माध्यमिक शिक्षा परीक्षा (एसइई), २०८१ को परीक्षाफल प्रकाशोन्मुख छ। यसमा कति विद्यार्थी पास र कति फेल हुने हुन् भन्नेमा सबैको चासो र चिन्ता छ। बढी चासो राख्नेमा प्रधानमन्त्री केपी शर्मा ओली पनि हुनुहुन्छ।
केही दिनअघिको एक सार्वजनिक कार्यक्रममा उहाँले शिक्षकहरूसँग यसै विषयमा ठूलै आक्रोश पोख्नुभयो। उहाँले ५२ प्रतिशत विद्यार्थी फेल गर्ने शिक्षकको 'तनखा किन बढाउने', तिनलाई 'किन स्थायी गर्ने' भन्दै आक्रोशयुक्त प्रश्न राख्नुभयो।
यस विषयमा सामाजिक सञ्जालमा शिक्षकहरूले दुखेसो गरे। प्रधानमन्त्रीबाट शिक्षक समुदाय अपमानित भएको भन्ने प्रतिक्रिया जनाए।
अलिक पछि काठमाडौं विश्वविद्यालयको तीसौं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले यस वर्ष (२०८१ मा) ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने अनुमान रहेको भन्दै उत्साहजनक अभिव्यक्ति दिनुभयो।
सिकाइमा छोटो समयमै यति ठूलो सुधार असम्भवप्रायः छ। सुधारको यत्रो ठूलो फड्को मार्न विद्यार्थीको सिकाइ क्षमतामा पनि राष्ट्रव्यापी रूपमा ठूलै प्रगति भएको हुनुपर्छ।
हामीकहाँ सिकाइ सुधार गरेरभन्दा पनि परीक्षाका प्राविधिक पक्षमा सुधार वा फेरबदल गरेर उत्तीर्ण प्रतिशत बढाउने परिपाटी छ।
कति विद्यार्थी पास वा फेल हुन्छन् भन्ने कुरा प्राविधिक विषय हो भन्ने धेरैको बुझाइ छ। सानो प्राविधिक परिवर्तनले पनि तुरुन्तै ठूलो संख्यामा विद्यार्थी पास गराउन सकिन्छ भन्ने सोचाइ छ।
पाठ्यक्रम विकास केन्द्रले आयोजना गरेको एउटा गोष्ठीमा एक जना प्रधानाध्यापकले एउटा उपाय सुनाउनुभयो – एसइईमा हालको सैद्धान्तिक र प्रयोगात्मक वा आन्तरिक र बाह्य प्राप्तांकमा अलग अलग पास हुनपर्ने नीति बदलेर एकमुस्ट जोडेर पासफेल छुट्ट्याउने व्यवस्था गरिदिनुहोस्, पास हुनेको संख्या ह्वात्तै बढ्छ।
हुन पनि हो। कोभिडको समयमा विद्यालय बन्द भए, सिकाइमा ठूलो क्षति भयो तर ती वर्षका एसइईमा कोही फेल भएन। उल्टै क्षमताभन्दा उच्च ग्रेड आयो। यस कारण पास र फेलको विश्लेषण गर्नुपूर्व यस प्रक्रियाको अन्तर्य बुझ्न जरूरी हुन्छ।
मूलतः कति सिकाइ उपलब्धि हासिल भएको विद्यार्थीलाई माथिल्लो तहमा लैजाने, यो आमसहमतिमा निधो हुने विषय हो। एसइईमा अहिले ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडेड (फेल) हुन्छ।
कलेज तहमा पास हुन न्यूनतम ४० प्रतिशत अंक चाहिन्छ। त्रिभुवन विश्वविद्यालयको सेमेस्टर पद्धतिमा मास्टर्स तह उत्तीर्ण हुन न्यूनतम ५० प्रतिशत अंक ल्याउनुपर्छ।
कति न्यूनतम सिकाइ उपलब्धि हासिल हुँदा उत्तीर्ण मान्ने भन्ने कुरा समकक्षताको विश्वव्यापी आधारले पनि तय गर्छ। यही आधार अनुसार अहिलेको पाठ्यक्रमले अपेक्षा गरेको सिकाइ उपलब्धिमध्ये ३५ प्रतिशत उपलब्धि हासिल गरेको विद्यार्थीलाई उत्तीर्ण गर्ने र ग्रेड दिने भनिएको हो।
अब प्रश्न उठ्छ – यति न्यून 'कट–अफ' बिन्दु हुँदा पनि किन ठूलो संख्यामा विद्यार्थी फेल हुन्छन्?
विद्यार्थी कुनै एक मात्र कारणले फेल भएको हुँदैन। हाम्रो सन्दर्भमा मुख्यतया पाँच वटा पद्धतिको समष्टिगत प्रभाव रहेको पाइएको छ।
१. पाठ्यक्रम र परीक्षा पद्धति
हाम्रो पाठ्यक्रम धेरै बोझिलो छ। पाठ्यक्रममा धेरैभन्दा धेरै कुरा समावेश गर्न खोजिएको छ।
कक्षा १–३ को पाठ्यक्रम २५० भन्दा बढी पृष्ठको छ। यसमा सिकाइ उपलब्धि यति धेरै समावेश गरिएका छन् कि एउटा शिक्षकले त्यसको मापन गर्न र रेकर्ड राख्न सम्भव नै छैन। त्यसमा पनि हाम्रो पाठ्यक्रमले सीप र व्यवहारभन्दा ज्ञानलाई बढी जोड दिएको छ। जानेको र सिकेको कुरा लिखित परीक्षामार्फत व्यक्त गर्नुपर्छ।
लिखित परीक्षाले संज्ञानात्मक पक्षको मापन गर्न सक्छ तर सीप, व्यवहार र धारणा मापन गर्न सक्दैन। विद्यार्थीले गरेर देखाउन सक्ने सीप पनि लेखेर देखाउनुपरेको छ।
हाम्रो परीक्षामा खाना खानुअघि के गर्नुपर्छ, घरवरिपरिको वातावरण सफा राख्न के गर्नुपर्छ, करेसाबारीका फाइदा के के हुन् भन्ने संज्ञानात्मक प्रश्न सोधिन्छ। यस्तो सिकाइ बोलेर वा लेखेरभन्दा पनि व्यवहारमा देखिनुपर्ने हो। सिकाइ भनेकै ज्ञान, सीप र अनुभूतिमार्फत व्यवहारमा आउने सापेक्षिक परिवर्तन हो।
यस कारण सिकाइका सबै पक्ष लिखित परीक्षाबाट मापन गर्नु व्यावहारिक हुँदैन।
पाठ्यक्रममार्फत विद्यालयले अहिले पनि बालबालिकामा संज्ञानात्मक विषयवस्तुको भारी बोकाउँछ।
ज्ञानको स्रोत सीमित रहेको जमानामा शिक्षकमार्फत विद्यार्थीमा ज्ञानको ठूलो ठेली प्रसारण गरिन्थ्यो। विद्यार्थीले घोकेर, कण्ठ गरेर परीक्षामार्फत ज्ञान पुनः उत्पादन गर्नुपर्थ्यो।
प्रसिद्ध शिक्षाविद पाउलो फ्रेरेले सन् १९७० मै आफ्नो प्रसिद्ध पुस्तक 'पेडागोजी अफ अप्रेस्ड' मार्फत 'बैंकिङ कन्सेप्ट अफ इजुकेसन' भन्दै यस पद्धतिको आलोचना गरेका थिए।
हाम्रो विद्यालय पाठ्यक्रम र परीक्षामा त्यही बैंकिङ पद्धतिको धङधङी छ। निर्धारित समय सीमाभित्र एकसरो शिक्षण गर्नै हम्मे पर्ने गरी पाठ्यक्रममा बढीभन्दा बढी विषयवस्तु थोपरिएको छ।
एसइईमा सबैभन्दा धेरै विद्यार्थी फेल हुने गणित विषयको कक्षा १० को पाठ्यक्रम केलाउँदा सबै विद्यार्थीलाई भविष्यमा गणितको विषयविज्ञ नै बनाउन खोजेजस्तो देखिन्छ।
व्यावहारिक जीवनमा काम नलाग्ने कतिपय जटिल र अमूर्त गणित त्यहाँबाट झिकेर ऐच्छिक गणितमा समायोजन गर्नुपर्ने थियो। गणितमा धेरै विद्यार्थी फेल हुने अर्को कारण गणितीय समस्या समाधान गरी सही उत्तर निकाल्ने प्रश्न मात्र सोध्नु पनि हो।
गणितमा के, किन र कसरी भन्ने प्रश्न सोधिँदैन। हरेक प्रश्नको सही समाधान दिनुपर्छ, उत्तर निकाल्नुपर्छ। सबै विद्यार्थीको उत्तर एउटै हुनुपर्छ।
दैनिक जीवनमा वर्गमूल कसरी प्रयोग हुन्छ, निश्चित लम्बाइ र चौडाइ भएको बारीको परिधि कसरी निकालिन्छ, त्यो परिधि कुन व्यावहारिक काममा प्रयोग हुन्छ भन्ने प्रश्न सोधिँदैन।
सबैले एउटै उत्तर निकाल्नुपर्ने प्रश्नमा स्वाभाविक रूपमा प्रक्रियागत त्रुटि हुन्छ। हाम्रो पद्धतिले सानो गल्ती भएपछिको सही र तर्कपूर्ण प्रयासलाई पनि गलत नै ठान्छ।
विज्ञताको कसीमा विद्यार्थीको लेखाइ निरपेक्ष रूपमा नहेरी उमेर र स्तरको सापेक्षतामा हेर्नुपर्छ।
उत्तरपुस्तिका अंकन सम्बन्धी एउटा तालिममा सामाजिक शिक्षा विषयका एक शिक्षकले 'प्रजातन्त्र भनेको के हो र यस व्यवस्थाका फाइदा के के हुन्' भन्ने प्रश्नमा विद्यार्थीले राम्रै उत्तर दिएको भए पनि ७० प्रतिशत मात्र अंक दिनुभयो। मैले कस्तो उत्तरमा विद्यार्थीले पूरा अंक पाउँछ भनेर सोधेँ।
शिक्षकले पूरै अंक पाउन त राजनीतिशास्त्रका सबै परिभाषा र ज्ञान समेटिएको हुनुपर्छ भन्नुभयो।
यस्तै कारण देखाएर हामी धेरै शिक्षक नेपाली र सामाजिक जस्ता विषयमा विद्यार्थीलाई निकै राम्रो लेखेको भए पनि पूरा अंक दिँदैनौं।
कतिपय प्रश्नमा शिक्षकले पूरा अंक आउने उत्कृष्टता कस्तो हो भन्ने उदाहरण देखाउन सक्दैनन् तर आफूले लेख्न नसक्ने उत्तर विद्यार्थीबाट अपेक्षा गरेका हुन्छन्। यसो हुनु हुँदैन। विद्यार्थीको उत्तरलाई उसको उमेर र स्तर अनुसार मूल्यांकन गर्नुपर्छ।
विद्यार्थीले लेखेको उत्तरमा कुन कुन आधारमा अंकन गर्ने भनेर उत्तर कुञ्जिका बनाएर परीक्षण गर्ने परिपाटी छ। यति हुँदाहुँदै पनि अंकनमा शिक्षकहरूको वैयक्तिक भिन्नताको प्रभाव ठूलो देखिन्छ। एउटै उत्तर–पुस्तिकामा शिक्षक अनुसार फरक फरक अंक पाउने अवस्था छ।
२. शिक्षक र शिक्षण पद्धति
विद्यार्थीको सिकाइमा हुने सफलता र असफलताको ठूलो हिस्सा शिक्षकको योग्यता, तालिम, क्षमता, उत्प्रेरणा, आत्मविश्वास, लगन र पेसागत जिम्मेवारीमा भर पर्छ। यसै कारण विद्यार्थीहरूको असफलतामा शिक्षक सबभन्दा बढी आलोचित हुन्छ।
हाम्रा विद्यालयमा अधिकांश शिक्षक योग्यता र तालिम पुगेका नै छन्। यसरी तालिम प्राप्त शिक्षकहरूमध्ये कतिले प्रभावकारी र उत्तरदायीपूर्ण ढंगले शिक्षण गरेका छन् भन्ने सामयिक अध्ययन–अनुसन्धान र मूल्यांकनको अभाव छ। आम रूपमा शिक्षकको जिम्मेवारी र शिक्षण प्रभावकारिताबारे तोकेर भन्न सकिने ठोस अध्ययन र प्रमाण छैन।
हामी सबैले हेर्ने भनेको राष्ट्रिय परीक्षामा विद्यार्थीहरूको उपलब्धि स्तर नै हो। एसइई जस्तो राष्ट्रियस्तरको परीक्षामा विद्यार्थीको कमजोर प्रदर्शनले शिक्षणको प्रभावकारिता पनि कमजोर भएको निष्कर्ष निकालिन्छ।
हामीले विश्वविद्यालयमा गरेका र पढेका अनुसन्धानहरूको आधारमा हेर्दा शिक्षकहरूमा दुई प्रकारको समस्या छ।
पहिलो– विद्यालयमा धेरै किसिमका शिक्षक छन्। स्थायीबाहेकका अन्य शिक्षकमा पेसागत स्थायित्व तथा समान ज्याला र सुविधाको चिन्ता देखिन्छ। यसै कारण समय समयमा आन्दोलन भएको छ।
शिक्षकहरूमा जबसम्म पेसागत स्थायित्वको सुनिश्चितता हुँदैन, तबसम्म शिक्षण प्रक्रियामा समान उत्साह, उच्च मनोबल र जागरणको अपेक्षा गर्न सकिँदैन।
दोस्रो– शिक्षकहरूमा अध्ययनशीलताको कमी छ। शिक्षण पेसामा विषयवस्तु र शिक्षणविधि दुवैको निरन्तर नवीकरण हुनुपर्छ।
ज्ञान, विधि र प्रविधिमा तीव्र गतिको यो समयमा पाठ्यक्रम फेरबदल भएर मात्रै पुग्दैन, शिक्षकहरूले आफ्नो ज्ञान, सीप र क्षमता पनि नवीकरण गर्नुपर्छ। तर गरेको देखिँदैन।
त्यस्तै, शिक्षा मन्त्रालय र मातहतका निकायहरूले दिने तालिम सामान्य औपचारिक प्रक्रिया मात्र हो। प्रभावकारी शिक्षणका लागि शिक्षक आफै अग्रसर हुनुपर्छ, निरन्तर सिकाइमा क्रियाशील हुनुपर्छ।
शिक्षण भनेको निरन्तर सिकाइको पेसा हो। हाम्रा अधिकांश शिक्षकहरूमा नवीनतम ज्ञान, विधि र प्रविधिमा अद्यावधिक हुने र प्रभावकारी शिक्षण गर्ने अभ्यास कम देखिन्छ।
धेरै शिक्षकहरूले विद्यालयमा उपलब्ध स्रोतसाधनको अभाव र अन्य केही समस्या देखाउने गरेका छन्। तर आफूलाई अद्यावधिक गर्ने पक्षमा ध्यान दिएको देखिँदैन। क्रियाशील र जागरूक शिक्षकहरूमा पनि नवीनतम शिक्षण विधि प्रयोग गर्ने चिन्तन र अभ्यासमा ह्रास भएको पाइन्छ।
यसको मूल कारण प्रोत्साहन र पृष्ठपोषणको अभाव हो भन्ने उनीहरूको भनाइ सुनिन्छ। 'गरे पनि उही, नगरे पनि उही' भन्ने संस्कार देखिन्छ।
प्रोत्साहन र जबाफदेयिताको पद्धति विकास गर्नु आजको एक प्रमुख आवश्यकता हो।
मूलतः विद्यालय शिक्षकहरूमा अनुसन्धान, लेखन र प्रकाशनको अभ्यास एकदमै कम छ। कार्यमूलक अनुसन्धानमार्फत कक्षाका समस्या समाधान गर्ने र त्यसको ज्ञान सार्वजनिक गर्ने परिपाटी कमजोर छ।
राजनीतिक दलैपिच्छे शिक्षकका संघसंगठन छन्, सिंगो महासंघ छ। संघसंगठनको भेला र सम्मेलन पनि भइरहन्छ तर विद्यार्थीको सिकाइ केन्द्रमा राखेर छलफल हुँदैन।
फेसबुकमा लामा स्टाटस लेख्ने शिक्षकले शिक्षण सिकाइ अनुभवका आधारमा अभ्यास सुधार गर्न खोजमूलक वा जानकारीमूलक कुरा लेखेको देखिँदैन। बरू यही काम 'शिक्षा पत्रकार' साथीहरूले गरिरहेका छन्।
आफ्नो पेसागत उन्नयनको अवसर सिर्जना गर्ने शिक्षकले नै हो। बाह्य निकायबाट दिइने अवसर र तालिमले मात्र आजको परिवर्तित ज्ञान र शिक्षणको पद्धति समेट्न सक्दैन।
ज्ञानको एकोहोरो प्रसारण विधिले मात्र आजको शिक्षण प्रभावकारी हुँदैन, क्रियाकलाप र सहभागितामा आधारित शिक्षण हुनुपर्छ। कक्षाको पूरा समय विद्यार्थीको सिकाइका लागि हो। शिक्षकको काम सिकाइमा सहजीकरण गर्नु हो।
कक्षामा शिक्षकले एकोहोरो व्याख्यामा धेरै समय खर्चिनुको साटो बढी समय विद्यार्थीलाई अभ्यास गर्ने अवसर दिनुपर्छ। सिकारूको प्रगति र कठिनाइ पहिचान गरी व्यक्तिगत भिन्नताका आधारमा सहजीकरण गर्नुपर्छ।
३. विद्यालय सुविधा र संस्कृति
शिक्षण सिकाइ क्रियाकलापमुखी र व्यावहारिक बनाउन विविध स्रोतसाधन आवश्यक पर्छ। मानवस्रोत सबभन्दा महत्त्वपूर्ण हो।
धेरै सामुदायिक विद्यालयमा विद्यार्थी संख्याका आधारमा विषयगत शिक्षकको दरबन्दी छैन। धेरै स्थानीय तहहरूले आन्तरिक स्रोतबाट थप शिक्षक राखेका छन् तर त्यस्ता अधिकांश शिक्षकको तलब र अन्य सुविधा कम छ।
एउटै तहमा समान जिम्मेवारी लिने शिक्षकहरूबीच सुविधामा ठूलो विभेद छ। यो परिस्थितिले सामुदायिक विद्यालयमा शिक्षकहरूको व्यवस्थापन भद्रगोल भएको छ।
शिक्षण क्रियाकलापमुखी बनाउन धेरै विद्यालयमा शैक्षिक सामग्री र सुविधाको अभाव छ। एकातिर विज्ञान र प्रविधिले डिजिटल कक्षा माग गरिरहेको छ, अर्कातिर धेरै विद्यालयहरूमा सामान्य चार्टपेपर र मार्कर किन्ने पैसा पनि छैन।
स्रोतसाधनको उपलब्धताका आधारमा हेर्दा हाम्रा सामुदायिक विद्यालय अति विपन्नदेखि अति सम्पन्नसम्म छन्।
स्रोतसाधनको यो खाडल कम गर्न राज्यका नीति र कार्यक्रम कमजोर देखिन्छ। अझ 'मोडल (नमूना) स्कुल' का नाममा राज्य आफैले ठूला र सम्पन्न विद्यालयलाई पक्षपोषण गर्ने नीति लिएको छ।
साना र विपन्न स्कुल गाभ्ने 'मर्जर' नीति लिएर नीतिले विद्यालयमा स्रोतसाधनको समतामूलक र न्यायोचित वितरणमा प्रतिकूल असर पारेको छ। यो असमानताका कारण साना र कमजोर विद्यालयका विद्यार्थीले गुणस्तरीय शिक्षण र सिकाइ प्राप्त गर्ने अवसर न्यून हुँदै गएको छ। त्यसैको प्रत्यक्ष परिणाम एसइईको नतिजामा देखिने गरेको छ।
सबै प्रकारका विद्यार्थीको सफलता विद्यालय संस्कृतिमा निर्भर हुन्छ। विशेषतः विद्यालयले सामाजिक र आर्थिक रूपमा पछाडि परेका विद्यार्थीहरूसँग कसरी व्यवहार गर्छ, उनीहरू विद्यालय जीवनमा रमाउन सकेका छन् कि छैनन् भन्ने कुराले सिकाइ र सफलतामा प्रभाव पार्छ।
अधिकांश विद्यालयमा सामाजिक र आर्थिक रूपले सबल र सक्षम विद्यार्थीले बढी सहज वातावरण पाउँछन्। नेपाली भाषाबाहेकका फरक मातृभाषी विद्यार्थीलाई विद्यालयमा प्रयोग हुने अंग्रेजी र नेपाली भाषाकै कारणले विद्यालय आफ्नो हो भन्ने महसुस हुँदैन।
विपन्न परिवारका विद्यार्थी विद्यालयमा अन्य साथीहरूसँग राम्ररी घुलमिल हुन सकेका हुँदैनन्। तिनले विद्यालयमा बहिष्करण अनुभव गर्छन्। तिनको सामाजिकीकरण पनि कमजोर हुन्छ।
विद्यालय सिकाइमा समस्या भएका विद्यार्थीका लागि अस्पताल जस्तै हुनुपर्ने हो जसले समस्या निदान र उपचार गरोस्। यस्तो छैन, हाम्रा विद्यालयमा निरोगी पनि रोगी बन्छन्, उपचारात्मक शिक्षण सेवाको साटो उपेक्षामा पर्छन्।
विद्यालयले मूलधारबाहिरको सामाजिक र सांस्कृतिक पृष्ठभूमिका विद्यार्थीका विशिष्ट समस्या पहिचान नै गर्दैन। उल्टै 'सिक्न नसक्ने' भनी आरोपित गर्छ।
कतिपयले त बाबुआमाको शिक्षा, पेसा र जन्मजात आउने वंशानुगत गुणको प्रभावका कारण सिक्न नसकेको भन्ने तर्क पनि गर्छन्।
विद्यालयले मूलधारबाहिरका भाषा र संस्कृतिबाट आएका विद्यार्थीलाई माया, प्रोत्साहन र सहजीकरणको वातावरण दिनुपर्छ। उनीहरूका खासखास सिकाइ समस्या निदान गरी उपचारात्मक शिक्षण गर्नुपर्छ।
यसो गर्ने हो भने परीक्षामा सबै विद्यार्थी सफल हुन सक्छन्।
यस विषयमा नीति निर्माताले पनि विशेष ध्यान दिन जरूरी छ। सिकाइको मापन र मूल्यांकन समानताको आधारमा मात्र होइन न्यायको आधारमा पनि हुन जरूरी छ।
हामीले देशभरिका विद्यार्थीका लागि सिकाइ मापनको एउटै आधार र मापदण्ड तयार गरेका छौं। यसबाट मूलधारका विद्यार्थीहरू लाभान्वित हुन्छन् तर भाषिक अल्पसंख्यक र अन्य सीमान्त समुदायका विद्यार्थीहरू असफल हुने सम्भावना बढी हुन्छ।
काठमाडौंका सम्पन्न विद्यालयमा पढ्ने र कर्णालीका विकट गाउँका विद्यालयमा पढ्ने विद्यार्थीका लागि सिकाइको अवसर र सुविधा समान हुँदैन। यस्तो अवस्थामा सफलता र असफलताको एउटै मापदण्ड बनाएर काठमाडौंका विद्यार्थीहरूलाई उत्तीर्ण गराउने र दूरदराजका विपन्न विद्यार्थीहरूलाई अनुत्तीर्ण गराउने काम भएको छ।
यसो गर्नु न्यायोचित होइन। शिक्षामा समानता, समता र न्यायको सवालमा छुट्टै बहस आवश्यक छ।
४. पूर्व ज्ञान र प्रवेश व्यवहार
विद्यार्थीको सिकाइ उसको रूचि, क्षमता र तयारीमा भर पर्छ। पूर्वज्ञान र प्रवेश व्यवहारले पछिल्ला सिकाइको सफलता निर्धारण गर्छ। एसइईमा उत्तीर्ण हुन अघिल्ला तहहरूमा न्यूनतम शैक्षिक उपलब्धि हासिल गरेको हुनुपर्छ।
शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले समयसमयमा गर्ने विद्यार्थी मूल्यांकन राष्ट्रिय परीक्षाले अंग्रेजी, गणित र विज्ञानजस्ता विषयमा विद्यार्थीको उपलब्धि सबै तहमा न्यून देखाउने गरेको छ।
यसको अर्थ बहुसंख्यक विद्यार्थीहरू प्रारम्भिक तहदेखि नै आधारभूत ज्ञान र सीप हासिल नगरी माथिल्लो तहमा पुगेका हुन्छन् भन्ने हो।
विश्वविद्यालयमा हुने अनुसन्धानले पनि आधारभूत तह उत्तीर्ण भएका धेरै विद्यार्थीहरू नेपाली, अंग्रेजी र गणितका आधारभूत पढाइ, लेखाइ, बोध र समस्या समाधानजस्ता काम पूरा गर्न असमर्थ रहेको देखाएका छन्।
यसरी आधारभूत तहको साधारण ज्ञान, बोध, प्रयोग र सीप हासिल नगरी माध्यमिक तहमा पुगेका विद्यार्थीहरू एसइईमा उत्तीर्ण हुने सम्भावना कम हुन्छ।
यसर्थ आधारभूत तहमा सिकाइको गुणस्तर सुधार गर्न तत्काल ध्यान आवश्यक छ। विद्यार्थीको सिकाइस्तर पहिचान गरी आवश्यकता अनुसार सुधारात्मक सहयोग गर्न शिक्षकलाई तालिम र स्रोत उपलब्ध गराउनुपर्छ। निरन्तर र निर्माणात्मक मूल्यांकन प्रणाली सशक्त बनाई सिकाइका कठिनाइ पहिचान गर्दै समस्या समाधान गर्न सक्ने बनाउनुपर्छ।
हालको पाठ्यक्रम र पाठ्यपुस्तक पनि पुनः संरचना गर्न आवश्यक छ। विषयवस्तुको मात्र प्रस्तुतिमा होइन; विद्यार्थीको आधारभूत ज्ञान, सीप र दक्षता निर्माणमा विशेष जोड दिनु आवश्यक छ।
आधारभूत सिकाइको जग बलियो नभएसम्म पछिल्लो सिकाइ कमजोर रहन्छ, क्रमशः असफलता अनिवार्य बन्छ।
५. पारिवारिक वातावरण
विद्यालय र शिक्षकको प्रयासले मात्र पूर्ण सिकाइ सम्भव हुँदैन। विद्यार्थीको शारीरिक वृद्धि र विकास, शारीरिक र मानसिक स्वास्थ्य, आर्थिक अवस्था, बाबुआमाको शिक्षा, पारिवारिक वातावरण र सामाजिक परिवेश आदि पक्षले सिकाइमा प्रभाव पारेको हुन्छ।
मूलतः विद्यालयमा भएको सिकाइमा घरमा थप अभ्यास गर्न र मजबुत बनाउन यी सबै पक्षको ठूलो भूमिका हुन्छ। यी सबै पक्षहरू सकारात्मक र सहयोगी भए मात्र विद्यार्थीलाई निरन्तर सिकाइमा उत्प्रेरित र सहजीकरण गर्न सकिन्छ।
अनुसन्धानका क्रममा धेरै सामुदायिक विद्यालयमा पुग्दा अधिकांश शिक्षकले अभिभावकको भूमिकामा गुनासो गरेको सुनियो – अभिभावकले विद्यार्थीलाई नियमित विद्यालय पठाउँदैनन्, गृहकार्य र अतिरिक्त अभ्यास गर्न लगाउँदैनन्, काहिलेकाहीँ त विद्यार्थीसँग कापीकलम पनि हुँदैन।
अभिभावकको पनि शिक्षकप्रति विभिन्न गुनासो सुनिन्छ।
यथार्थमा विद्यार्थीको सिकाइमा शिक्षकको जिम्मेवारी जति हुन्छ अभिभावकको पनि त्यति नै हुन्छ। शिक्षकले राम्रो शिक्षण गर्दागर्दै पनि पारिवारिक वातावरण सहज र सहयोगी नभएर विद्यार्थीहरू परीक्षामा असफल हुने गरेका छन्।
विद्यार्थीहरू परीक्षामा किन फेल हुन्छन् भन्ने प्रश्न कुनै एक पक्षको दोष देखाएर टुंग्याउन सकिने विषय होइन। एसइईजस्ता ठूला परीक्षामा विद्यार्थीको असफलता प्रणालीगत समस्याको परिणाम हो।
पाठ्यक्रम र परीक्षा प्रणालीको असन्तुलन, शिक्षकको पेसागत सशक्तीकरणको अभाव, विद्यालयमा स्रोतसाधन र समावेशी संस्कृतिको कमी, विद्यार्थीको पूर्वज्ञान र शैक्षिक तयारीको कमी, पारिवारिक सहयोगको अभाव जस्ता कारण छन्।
त्यसैले समाधान पनि एकल उपायबाट मात्र सम्भव छैन। अहिलेको शिक्षा प्रणालीले समग्र सुधारको आवश्यकता देखाउँछ। पाठ्यक्रम सरल, व्यावहारिक र सीपमूलक हुनुपर्छ।
शिक्षकहरूलाई निरन्तर सिकाइ र अनुसन्धानमा संलग्न गराउन प्रोत्साहन र पृष्ठपोषण गर्नुपर्छ। विद्यालयमा सबै वर्ग र पृष्ठभूमिका विद्यार्थीलाई स्वागत गर्ने सांस्कृतिक वातावरण बनाउनुपर्छ।
मूल्यांकन न्यायोचित, बहुआयामिक र प्रक्रियामूलक बनाउनुपर्छ। अभिभावक तथा समुदायलाई पनि सिकाइको सहयात्री बनाउनुपर्छ।
व्यक्ति आफैमा पूर्ण हुन्छ, उसको सिंगो जीवन आफैमा कहिल्यै असफल वा फेल हुँदैन। शिक्षा प्रणालीको कुनै एक परीक्षामा फेल हुनुले उसको व्यक्तिगत र व्यावसायिक जीवनको सफलता नकार्न सकिँदैन।
विद्यमान प्रणालीमा एसइईजस्ता ठूला परीक्षामा हात लाग्ने सफलता वा असफलता वर्षैपिच्छे प्रतिशतमा तलमाथि हुनेमात्र हो। यो अवस्थामा हजारौं विद्यार्थी हरेक वर्ष असफल भइरहनेछन्।
मूल कुरा एसइईको नतिजाले देखाउने यस्तो असफलता विद्यार्थी र शिक्षकको मात्र होइन, समग्र शिक्षा प्रणालीको साझा असफलता हो।
(लेखक डा. पेशल खनाल त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्र संकायका प्राध्यापक हुन्। उनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)