करिडोरमा 'पल्पसा क्याफे'को गुनगान गाउँदै आरआर क्याम्पसको क्यान्टिन जाँदै थिएँ।
म आफूलाई खुब 'पल्पसा' ठान्थेँ।
'त्यो पल्पसा क्याफेकी पल्पसा मै हुँ,' चिनजानसमेत नभएकी उनले मेरो कुरा काट्दै भनिन्। म एकछिन हच्किएँ।
लत्तो भने छोडिहालिनँ, 'हैन म हुँ!'
'तिमीलाई पेज नम्बर ८८ याद छ?' पल्पसा बन्न त्यो पेज याद हुनुपर्ने योग्यता चाहिन्छ भन्ने शैलीमा उनले सोधिन्।
मलाई सिंगो कथा सोधेकी भए भन्दिन्थेँ। पेज नम्बर ८८ मै के छ, कसरी याद हुनु?
'मलाई सबभन्दा मनपर्ने पार्ट त्यही हो,' उनले भनिन्।
म रनभुल्ल परेँ।
पहिले भेटमा आ-आफ्ना नाम भनेर हामी छुट्टियौं।
त्यो एकक्षणको पल्पसा गफ सम्झेर म बेलाबेला हाँस्छु। त्यसपछि नजाने उनी कति पात्रलाई आफू ठान्दै हिँडिन्। कयौं वर्षपछि माघको एक साँझ उनलाई देखेँ, शिल्पी थिएटरमा।
त्यहाँ पनि उनी कथाको पात्रबारे माथापच्ची गर्दै थिइन्।
लेखक कुमार नगरकोटी र निर्देशक घिमिरे युवराजले बनाएको 'बाथटब' नाटकको वरिपरि कथा र कवितामा जेलिएकी अनिद्रा बनेर उनी घुमिरहेकी थिइन्। कहिले लेखकलाई सम्झाउँथिन्, कहिले आफ्नै प्रेमी सम्झन्थिन्। कतिखेर गीत र कविता गुनगुनाउँदै स्टेजभर डुल्थिन्।
अचानक अनिन्द्राले पात्र बन्न इन्कार गर्दै आफ्नै लेखकलाई गोली ठोकिदिइन्... नाटक सकियो।
यो केटी त्यही हैन? 'पल्पसा हुँ' भन्ने पुष्टि गर्न मसँग डाइलगबाजी गर्ने, अचम्म!
भूषिता वशिष्ठ, हो उनै हुन्।
यतिखेर उपन्यास र नाटकका पात्रबाट बाहिर निस्केर भूषिता हामी केही मान्छेको मनमा गुन्जिइरहेकी छन्।
सहरमा उनको छन्दकविता वाचनको चर्चा छ।
दुई साताअघि नेपालयको 'पलेँटी' शृंखलामा उनले छन्दमा कविता वाचेको सुन्ने जोकोहीले बिर्सेको छैन होला। कतिले त मनमनै छन्द गुनगुनाउन पनि थाले होलान्। जस्तो म, मिलोस् नमिलोस् गाइरहेकी हुन्छु।
कालो मन्दाकिनीको जलजल निधिका…
मैले 'गायिका' भन्नै आँटेकी थिएँ उनलाई। पुराना कविका कवितामा मिठो स्वर जो दिएकी थिइन्। तर 'छन्द कविता वाचक' भन्नु अझ राम्रो लाग्यो। अझै शास्त्रीय पनि।
हाम्रो श्रुति परम्पराबारे मलाई उति ज्ञान छैन। म अनुमान गर्छु वाचकबिना त्यो परम्परा जीवित हुने थिएन। न रहने थिए हाम्रा शास्त्र, दर्शन र साहित्य।
भूषिताले त्यही परम्पराको झल्को दिने गरी सम्झाइदिइन्, हामीले बिर्सिसकेका हाम्रा कवि, उनीहरूका छन्द कविता!
र, भनिन्- यी हाम्रा समाजका ऐना हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अघिल्लो साता कुनै कार्यक्रममा भाषण गर्दै भनेका थिए- हामी वीर नेपाली भनेर संसारभर चिनिएका छौं। तर हामी वीर मात्र हैन, विद्वान पनि हौं भनेर चिनाउनुपर्छ। हाम्रा पूर्खाहरू विद्वान थिए।
अचेल प्रधानमन्त्रीले धेरैजसो यही कुरा भन्दै हिँडेको सुन्छु।
कसरी चिनाउने भनेर सोध्ने हो भने उनले के जवाफ दिँदा हुन्? म सोचिबस्छु।
त्यही बेला याद आउँछ अर्को समाचार– प्रधानमन्त्री नै कुलपति हुने त्रिभुवन विश्वविद्यालयमा इतिहास विभागमा कोही पढ्न नआएको वर्षौं भयो। विश्वविद्यालयको नेपाली विभागमा हाम्रा 'विद्वान पूर्खा' ले छाडेर गएका शास्त्र कुन हलमा पढाइ हुन्छ कुन्नि!
संस्कृत विश्वविद्यालय पनि घिसिपिटी चलेको देख्छु। त्यहाँ पढेर निस्केका विद्यार्थीले शास्त्रलाई अहिलेको दुनियाँसँग जोड्न सक्छ कि सक्दैन? त्यहाँ पढेको मान्छे विद्वान हुन्छ कि रूढिवादी पुरोहित मात्र हुन्छ? यसको जवाफ हाम्रा प्रधानमन्त्रीले खोज्नुपर्ने।
तर, 'विश्वविद्यालय हाम्रा प्रधानमन्त्रीहरूको राजनीतिले खत्तम पार्यो' भनेर पूर्वउपकुलपति केदारभक्त माथेमाले थक्थकी गरेको सम्झेर मन खिन्न हुन्छ।
प्रधानमन्त्रीका भाषण र विश्वविद्यालयको हालत दुवैले हामी नेपालीलाई व्यंग्य गरेझैं लाग्छ मलाई।
अँ, साँच्चै म भूषिताको कुरा गर्दै थिएँ।
उनले 'पलेँटी' को दुई घन्टे कार्यक्रममा तीन दिनसम्म हाम्रा विद्वान पूर्खाका कविता सुनाइन्। तिनका अर्थ बुझाउने कोशिस गरिन्, उनीहरूले नै छाडेर गएको छन्दको भाकामा।
अघिल्लो महिना 'बाथटब' कथाका लेखकलाई गोली मारेकी भूषिता सम्झिँदै, त्यो शनिबार पलेँटी मार्न नेपालयको 'आर-शाला' पुगेकी थिएँ। मञ्चमा अर्धमूदित भावमा उनी ध्यानस्थ देखिइन्।
केही बेरमा संगीतकार आभाषले हारमोनियममा औंला खेलाउन थाले। वाद्यवादन टोलीका हात जसै चल्मलाउन थाले, भूषिताले आँखा खोलिन्, मुस्कुराउँदै कविता वाच्न थालिन्।
वाचन गर्नुअघि उनले आफ्नो बाल्यकालको कथा सुनाएकी थिइन्। हरेक बिहान कसरी उनकी मामुले छन्द कविता वाचेर जगाउनु हुन्थ्यो, हामीले जान्न पायौं। मलाई लोभ लाग्यो। मेरी आमाले पनि त्यसैगरी छन्द कविता सुनाएको भए हुन्थेन र?
हामी त एकाबिहानै कुकरको सिठ्ठीले बिउँझिन्थ्यौं। बिहानको घरधन्दा सकेर स्कुल पढाउन जानुपर्ने आमाको व्यस्त दैनिकीसँगै हामी हुर्कियौं।
कहिलेकाहीँ बुबाले लक्ष्मीप्रसाद देवकोटाको 'शाकुन्तल' पढेर सुनाएको याद छ। उहाँ भन्नुहुन्थ्यो, 'शार्दुलविक्रिडित छन्दमा लेखिएको हो यो।'
हामी बुझ्थेनम्। हाम्रो समाजमा आमाबुबाले छोराछोरीलाई सँगै राखेर आफूले पढेका कुरा सुनाउने चलन कम छ। थोरबहुत मेरो घरमा चलन थियो।
भूषिताको घरमा धेरै रहेछ।
वासुदेव हजुरबुबा र बुबा आफूले पढेका किताबबारे चर्चा गर्नुहुन्थ्यो। मलाई साहित्यमा रूचि जगाएको उहाँहरूको त्यही बानीले हो जस्तो लाग्छ।
एकदिन वासुदेव हजुरबुबाले भन्नुभयो, 'आदिकवि भानुभक्तको बधुशिक्षा नपढ्नू।'
'के छ त्यसमा,' मैले सोधेँ।
'छोरी मान्छे गलल्ल हाँस्न हुन्न। घरको कामधन्दा गर्नुपर्छ। श्रीमान् र सासूको सेवा गर्नुपर्छ भन्ने छ,' उहाँले भन्नुभयो। सायद कविता पनि सुनाउनुभएको थियो।
म सानै थिएँ, त्यही पनि मुर्मुरिएँ। आदिकविसँग रिसाएँ। बधुशिक्षा कहिल्यै पढिनँ।
पलेँटीमा भूषिताले बधुशिक्षा सुनाइरहँदा मलाई खुब हाँसो उठेको थियो। भूषिता आफैं पनि कविताभन्दा बल्लबल्ल हाँसो थाम्दै थिइन्। मानौं व्यङ्ग्य कविता होस्!
भूषिताको स्वरमा बधुशिक्षाका लय मीठा सुनिए। शब्दले भने आक्रोशित बनाउँदै थिए। दिक्क पनि। हजुरबुबाका कुरा मानेर ठीकै गरेछु!
हुन त बधुशिक्षाको 'ज्ञानको छाया' अझै पनि समाजमा सलबलाइरहेकै छ। म हुँर्किँदै गर्दा आमा र हजुरआमाले सिकाउनुहुन्थ्यो, 'चर्को हाँस्न हुन्न, उत्ताउली भइन्छ।'
मैले कहिलै टेरिनँ। मेरो हाँसो झन् चर्को भयो। मेरो निस्फिक्री हाँसोले 'नहाँस्नू' भन्ने अर्ति सुनिन छाडे।
अहिलेको समाजले भानुभक्तको त्यो कविता वा कविताले बोकेको सोच स्वीकार्दैन। तर उनका कविता हाम्रो समाजको विकासक्रम हेर्ने माध्यम भने पक्कै हुन्। हामी कहाँबाट कहाँ आइपुगेछौं?
भूषिताकी आमाले जानेरै उनलाई बधुशिक्षा पढाइनन्। मेरा हजुरबुबाले जानेरै 'नपढ्ने' अर्ति दिए। समाजको यो अवस्थामा आइपुग्न हामीलाई दुई सय वर्ष लाग्यो।
भूषिता भन्दै थिइन्- लक्ष्मीप्रसाद देवकोटा भने यो समाजभन्दा धेरै अगाडिको सोच्ने मान्छे हुन्। उनका कविता उनका सोचाइका प्रतिबिम्ब हुन्। बुझ्न निकै संवेदनशील मन, दार्शनिक मन के-के चाहिन्छ? थाहा छैन।
महाकविको 'सुन्दरी वेश्याप्रति' कविताका केही हरफ भूषिताले वाचिन्। पञ्चचामर छन्द रे! कतिपय शब्द बुझिएनन्। बुझिएका जति खुबै मनपर्यो। कति मीठा शब्द? तिनले बोकेका भाव अझ कति गहिरो! एउटी सुन्दरीलाई गलल हाँस्न भन्ने महाकवि!
भूषिताको छन्दमोहले मलाई झल्याँस्स पार्यो। हराउँदै गएका यी लय भूषिताको स्वरमा कति मीठो सुनिएको! यही लय हाम्रा कलिला नानीबाबुको स्वरमा कति मिठो सुनिएला!
यसो भन्दैमा उनीहरूले कखरा पढ्ने बेला बधुशिक्षा वा एउटी सुन्दरी वेश्याप्रति नै वाचून् भन्ने होइन। उनीहरूको हुर्कँदो उमेर सुहाउँदा कविता छन् नि हाम्रा आदिकवि, कविशिरोमणि, राष्ट्रकवि, युगकविहरूका।
स्कुलमा अंग्रेजी 'राइम्स' का भाका हाल्न कनिकुथि सिकाउनुको साटो हाम्रा कविताका लय सिकाउन पाए कस्तो हुन्थ्यो होला!
तोतेबोलीमा 'हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको वेस आनन्दी मनले' सुन्दा आमाका मात्र हैन, हजुरआमाका कान पनि ठाडा हुन्थे होलान्।
मैले कक्षा ७-८ मा हुँदो हो, छन्दमा लेखिएका कविता पढ्न पाएकी थिएँ। तर छन्दमा वाच्न कहिल्यै पाइनँ। त्यसैले तिनको महत्व पनि सायद बुझ्थिनँ त्यो बेला। कोर्सको भार मात्र बन्थे। अहिले सम्झिन्छु, बिना छन्दका ती कविता वासनाबिनाका फूलजस्ता फिक्का रहेछन्।
मैले जे पढेँ, त्यो खोक्रो थियो। भूषिताले ती कविताको 'प्राण' सर्रर सुनाउँदै गर्दा मजस्ता हजारौंलाई सम्झेर टिठ लाग्यो।
साहित्यमा रूचि राख्नेहरूले सानैदेखि यसको बाटो पहिल्याउन सके, कतिले छन्द कविता लेख्थे होलान्! कतिले छन्दमा आफ्नो गलाको कला निखार्थे होलान्!
मै खाऊँ, मै लाऊँ सुख सयल वा मोज मैं गरूँ
मै हासूँ, मै नाँचू अरु सबै मरून दुर्बलहरू
भन्ने अबुझ सठदेखि छक्क परी
चिता खित्का छोडी हाँस्यो मरिमरि
कविशिरोमणि लेखनाथ पौड्यालको 'तरूण तपसी' काव्यको एउटा शर्ग हाम्रो पाठ्यक्रममा थियो। हामीमध्ये कतिले यो सही भाकामा पढ्यौं होला र?
भूषिताले पलेँटीमा लेखनाथकै 'सत्यवचन' सुनाइन्।
कालो मन्दाकिनीको जलजल निधीका मोतिको ज्योति कालो
कालो शौदामिनीको चहकबीच शरदचन्द्रको कान्ति कालो
कालो कैलाशश्रेणी झिलमिल गर्ने सूर्यको बिम्ब कालो
यो ब्रम्हाण्ड कालो मनबीच छ भने दम्भ दुर्भाव कालो
भूषिता यी भाका मात्र हैन, अर्थ पनि बुझाउँदै थिइन्। 'मनमा दम्भ र दुर्भाव छ भने संसार त्यस्तै देखिन्छ' भन्ने भाव रहेछ कविताको।
हाम्रा कविताको खासियत नै यही रहेछ, कविताले माग गरेको शैलीमा पढ्यो/वाच्यो भने मात्र बुझिने।
यति अर्थपूर्ण सन्देश हाम्रा कविहरूले हामीलाई छाडेर गएका रहेछन्! हामी भने कहाँ-कहाँ अमेरिकी र युरोपेलीका मात्र सन्देश 'बुझ्न' घोरिइरहेका छौं। कहिलेकाहीँ आफ्नै वरपर हेरे पनि पुग्ने रहेछ।
वरपर हेर्ने कुराले फेरि हाम्रा प्रधानमन्त्रीका भाषण सम्झाइ हाल्छन्। आखिर यी सबैमा उनकै 'एक्सन' भए गजब हुन्छ।
उनले चाहे स्कुलका पाठ्यक्रममा 'विद्वान पूर्खा' ले छाडेर गएका यस्ता कयौं विशेषता समावेश गराउन सक्छन्। आवश्यक भए/नभएको बहस गराउन सक्छन्। 'हामी विद्वान छौं' भन्दैमा संसारले पत्याउँदैन, विद्वताको प्रमाण चाहिन्छ नै। नभए 'पास' प्रमाणपत्र झिक्न बल्खु वा सानोठिमीका लर्को लाग्थेन।
यस्तै कुनै लर्कोमा बसेर शैक्षिक प्रमाणपत्र झिकेकी भूषिता पनि 'हाम्रा पूर्खा विद्वान थिए' नै भन्दैथिन्। उनी भाषणले हैन, आफ्ना शब्दले हैन, कविताका हरफले बुझाउने कोशिस गर्दै थिइन्।
लेखनाथ पौड्यालको 'आमालाई चिठी' मा मिसिएका प्रवासी नेपालीका दुःखको उहिले र अहिलेको कथा सुनाउँदै थिइन्। के नै फरक परेको छ र? कहिले उनी पौड्यालले देखेको 'रेलको सपना' हामी पनि देखिरहेका छौं भन्दै थिइन्। कहिले भिमनिधि तिवारीको 'गरिब' सम्झाउँदै, कहिले कालिदासकी 'मेनका' को वर्णन गर्दै।
भूषिताले हाम्रा '....कवि' हरूका कविताबीच आफ्नै 'रजनी' सुनाइन्। १६ वर्ष उमेरमै कति मिठो सिर्जिएकी!
अझै लोभलाग्दो त अर्को कविता थियो, उनलाई सिर्जना गर्न प्रेरित गर्ने बुबाका शब्दहरू।
निराश भएका बेला चिन्ता नलिन सम्झाउँदै एउटा बाबुले आफ्नी छोरीका लागि लेखेको कविता।
'बुबाले त्यो कविता मेरो लागि लेख्नुभएको थियो,' भूषिताले भनिन्।
मलाई तत्कालै भन्न मन लाग्यो, 'त्यो कविताकी छोरी भएर होस् या बाथटबकी अनिद्रा, चाहे आफूलाई पल्पसा नै ठान, तिमी भूमिकामा खरो उत्रियौ।'
'बधाइ र शुभकामना भूषिता, अरू धेरै भूमिकाका लागि।'