बुवाले फोनमा बिहान ‘सञ्चो नभएकाले अस्पतालसम्म गएर आउँछु है’ भनेदेखि मन अशान्त थियो।
उमेरमा चुरोटको अम्मली बुवालाई वृद्धावस्थामा दमले च्याप्दै फोक्सोमा क्यान्सरसमेत भइसकेको थियो।
२००१ सालको जन्मका बुवालाई ७५ वर्षको उमेरमा पोहोर साल भदौमा क्यान्सर देखियो। १५ वर्षअघि दमले च्याप्न थालेपछि वर्षमा कम्तीमा एक पटक गाउँबाट काठमाडौं ल्याएर चेकजाँच गराउँथें । तर धुवाँ जमेको फोक्सो र बुढेसकाले उहाँको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गइरहेको थियो।
सिन्धुपाल्चोक जलवीरेमा २००१ मंसिरमा जन्मिएका बुवा गणेश बहादुरमा आत्मविश्वास उच्च थियो। १० वर्षकै कलिलो उमेरमा पितृशोक भोगेका बुवाले १६ वर्षे उमेरमा नेपाल छाड्नुभो। अनेक हण्डर र दुःखकष्ट सहेर परदेश आसाममा ३० वर्षसम्म बस्नुभो। हामी ६ सन्तान उहीँ आसाममै जन्मिएका।
गत महिना असार २५ गते मेरो जीवनमा अपुरणीय क्षति भयो। बिहानसम्म कुरा भएको बुवासँग दिउँसो बित्नु भएको खबरले स्तब्ध बनायो।
बुवाको ज्यान जोखिमबारे यकिन गर्न नसकेकोमा मलाई अहिलेसम्म पछुतो छ। क्यान्सरसँग लड्दै गरेका बुवाले दुर्भाग्यवश निमोनियासँग पराजय भोग्नुपर्यो।
बुवाको जीवनमा पूर्ण विराम लागेसँगै मैले मेरो जीवनको एउटा अध्याय नै सकिएको महशुस गर्दैछु। बाहिरको हाँसो आजकल फिक्का लाग्छ। पीडा मनभित्र गाँडिएको छ।
गत असार २२ गते घोपा क्याम्प धरानमा छातीको एक्सरे गर्दा निमोनिया देखिएको बुवालाई २४ राति श्वासै फेर्न नसक्ने गरी च्यापेछ। त्यसैले बुधबार बिहानै अस्पताल जानुपर्यो भनी मलाई भन्नुभएको रैछ।
बुवा आफैं बोलेपछि अवस्था जटिल होला भन्ने ठानिनँ। बिहान ९ बजे अस्पताल पुगेका बुवाको दम यति बढेछ कि, बढेको श्वास नै रोकिएनछ। एक्कासी खबर आयो, ‘बुवालाई भेन्टिलेटरमा राख्नुपर्यो।’
‘बुवालाई बचाउन के गर्ने कसो गर्ने ?’ हामी आत्तिएर चारैतिर फोन गर्न थाल्यौं।
अफिस पुग्दै गर्दा मैले बहिनीलाई फोनमा भनें, ‘बुवालाई भेन्टिलेटरमा राख्दै गर्नु म प्लेन चढिहालें’।
काठमाडौंबाट दाइ र बहिनीहरू पनि सँगै जाँदै थिए, तर एयरपोर्टबाटै टिकट लिएकाले प्लेन अलग थियो। त्यसदिन फोनमा ब्याट्री कम थियो मध्यान्हमा नै अफ भइहाल्यो। २ बजेको फ्लाइट डिले भएर ४ बजे विराटनगर पुगें।
दाइ र बहिनी पनि आउँदै गरेकाले एयरपोर्ट बाहिर पर्खिएँ।
फोन अफ भएकाले कसैसँग सम्पर्क भइरहेको थिएन। “बुवालाई जसरी नि बचाउँछु सोचिरहेको थिएँ। र भगवानसँग पनि बारम्बार प्रार्थना गरिरहेँ, “मलाई जीवनमा केही चाहिँदैन, हे भगवान् मेरो बुवा बचाइदेउ”।
अशान्त स्थितिमा एयरपोर्ट बाहिर थिएँ। दाइ र दुई बहिनी आइरहेको देखेँ। हतारिँदै उतै गएर दाइलाई एक श्वासमा भनें, ‘घर (तरहरा) नपसी सिधै धरान जाउँ है।’
मेरो वाक्यमा दाइले आश्चर्य मान्दै प्रश्न गर्नुभयो, ‘तँलाई थाहा छैन ?’
दाइले पीडा मिश्रित स्वरमा भन्नुभयो, ‘बुवा त हुनुहुन्न त।’
‘ओ माई गड!’ म अवाक् भएँ। एकैपटक आकाश खसेर धर्ती भासिए जस्तो भो। रिंगटा छुट्यो। लड्छु कि जस्तो लागेर दाइको पाखुरा समाएँ। मुखबाट एउटै बोली निस्कियो, बुवा...! तर बुवा नसुन्ने गरी अनन्त यात्रामा निस्किसक्नु भएको रैछ। एकै निमेषमा बल्दै गरेको दियो निभेजस्तो भो।
ट्याक्सीले बेलुका ५ बजे घर पुर्याउँदा घर गाउँलेले घेरिएका थिए। एक किसिमको सन्नाटा छाएको थियो।
ट्याक्सीबाट ओर्लिएर सरासर आँगन छिर्ने आँट आएन। दाइको पछि लागेँ। भीड छिचोल्दै अघि बढ्दा पिँढीमा बुवाको शरीर तन्नाले ढाकेर सुताइएको थियो। छाती ढक्क फुल्यो, दौडिएर बुवालाई अंगालो हालेर चिच्याएँ...बुवा।
जन्मपछि मृत्यु असम्भावी छ। यो अधवैंशे उमेरमा मलाई जन्म र मृत्युको नालीबेली थाहा छ। शरीर र आत्माको सम्बन्धबारे धेरै ठाउँमा मैले व्याख्या नै गरेको छु। आज असार २५ को त्यो दिन सम्झँदा बुवाको जीवनले पूर्णता पाएको महशुस गर्छु भने मैले आफूमा जिम्मेवारी थपिएको पाउँछु।
बुवाको क्यान्सरबारे मैले सबैलाई सुनाउँथें। भेट्दै, फोन गर्दै, फेसबुकमा म्यासेज पठाउँदै पीडा शेयर गर्थ्यें। लाग्थ्यो, कसैसँग त क्यान्सरको औषधिबारे ज्ञान होला!
किमोथेरामी विरोधी भएकाले लाखौं खर्च गरी किमो दिनुपर्छ भन्ने मान्यता विपरीत थिएँ। अन्ततः मेरो जुक्तिले काम गर्यो।कलेजमा सँगै पढाउने बाबुराजा महर्जनले बौद्धका रामलाल वैद्यको चमत्कारिक उपचारबारे मलाई सुनाए। क्यान्सरले खाना ठ्याप्पै बन्द गराएको ३ दिनमा वैद्यको औषधिले बुवाले भात खान थाल्नुभयो। नियमित आयुर्वेदिक औषधिले बुवा तंग्रिन थाल्नु भो।
“वाह! हामीले क्यान्सर जित्यौं” हामी हौसिएका थियौं। क्यान्सर बिसेक हुँदै गयो भन्ने भएपछि बुवाकै इच्छामा हामीले उहाँलाई काठमाडौंबाट तरहरा घर पठाएका थियौं। विषादिरहित दाल, तरकारी काठमाडौंबाट पठाउँथ्यौं। घरमा आमा र बहिनीसँग बुवा राम्रैसँग बस्नुभएको थियो।
बुवाको पार्थिव शरीर अघिल्तिर बसिरहँदा बुवाको रोगको बारे थाहा भएको दिनदेखि त्यस दिनसम्मका अनेक सम्झनाहरू आइरहे। घरमा रुवाबासी थियो। घरी बुवालाई अंगाल्ने, घरी आमालाई अंगालेर सम्हाल्नै सकिरहेका थिएनौं।
त्यस दिनको बज्रपातले हामी “बुवाको मलामी” हुँदै थियौं। संसारको सबभन्दा प्यारो मान्छेलाई हामी घाट लैजाँदै थियौं। बुवाको मृत्युमा त्यस दिन हामी निःशब्द रोदनबीच अमुक साक्षी बनिरहेका थियौं।
बुवा दिवंगत भएपछि काजकिरियाको जटिलतामा छिर्दै थियौं। मृत्यु संस्कार विधिशाष्त्रको अनभिज्ञता भोग्दै थियौं। बुवाको पार्थिव शरीर नै सही एक रात अन्तिम पटक बुवासँगै बस्ने भाग्य पाएका थियौं।
बिहान फोनमा अस्पताल गएर आउँछु भनेका मैले बुवा बेलुका भेट्दा चिसो भइसक्नुभएको थियो। निःशब्द आँखा बन्द गरेर उज्यालो अनुहारमा सुतिरहेका बुवालाई हामी छोराछोरीहरू घरमा भेला भएको थाहा थिएन।
बुवा चीर निन्द्रामा हुनुहुन्थ्यो।
जीवन मृत्युबीचको अन्तर “मान्छे मर्ने त रैछ, त्यसैले त जीवनको अर्थ छ” मैले निश्कर्ष बुझ्दै थिएँ।
“सिन्धुपाल्चोकको गरिबीबाट बाहिर निस्कन मैले घर छाडें” बुवाले परदेश यात्राबारे हामीलाई जीवनभर कथा सुनाउनभयो। हजुरबुवा फौदसिंह खत्री बुवा १० वर्षको छँदा हृदयघात भई बितेपछि उहाँको जीवन अन्धकारबाट संघर्षमय उज्यालोतिर लम्किएको थियो । तर आधा दर्जन सन्तान जन्मिएपछि हामीहरूलाई हुर्काउने, पढाउने जिम्मेवारीले उहाँ जीवनभर तंग्रिन भने सक्नुभएन।
‘नेपालमा सय कमाए सय नै हुने, भारतमा सय कमाए एक सय साठी,’ बुवालाई धन कमाएर अभावबाट मुक्त हुने इच्छाले डोर्याएर भारतको आसामसम्म पुर्यायो।
आसाम बसाइँको ३० वर्षपछि उहाँ परिवारसहित नेपाल बसाइँ सर्नुभो। त्यहाँको कार्बी आङ्लङ्मा मिक्रीले दुःख दिएपछि रातारात बुवाले दुहुना गाई बेचेको सम्झना छ । आसाममा हाम्रा चिनजानका धेरै नेपाली उतै भासिएका छन्। तर बुवाको त्यो आँटले आज आफ्नै देशमा गरेर खाने भएको छु । उतै भासिएको भए यतिबेला नेपालीभाषी भारतीय हुन्थें, सायद भारतीय पहिचान पनि पाउँदिनथे कि!
बुवाले मिक्रीको त्रासबाट बाहिरिएर हामीलाई त बचाउनुभो, तर नेपालमा सुख पाउने उहाँको आशा तुषारापात भो। खेतीपाती गरेर न हामीलाई वर्षभरि खान पुग्यो, न थलाका भैंसीले तेल निमेक नै टारे, ऋणको बोझले थला परियो। ११ वर्षको उमेरमा नेपाल आएको मैले उहाँको दुःख महशुस गर्नु सिवाय त्यो बेला अन्य सामर्थ्य थिएन। तर उहाँलाई दमले च्यापेपछि उपचारमा मैले गरेको सेवा र घरमा ऋण पर्दा काँध थापेको क्षणले आज शितलता दिन्छन् । आज फर्केर हेर्दा बिँडो थामेको कर्तव्यप्रति मलाई गर्व छ।
पितृशोकमा त्यस रात बुवाको पार्थिव शरीर अघि शिर निहुर्याएर बसिरहँदा यस्तै यस्तै सम्झिरहें।
‘बुवा’ भन्न पाउने अधिकारबाट त्यसै दिन वञ्चित भएँ। आज पनि मैले आफैंलाई प्रश्न गर्छु, ‘छोरो हुनुको कर्तव्य पूरा गरें त ?’
किनभने आज चाहेर पनि मैले मेरो प्रगति बुवालाई देखाउन पाउँदिनँ, न केही गरेर उहाँलाई खुसी नै पार्न सक्छु । जति गरें, त्यो गरें।
‘बुवाको मलामी’का लागि तयारीको क्षण अत्यन्त हृदयविदारक लाग्छ।
बुवा असक्त हुँदा उहाँलाई पिठ्युँमा बालख झैं बोकेर घरको तलामाथि पुर्याउँथें। त्यस दिन उहाँलाई अन्तिम पटक काँधमा बोक्दै थिएँ। जसै मैले बुवालाई काँधमा बोकें, त्यस दिन मैले अनिगिन्ती गोल खाएर हारेको अनुभूत गरें। मेरो बल, तागत, ऊर्जाको घमण्ड सकिएको महशुस भो।
‘बुवाको मलामी’मा अझ हारको अनुभूत त त्यस बेला भयो, जब मेरी आमाको सिन्दुर पोते खोसिएर सेता लुगामा काम्दै उभिएको देखें।
‘बाउआमाको खुसीका लागि संसार जित्छु’ भन्ने फिल्मी घमण्ड सेलायो। सयौं युद्ध जितेको नेपोलियन बोनापार्ट हारेर मृत्युको मुखमा पुगेको सम्झिएँ। जंगबहादुरको जंग सेतो काग देखेर तिल्मिलाएको सम्झिएँ। जे जति सम्झिएँ, त्यहाँ बुवाको प्राण बचाउन नसकेकोमा पछुतो थिएँ।
बुवाको मृत शरीर नै सही घाट जाँदासम्म त उहाँ साथै हुनुहुन्थ्यो, तर फर्किंदा हामीले बुवालाई खरानी बनायौं। त्यो पराजयमा मैले आमालाई “मैले संसार जितेर देखाउँछु, तपाईंलाई संसारभरिको खुसी दिन्छु आमा” कसरी भनुँ ?
जीवनमा जति दौडधुप गरौं न, आखिर पुग्ने त त्यहीं घाटमा त रैछ अनुभूत भइरह्यो।
०७२ सालको भुइँचालोमा बुवा भर्याङबाट लड्दा मैले उडाएर काठमाडौं ल्याएँ। श्वास त बुवाको त्यसै बेला झण्डै गइसकेको थियो, तर ठाउँमा उपचार पाएर उहाँ बाँच्नुभयो। उहाँ भन्नुहुन्थ्यो, ‘शंकर तैले मन्दिर गएर धर्मकर्म गर्नुपर्दैन’ महिना दिनसम्म उहाँ ओच्छ्यान पर्दा मैले उहाँको दिशा सोहरेको देखेर उहाँले मलाई, ‘तलाई भगवानले हेर्छन्, पीर नगर्’ भन्नुहुन्थ्यो।
आज बुवाका ती वचन अमृतसरी लाग्छन्। उहाँको त्यही आशीर्वादले गर्व लाग्छ, बुवालाई मैले जीवन छँदै स्याहार सुसार गर्न पाएँ। जीवनपर्यन्त पिण्डदान त हाम्रो संस्कार न भो।
‘बुवाआमा जीवित भगवान हुन्’ मैले बुवालाई जीवन छँदै भन्थें, ‘संसारमा सबथोक पाइन्छ, बाउआमा पाइँदैन।’
छोराले बुझेको छ भन्नुहुन्थ्यो होला उहाँले। मलाई जन्म दिने, बोल्न सिकाउने, हिँड्न सिकाउने, संघर्ष गर्न सिकाउने बुवालाई मैले ठेस पनि पुर्याएँ हुँला। तर मेरा एक जना साथी भन्छन्, ‘बुवाआमाको छाती एकदमै फराकिलो हुन्छ, जहिल्यै हामीलाई आशिष मात्रै दिन्छन्’ यस्तै त होला।
‘बुवाको मलामी’को त्यो हृदयविदारक क्षण यहाँ बेलिविस्तार लाउँदै गर्दा म अहिले बलिउड अभिनेता शाहरुख खानले कहीँ बोलेको सम्झन्छु, ‘आफूलाई शिक्षा दिक्षा दिएकोमा बुवाआमालाई धन्यवाद भन्न नबिर्सनु’, भावुक हुँदै खान भन्छन्, ‘मैले त चाहेर पनि मेरो बुवाआमालाई मेरो प्रसिद्धिका लागि धन्यवाद भन्न सक्दिनँ’ ।
आज मलाई खानले भनेका तिनै वाक्यले पोल्छन्। ‘बुवाको मलामी’ हुनुपरेको त्यो क्षणपछि मैले बुवालाई न धन्यवाद भन्न सक्छु, न अब उप्रान्त मेरो प्रगति नै देखाउन सक्छु।
‘बुवाको मलामी’ले जीवनप्रतिको मेरो दृष्टिकोण नै बदलियो। हार्दिक श्रद्धाञ्जली मेरो बुवा ।