबैले मनाउने भए। केटाकेटीले त कुन चाड आफ्नो, कुन अर्काको, मेसो समेत नपाउने भए। आज पनि नेपाल र भारतका धेरै ठाउँमा दुवै समुदायका मानिसले अर्को समुदायको र्याली वा झाँकीका बेला सडक छेउमा पानी र सर्बत खुवाउने चलन कायमै छ।
नेपालका पहाडमा पनि हाम्रो बाल्यकालका बेला चुरा र शृँगारका सामानको व्यापारमा मुस्लिम समुदायका मानिसहरूको एकाधिकार थियो। हिन्दु परम्परामा महिलाको सौभाग्यको सूचक मानिने सिन्दुर महिलाहरूले उनीहरूसित मात्रै लिने चलन थियो। एकातिर हिन्दु समुदायको कसैले चुराको व्यापार गरेको कुरा हाम्रो कल्पनामा पनि आउँदैन थियो। अर्कोतिर मुस्लिम समुदायका व्यापारीहरूले कुनै चाडपर्व र अवसरमा शृँगारका सामानको अभाव हुन दिँदैनथे।
तन्नामा पोको पारेका ठुल्ठूला भारी बोकेर महिला र पुरूष व्यापारीहरू डाँडाका टुप्पा टुप्पासम्मका बस्तीमा पुग्थे। सानाठूला सबै मेलाहरूमा अनिवार्यतः उनीहरूको चुरापोते फिँजाएको पसल हुन्थ्यो। यस्तो मैत्रीपूर्ण सम्बन्ध र अन्तर्निभरता थियो दुवै समुदायका बीचमा।
राजनीतिक इतिहास हेर्दा देखिन्छ — ब्रिटिस भारतमा रहेको टिकमगढकी महारानी वृष भानुले जनकपुरमा अहिले रहेको भव्य जानकी मन्दिर बनाउन लगाएकी हुन्। नौ लाख सुनका सिक्काको मूल्यमा १२ वर्ष लगाएर बनाइएको मन्दिरको निर्माण आफैमा उत्सवको कुरा थियो। हिन्दुहरूका लागि मन्दिर बन्यो। मुस्लिम कालिगढ र श्रमिकहरूले ठूलो संख्यामा रोजगारी पाए।
मन्दिरसँगै मस्जिद र मिश्रित बस्ती बसेपछि एक अर्काका पूरक भएर दुवै समुदाय विकसित हुँदै गए। भक्तजनहरू जनकपुरमा आउने क्रम बढ्दै गएसँगै दुवै समुदायले आआफ्नो सहजताका व्यवसायहरू अपनाउँदै गए।
जनकपुर र वीरगन्ज दुवै ठाउँमा हामीले के सुन्यौं भने, कतै कतै दस वर्षअघिसम्म, अनि कतै कतै तीन/चार वर्ष अघिसम्म पनि यस्तो मैत्री कायम थियो। पछिल्ला वर्षहरूमा यो सब कसरी बदलियो भनेर बुझ्न एकपल्ट हामीले भारतमा आएको यस्तो बदलाव बुझ्नुपर्छ।
भारतमा आएदेखि नै अंग्रेजहरूलाई हिन्दु र मुस्लिम मिलेर आफूलाई लखेट्लान् कि भन्ने भय थियो। त्यसमाथि पनि सन् १८५७ को सिपाही विद्रोहमा दुई समुदाय एकजुट भएपछि उनीहरूले आफ्नो साम्राज्य जोगाउन साम्प्रदायिक विभाजनको शकुनी पासा फाल्न थाले। समाजको तल्लो तहमा व्यक्तिगत इबीका कारण हुने छिटपुट घटनामा समेत साम्प्रदायिकताको लेप लगाउन थालियो। माथिल्लो राजनीतिक तहमा अंग्रेजहरूले एउटालाई काखा र अर्कोलाई पाखा गरेर वैमनश्यको बिउ रोपिदिए।
अनि क्रमशः धार्मिक आस्था राजनीतिसित मिसिँदै गयो। अन्ततः धर्मकै आधारमा स्वतन्त्रतासँगै भारत विभाजन भएर दुई देश बने।
सन् १९४७ मा भारत विभाजनका बेला भारतीय उपमहाद्वीपभरि माथि उल्लिखित साम्प्रदायिक मैत्रीको तखतापलट भयो। इतिहासकै ठूलो मानव विस्थापन र लाखौंको हताहती भएको त्यो त्रासद समयमा कुनै बेला साम्प्रदायिक सम्बन्धका लागि वरदान बनेको सामुदायिक संरचना अभिशापमा परिणत भयो।
जब सयौं वा हजारौं किलोमिटर पर यो वा त्यो समुदायले गरेको साम्प्रदायिक नरसंहारको समाचार वा अफवाह फैलिन थाल्यो, मानिसहरू उत्तेजित बने। हिन्दुहरूले घरबाट निस्किनासाथ छिमेकका मुस्लिम र उनीहरू मस्जिद देखे। मुस्लिमहरूले घरबाट निस्किनासाथ छिमेकका हिन्दु र तिनका मन्दिर देखे। दुवैले एक अर्काबाट असुरक्षित महसुस गरे। हिंसा र रक्तपातका लागि टाढा जानै परेन।
यसरी शान्तिकालीन वरदान द्वन्द्वकालीन अभिशाप बन्यो। एकपल्ट विद्वेष र हिंसाले जरो गाडेपछि त्यसले प्रतिशोधको दुश्चक्र सुरू गर्यो। भारतमा महात्मा गान्धीजस्तो नैतिक उचाइ बोकेका नेता हुँदैनथे, भारत पनि पाकिस्तानझैं धर्मले परिभाषित गर्ने राज्य बन्थ्यो र विभाजनकालको हिंसा रोकिँदैन थियो भने भारतीय उपमहाद्वीपमा अरू दशकौंसम्म नरसंहारहरू चल्ने निश्चितप्रायः थियो।
गान्धीले जीवनभर त दंगाका विरूद्ध सत्याग्रह गरेर त्यसलाई रोक्ने तागत राख्थे नै, एक जना हिन्दुत्ववादी उग्रवादीले उनको हत्या गरिदिएपछि त सिंगो भारत एकाएक साम्प्रदायिक पागलपनको विनाशकारी निद्राबाट ब्युँझेको जस्तो भयो।
भारतमा सन् १९४८ मा रोकिएको साम्प्रदायिक विभाजन र हिंसाको राजनीतिले सन् १९८० को दशकको अन्ततिर फेरि टाउको उठायो। सन् १९९० मा भारतीय जनता पार्टी (भाजपा) नेता लालकृष्ण आडवाणीले गरेको रथयात्रा र सन् १९९२ मा भएको बाबरी मस्जिदको विनाशले भारतको ठूलो हिस्सामा विभाजनकालीन घाउहरूमाथि लागेका खाटाहरू उप्काइदियो। त्यो घटनाको प्रभाव बंगलादेशजस्तो अर्को देशको समाजका लागि समेत कति विनाशकारी सिद्ध भयो भन्ने कुरा त लज्जा उपन्यासमा तसलीमा नसरीनले राम्रोसँग देखाएकी छन्।
बाबरीको बदला भनेर सन् १९९३ मा दाउद इब्राहिमको माफिया कम्पनीले तत्कालीन बम्बईमा गराएको भयानक बम विस्फोटको शृंखलाले त भारतमा दुई समुदायबीचको दुरी झन् ह्वात्तै बढाइदियो।
यसरी कुनै बेला दुःख र सुख दुवैका बेला मिलेर बसेका समुदायहरू एकअर्कासित सशंकित बन्ने वातावरण बन्दै गयो। त्यही शंका र भयको राजनीतिमा टेकेर सन् २०१४ मा नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बने। बाँकी कुरा अब इतिहास भइसक्यो।
यस पटक जनकपुर र वीरगन्जमा हामीले बारम्बार, धेरै मानिसहरूबाट सुन्यौं — भारतमा सन् १९९० को वरिपरि सतहमा आएको र सन् २०१४ मा बलियोसँग संस्थागत भएको त्यही दुरी बढाउने रोग अहिले जोडतोडका साथ सीमापारबाट नेपालतिर भित्रिइरहेको छ। धेरै ठाउँमा अवस्था अहिले नै चिन्ताजनक छ। भविष्य झनै भयावह भएको भनेर त्रस्त छन् मानिसहरू।
वीरगन्जमा एक रात र आधा दिनको बसाइमा मैले जेजस्ता विवरणहरू सुनेँ, तिनलाई म आफैले मानसिक रूपमा पचाउन र पाठक–श्रोताले पढ्न वा सुन्न मिल्ने गरी प्रस्तुत गर्न सायद एकाध साताको समय लाग्ला। झडपको तीन साता बितिसक्दा पनि त्यस दिनको प्रत्यक्ष 'ट्रमा' बाट बाहिर निस्किन नसकेका पात्रहरूको दर्दनाक कथा त गैर–आख्यानका रूपमा कहिल्यै बाहिर नआउन पनि सक्छ।
आफू घानमा पर्नुअघि यस्तोसम्म हुन सक्छ भनेर कल्पना पनि नगरेका उनीहरूमाथि अहिले आकाशै बर्सेजस्तो भएको छ। र, उनीहरूको सिंगो जीवनदर्शन र मूल्य प्रणाली धर्मराएको छ। सिंगो समाज र मानवतालाई नै प्रश्नको घेरामा राखेर हेरिरहेका छन् उनीहरू।
दुवै सहरमा आरोपप्रत्यारोप गर्नेहरूको कमी छैन। खास गरी वीरगन्जमा चैत ३० गते हनुमान जयन्तीका दिन जुन झडप भयो, त्यसका लागि को जिम्मेवार थियो भन्नेमा बडो जटिल र संवेदनशील विवाद चलिरहेको छ वीरगन्जमा।
यो विवादबीच मलाई सबभन्दा खट्किएको कुरा भने अर्कै छ — भारतमा झैं यहाँ पनि मानिसहरूले आफूलाई सम्प्रदाय विशेषको व्यक्तिभन्दा पहिले मानिसका रूपमा हेर्न क्रमशः बिर्सिँदै छन्। आफू मानिसभन्दा पहिले खास धर्मावलम्बी भएपछि अर्को व्यक्ति पनि मानिसभन्दा पहिले अर्को धर्मावलम्बी हुने नै भयो। त्यति भएपछि उभिनका लागि मानवताको साझा धरातल रहँदैन। त्यो नभएपछि बालुवाको रेखाजस्तो हुनुपर्ने आस्थागत विभाजनको रेखा ढुंगाको रेखाजस्तो टड्कारो हुन्छ।
यो प्रक्रियाको सबभन्दा डरलाग्दो पक्ष के हो भने, दुईमध्ये एउटा समुदायले आफ्नो मानवताभन्दा माथि सम्प्रदायगत पहिचानलाई राखेपछि त्यसले अर्को समुदायलाई पनि त्यतै डोहोर्याउँछ। दुवैतिर अतिवाद र कट्टरता झाँगिँदै जान्छ। नरमपन्थी स्वरहरू हराउँदै, दबिँदै जान्छन्। अनि दोहोरो अतिवाद र टक्करको दुश्चक्र सुरू हुन्छ।
भारतमा मात्र नभएर बीसौं शताब्दीमा संसारभर जति पनि ठूला नरसंहारहरू भए, ती यही दुश्चक्रको परिणाम थिए। आजका दिनमा पनि संसारभर जति द्वन्द्व छन्, त्यहाँ कतै न कतै यही दुश्चक्र हावी छ।
भारतमा निरन्तर मानवताका पक्षमा लडिरहेका लेखक र अभियन्ता हर्ष मन्दर भन्छन् — महात्मा गान्धीले हामीभित्रको करूणा, समानुभूति र प्रेमजस्ता उत्कृष्ट कुरालाई बाहिर ल्याउँथे। अहिले भारतको राजनीतिले हामीभित्रका शंका, द्वेष र घृणाजस्ता नकारात्मक कुराहरूलाई बाहिर ल्याउँछ।
वीरगन्जमा बसेर दुवै समुदायका मानिस अनि पत्रकारहरूसित कुरा गर्दा मलाई लाग्यो — प्रशासनको संयमका कारण चैत ३० मा ठूलो भौतिक र जनधनको क्षति हुन पाएन। थोरै मात्रै तलमाथि परेर भीडको उत्तेजना हिंसामा बदलिएको भए त्यहाँ अकल्पनीय बर्बादी हुन सक्थ्यो।
तर त्यस दिन भीडले बजाएका डिजेका उत्तेजक र आक्रामक गीत, हतियारको प्रदर्शन, मैले यहाँ शब्दमा उतार्न समेत नसक्ने उत्तेजक नारावाजी र झडपका फुटेजहरू जसरी दुवै समुदायका संसारभरका मानिसहरूले हेर्न सक्ने गरी लाइभ भए, त्यसले लाखौं मानिसहरूका मनमा रहेको दानवलाई जगाइदिएका छन्। मानवतालाई मेटाउँदै गइरहेका छन्।
त्यसैले आज वीरगन्ज, जनकपुर, नेपालगन्ज वा अरू कुनै पनि सहर वा गाउँमा हुने साम्प्रदायिक झडप र दंगा आफैमा रोग नभई एउटा असाध्य रोगका लक्षण मात्रै हुन्। यस्ता घटना छिटपुट हुन्, त्यसैले यी बितिहाल्छन् र तनाव आफै साम्य भइहाल्छ भन्ने कसैलाई लाग्छ भने, त्यो भ्रम हामी सबैका लागि निकै महँगो सावित हुने निश्चित छ।
यो यात्रापछि मलाई हृदयदेखि कमाएको नयाँ यथार्थ यो हो — हिजोसम्म भारतमा विभिन्न अतिवादीहरूले भाषण गर्दा, मिडियासित बोल्दा वा कथित धर्म संसदहरूमा नरसंहारका धम्कीहरू दिँदा नेपाल जे भए पनि त्यो हदसम्म पुग्न सक्दैन भन्ने लाग्थ्यो।
तर वीरगन्जमा मैले देखेँ, कुनै बेलाको कल्पना गर्न कठिन भविष्य अब नेपालको पनि वर्तमान हुन थालिसकेको छ।
जनकपुर र वीरगन्ज पुगेर फर्केपछि मलाई लागिरहेको छ — नेपाली समाज अहिले असाध्य महत्त्वपूर्ण दोबाटोमा छ।
यो बेला खास गरी राजनीतिक दल र दुवै समुदायका अगुवाहरूले सुझबुझ र समझदारी देखाए भने हामी अझै सहिष्णुता र सदभावको अवस्थामा फर्किन सक्छौं। सम्प्रदायहरूबीचको सदभावमा यसबीच खलल पुगे पनि त्यो अझै अपरिवर्तनीय भइसकेको छैन जस्तो मलाई लाग्छ। दुवै समुदायका आम मानिसहरूका लागि अझै पनि गरी खान डराउन नपर्ने शान्त समाजभन्दा ठूलो कुरा केही छैन। अशान्ति, द्वन्द्व र हिंसा भयो भने पिसिने हामी नै हो भन्ने उनीहरूलाई राम्रोसँग बोध छ।
भारतमा झैं पचासौं वा सयौं वर्ष पुरानो तिक्तताको इतिहास नभएकाले पनि हामीकहाँ त्यो काम तुलनात्मक रूपमा सहज हुनुपर्छ। राज्य प्रशासनप्रति अल्पसंख्यक समुदायको जुन विश्वास कायम छ, त्यो पनि हाम्रा लागि सबल पक्ष हो। मूलधारमा रहेका राजनीतिक शक्तिहरू जति छन्, ती जति अकर्मण्य र पक्षघातग्रस्त भए पनि तिनले साम्प्रदायिकतालाई बढावा दिन्नन्, बरू त्यसविरूद्ध उभिन्छन्। नेपाली समाजका लागि त्यो ठूलो अनुकूलता हो।
त्यसैले अझै पनि ठण्डा दिमाग लिएर, दुवै समुदायका मानिसहरूको मन जितेर, दुवैपट्टिका मध्यमार्गीहरूलाई साथ लिएर, अतिवादी अडानहरूविरूद्ध बलियोसित उभिएर नेतृत्व गर्ने बाटोमा राजनीतिक दल र तिनका नेताहरू लागे भने तिनले समाजको मात्रै कल्याण गर्ने छैनन्, तिनको आफ्नै समेत कल्याण हुनेछ।
एक्स (ट्विटर) @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)